कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

चिरञ्जीवी मालबाको कथामाला

मान्छेको जीवन प्रेम र द्वन्द्वको प्रतीक हो, जिन्दगीभरि ऊ सिकिरहन्छ । पृथ्वी विद्यालय हो, जिन्दगी एक विद्यार्थी !
विश्व पौडेल

उष्ण गर्मीमा उत्तर कंकालिकोट डाँडाहरूको बीचबाट बत्तिँदै आएको चिसो हावाको एकसरो स्वाद लिन बसेका पहाडिया पुरवासीहरूको तारणहार थियो– पूर्वी चितवनको बेल्सीको पुल । बिहान त्यहीँ आफ्नो सम्पूर्ण कलासहित तेक्वान्दोका विद्यार्थीहरू खेल्थे । साँझपख छुट्टै माहोल हुन्थ्यो र धेरैका लागि विपिन दाइका कथाहरूमा पाइने स्वादको छुट्टै आकर्षण थियो ।

चिरञ्जीवी मालबाको कथामाला

‘संसारको गति छुट्टै छ, कहाँबाट कहाँ पुगिसक्यो !,’ एक दिन विपिन दाइले पत्रिका देखाउँदै भने ।

लगभग १२ वर्षको, सानै भए पनि सौन्दर्यचेत आउन लागेको एक श्रोताले पर हिँड्दै गरेकी एक उसकै बयकी महिलातिर हेर्दै विपिन दाइलाई सोध्यो, ‘संसार कति नै टाढा पुग्यो र दाइ ?’

‘अमेरिकाको इन्डियाना राज्यको रोबर्ट भन्ने केटाले गर्भधारण गरेछ,’ उनले रोबर्टको ठूलो पेटसहितको फोटो देखाए ।

यो कथा एक्लै आएको थिएन । महिना दिनअघि चीनमा वैज्ञानिकहरूले मरेको मान्छेलाई ब्युँताउने चास्नी बनाएको खबर विपिन दाइले सुनाएका थिए । एउटा लासलाई त्यो चास्नीमा डुबाएपछि त्यो लास तुरुन्त उठेको थियो । त्यो सुनेपछि बितेका हजुरबा अलि चाँडो बित्नुभएछ भन्ने सोचेर थकथक मानिरहेको उक्त श्रोतालाई एकपछि अर्का यी खबरले अत्यन्तै छक्क पारे ।

तर, कथावाचनमा विपिन दाइलाई चुनौती नै दिन नसक्ने मानिस नभएको पनि होइन । छेउमै बसेर हाम्रो कुरा सुनिरहेका मालबाले स्रोतागण सबैलाई शान्त पार्दै भने, ‘यो कुनै नयाँ कुरा हैन । महाभारतमा युवनाश्व राजाले पनि गर्भधारण गरेका थिए ।’

‘भएको के थियो भने ऋषि च्यवनले राजाका लागि पुत्र कामेष्टी यज्ञ गराएका थिए । यज्ञअन्तर्गत गर्भ रहने जल अभिमन्त्रित गरेर एउटा कलशमा राखेका थिए, बेलुका राजाले प्यास लाग्यो भनेर त्यही पानी पिइदिए । उनको गर्भ रह्यो । गर्भ त रह्यो, तर बच्चा निकाल्ने कसरी ? पछि डाक्टर अश्विनी कुमारले कमलको डाँठले पेट काटेर बच्चा निकालेका थिए, ‘मालबाको कथाले त्यो दिन विपिन दाइको नयाँ खबरलाई फिका बनाइदियो ।’

‘मरेको मान्छे ब्युँताउनु पनि कुनै नयाँ कुरा भएन । विभ्रुवाहनले मारेपछि अर्जुन ब्युँतिएकै हुन्, गर्भमै मरेका परीक्षित पनि ब्युँतिएकै हुन्,’ मालबाले थपे ।

उठ्ने बेला त्यहाँ जम्मा भएका सबैको निचोड के रह्यो भने पुर्खाहरू सबै निकै विद्वान् थिए, जहाज उनैले बनाएका थिए, सबैखाले बम र मिसाइल बनाएका थिए, प्रविधिमा निकै अगाडि थिए र विदेशीहरू अझै त्यही कुरा गर्न कोसिस गर्दै छन् । दुनियाँ खासै कहीँ पुगेको छैन, कम्तीमा हामी हजारौं वर्षअघि पुगेको ठाउँमा पुग्न कोसिस गरिरहेको भन्दा फरक पूर्वी चितवनबाहिर पनि खासै केही भएको छैन ।

जीवन खनाल र पर्मेसर विक कथा सुन्ने समूहका नियमित श्रोता थिए । ती खासै बोल्दैनथे । पर्मेसर अलि सोझो थियो, हेपिएको पनि थियो । जीवन बेलाबेला सुस्तसँग प्रतिक्रिया राख्थ्यो । अघिल्लो वर्ष पौडी खेल्दै गर्दा जीवन धन्नै डुबेको बेला पर्मेसरले खोलामा तुरुन्त हाम्फालेर बचाएको थियो । बेल्सीको प्राथमिक विद्यालयमा पढ्दा पनि कसैले जीवनलाई पिट्न खोजे पर्मेसरले बचाउँथ्यो । संयोगले ती दुवै एकै दिन जन्मेका थिए । जीवन तेक्वान्दो खेल्ने समूहमा जाँदा पर्मेसर पनि सँगै गएको थियो । तेक्वान्दो खेल्न अलिअलि जानेपछि जीवनलाई रूख देखे रूखमा, बिजुलीको पोल देखे पोलमा लात्ता हान्ने बानी परेको थियो । एक दिन गोठमा गएर बाँधिरहेको गाईलाई उसले लात्ताले हानेको देखेपछि उसका बाले उसलाई तेक्वान्दोबाट झिकिदिएका थिए । जीवनले तेक्वान्दो खेल्न छोडिदिएको दिन पर्मेसरले पनि खेल्न छोडिदिएको थियो ।

