कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

श्यामश्वेत सहरको कथा खजाना

काठमाडौंली जनजीवन र संस्कृतिको इतिहासतिर पसिहेर्दा देखिन्छ– त्यो युग केवल पुराना मान्छेको पुरानो समय थिएन, सहरको एउटा जीवन्त दस्तावेज थियो

यो मेरो काठमाडौंको स्मृति–कथा हो, त्यो पुरानो श्यामश्वेत–काठमाडौंको कथा– मेरो काठमाडौंको पुरानो कथा । हालको काठमाडौं महानगरपालिकाको वडा नं. २७ मा मेरो जन्मस्थल पर्छ– महाबौद्ध टोल । विसं २०३० सम्म मैले त्यही टोलमा बिताएको हुँ ।

श्यामश्वेत सहरको कथा खजाना

आजभन्दा झन्डै १३ सय वर्षपहिले विसं ७८१ मा राजा गुणकामदेवले बसाएको कान्तिपुरीको भित्री भागमा पर्छ त्यो । त्यो महाबौद्ध टोलमा एउटा विशाल बौद्ध चैत्य छ । झट्ट हेर्दा स्वयम्भूको रूप छ । बगलमा खुला बहाल छ । चैत्यको ठीक पश्चिममा मेरो घर थियो । बिहान उठ्नेबित्तिकै बुद्धका आँखासँग हाम्रो आँखा जुध्थ्यो । बहालको चारैतिर टम्म मिलेका घरहरू थिए । कतिपय घरमा कलात्मक काष्ठकलाका ‘सँझ्याँ’ हरू थिए भने धेरैमा आधुनिक बार्दली र बरन्डा । मेरो घरमा भुइँतलाको पसल–कवलमाथि एउटा सानो लाम्चो कौसी निकालिएको थियो । बौद्ध विहार भएकाले हाम्रो टोलमा बज्रयानका अनुयायीहरू टमोटे, तुलाधर र वज्राचार्यहरू अधिक थिए । उनीहरू सुनचाँदी र धातुका काम गर्थे । कोही भने सुचीकार काममा साधनारत हुन्थे । हाम्रोमा चित्रकारहरू, वैद्यहरू, दमाईहरू, सार्कीहरू, कसाई र कुशलेहरू तथा श्रेष्ठ र प्रधानहरू पनि थिए । मेरा बालसखाहरू सबै नेवारी बोल्थे । छिमेक टोलका मुसलमान र मारवाडी साथीहरू पनि नेवारी नै बोल्थे र नेवारीमै हामी झगडा गर्थ्यौं । झगडाको अश्लील शब्दमा सबै पोख्त थिए । बाहिरबाट पसल थापेर बस्न आउनेमध्ये नेवार समुदायकै ‘नाई’ अर्थात् कपाल काट्ने तथा लुगाफाटा धुने र स्त्री लगाउने धोबीको पसल पनि थियो । पछि ब्राह्मण पाण्डेहरू पनि बस्न आए । र, पण्डित नयराज पन्त त मेरै घरमा जन्मेका थिए, पछि छिमेक टोलमा सरेका हुन् ।

उबेला महिला सदस्यहरू भान्छाको कामपछि बुइगलमा जम्मा हुन्थे । ‘महिला’ शब्द प्रचलनमै थिएन । महिलाको जमघटमा पुरुष हुँदैनथे ।


बौद्ध चैत्यभन्दा अग्ला घर कुनै थिएनन् । मन्दिर–चैत्यभन्दा अग्लो घर बनाउनु हुँदैन भन्ने सामाजिक मान्यता असन, इन्द्रचोक, हनुमानढोका, मरुहिटी सबैतिर कायम थियो । मेरो घरको पसलमा चुरी बेच्ने मुसलमान परिवार बस्थ्यो । मुसलमान, दमाई, सार्की तथा कुश्ले परिवारहरू माथिल्लो तलामा प्रायः आउँदैनथे । आइहाले पनि कोठाभित्र पस्दैनथे । पसिहाले पनि राडी–सुकुलले नभेट्ने भुइँमै बस्थे । बाहिरिया मानिस पहिलो तला र दोस्रो चोटासम्म मात्रै उक्लिने चलन थियो । तेस्रो बुइगल तलामा भान्छाको काम हुन्थ्यो । छरछिमेकका महिला सदस्यहरू भने भान्छाको कामपछिको समय बुइगलमा जम्मा हुने प्रथा थियो । ‘महिला’ शब्द प्रचलनमै थिएन । आइमाईहरूको जमघटमा लोग्नेमान्छे बस्दैनथे ।

