कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५७

विवश बाँदर विज्ञहरू

बाँदरहरू उनीहरूकै संसारमा मस्तसँग बाँच्न पाउनुपर्छ । ती बाँदर हुन्, तिनलाई बाँदरै रहन दिऊँ ।
तारालाल श्रेष्ठ

गोंगबुमा बाँदरपीडित किसान भेला हुँदै छन् है’, हालैको एक बिहान एउटा म्यासेज आयो । नागरिक सरोकार अभियानकर्मी पनि बाँदरपीडित किसानसँग मिलेर संघर्ष गर्ने भन्दैथिए । माइतीघर मण्डला, शान्तिबाटिका पीडित आन्दोलनकारीले भरिभराउ छन् । बाँदरपीडित पनि काठमाडौं आउँदै रहेछन् । बाँदर बहसको विषयले मलाई ‘नोस्टेल्जिया’मा पुर्‍यायो । 

विवश बाँदर विज्ञहरू

हेटौंडामा बाँदर पछ्याउँदा

२०५८ सालको कुरा हो । मकवानपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गर्थें । एक अमेरिकी दिदीसँग मित्रता बढ्यो । बिहानदेखि साँझैसम्म त्रिवि वनविज्ञान अध्ययन केन्द्रको जंगलभित्र बाँदरको पछि लाग्दैमा बित्थ्यो उनको समय । बिदाका दिनमा म पनि अमेरिकी दिदीसँग वनविज्ञान जंगलभित्र बाँदरको पछि लाग्थें ।

बिहान उठेदेखि साँझ नसुतेसम्म बाँदरले के–कस्ता गतिविधि गर्छन् ? त्यो लेखाजोखा गर्न व्यस्त हुन्थिन् उनी । कति भाले, कति पोथी ? कति नाबालक बच्चाबच्ची ? कति गर्भवती ? कसले कुन दिन कुन बच्चा जन्माइन् ? त्यो बच्चा कति वर्ष, महिना र दिनको भयो ? कुन भाले बाँदर समूह नायक कहिलेदेखि बन्यो ? बाँदरको नेतृत्व लडाइँ कस्तो हुन्छ ? नायकलाई कसले प्रतिस्थापित गर्न खोज्दै छ ? उनीहरू बाँच्नका लागि कति संघर्ष गरिरहेका छन् ?

मानव बस्तीमा पस्ने, बालीनाली नष्ट गरिदिने क्रममा मानवसँग द्वन्द्व बढ्दै जाँदाको परिणाम कस्तो देखिँदै छ ? विविध विषयमा उनी मलाई बाँदर अनुसन्धान अनुभव सुनाइरहन्थिन् । घाम उदाएदेखि नअस्ताएसम्म बाँदरकै पछि लागिरहन्थिन्, खाना पनि ब्यागमै बोकेर लैजान्थिन् । उनीसँग बाँदरबारे हामीलाई भन्नुपर्ने कुरा धेरै थियो । भन्थिन्, ‘बाँदरहरू वनको भन्दा मानिसकै खानेकुरा खान रुचाउँदै छन् । उनीहरूको जीवनशैली, आनीबानी, व्यवहार, प्रजननमै परिवर्तन आउँदै छ ।’ बाँदरले बिर्को खोलेर कोकाकोला खाइरहेको फोटो, भिडियो देखाउँथिन् । भन्थिन्, ‘यो निकै चिन्ताजनक विषय हो ।’

उनी भन्थिन्, ‘बाँदर–मानव द्वन्द्व घटाउन मानिसले बाँदरलाई खानेकुरा पटक्कै दिनुहुन्न । उनीहरूलाई उनीहरूकै जीवनशैलीमा फर्काइनुपर्छ । उनीहरूकै संसारमा उनीहरूले बाँच्न र मर्न पाउनुपर्छ । उनीहरू बाँदर हुन्, बाँदरहरूलाई बाँदरजस्तै छाडिदिऊँ ।’

काठमाडौंमा बाँदर बहस

हालैको एक दिन काठमाडौंमा बाँदरपीडित किसानहरू संलग्न बाँदर–बहस सुन्न साइकल हाँकेर हुइँकिएँ, गोंगबु । पीडितहरू नेपालको पहाडी गाउँबस्तीको सभ्यता नै सिध्याउने गरी बाँदर आतंक बढ्कोे कुरा गर्छन् । बाँदर आतंककै कारण कतिपय किसानले आत्महत्यासमेत गरेका रहेछन् । बाँदर खेद्दा अंगभंग भएका घटना कति हो कति ।

भेलामा सहभागी बाँदरपीडित सबै बाँदर विज्ञझैं देखिन्थे । एउटै बाँदरले एक घण्टामा ५० घोगासम्म मकै भाँच्दै हिँड्छ । बथान बाँदर बारीमा पसेपछि एक घण्टामै एक बिघा बाँकीको मकै भाँचेर सोत्तर पारिदिन सक्दोरहेछ । गाउँमा युवा छैनन्, महिला, केटाकेटी, ज्येष्ठ नागरिकलाई बाँदरले टेरपुच्छर लगाउँदैनन् । यताबाट खेदेर अर्को गाउँमा पुर्‍याउनु विकल्प होइन ।

बाँदर निर्यातको विषयमा पनि बहस भयो । बाँदर आतंक नरोक्ने हो भने हजारौं वर्षदेखिको नेपाली कृषि सभ्यता स्वाहा हुन सक्ने चिन्ता व्यक्त भयो । बाँदरबाट वार्षिक एक खर्ब नोक्सान हुँदै गरेको आँकडा पनि आयो । अझ बाँदरकै कारण गाउँबाटै विस्थापित, जग्गाजमिन बाझैं छाडिएका विषयलाई जोड्ने हो भने अर्को एक खर्बको नोक्सान थप हुन सक्ने अनुमान आयो । बाँदरबाट विस्थापितका कथाव्यथा कति हुन् कति !