‘यो टाइगन्टु कामै छैन,’ जीवनका बाले विपिन दाइका कथाका श्रोताहरू सबै बसिरहेको बेला बेल्सी पुलमै आएर घोषणा गरिदिएका थिए ।

‘आत्मरक्षाका लागि काम लाग्छ नि,’ जीवनले प्रतिवाद गर्न खोजेझैं गर्‍यो ।

उसका बाले जीवनको कुरालाई ध्यान दिएनन् ।

जीवन र पर्मेसर दुवै एक दिन जुन सिनेमाहलमा फिल्म हेर्न गएका थिए । जुन सिनेमाहलबाट यी दुई संगमचोक निस्कनुभन्दा पुलचोकतिर निस्किए । साँझ परिसकेको थियो । जीवनले एकैछिन नारायणीको पुलमा गएर हावा खाने रहर गर्‍यो । पर्मेसरले उसलाई ‘होइन घर फर्कौं, ढिलो भइसक्यो’ भन्यो, तर जीवनले कर गर्‍यो । पुलछेउ केही लागूपदार्थका दुर्व्यसनी केटाहरू थिए । उनीहरूले सुरुमा यी दुईलाई जिस्क्याए, तर केही छिनपछि पैसा माग्न थाले ।

‘ओइ, पाखे हो, पैसा छ भने निकालो,’ एउटाले जीवनतिर फर्केर भन्यो । जीवन अलिकति डरायो, तर सधैं शान्त रहने पर्मेसरले ठाडो स्वरमा ‘तेरो बाउले राख्न दिएको छ र हाम्रो पैसा तँलाई दिने ?’ भनेर सोध्यो ।

पर्मेसरको ठाडो बोलीले ती केटाहरू रिसले चूर भए । साँझ परिसकेको थियो, तर पुलमा अझै चहलपहल धेरै भइसकेको थिएन । पाँच जना केटाहरू मिलेर यी दुवैलाई घेरे, यिनको गोजीको वालेट निकाले र यिनीहरूलाई पुलबाट खसालिदिए । यी सबै काम यति छिटो भयो कि त्यो साँझपख यो घटना अन्य कसैले पनि थाहा पाएन । वालेट लिएर ती केटाहरू लागूपदार्थ किन्न हिँडे ।

जीवन र पर्मेसरको शरीर पुलबाट सीधा खोलामा ठोक्कियो र भाँच्चिएको करङले मिर्गौलालाई छेड्यो । बिस्तारै रक्तस्राब धेरै भयो र पानीमा डुबेको केही सेकन्डमै जीवनलाई बेहोस हुँलाजस्तो भयो । सास फेर्न गाह्रो भएकाले उसले खोलाको पानी तनतन पियो । एकैछिनमा उसले आफूलाई आफ्नो शरीरबाट उठेर बाहिर निस्केको पायो । उसको शरीर बिस्तारै खोलासँगै बग्न थाल्यो । आफ्नो शरीरबाट बाहिर निस्केको जीवन बिस्तारै आफ्नो शरीर हेर्न थाल्यो ।

केही छिनपछि बग्दै गरेको जीवन र पर्मेसरको शरीरलाई गर्भधारण गर्न नारायणीको तलबाट माथितिर पौडँदै आएकी एउटा गोहिनीले फेला पारी र सक्ने जति टोकी । बाँकी क्षतविक्षत शरीर गोलाघाटको तीरमा फेला पर्‍यो । जीवन ती लासहरू पछ्याउँदै गोलाघाटसम्म गयो ।

भोलिपल्ट सम्पूर्ण चितवन स्तब्ध हुने गरी जीवन र पर्मेसरको लास नारायणी खोलाबाट तलतिर गोलाघाटमा फेला परेको खबर सबै चितवनवासीले सुने । जीवनको बुबालाई अरू कुराले भन्दा पनि जीवनले ‘तेक्वान्दो आत्मरक्षाका लागि काम लाग्छ नि’ भनेको कुराले पछिसम्म पोलिराख्थ्यो ।

...

आफ्नो र पर्मेसरको क्षतविक्षत नश्वर शरीर पछ्याएर गोलाघाटसम्म पुगेको जीवनले गोलाघाटमा पुगेपछि बल्ल आफ्नै छेउमा पर्मेसरलाई देख्यो । जीवन र पर्मेसर एकैछिन आफ्नो–आफ्नो लासलाई हेरेर गोलाघाटको किनारमै बसे । जीवन भर्खर जन्मेको शिशुजस्तो अलिकति कन्फ्युज्ड देखिन्थ्यो । उसले पर्मेसरतिर हेरेर भन्यो, ‘गजब भयो । कहाँ छौं हामी ?’