गोबर र रातोमाटोले बिहान–बेलुका भुइँ लिप्ने गरिन्थ्यो । नेवार परिवारभित्र पनि उपजातिका ठूलो र सानो भन्ने मान्यता कायम थियो । भात चल्ने र भात नचल्ने श्रेष्ठ हुन्थ्यो । भात र दाल ठूला जातका महिलाले नै पकाउने–पस्कने गर्थे भने तरकारी–अचार अरूबाट पनि चल्थ्यो । हामी काठको पिर्कामा बसेर काँसको वा पितलको थालमा भात खान्थ्यौं । लोग्नेमान्छे र केटाकेटीहरूले भात खाएर जुठो उठाएपछि मात्रै आइमाईको पालो आउँथ्यो । ढिलो खान थाले तिनले भनाइ खानुपर्थ्यो, ‘दाजुसँग खाएर भाउजूसँग उठ्ने !’

बुबा र कान्छो बुबाले भात खान थाल्नुअगावै थालीको छेउमा थोरै भात पितृको नाममा ‘बौ’ दिनुहुन्थ्यो । उठ्ने बेला थालमा थोरै भात–तरकारी स्वास्नीका निम्ति छाडेर हिँड्थे । श्रीमतीले श्रीमान्को त्यही जुठो थालमा खाने चलन थियो । खै रहर हो कि बाध्यता !

तीन तले घरका सबै भर्‍याङहरू काठले बनेका थिए । घरका सबै वयस्क महिलाहरूले महाबौद्ध बहालछेउ स्थापित वीरधारा (कलधारा) बाट गाग्रीमा पानी भरेर बुइगलसम्म पुर्‍याउन ६ वटा भर्‍याङ चढ्नुपर्थ्यो । भर्‍याङ चढ्दा कसैले पानी नाघ्ला भनेर छिँडीदेखि नै ‘बिन्हा बी...’ अर्थात् ‘छोड् है छोड्’ भन्दै चढ्ने चलन थियो । पानी नाघियो भने फेरि धारा जानुपर्ने कष्ट हुन्थ्यो । पालो कुर्नुपर्ने हुन्थ्यो । पानी बोक्नै पनि कम्मरमा पटुका बाँध्नुपर्ने बाध्यता थियो महिलालाई । वीरधाराकै छेउमा गाई र साँढेलाई पानी ख्वाउन लाम्चो चारपाटे फलामे खँड्कुलो थापिएको थियो । त्यसमा विचित्रको कल जोडिएको थियो । पानी भरिएपछि खँड्कुलोको धारा आफैं बन्द हुन्थ्यो । त्यो कमानीमा एउटा डल्लो भकुन्डो थियो । वास्तवमा त्यो आजभोलिको आधुनिक बाथरुम कमोडको सिस्टम कमानी रहेछ । अचम्म लाग्छ, ८० वर्ष पहिले नै त्यो प्रविधि नेपाल भित्रिसकेको रहेछ । बाथरुम कल्चर भने नेपालमा कहीँ थिएन । राजामहाराजाका दरबारदेखि आम जनताका घरमा पनि ‘कोप्रा कल्चर’ को बाहुल्य थियो । हाम्रो घरमा पनि कोठाकोठामा पितलको कोप्रा हुन्थे । पितलको कोप्रालाई पछि ताम्चेनको सेतो कोप्राले विस्थापित गर्‍यो, तर ‘कोप्रा कल्चर’ अर्थात् कोप्रा प्रचलनको मौलिकता विसं २०३६ वा २०४६ सम्म पनि आधुनिक पक्कीघर बनाउन नसक्ने सहरी परिवारमा कायमै रहेको विश्वास गरिन्छ ।

महाबौद्ध टोलमा सार्वजनिक चर्पी थियो । एउटा जनाना र अर्को मर्दाना । पानीको व्यवस्था थिएन । लोहटामा पानी लिएर जानुपर्थ्यो । हाम्रो भने आफ्नो बारीमै एउटा चर्पी थियो । त्यहाँ पनि लोहटा लिएरै जाने चलन थियो । ‘लोहटा कल्चर’ मा पानीको खपत अहिलेजस्तो बेहिसाब हुँदैनथ्यो । वर्तमानको एउटा फ्लसमा खर्च हुने पानीले २/३ जनाको शौचकार्य सम्पन्न हुन्थ्यो ।

