कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

के लेख्दै छ नयाँ पुस्ता ?

नवलेखकले उठाएका विषय हुन्, समाज–संस्कृतिदेखि भूगोल र राजनीतिसम्म तर विषयको गहनता र परिधि कति फराकिलो छ, पाठकले पक्कै मूल्यांकन गर्नेछन्
फणीन्द्र संगम

कवितामा विशेषगरी सुदूरपश्चिम लेखिरहने खेम बतासले असोजको नयाँ दिनसँगै एउटा ‘सरप्राइज’ दिए । त्यो थियो– ‘बुढीपोल्ली’ को सुखद समाचार । धेरैले यसलाई कवितासंग्रह ठाने पनि उनको पहिलो कथाकिताब हो, जुन दसैंअघि नै सार्वजनिक हुनेछ ।

के लेख्दै छ नयाँ पुस्ता ?

‘सुरुमा कवितै निकालौं कि भन्ने त थियो तर किताबकै लागि पुग्ने राम्रा कविता कम थिए,’ उनी भन्छन्, ‘कनीकुथी संग्रह मात्रै निकाल्न मन लागेन । कविबाहेक वा आम पाठकसम्म कविता नपुग्ला भन्ने पनि लाग्यो । मसँग कथा तयारै थिए, पहिलो किताब नै कथाको आउने भयो ।’ डोटेलीहरूको मौलिक पर्व बुढीपोल्ली असोज १ मा मनाइन्छ ।

उनको संग्रहमा १२ वटा मात्रै कथा छन्, अलि लामा । आफ्नो भूगोल र समाजको अनुहार अनि मानिसको दुःखलाई अरूले लेख्दा त्यसमा केही छुटिरहेको महसुस भएपछि कथा जन्मिएको बतासले अनुभव सुनाए । ‘यताका कथा जसरी आउनुपर्ने हो, त्यस्तो लागेन । चित्त नबुझाई बस्नुभन्दा आफ्नो माटोको कथा आफैं लेखूँ भनेर जोखिम उठाएको हुँ । मौलिक डोटेली भाषा अनि सांस्कृतिक मिथलाई लेखेको छु,’ डोटीबाट कैलाली झरेका बतास भन्छन्, ‘कर्नाली तर्न नसकेका तर महाकाली तर्नेको कथा मेरा कथा हुन् ।’

हुम्लाकी कुन्साङ नयाँ पुस्ताकी पढिने लेखक हुन् । उनको लेखनमा मूलतः हिउँले कठ्यांग्रिएर चिस्सिएको हिमालको दुःख भेटिन्छ । स्थानीय लबजको मिठाससँगै हिमाली संस्कृति, मिथक र प्रकृतिप्रतिको चिन्ता उनमा छ । हिमाली दुःखलाई कतिपय लेखकले कुरूप चित्रण गरेकैले आफ्नो कथा आफै भन्न थालेको उनी बताउँछिन् । ‘मैले पहिले पढेका किताबहरूमा हुम्ला वा हिमालका बासिन्दालाई दुःखी, निरीह रूपमा चित्रण गरेको पाएँ,’ उनी भन्छिन्, ‘यहाँका मान्छेले खानै पाएका छैनन्, यति फोहोरी छन् कि साबुन देख्नै वर्षौं लाग्न सक्छ भनेरसम्म लेखिएको पाएपछि नमज्जा लाग्यो । अनि मैले जे छ, त्यही देखाउने कोसिस गरेकी हुँ ।’

आफ्नो ठाउँको इतिहासबारे लिखित सामग्री खासै नभएकाले कथास्रोत नै हजुरबा–हजुरआमा हुने गरेको उनले सुनाइन्, जसबाट उनी इतिहास र मिथको उत्खनन गरिरहन्छिन् । ‘हामीले पनि लेख्न सकेनौं भने पछिपछि त यहाँको इतिहास नै मरेर जाने रहेछ,’ यसैले पनि उनी लेखिरहेकी छन् । कविता, कथा र सामयिक विषयमा लेखिरहने उनी किताबको तयारीमा छन् ।

विवेक ओझा पछिल्लो समय उदाएका अर्का नवलेखक हुन्, उनको उपन्यास ‘ऐँठन’ प्रतिष्ठित मदन र पद्मश्री पुरस्कारको श्रेष्ठ सूचीमा छ । यही उपन्यासका लागि उनले हालै ‘यशस्वी पुस्तक अवार्ड’ हात पारिसकेका छन् । माओवादी ‘जनयुद्ध’ र त्यसले पारेको असर उपन्यासको मूल विषय हो । यसअघिको उपन्यास ‘ऐलानी’ लाई पनि धेरै पाठकले रुचाएका थिए ।