पर्मेसरले एकैछिन व्याख्या गर्‍यो, ‘तिमी जीवात्मा हौ, म परमात्माको अंश हुँ । हामी जीवात्मा र परमात्मा जुनसुकै चोला लिए पनि प्रायः सँगै हुन्छौं, दुईवटा चराजस्तै । तिमी प्रकृतिले दिएको तिम्रो नश्वर शरीरको प्रकारअनुसार कर्म गर्छौ, म हेरिरहन्छु । यसपटक गल्तीले मैले अर्को चोला लिएँ । तर, तिमीलाई छोडिनँ, सधैं सँगै रहें ।’ ‘तिमी साँच्चै परमेश्वरको अंश हौ ? तिमी न कुनै उच्च भनिने जातमा जन्मेका थियौ, न कुनै सम्पन्न घरमा, न कक्षामा पहिलो हुन्थ्यौ, न सबैभन्दा सुन्दर थियौ, न कुनै खेलकुद प्रतियोगिता जित्थ्यौ । कसरी पत्याऊँ कि मेरो पछिपछि लागेर हिँड्ने केटो परमात्मा थियो ?‘ जीवनले नपत्याएको भावले सोध्यो ।

पर्मेसरले उसलाई जवाफ दियो, ‘म सृष्टिकर्ता हुँ, सबै मेरो हो त मलाई किन धनीको घरमा जन्म लिनुपर्‍यो ? म सबै श्रेष्ठहरूको श्रेष्ठ हुँ, त्यसैले मैले दौडमा प्रथम भएर वा कक्षामा प्रथम भएर देखाउनुपर्ने के नै थियो र ?’

केही सम्झेझैं पर्मेसरले जीवनलाई त्यसपछि भन्यो, ‘मृत्यु भयो र अब हामी आफ्नो–आफ्नो गन्तव्यमा जानेछौं । तिम्रो कर्मको हिसाबकिताब हुन्छ ।’

जीवनले पर्मेसरलाई भन्यो, ‘मलाई अझै मर्त्यलोक हेर्ने रहर छ । अर्को जन्म लिएर आउन पनि सक्दो हुँ, तर अहिल्यै यत्तिकै कुरेर बस्नुभन्दा एउटा जवान मान्छे भएर घुम्न, हेर्न र दुईवटा प्रश्नहरूको उत्तर खोज्न मन छ ।’

पर्मेसरले सोध्यो, ‘कुन दुई प्रश्न ?’

जीवनले भन्यो, ‘एक त मान्छेको विश्वासको स्रोत के हो ? मानिसहरूले सत्यभन्दा बढी झूटोलाई विश्वास गरेको देखिन्छ, प्रत्यक्ष प्रमाणभन्दा बढी मनको लहडलाई भर गरेको देखिन्छ । विश्वासको स्रोत आत्मा हो या प्रकृति, यो बुझ्न मन छ । दोस्रो, द्वन्द्वको कारण के हो ? शरीर हो कि जन्म र मृत्‍युसँग निरपेक्ष, न हुर्कने न मर्ने भनिएको आत्मा वा यसलाई चलाउने भनिएको परमात्मा हो ?’

त्यो शान्त गोलाघाटको मैलो बालुवामाथि पर्मेसरले जीवनलाई केही कुराहरू दिन मन्जुर भयो, ‘म तिमीलाई एउटा अर्कै मान्छेको शरीर दिन्छु, त्योभित्र बसेर तिमी चितवन घुम । तिमीलाई भोक, तिर्खा लागेर मर्नुपर्दैन । तिमीलाई केही खान मन लाग्यो भने खान सक्छौ । कतै जानुपर्दा तिमीले चाहेमा आफैं हिँड्न सक्छौ वा मनुष्यले बनाएका कुनै पनि सवारीसाधन चलाऊन सक्छौ । तर, मानिसको ध्यान आफूतिर आकर्षित नगर । मानिसहरूले अरू मान्छेलाई खासै ध्यान दिँदैनन् । लाखौंको भीडमा तिमीलाई कसैले वास्ता गर्नेछैन । जब मसँग कुराकानी गर्न मन लाग्छ, मलाई सम्झेर बोलाऊ, म आइहाल्छु । तिम्रो र मेरो मन जोडिएको छ ।’

त्यो विनिमयपछि जीवनलाई एउटा युवकको शरीर दिएर पर्मेसर गायब भयो । नयाँ मनुष्य कलेवरमा जीवन बिस्तारै गोलाघाटबाट हिँड्न थाल्यो । नजिकै एउटा दोकानमा गएर ऐनामा हेर्‍यो, आफैंलाई चिनेन तर आफू २५ वर्षको जवान कुनै व्यक्तिको शरीर बोकेर हिँडेको महसुस गर्‍यो । ऊ छिटोछिटो पूर्व चितवन आउन चाहन्थ्यो । त्यसैले एउटा त्यत्तिकै राखेको मोटरसाइकल चलाएर टाँडी पुग्यो । बजार पुगेपछि मोटरसाइकल छोडिदियो र आकाशेपुलमुनि बस्यो ।

आकाशेपुलमुनि एक छात्रा सहिद स्‍मृति कलेजबाट हिँड्दै आइपुगिन् । उनको पसिनाको तरले भिजेको रसिलो अनुहारमा पनि आँखा, गाला, नाक, ओठ सबै मिलेको, सुइटर बुन्दा बनेको राम्रो नमुनाजस्तो आकृति देखियो । तालमा तैरिँदै बसेजस्तो, तपतप पानी चुहिएलाजस्तो, सुन्दर आँखा र नजिकैबाट हेर्दा रातको आकाशजस्तो बीचबीचमा ताराहरू भएको कालो नानी कल्पनातीत सुन्दर थिए ।

जीवन नजिकै गएर ती छात्रालाई एकटकले हेरिरह्यो । महिलाको सुन्दरता अर्को संसारबाट पनि हेर्न र सुँघ्न सकिने चीज रहेछ भन्ने उसलाई महसुस भयो । यहीबेला एक उस्तै उमेरको छात्र ती महिलाको नजिक गयो र सुस्तसँग बोलायो, ‘सृष्टि !’