काठमाडौंका टोलहरूमा मूलसडकका घरहरू टम्म मिलेका भएपनि भित्रभित्र ससाना चोक हुन्थे, चार–पाँच घरको साझा ठाउँ ! त्यहाँ सार्वजनिक फोहोर फ्याँक्ने एउटा खाल्डो पनि हुन्थ्यो । त्यसलाई ‘साःगाः’ अर्थात् मलको खाल्डो भन्ने चलन थियो । भोज–भतेरका लपेस–टपरी, भान्छाका अवशेष र थोरै मलमूत्र पनि फ्याँक्ने गरिन्थ्यो । केही दिन बिराएर त्यहाँको मल उठाउने व्यक्तिहरू आउँथे । त्यस फोहोरको डुंगुरमा नकुहिने कुनै वस्तु रहेको मलाई सम्झना छैन । प्लास्टिक देखेकै थिइनँ । टिन, गोल्टिन वा काँचका सिसी आदि घरमै विभिन्न प्रयोजनमा खपत हुन्थ्यो । चर्पीको फोहोर पनि बटुलेर, मट्टीतेलको टिनमा भरेर, खर्पनमा हाली लैजाने मानिस तथा स्वास्नीमानिस नियमित मल सोहोर्न

आउँथे । ससाना केटाकेटीलाई बाहिर सडकमै आची गराउने परिवार पनि थिए । सडकको फोहोर पनि सोहरेर मलसँगै लैजाने गरिन्थ्यो । सडकको फोहोर सोहोर्न राँगाभैंसीका लामालामा करङहरू प्रयोग हुन्थ्यो । दुईवटा सेता करङका हाडले फोहोर सोहोर्ने काम गर्न निपुर्ण हात पनि चाहिन्थ्यो । घरायसी फोहोर व्यवस्थापनाको समस्या खेतबारीको मलखाद खपतबाट सम्पन्न हुन्थ्यो । ठूल्ठूला भोजभतेरका अवशेषहरू (केही जुठा खाद्यपदार्थ, लपेस, टपरी र बोहताका सालका पातहरू), सिलाइ गर्ने बाँसका सिन्काहरू, रक्सी–जाँड पिउने माटाका सलिंचा (रक्सी प्याला) आदि सबै साःगाःमा आफैं सड्ने–गल्ने ‘बायो डिग्रेडेवल’ पदार्थ थिए । प्लास्टिक आदिको कुनै नामोनिसानै थिएन ।

महाबौद्ध बहाल थियो– टोलवासीका विभिन्न सामुदायिक क्रियाकलाप (आर्थिक, धार्मिक, सांस्कृतिक एवं मनोरञ्जनका कार्यक्रम) सम्पन्न गर्ने–गराउने सामूहिक स्थल । दिनदिनै देखिने क्रियाकलाप (जस्तैः अटलमा लुगाफाटा धोई बस्ने महिलाहरू, जाडोमा घाम ताप्न बस्ने मानिसहरू, घाम तापेर तेल घस्न बसेका सुत्केरीहरू, एकअर्काको टाउकामा जुम्रा टिप्न बसेका केटीहरू तथा साँझ परेपछि टोलका केटाकेटीहरू उफ्रीउफ्री खेलेको दृश्य) का ती स्मृति अहिले पनि आलै छन् । कवड्डी खेल्ने, फुत् फुत् उफ्री डोरी नाघ्ने, पानस (पानहस) भनेर डन्डीबियो खेल्ने, हातेमालोमा चाकली पाँ पाँ खेल्ने, साइकलको पांग्रा गुडाएर कुद्ने, च्याम्पटी (लब्सीको गेडा) घुमाउने, ‘हु वा रे क्वारे क्वारे’ भन्दै घ्वाँय् (झिँगटीको टुक्रा) सँग खेल्ने र ‘एकं घाला छ कु...’ भन्दै गट्टी खेल्ने केटीहरू, गुच्चा खेलेर झगडा गर्ने केटाहरू स्मृतिपटलमा धमिलिँदै गएको चित्र बनेर बसेको छन् ।