विकल्प र विवशता

केही किसानले बाँदर विदेशमा बेच्ने कुरा पनि गर्दै थिए । श्रीलंकाले चीनलाई एक लाख बाँदर बेच्न खोज्दा व्यापक विरोध भएको थियो । चीनमा लगेर चिडियाखानामा राख्ने भन्दा पनि वातावरण संरक्षकले बाँदरको मासु खान वा प्रयोगशालामा परीक्षणका लागि प्रयोग हुन सक्ने भन्दै विरोध भयो । कृषिमन्त्रीबाटै घोषित श्रीलंकाबाट चीन बाँदर निर्यात रोकियो । नेपालमा पनि सन् २००४ मा अनुसन्धानका लागि २०० बाँदर अमेरिका निर्यात गर्न खोजिएको थियो । एउटा बाँदरलाई तीन सय डलर तिरेर किनिएको भनिन्थ्यो । सर्वोच्च अदालतमा बाँदर बिक्रीविरुद्ध सयौं हस्ताक्षरसहित रिट दायर भयो । बाँदरको विदेश निर्यात रोकियो । ती बाँदरलाई पाँच वर्षपछि जंगलमा छाडिएछ ।

अनुसन्धानकर्ताले समस्या समाधानभन्दा बुद्धिविलास बढी गरिरहेको आवाज सुनियो किसानबाट । कतिपय किसान बाँदर मार्नु, बन्ध्याकरण गर्नु र विदेशमा बेच्नु नै समाधानका उत्तम आधार हुन सक्छ भन्दै थिए ।

वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका (तेस्रो संशोधन, २०७५) मा राहतका आधार तोक्दा बाँदरबाट हुने मानवीय तथा खाद्यान्न बालीको क्षति सम्बोधन गरिएको देखिन्न । हात्ती, गैंडा, बाघ, भालु, चितुवा, ब्वाँसो, बँदेल, अर्ना, गोही, अजिंगर, गौरी गाईबाट मानवीय क्षति भए राहत पाइने, खाद्यान्न बाली र घरगोठमा हात्ती–गैंडाले क्षति पुर्‍याए मात्रै राहत दिने व्यवस्था छ । बाँदरबाट हुने क्षतिको परिकल्पनासमेत निर्देशिकामा उल्लेख छैन । निर्देशिकामा नसमेटिएका बाँदर र अन्य वन्यजन्तुले पुर्‍याएको क्षतिबारे अन्योल कायमै छ । मानव–जंगली जनावरबीच बढ्दो द्वन्द्व संरक्षणवादीहरूको प्रमुख चासोमा पर्छ । नेपालमा ४४ प्रतिशत भूभाग बाँदरको बासस्थानका लागि उत्तम भूमि मानिन्छ । त्यसमध्ये ८ प्रतिशतभन्दा कम भूमि मात्रै राष्ट्रिय निकुञ्जभित्र पर्दोरहेछ ।

नेपालका बस्तीहरू भएको १५ प्रतिशतभन्दा बढी भूभागमा बाँदर–मानव द्वन्द्व बढ्दै गएको पछिल्लो अध्ययनले देखाएको छ । द्वन्द्व व्यवस्थापन ठ्याक्कै यसरी भन्ने निष्कर्ष भने देखिन्न । हिजो बस्ती बसाउने बेला जंगल जोड्ने व्यवस्था भएन । वन खण्डीकरण गरियो । अब वन क्षेत्रलाई बिस्तारै बढाउँदै अर्को वन क्षेत्रसँग जोड्नुपर्छ भन्छन् विज्ञहरू । किसानलाई जंगली जनावरको महत्त्वबोध गराउनुपर्छ पनि भन्छन् । नेपालको वन क्षेत्र तीन दशकदेखि ०.६ प्रतिशतको दरले बढ्दै गइरहेको अध्ययनले देखाउँछ ।

तर, ती वन मौलिक रैथाने जंगल नभई त्यहाँ एकै प्रजातिका बिरुवा हुर्काइँदा जंगली जनावरमैत्री खानेकुरा वातावरण मिल्न सकेन । गाउँमा मानवबस्ती घट्दै गए । बाँदरले आफ्नो चहलपहल बढाउँदै लगे । अब वन क्षेत्र बढाउँदै बाँदरलाई मनपर्ने बोटबिरुवा हुर्काउने, बढाउने, वन खण्डीकरण घटाउने र जंगल नजिक बाँदरले कम मन पराउने बाली लगाउनुपर्छ भन्छन्, विज्ञहरू । पीडित किसान यस्ता सुझाव सुनेर थप आक्रोशित छन् । विज्ञ र किसानबीच पनि द्वन्द्व बढ्दो छ, जुन शुभसंकेत होइन ।

प्रकाशित : आश्विन १३, २०८० १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?