ती दुवै एकअर्काप्रति आसक्त थिए । आत्मा वीतराग हुने भएकाले आसक्ति प्रकृतिले सिर्जना गरेको फगत दुई लौकिक शरीरबीचको रासायनिक प्रक्रिया हो भन्ने जीवनले सम्झ्यो । त्यही बेला उक्त छात्रले सृष्टितिर हेर्दै भन्यो, ‘म तिमीलाई धेरै माया गर्छु । म तिम्रो प्रेममा छु ।’

सृष्टिले रसिला आँखाले हेर्दै उसलाई सोधी, ‘तिमीलाई कसरी तिमी मसँग प्रेममा छौजस्तो लाग्यो ?’

छात्रले प्रेमको परिभाषा गर्‍यो, ‘तिमी कहीँ आउँदैछ्यौ भन्ने थाहा भयो भने, तिमीलाई कतै भेट्ने सम्भावना छजस्तो लाग्यो भने, मेरो मुटु अली बढी ढुकढुक गर्छ, नजिकै पुगेपछि तिमीलाई नदेखुन्जेल आँखा तृप्त हुँदैन, घुमिरहन्छ, खोजिरहन्छ । देखेपछि बल्ल शान्त हुन्छु ।’ सृष्टिसँग अनगिन्ती वार्तालापपछि छात्र बेल्सीतिर बढ्यो । उसको घर बेल्सीबजारमा थियो । दुई तलाको ठूलो, कम्पाउन्डसहितको । ऊ घरभित्र छिर्‍यो र लामो सास फेर्‍यो ।

जीवनचाहिँ सृष्टिसँगै उसको घरसम्म गयो । उनको घर जयमंगला बजार नजिक थियो । सृष्टिको घरमा बा थिए, पक्षाघात भएर खाटमा बसिराख्ने आमा थिइन् । ती तुलनात्मक रूपमा विपन्न थिए, तर खान–लाउन नपुग्ने नै पनि होइन । बाले सृष्टिलाई आँखामा राखेर हुर्काएका थिए । पक्षाघातले थलिएर खाटमै भएकी आमा छोरीलाई आँखा आँसुले भरेर टिलपिल पार्दै हेर्थिन् । सृष्टि घरमा आएपछि बाले गोलभेंडाको रस धेरै भएको चाउचाउ बनाएर खुवाए र सोधे, ‘आज कलेज कस्तो भयो ?’

तिनीहरूको परिवार कुश्माबाट चितवन झरेको थियो । बूढाबूढी भएर अरूको खेत भाडामा लिएर तरकारी खेती सुरु गरेका थिए, नारायणघाट लगेर बेच्थे । फेरि एक दिन छोरी जन्मी, जन्मिँदा बढेको आमाको रक्तचाप त्यसपछि कम हुने, बढ्ने गर्न थाल्यो, अस्थिर हुन थाल्यो र एक दिन एक झट्कामा शरीरलाई चल्न नसक्ने गरी पक्षाघातले हान्यो । बूढाबूढीले मुन्डा घर बनाएका थिए, थोरै जग्गा जोडेका थिए । श्रीमतीलाई पक्षाघात भएपछि बूढालाई पनि धेरै काम गर्ने जोस हरायो । छेउछाउमा भएका नातेदारलाई ती भन्थे, ‘हाम्रो यस्तै भयो, बस् यो छोरीको हाँसो सधैं रहोस् । यसैका लागि बाँचेका छौं ।’ ती आफूले सक्ने र चाहिनेभन्दा धेरै तरकारीको खेती र व्यापार गर्दैनथे ।

सृष्टि पनि दिन दुगुना, रात चौगुना शुक्ल पक्षको चन्द्रमाजस्तो बढ्न थाली । यति राम्री थिई कि उसलाई कतै कसैले केही गरिदिने त होइन ? भनेर बालाई सधैं डर भइराख्थ्यो । बाबुआमा दुवै चाहन्थे, छोरीले मनको धनी केटो रोजोस्, जसले उनीहरूको परिस्थिति पनि बुझोस्, छोरीलाई पनि माया गरोस् ।

अँध्यारोको बत्तीले वरिपरि प्रदीप्त गरेझैं माया, प्रेमले वरिपरि सबैलाई थाहा हुनेगरी मन चंगा बनाउँछ । सबैले ढिलो–चाँडो मायामा परेको मान्छेलाई चिन्छन् । छात्रको खुसी पनि बाहिर देखिन थाल्यो । उसका बा, दाइले पनि त्यो खुसी देखे, सृष्टिबारे थाहा पाए, अनि तुरुन्त सृष्टिसँगको सम्बन्ध जतिसक्यो चाँडो तोड्न भने ।

सृष्टिको बा कुश्माको भुसाल थियो, उसको पूरा नाम प्रह्लाद भुसाल । एक दिन साइकल चलाएर जयमंगलादेखि बेल्सी आएर कुरा बुझ्यो । केटो ठीकै लागे पनि केटोको परिवारको हाउभाउमा बडप्पन देख्यो र खिन्न भएर घर फर्क्यो । मनमनै ‘जे नहोस् भन्ने सोचेको थिएँ, त्यही भयो’ भन्यो ।

उता बाबुआमाको प्रतिक्रिया छात्रले बुझ्यो । उसको मन खिन्न भयो । ऊ घरबाहिर बढी बिताउन थाल्यो । एक साँझ उसले मालबासँगै कयरखोलाको पुलमा बसेर आफ्नो कुराहरू गर्‍यो ।