दसैं–तिहारताका बहालमा लिंगेपिङ थापिन्थ्यो । हामी धागोको मण्डली खेल्थ्यौं र चंगा छोप्न कुदथ्यौं । सबैभन्दा ठूलो आकर्षण त महाबौद्धका टमोटे खलकले निकाल्ने खड्गजात्रा हुन्थ्यो । त्यो काम दसैंको टीकाको दिन हुन्थ्यो, तर असनटोलमा चाहिँ त्यसको भोलिपल्ट । महाबौद्धको ‘मावु पायो’ र असनको ‘असं पायो’ हेर्न नगएको निकै वर्ष भयो । पायो हेर्नुको रोमाञ्चक क्षण भन्नु खड्ग हातमा लिएर उसलाई जिस्क्याउने दर्शकलाई काट्छुझैं गरि लखेट्नु हो । जिस्क्याउनेहरूमा वटुतिर बस्ने मुसलमान केटाहरूका साथमा स्थानीय केटाहरू पनि सम्मिलित हुन्थे । त्यसो त छाता ओढेर आउने जोकोहीलाई पनि पायोले आक्रमण गर्ने चलन थियो । हातमा खड्ग र खुँडा बोकेर थरथर काँप्दै देवता चढेको भान पार्दै पायोहरूको टोल परिक्रमा सांस्कृतिक परम्पराको एउटा रोचक पक्ष थियो ।

तीन सहर काठमाडौंको परम्परागत जात्राहरूमा देश परिक्रमाको सिलसिलामा गाईजात्रा, ‘उपाको’ परिक्रमा, पाहाँचरेको अजिमा रथ घुमाउने लगायत पञ्चदान परिक्रमाको लस्करले हाम्रो टोलमा विशेष रौनक ल्याएको अनुभूति हुन्थ्यो । तीमध्ये हामी केटाकेटी, बालबालिकालाई बाटोबाटोमा बसेर जगात माग्न पाइने घन्टाकर्ण अर्थात् गठाँमुगको पर्व र त्यसमा ‘आजु जय् हा...’ गरेर होहल्ला साथ टोलभरि घुम्न पाउनु, धान्य पूर्णिमाका दिन घरघर गएर ‘योमरी च्वामु’ भन्दै रोटी माग्नु र इन्द्रजात्राताका ‘लाःछकु ब्रय्क समय वजी’ भन्दै छेक्ला बटुल्नु निकै मजा लाग्थ्यो । एवं प्रकार इन्द्रजात्राका बेला ल्याइने ‘पुलु किसी’ अर्थात् मान्द्रो हात्तिको आगमनसँगै टाना... टाना... बाजा र व्हार व्हार बलेका चिरागका साथ हुने होहल्लामा ‘टानां किसी’ वल भन्दै भागदौड गर्दाको मज्जा पनि विशेष थियो । त्यसअतिरिक्त लाखेको नाच हुने बेला महाबौद्ध बहाल भीडले खचाखच हुने गर्थ्यो । एक मोहर (पचास पैसा) चढाए लाखे नाच र लाखेलाई जिस्क्याउने ‘झ्यालिंचा’ नामक ठट्यौलीको गुञ्जायमान क्षण अविस्मरणीय भएर मस्तिष्कमै बसेको छ ।

समाज–समुदायलाई आफ्नो संस्कृति र परम्परासँग जीवन्त राख्न अनि महाबौद्ध बहालको भूमिकालाई विस्तृत बनाउन त्यहाँ मञ्चन हुने नाटक, शिवरात्रिताका मधेशबाट आएका सर्कस खेल, बाँदर र भालुका नाचहरू, इन्द्रजात्रामा भक्तपुरबाट ल्याइने सिंहराजको नाच, महाकाली नाच रोमाञ्चक लाग्थ्यो । उसिनेको आलु माथि आकाशतिर फ्याँकेर क्वाप्प मुखभित्र पार्न सक्ने ‘ब्याँचा’ अर्थात् भ्यागुते नामक व्यक्तिको कर्तुत पनि बिर्सिनसक्नु छ । जे होस् काठमाडौंका यस्ता बहालहरू स्थानीय प्रयोजनका लागि निर्दिष्ट खुला क्षेत्रका रूपमा संरक्षित राख्नु हाम्रो परम्परा हो । व्यापार र व्यवसायका नाममा ती बहाल अतिक्रमण हुनु निकै खेदपूर्ण छ ।