यी तीन लेखकलाई मात्रै पछ्याउने हो भने समाज–संस्कृतिदेखि भूगोल र राजनीतिसम्मका मुद्दा तिनका लेखनमा आएका छन् । विधागत विविधता रुचाउने हरेक पाठकका लागि फरक पठन स्वादमा भावना कँडेलको उपन्यास ‘फेक स्माइल’ पनि थपिएको छ । राजनीति र समाजभन्दा अलि भिन्न उपन्यासको मूल विषय हो, प्रेम । ‘जीवनमा एक पटक हरेक मान्छेको कसै न कसैसँग प्रेम भएकै हुन्छ, त्यही भएर होला लभस्टोरी रुचाइने,’ उनी भन्छिन्, ‘मैले त उपन्यास लेखनको सुरुवात गर्दै युवा पुस्तालाई लक्षित गरेकी थिएँ । एउटा वर्गका लागि सोचेर लेखेको, सबै क्षेत्र र उमेरकाले रुचाइदिनुभयो ।’

धेरै पाठकबाट अर्को भाग लेख्न सुझाव आएकाले योजना बनाइरहेको उनले बताइन् । ‘अहिले लभस्टोरी पढिरहेकी छु, अब फेक स्माइलको दोस्रो भागका रूपमा आउनेछ,’ उनले भनिन् । सामाजिक सञ्जालमा बढी समय व्यतीत हुँदा किताब समाएर बस्ने जमात घटिरहेको उनको बुझाइ छ । पढ्न अल्छी गर्ने पाठकलाई प्रेमकथाले तान्न सक्छ भन्ने लागेरै नयाँ पुस्ताको भोगाइ उपन्यासमा ल्याएको उनले बताइन् ।

मौलिक किताब प्रकाशन मात्रै होइन नयाँ पुस्ताका लेखकको रुचि विदेशी कृतिको अनुवादमा पनि देखिन्छ । सामाजिक मुद्दामा कलम चलाइरहने विभु लुइटेल उच्च शिक्षाका लागि भारतको पण्डिचेरी पुगिन् । पत्रकारिताको समेत अनुभव लिएकी र अनुसन्धानमा चाख राख्ने उनको आफ्नै किताब त आएन बरु अनुवादक अवतारका रूपमा देखा परिन् । चर्चित लेखक प्रज्वल पराजुलीको अंग्रेजी उपन्यास ‘ल्यान्ड ह्वेर आई फ्ली’ को नेपाली अनुवाद उनैले गरेकी हुन् । ‘चित्रलेखाको ८४’ शीर्षक राखिएको किताब बजारमा आइसकेको छ । धेरैअघि पढिसकेको भए पनि प्रकाशकको प्रस्तावपछि अनुवादको इच्छा जागेको उनको भनाइ छ । भारतमै छँदा उनले अनुवादको काम सुरु गरेकी थिइन् । ‘तीन महिनामै पहिलो चरणको काम सकाएँ । पछि सम्पादन क्रममा अलि समय लाग्यो,’ भन्छिन्, ‘लकडाउनका बेला बढी काम गरियो ।’

नयाँ पुस्ताका लेखक मौलिक किताब निकाल्ने दौडमा रहेका बेला अनुवादमै किन त ?

‘मेरो अध्ययन र बुझाइ किताब लेखनका लागि परिपक्व भइनसकेको मैले महसुस गरेकी छु, त्यही भएर तत्कालै किताब निकाल्ने सोच बनाएको छैन,’ उनी भन्छिन्, ‘लेख्न सक्छु भनेर हामफालिहाल्ने होइन, त्योभन्दा अघि समाज–राजनीतिको बुझाइ र अध्ययन गहिरो हुनुपर्‍यो नि ।’ अनुवाद र अनुसन्धानका काम भइरहे पनि किताबै लेख्न भने केही समय लाग्ने उनले बताइन् ।

केही समयअघि रीमा केसीले अमृता प्रीतमका कविताको अनुवाद गरिन् । हिन्दी साहित्यमा प्रख्यात प्रीतमको जीवनशैलीबाट उनी प्रभावित रहिछन् । ‘उनले बाँचेको जिन्दगी आफैंमा एउटा विद्रोही कविताजस्तो पनि छ । उनका कवितामा भावको गहिराइ पाएँ, चाहे ती प्रेम, वेदना, विद्रोह या जुनसुकै विषयका किन नहोऊन्,’ प्रीतमलाई नै रोज्नुको कारणबारे रीमा भन्छिन् । मौलिक सिर्जना र अनुवादमा उनले फरक अनुभव गरेकी छन् । स्वलेखनमा आफ्नो विचार, भाव र विषय स्वतन्त्र रूपमा पोख्न पाए पनि अनुवादमा त्यो छुट छैन । ‘शब्दार्थ र भावार्थलाई जोड दिएर कविको मौलिकता र शैलीलाई जस्ताको तस्तै राख्ने कोसिस गरेकी छु,’ उनी भन्छिन् ।