‘हेर केटा’, मालबाले छात्रलाई सम्झाए, ‘२० वर्षको उमेरमा जवानीको जोस अनुसार केटी हेरिन्छ, चुलबुले फरासिली राम्री केटी देख्यो भने त्यसै मन पर्छ । २० वर्षको उमेरमा, हुन त ३० वर्ष पुगिसकेको छैनस्, तैपनि सुन, केटाहरूले पनि उँचनीच इष्टमित्र हेर्छन्, ४० वर्षको उमेरमा केटीमा पाकोपना खोज्छन् । ४० वर्षको इन्जिनियरलाई आफूजस्तै सफल इन्जिनियर, डाक्टरलाई आफूजस्तै वा आफूभन्दा सफल डाक्टर झन् बढी मन पर्छ । ५० वर्षमा बिहे गर्नुपर्‍यो भने, बुद्धि हेर्दा तेरो खासमा बिहे ५० वर्ष नभै नहोला, केटाहरूले पनि मीठो गफ गर्ने केटी खोज्छन् । समय कटाउन जो रमाइलो हुन्छजस्तो लाग्छ, त्यही बिहे गर्न खोज्छन् । तँ लठुवाको कुरा के गर्नु ? त्यही २० तिर छस् ।’

छात्रले उदास भावमा भन्यो, ‘मेरो उमेर कम भए पनि मैले महसुस गरेको प्रेम हो, अरूको जवानीको जोस होला ।’

कंकालीकोट डाँडाबाट आएको चिसो हावा स्वाइय्यँ गरेर ती दुवैको कपाल छोएर उड्यो । त्यही बेला छात्रले मालबालाई सोध्यो, ‘मालबा, मैले मन पराएको केटीको आँखा पानीले पुछेर राखेको जस्तो रसिलो छ, उसको घाँटीमा छुँदा हाँसको बच्चाको घाँटीमा छोएजस्तो मुलायम महसुस हुन्छ । मैले भनेका हरेक कुरा पत्याउँछे, मैले भनेका हरेक मजाकमा दिलैदेखि हाँस्छे । उसलाई चोट मात्र पुर्‍याएँ भने स्वर्गको ढोका पुगिसके पनि देउताले घिसारेर नर्क लगिदिन्छन्जस्तो लाग्छ ।’

‘तँलाई यताउता भयो भने स्वर्ग जान्नँजस्तो लाग्छ हो ?,’ मालबाले सोधे ।

‘हो,’ छात्रले भन्यो । जीवनलाई यो संवाद सुन्दै गर्दा लाग्यो, मानिसको क्रियाको प्रमुख निर्धारक स्वर्ग हो, तर ऊ मरेर गोलाघाटमा पुगिन्जेल वा त्यसपछि कहिल्यै पर्मेसरले स्वर्गको कुरा गरेको थिएन । त्यो दिन साँझपख उसले पर्मेसरलाई बोलायो र सोध्यो, ‘स्वर्ग के हो, नर्क के हो ? मरेपछि के स्वर्ग वा नर्क कतै जानुपर्ने हो ?’

‘स्वर्ग नर्क केही हुँदैन, एउटा वैकुण्ठ छ । वैकुण्ठ आफैंमा ओजपूर्ण छ । त्यहाँ आफ्नै प्रकाश हुन्छ । उज्यालोका लागि सूर्य, तारा वा आगो चाहिँदैन । परमात्मा त्यही हुन्छ, परमपुञ्जजस्तै निराकार, निर्गुण । जीवात्माहरू पनि स्वच्छ भएपछि जान खोज्ने त्यहीँ हो । त्यहाँ जान नसकुन्जेल बाहिर घुमिराख्ने हो, चोला लिएर वा त्यसै । बिस्तारै तिमीलाई पहिलेका कुराहरू याद आइहाल्छ । अनादी, अनन्त जीवात्मा भएकाले तिमीलाई पनि यो सबै थाहा छ,’ पर्मेसरले भन्यो ।

‘अनि वैकुण्ठमा गएर जीवात्माले गर्छन् के ?’

‘ध्यान, परमयोग । शान्ति प्राप्त भएपछि, मोक्ष प्राप्त भएपछि, तिमी पनि परमात्माको अंश हुन्छौ, मैजस्तो ।’

यदि स्वर्ग छैन भने मानिसहरू के कुरालाई किन विश्वास गर्छन् र त्यसअनुरूपको आचरण गर्छन् ? जीवन यो सोच्दै गयो । बेल्सीमा बसेका मानिसहरूमध्ये उसलाई मालबा सबैभन्दा अनुभवले खारिएका लागे । मालबा वितराग र अनाशक्त देखिन्थे र त्यहीअनुरूप मानिसलाई सल्लाह दिन्थे । तिनलाई इतिहासको पनि धेरै कुरा थाहा थियो ।

बेल्सीको पुलमा धेरै स्थानीय बसेका थिए । जीवन पनि टुसुक्क गएर बस्यो । उसलाई कसैले चिनेनन्, उसले पनि आफ्नोबारे बताउन जरुरी ठानेन । सबैले गाउँका दुई युवाहरूको मृत्‍यु भएकोमा दुःख मानेका थिए ।

जीवनले पुलमा पल्टिएर गाउँलेहरूलाई ज्ञान बाँड्दै गरेका मालबा देख्यो, जो भनिरहेका थिए, ‘ब्रह्माण्ड अण्डाकारको छ, भूगोल गोलो छ, यो कुरा हजारौं वर्षपहिले पत्ता लागेको हो । भूगोल शब्दमै गोलो भन्ने परेको छ, ब्रह्माण्ड शब्दमै अण्ड भन्ने शब्द परेको छ...।’ यस्तो थियो अरू सबै वादभन्दा बढी चर्को मालबाको ‘पुर्खावाद’ सिद्धान्त ।

गाउँलेहरू हिँडिसकेपछि जीवनले आफ्नो परिचय नदिईकन मालबालाई सोध्यो, ‘मालबा, सृष्टि त्यो छात्र र उनीहरूबीचको प्रेमलाई विश्वास गर्छिन्, हो ?’