बहाल, बहिल तथा ननी काठमाडौंको मौलिक विशेषता हो । सहरी क्षेत्रभित्र गृहस्थ जीवनमा बसेर बौद्ध धर्मको सांस्कृतिक अभ्यास एवं बौद्ध ग्रन्थको अनुशीलन गर्न/गराउन बहा (बहाल), बही (बहिल) तथा ननीको निर्माण भएको बुझिन्छ । ‘काठमाडौं उहिले र अहिले’ नामक पुस्तकमा तीर्थनारायण मानन्धरले ६६ वटा बहाल, १५ वटा बहिल र १५ वटा ननीको फेहरिस्त प्रस्तुत गर्नुभएको छ । तीमध्ये ‘महाबु बहा’ (महाबुद्ध बहाल) मेरो जन्मस्थल हो ।

काठमाडौंको अर्को विशेषता यहाँका प्रत्येक टोलका सत्तल, पाटीपौवाहरू तथा डबलीहरू हुन् । ती सामुदायिक वा सार्वजनिक प्रयोजनका लागि हुन्थे । सहरी विकासको वर्तमान अतिक्रमणले ती रचनाहरू बिलाउने क्रम तीव्र छ । मेरो टोलमा दुईवटा ‘फल्चा’ अर्थात् पाटी थिए । एउटामा घरबारविहीन ग्वार्चा नामक टुहुरो बस्थे । उनी शतप्रतिशत मगन्ते थिए । भोजभतेरमा माग्न जाने उनको विशेषता थियो । ग्वार्चालाई भोज भाग नदिएसम्म महाबौद्ध टोलको कुनै पनि भोज पनि पूर्ण हुँदैनथ्यो । ग्वार्चाले मागेको भोज वा अरू खाने कुरा उसको साथै बस्ने ५/७ वटा भुस्याहा कुकुरहरूलाई नबाँडी उसको मुखमा पर्दैनथ्यो । मेरो टोलको एक विशेष पहिचान थियो– ग्वार्चा । ग्वार्चाको पाटी–बासले पनि अरू सामाजिक प्रयोजनमा कुनै बाधा पार्दैनथ्यो । किनभने ऊ आफ्नो थाङ्नोमाङ्नो दिन सुरु भएपछि अन्तै राख्ने गर्थ्यो । तसर्थ बेलाबखत खसी काटेर मासु भाग लगाउने काम पनि त्यही पाटीमा हुन्थ्यो भने हामी केटाकेटी पाय्,ँ चौका, पञ्जा र छक्का खेल्न त्यही पाटीमा जम्थ्यौं । यस्ता पाटीपौवामा आजभोलि स्थायी पसल थापेर तिनलाई हडप्ने चलन छ । महाबौद्ध बहालभित्रको अर्को एक पाटीमा पनि हामी तास–जुवा खेल्थ्यौं, तर पैसा थापेर खेल्ने हाम्रो औकात थिएन । चुरोटको बट्टा काटेर बनाइएका तासहरू तथा स्वास्नीमान्छेका चुरीका काँचका रंगीबिरंगी टुक्राहरू तथा काँचका टुक्रा पेलेर बनाइएका ‘लोल’ हरू थापेर दाउ खेल्ने गरिन्थ्यो । पैसा थापेर खेल्नेहरूलाई पुलिसको डर हुन्थ्यो । साँझतिर त्यस पाटीमा बूढापाकाहरू सँगै बसेर गफ गर्ने, तमाखु खाने, कक्कड पिउने, यदाकदा फागुका बेला गाँजा पनि सर्काउने काम गर्थे । पाटीको अर्को महत्त्वपूर्ण प्रयोजन बाहिरबाट आएका बटुवाहरूलाई बास दिनु पनि थियो । ढाक्रे, भरिया वा अरू बटुवा त्यहाँ आउँथे, भात भात पकाएर खान्थे वा एक रात सुतेर फर्किन्थे ।