लुइटेल पछिल्लो समय अनुवादमा राम्रा काम भइरहेको बताउँछिन् । परिवर्तित समयसँगै लेखन र पठनको क्षितिज फराकिलो बनाउन जरुरी रहेको उनको बुझाइ छ । ‘हामी आफ्नो सानो घेरामा मात्र सीमित भयौं । विश्व साहित्य बुझ्न र बुझाउन पहिले राजनीति, समाज र विभिन्न मुद्दाको गहन बुझाइ चाहिन्छ नै,’ उनी भन्छिन् । पछिल्लो समय भृकुटी राईले अनुवाद गरेको चिमामान्डाका दुई किताब उनको रोजाइमा परेका छन् ।

हालै आएका राजु स्याङतानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’, देवव्रतको ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, देवकी अभिलाषीको ‘आदिवासी भोक’, राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ लगायतले कवितामा नयाँपन दिएका छन् । मजदुर, श्रमिक र अन्यायमा परेकाहरूको पक्षमा कलम चलाइरहने स्याङतान कवितामा अझ बलशाली भएर आएका छन् । अभिलाषीले भने कवितामा आदिवासी मुद्दा र पहिचानसँगै महिला मुक्तिका सवाल उठाएकी छन् । तारकिणीका कविता विचार बौद्धिकताले अब्बल लाग्छन् । मानवीय संवेदनादखि सामाजिक असंगतिप्रतिको आवेग उनका कवितामा छन् । पहिचान र अस्तित्वको संकट, युद्धका उच्छवास, नवशासकमाथिको आक्रोशका साथ देवव्रत नयाँ शैलीमा आएका छन् ।

लेखक जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ पनि चर्चामा आएको पुस्तक हो । सन्थाल समुदायको संस्कृति, इतिहास र पीडालाई उपन्यासमा उनले उतोरकी छन् । सुदूरपूर्वी नेपालको सीमान्तकृत सन्थाल जातिको सामाजिक–सांस्कृतिक विषयमा लेखिएको उपन्यास दोस्रो संस्करणको तयारीमा छ । भानु बोखिमको हालै आएको उपन्यास ‘गोधूलि गीत’ मा दसवर्षे सशस्त्र युद्ध, त्यसले समाजमा पारेको असर तथा आशा–निराशाको अभिव्यक्ति छ । त्यस्तै भक्त स्याङतानको कथासंग्रह ॅडम्फुको आत्मालाप’ मा तामाङ संस्कृति, पात्र र रीतिरिवाजका कथा छन् । कवि सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’ नेपाली पाठकले चाँडै पढ्न पाउनेछन् ।

केही समयअघि प्रकाशित कान्जीभाइको कविता ‘कमरेडको जनै’ र दुर्गा कार्कीको कथा ‘कुमारी प्रश्नहरू’ पनि पाठकले रुचाएका थिए । कमरेडको जनैमा राजनीतिक सिद्धान्तबाट च्यूत नेताहरूप्रति कडा व्यंग्य छ । कुमारी प्रश्नहरू सामयिक यथार्थ, महिला यौनिकता लगायत विषयमा केन्द्रित छ । संयुक्त कथासंग्रह ‘छकालै’ र कविता ‘अनुहारको भीड’ ले नयाँ लेखकको सम्भावना उजागर गरेको छ । नवीनको सम्पादनमा आएका यी दुई किताबमा ३७ लेखक छन् । फरक भूगोल र परिवेशमा हुर्किएका नवलेखकको बाँकी यात्रा लेखन इमानदारी र निरन्तरताले निर्धारण गर्नेछ ।

कलम प्रकाशनका प्रमुख नरेन्द्रकुमार नगरकोटीको अनुभवमा धेरैजसो नयाँ लेखकमा चाँडै चर्चा कमाउने लोभ छ । भन्छन्, ‘राम्रो लेखेर प्रचार नभएका पनि कति होलान्, कति त औसत लेखेर चर्चामा आउने पनि छन् ।’ नयाँ पुस्तामा विषयवस्तुमा अझै नयाँपन आउन नसकेको उनले बताए ।

हरेक समयले अनेकौं लेखक जन्माइरहेको हुन्छ । बीपी, भूपी, देवकोटा, रिमाल, पारिजातहरूले लेखन सुरुवात गर्दा अरू कैयौं लेखक पनि थिए । यी अझै अक्षरहरूमा बाँचिरहेका छन्, तर धेरै हराएर गए । अमेरिकी लेखक टोनी मरिसनले भनेकी छन्, ‘तिमी यस्तो किताब पढ्न चाहन्छौ तर अहिलेसम्म लेखिएको छैन भने तिमीले लेख्नैपर्छ ।’ हरेक लेखकको इच्छा यही हुँदो हो, थोरैले मात्रै यसलाई पूरा गर्छन् ।

प्रकाशित : आश्विन ६, २०८० १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×