‘हो ।’

‘तर, त्यो छात्रले सृष्टिलाई ढिलोचाँडो धोका दिन्छ, हो ?’

‘हो । उसका बा र दाइले उसलाई भनेपछि ऊ ढिलोचाँडो सृष्टिबाट पर हुने एउटा उपयुक्त बहाना खोजिरहेको छ । मेरा तर्क त निमित्त मात्र हुन् ।’

‘मालबा, मान्छेले के कुरालाई विश्वास गर्छ ?,’ उसले एक प्रश्न सोध्यो ।

‘मान्छेले इतिहास र अनुभवलाई विश्वास गर्छ । र, पत्याऊ–नपत्याऊ, मान्छेले आफ्नो जुनीभन्दा लामो अनुभव सँगालेको हुन्छ । आफ्नो बाउबाजेको मुखबाट, आफ्नो जिनबाट, मान्छेले इतिहास पाएको हुन्छ । इतिहासको भारलाई मानिसले धेरै बोक्छन्, मान्छेमा इतिहासको डोरीको प्रभाव धेरै परेको हुन्छ । मानिसले लामो समयको इतिहासबाट आफू अस्तित्वमा भएको बुझिसकेको हुन्छ । उसलाई थाहा छ कि उसका बा थिए, हजुरबा थिए, जीबा थिए, र ती सबै प्रजनन गर्ने उमेरसम्म जेसुकै उपाय अपनाएर भए पनि जिउँदै थिए । जुन डोरी तान्दै आफू विगतका खाल्डाखुल्डी छिचल्दै वर्तमानमा आएर पृथ्वीमा अवतार लिन सक्षम भयो, त्यसप्रति मानिसको अवचेतनमा निकै सम्मान हुन्छ । यसैले उसले त्यसमा आधारित भएर विश्वासको पद्धति निर्माण गर्छ । यसैले नयाँमा भन्दा विगतमा, स्वर्गको पुरस्कारको अपेक्षामा भन्दा इतिहासको हन्डरमा, उसको विश्वास हुन्छ । हेरेर उसले जे देखेको हुन्छ, त्यसको प्रतिरोधमा एउटा जेनेटिक धागो उसको शरीरभित्र हुन्छ । त्यो धागोमार्फत उसले धेरै ज्ञान पुर्खाबाट प्राप्त गरेको हुन्छ । उसले मुख्यगरी त्यही धागोबाट निसृत ज्ञानलाई विश्वास गर्छ ।’

‘२० पुस्ताअघि यस केटाका पुर्खाहरूमध्ये एकले एउटा शक्तिशाली परिवारको घरमा बिहे गरेको थियो, अर्कोले दुःख पाएको कमजोर व्यक्तिको घरमा । यो छात्र त्यही दुःख पाएको कमजोर व्यक्तिको वंशमा जन्मेको हो । यिनीहरूमा आफ्नो परिवार गलत बिहेले गर्दा कमजोर भए भन्ने मान्यता छ र विगत धेरै पुस्तादेखि नै यिनीहरूले पाएसम्म सधैं बिहे आफूभन्दा बलियो परिवारसँग गर्नुपर्छ भन्ने मान्यता वोकेका छन् । अहिले यो छात्र क्याम्पस गएर केही समयसम्म आफूलाई मन परेको व्यक्तिसँग बिहे गर्नुपर्छ भन्ने मान्यता बोकेर बसेको भए पनि अन्ततोगत्वा यसले इतिहासदेखि पछ्याउँदै आएको मान्यतालाई छोड्नेछैन । सृष्टिको इतिहास भने अर्कै छ, उनी सधैं अर्कालाई विश्वास गरेर प्रगति गरेका कृष्णसारको झुन्डजस्तो परिवारमा हुर्केकी हुन् ।’

जीवनले चकित हुँदै सुन्यो । अन्त्यमा उसले सोध्यो, ‘मालबा कसरी यो थाहा पाउनुभयो ?’

त्यही बेला उनीहरूको छेउमा आएर पर्मेसर टुसुक्क बस्यो । ‘जीवन, मालबा मजस्तै पर्मेसरको एक अंश हुनुहुन्छ,’ उसले भन्यो । पर्मेसर र मालबा एकअर्कालाई हेर्दै हाँसे ।

मालबाले भने, ‘जीवन, तिमीमा र हामीमा एउटा फरक छ । तिमी पनि लामो समयदेखि यो ब्रह्माण्डमा छौ । हामी पनि छौं । तर, तिम्रो सम्झना हाम्रोजस्तो छैन । पर्मेसर र म दुवै सूर्यको सृष्टि भएको दिन सम्झन्छौं, तिमी सम्झँदैनौं ।’

पर्मेसरले सोच्दै भन्यो, ‘त्यो दिन म पर बसेर मालबासँगै सूर्य उत्पन्न भएको हेरिरहेको थिएँ । अन्तरिक्ष उज्यालो भएको थियो । तातो विस्फोटहरूले वरिपरिका तारागण आत्तिएका थिए । बिस्तारै सुन्दर नीलो पृथ्वीले आकार लियो, छेउमा अर्को सानो चन्द्रमा देखियो र ती दुवै सूर्यको वरिपरि घुम्न थाले । मालबाले उत्साहित हुँदै भन्नुभयो– कति सुन्दर पिण्ड ! मालबा पृथ्वीलाई धेरै माया गर्नुहुन्थ्यो । हजारौं वर्षअघि पृथ्वीमा आएर मानिसलाई अक्षर लेख्न सिकाउने पनि मालबा नै हो ।’

मान्छे इतिहास र अनुभवलाई विश्वास गर्छ । उसले आफ्नो जुनीभन्दा लामो अनुभव सँगालेको हुन्छ । बाउबाजेबाट, जिनबाट मान्छेले इतिहास पाएको हुन्छ । इतिहासको भारलाई मानिसले धेरै बोक्छन् ।

जीवन अलमलियो, एक छिन त केही बुझ्न सकेन । ऊ मालबा र पर्मेसरलाई प्रणाम गरेर पुलबाट बिदावादी भयो ।

जीवनका उत्सुकता अझै सिद्धिएका थिएनन् । ऊ जान्न चाहन्थ्यो– मानिस, जसभित्र आत्मा र परमात्माहरू हुन्छन्, किन एकअर्कासँग द्वन्द्व गर्छन् ?