काठमाडौं सभ्यतामा यस्ता पाटीपौवा (फःल्चा), सत्तल (सतः), मन्दिरका पेटी (फः) र डबली (डबु) को विशेष स्थान छ । बाहिरी गाउँ–ठाउँबाट आएका मानिसलाई विश्राम वा बास बस्ने सुविधा यिनै फल्चा र सत्तलहरूले प्रदान गर्थे । रानीपोखरीकै आडमा रत्नपार्क (तत्कालीन टुँडिखेल) सँगै एउटा ठूलो पाटी थियो । त्यहाँ २५/३० जना सजिलै अट्थे । पूर्वतिरबाट आउने बटुवाहरू त्यहाँ बास बसेका देखिन्थे । उनीहरू साथमै दाउराका मुठा, खानेकुरा, सामल सामग्री तथा भाँडाकुँडा बोकेर ल्याउँथे । चुलो थाप्ने ढुंगाबाहेक सबथोक आफैंसँग हुन्थ्यो । दरबार स्कुलबाट हाफ टायममा छुट्टीमा त्यहाँ चहार्ने गर्थें । क्षेत्रपाटी, सोह्रखुट्टे पाटी र काष्ठमण्डप नामक अरू सत्तल (मरु सतः) पनि आतिथ्यका अखडा नै थिए । विभिन्न देवालय र मन्दिरहरूमा गुठी–गाना मनाउन स्थापना गरिएका सत्तलहरू पनि अतिथिका लागि प्रयोग हुने गर्थे । घर बहालमा डेरा दिने काठमाडौंको चलन थिएन । पसल–कवल र छिँडीमा यदाकदा सिपाही र पुलिसलाई बास बस्ने डेरा दिने चलन भने थियो । वर्तमान काठमाडौंको स्वरूपमा होटल, लज, हाउजिङ कम्प्लेक्स, विशालबजार (सपिङ कम्प्लेक्स) आदिलाई नियाल्दा पूरै काठमाडौं बहाल सोहर्न र भाडा खान मुख बाएर बसेको अगस्त्य ऋषिजस्तै लाग्न थालेको छ ।

मेरो परिवार

हाम्रो संयुक्त परिवार थियो । बुबाका तीन भाइका सन्तान सबैलाई त्यो ४/५ कोठाको घर निकै अपुग र अप्ठ्यारो थियो । अंशबन्डा गरेर घर भाग लगाउन सम्भव थिएन । काठमाडौं सहरका कतिपय घरहरू अंशबन्डाका कारण कुरूप बन्न थालिसकेका थिए । एक भाइले पुरानो संरचना भत्काएर नयाँ र अग्लो घर निर्माण गर्ने र अर्को भाइ पुरानै संरचनामा बस्नुपर्ने बाध्यताले कलात्मक पुराना घरहरू बिग्रने–भत्किने क्रम चल्दै गयो । धेरैले परम्परागत घर बेचेर सहरको बाहिरी क्षेत्रमा नयाँ घर बनाएर परिवार टुक्रिने क्रमलाई अघि बढाउन थाले । मेरो परिवार त्यही कोटिमा पर्न गयो । संयुक्त परिवारको त्यो अतीत र पृथक् परिवारको यो वर्तमानलाई नियाल्दा आफैं रनभुल्लमा पर्न थालेको छु । त्यो बेला परिवारजन धेरै, कोठा थोरै थियो । वर्तमानमा भौतिक संरचना र कोठाहरू धेरै छन्, तर त्यहाँ बस्ने परिवारजन छैनन् । धेरैका परिवारमा युवा पुस्ता विदेशतिरै भास्सिएका छन् । परिवार भन्नु ज्येष्ठ उमेरका वृद्ध–वृद्धा मात्रमा सीमित हुने अवस्था सिर्जना हुँदैछ ।

...

नयाँ लुगा लगाउन, पेटभरि मासु भोजन गर्न दशैं नै कुर्नुपर्ने ती दिन, सिंगो–सिंगो अण्डा खान आफ्नै जन्मदिन वा तिहार कुर्नुपर्ने ती क्षण, स्याऊ–अनार–मौसम खान कडा रोगबाट बौरिनुपर्ने ती दिन, साइकलबाहेकका अरू गुड्ने पांग्रे साधन चढ्न भारततिरै लाग्नुपर्ने ती बेलाका सम्झनाले मलाई अचम्भित तुल्याउँछ । रुपैयाँ–पैसाको अवमूल्यन र बेसाहा भाउको रकेट उडान देख्दा आकाश–जमिनको भेउ पाउन पनि गाह्रो भइरहेको छ । जे होस्, समय–परिस्थितिको परिवर्तन क्रमबद्ध र समयसापेक्षित भए मात्रै त्यो स्वाभाविक र प्राकृतिक हुन्छ ।

प्रकाशित : भाद्र ३०, २०८० १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?