उक्त छात्र फेरि एक दिन सौरहाको राप्ती खोलातीरमा कफी खाँदै सृष्टिसँग बस्यो । त्यसको केही दिनअघि छात्रको बुबाले अर्की एक सम्पन्न परिवारकी सुन्दर युवतीबारे ऊसँग कुरा गरेका थिए । ती युवती भण्डाराकी थिइन् । छात्रले एक दिन मन नलागी नलागी उक्त छात्रालाई हेर्‍यो र हेर्नेबित्तिकै उसको मन दोमन भयो । छात्रको बुबाले उसलाई भने, ‘हेर् बाबु, संसार धेरै फराकिलो छ, तँ त्यसै कुवामा हाम्फाल्छस् । मेरो कुरा मान्, तँ अहिल्यै कि कतै मन नअडा, कि यो भण्डाराकीसँग बिहे गर् । त्यो जयमंगलाकीसँग बिहे गरिस् भने मसँगको सम्बन्ध टुट्यो भन्ने मान् ।’

उक्त युवतीलाई नदेख्दा र देख्दा उसको मन धेरै फरक भइसकेको थियो । राप्ती खोलातिर हेर्दै सृष्टिलाई उसले भन्यो, ‘घरकाले कुनै हालतले नमान्ने भए । म पढ्न विदेश जान्छु । तिमी पनि मलाई बिर्सन कोसिस गर ।’ सृष्टिले केही भनिनँ, एक छिनपछि टाउको तलतिर झुकाई, दुवै हत्केलाले निधार समाती र रोई । ‘मेरो जीवन बर्बाद गर्‍यौ तिमीले,’ भनी ।

‘त्यस्तो केही नसोच । साथीको रूपमा तिमीलाई सधैं सहयोग गर्नेछु,’ उसले भन्यो । सृष्टि केही बोलिनँ र स्कुटर चढेर जयमंगला फर्की । छात्रले फर्कंदै गर्दा बेल्सी पुलमा मालबालाई एक्लै देख्यो । रोकिएर कयर खोलाको पुलको चिसो हावा खाँदै मालबालाई सोध्यो, ‘मान्छेको जीवन खासमा के हो मालबा ? तपाईं त लामो आयु बाँच्नुभयो !’

मालबाले खिसिक्क हाँस्दै भने, ‘हेर् केटा, मान्छेको जीवन प्रेम र द्वन्द्वको प्रतीक हो । प्रेमबाट जीवन सुरु हुन्छ । द्वन्द्व अन्ततोगत्वा मृत्‍युमा अन्त्य हुन्छ । जिन्दगीभरि मानिस सिकिरहन्छ । मानौं पृथ्वी विद्यालय हो र जिन्दगी त्यहाँको एक विद्यार्थी । मृत्‍युचाहिँ एक झट्कामा हुन्छ । तर, जन्म लिएको दिनदेखि सिक्ने क्रम सुरु हुन्छ । बच्चामा दूध खान, साँवा अक्षर चिन्न, खाना पकाउन, वरिपरिका मानिस बुझ्न, इतिहास गणित बुझ्न मानिस अनवरत सिकिराख्छ । अनि एक दिन एक झट्कामा मृत्‍यु आउँछ । मृत्‍यु इन्स्टान्ट हो, जीवन निरन्तर । मानिस दुःख गरेर सिकेको कुरो भुल्न चाहँदैन । मैले मानिसलाई अक्षर दिएँ, मानिस आफ्ना ज्ञानहरू अक्षरमा लेख्छन्, मृत्‍यु नहुने अक्षर । सिकाइ हरेक प्राणीमा छ ।’

सृष्टि जयमंगला घर पुगी र आफ्नो कोठाभित्र पसी । उसलाई साथीभाइ र ती सबै व्यक्ति याद आए, जसले उसलाई उक्त छात्रको प्रेमिकाको रूपमा चिनेका थिए । उसलाई आफ्नो बाको अगाडि कसरी कुरा गर्ने ? केही सोचाइ आएन, उसको नश्वर शरीरको परिचय मेटिएजस्तो लाग्यो । बिस्तारै अगाडिको सबै कुरा अँध्यारो लाग्यो । भोलिपल्टबाट कसरी एकएक पाइला घरबाट अगाडि सार्ने होला भन्ने सोची । अचानक कहाँबाट के सोचाइ आयो, उसको सललाई पासो बनाएर पंखामा झुन्डिई । उसका बा एकै छिनपछि उसको कोठामा पसे । त्यस दिन तरकारी ओसार्ने गाडी घरै ल्याएका थिए । छोरीको मृत्‍युपछि त्यही गाडी लिएर रिसमा निस्के ।

मालबा र उक्त छात्रसँगै कुराकानी गर्दैगर्दा छात्रका बा पनि बेल्सीबाट आए । जीवन पनि उनीहरूसँगै बस्यो । ती तीनै जनालाई सुनाउँदै मालबाले भने, ‘शरीर के हो भन्लास् केटा । शरीर पनि पैसाजस्तै हो, बजेटजस्तै हो । परमात्माले हाम्रो जीवात्मालाई विभिन्न खालका शरीर दिनुहुन्छ । बाघको शरीर दिनुभयो भने त्यही अनुसार मासु खान्छौं । बाख्रा दिनुभयो भने घाँस खान्छौं । त्यहीअनुसार संसारलाई हेर्छौं । त्यहीअनुसार काम गर्छौं । त्यहीअनुसारको लामो–छोटो आयु बाँच्छौं । शरीर पृथ्वीमा समय व्यतीत गर्ने हाम्रो बजेटजस्तै हो ।’

‘मालबा, हामी घर जान्छौं अब’, उक्त छात्रका बाले भने । मालबाले मुस्कुराउँदै जीवनतिर हेरेर भने, ‘जानुस् । ध्यान दिएर बाटो काट्नुहोला ।’ ती दुवै जना पुलको २० मिटरजति पूर्व हिँड्दै गए र जब दाहिनेपट्टि बाटो कटेर बेल्सीतिर जानुपर्ने बेला भयो, सडकमा पश्चिमबाट आएको तरकारी बोक्ने गाडीले किचेर दुवै ठाउँको ठाउँ बिते । तरकारी बोक्ने गाडीको चालक, सृष्टिको बा, त्यसपछि बिस्तारै हाजिपुर हुँदै कुमरोज सामुदायिक वनतिर मोडिए र आफू पनि एउटा सालको रूखको बलियो हाँगा फेला पारेर झुन्डिए ।

मालबा र जीवन भएको ठाउँमा त्यही बेला पर्मेसर आइपुग्यो । ‘जीवन आत्तिएका त छैनौ ? चाहन्छौ भने भर्खर बितेका सबै जीवात्मासँग अहिले नै भेट गराइदिन्छु ।’ मालबा, पर्मेसर र जीवन पुलबाट उठेर उत्तरतिर भर्खरै बनेको कयरखोलाको तटबन्धको तिरैतिर बिस्तारै हिँड्न थाले । ‘द्वन्द्व एकदमै नैसर्गिक कुरा हो । पृथ्वीमा हेर, कहाँ द्वन्द्व छैन ? जंगलमा जनावरहरूका बीचमा, पानीमा जलचरहरूको बीचमा । यसको पछाडि महत्त्वपूर्ण कारण छ,’ मालबाले भने ।

‘जीवात्माहरू परमात्माको अंश भएर परमधाममा रहने चाहना गर्छन् । परमधाम एक शान्त ठाउँ हो । परमधाममा आत्माहरू ध्यान गर्छन्, बह्माण्डको लय मिलाउने, सृष्टिको नियम बसाउने, ग्रहगण तारागणहरूको चाललाई नियमबद्ध गर्नेजस्ता कुराहरू सोच्छन् । त्यहाँ मोक्ष पाएका, ठूला कुराहरू सोच्न सक्ने आत्मालाई मात्र ठाउँ छ । त्यहाँ अनाहक द्वन्द्व गर्ने, सानो कुरामा विवाद निकाल्ने, स्वार्थप्रेरित आत्माहरूलाई स्वागत गरिँदैन । पृथ्वीलोक आत्माहरू फरकफरक परिस्थितिमा कसरी व्यवहार गर्छन् भनेर जाँच्ने ठाउँ हो । पृथ्वीमा धेरै द्वन्द्वका अवस्थाहरू सिर्जना गरेर आत्माहरूले त्यसलाई कसरी लिन्छन् भनेर हेरिन्छ । जंगलमा, पानीमा, सबैतिर द्वन्द्व छ । पृथ्वीमा द्वन्द्व नियमित कुरा हो, दिगो मित्रवत् सम्बन्ध बरु अपवाद हुन् । एउटा प्राणीले अर्कोलाई देखी सहँदैन । द्वन्द्व सहन सक्ने, द्वन्द्व निरूपण गर्न सक्ने, द्वन्द्वमा उत्तेजित नहुने क्षमताले मात्र आत्मालाई परमधाममा एकअर्कासँग मिलेर बस्न सक्ने बनाउँछ । जसरी इँटा–इँटा मिलेर बस्दा बलियो घर बन्छ, त्यसरी नै चेतनायुक्त आत्माहरू मिलेर परमधामको परमात्मा बनेको हुन्छ । त्यो शक्तिले नै ब्रह्माण्डलाई चलाएको छ ।’

हिँड्दै खाँदर पुगेपछि बिजुलीको ट्रान्समिसन लाइनको खम्बामुनि बसेर पर्मेसरले भन्यो, ‘जीवन, त्यसैले पृथ्वीमा यति धेरै द्वन्द्व छ । यो प्राणीजगत् नै द्वन्द्वमा जीवात्माले कसरी प्रतिक्रिया जनाउँछ भनेर हेर्न बनाइएको हो । ती जो सानो अप्ठेरो सहन नसकेर मरे, जो रिसमा अरूलाई मार्न वा आत्महत्या गर्न तम्सिए, ती आत्मा अझै परमधाम जानलायक छैनन् । ती जो दुःखमा उद्विग्न भएनन्, सुखमा जोसिएनन्, सधैं स्थितप्रज्ञ भए, ती परमधाम जान्छन् । तिम्रो यसपछिको गन्तव्य के हुने हो भन्ने हामीलाई छिट्टै थाहा होला, तर त्यतिन्जेलसम्म आफ्नो नश्वर जीवन सम्झेर आफैं विचार गर, तिमीले फेरि अर्को चोला लिनेछौ कि परमात्माको अंश बन्नेछौ ?’

प्रकाशित : भाद्र २, २०८० १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?