कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

थलाइवा : बस कन्डक्टर टु सुपरस्टार

स्टारडम वा फेम जोकोही कलाकारले पाउलान्, तर रजनीकान्तको जत्ति होइन । आखिर उनमा त्यस्तो के छ, जसले अति सामान्य पृष्ठभूमिबाट आएको मान्छेलाई ‘ईश्वर’ को दर्जामा पुर्‍याएको छ ?
सुशील पौडेल

कडा मिहिनेतबिना केही पनि पाइँदैन, जे पाइन्छ त्यो कहिल्यै फलदायी हुँदैन,’ फिल्मस्टार रजनीकान्तको यो भनाइ उनकै जीवन भोगाइ हो । ७२ वर्षको उमेर सरदर मान्छेको निवृत्तिकाल हो । तर, तिनै रजनीकान्त अझै फलदायी जीवनको रोमाञ्चक यात्रामै छन् । झन्डै पाँच दशकको अनवरत अभिनय यात्रामा संघर्ष र सफलता उनको पयार्य रह्यो । 

थलाइवा : बस कन्डक्टर टु सुपरस्टार

‘अन्नाथे’ को असफलताको दुई वर्षपछि रजनीकान्त ‘जेलर’ मार्फत एक साताअघि थिएटरमा झुल्किएका छन् । १९ औं पटक फिल्मफेयर अवार्ड (तमिल) मा मनोनीत भएर एकपटक मात्रै उत्कृष्ट अभिनेताको अवार्ड जिते पनि रजनीकान्त फ्यान र दर्शकका लागि सर्वकालीन प्रिय अभिनेता हुन् । दक्षिण भारतमा उनका बडेमानका पोस्टर खडा गरेर दूधले अभिषेक गरिन्छ, उनको फिल्म हलमा लाग्दा त्यो ठूलो चाड नै बन्छ । त्यसै त तामिलनाडुमा उनको मन्दिर नै किन बन्थ्यो र ? दक्षिण भारतमा ‘भगवान्’ लाई जस्तै उपासना गरिने रजनीकान्तको जीवन एकछिन अवलोकन गरौं ।

उनका फिल्म रिलिजको साताअघि नै दक्षिण भारतका कतिपय राज्यमा टिकट सोल्ड आउट हुनु, कर्मचारीलाई फिल्म हेर्न कैयन कम्पनीले छुट्टी दिनु सुरुआतमा जति उदेक लाग्थ्यो, अब ती सब घटना अति सामान्य भइसके । पछिल्लो फिल्म ‘जेलर’ मा पनि यही सिलसिला यथावत् देखियो । ‘फोर्ब्स इन्डिया’ ले सन् २०१० मा रजनीकान्तलाई सर्वाधिक प्रभावशाली भारतीयको उपमा दिएको थियो भने ‘एसियाविक’ ले त दक्षिण एसियाकै । त्यसो त उनी जापानमा पनि उत्तिकै लोकप्रिय छन् ।

...

फ्यान रजनीकान्तलाई ‘थलाइवा’ सम्बोधन गर्छन्, जसको अर्थ हुन्छ– बोस । तर, स्वयं उनी भने भुइँबाट उठेका र भुइँ नबिर्सेका एक अथक साधक मानिन्छन् । सन् २०२१ अक्टोबरमा भारत सरकारबाट फिल्म क्षेत्रकै सर्वाधिक विशिष्ट पुरस्कार दादासाहेब फाल्के अवार्डर्बाट सम्मानित हुँदा उनले दिएको मन्तव्यमा आफ्ना गुरु बालाचन्दरलाई त सम्झिए नै, साथी राज बहादुरलाई पनि बिर्सिएनन् । उक्त अवार्ड गुरुका नाममा समर्पित गर्दै भनेका थिए, ‘कर्नाटक बस यातायातको चालक, मेरो साथी राजबहादुर जसले मेरो अभिनय क्षमतालाई त्यसबेला नै चिनेको थियो र मलाई सिनेमामा लाग्न सधैं प्रेरित गर्थ्यो, उसलाई विशेष धन्यवाद ।’

अति सामान्य परिवारमा जन्मेका शिवाजी राव गायकवाडले तय गरेको सुपरस्टार रजनीकान्तसम्मको उबडखाबड यात्रा आफैंमा शानदार छ

विनम्रता नै रजनीकान्तको सामर्थ्य मानिन्छ । दादासाहेब अवार्डले सम्मान गरिएको त्यस कार्यक्रममा उपस्थित अमिताभ बच्चनले रजनीकान्तबारे भनेका छन्, ‘भारतीय सिनेमाका लागि यस्तो घटनाको वर्णन गर्नै शब्दहरू कम छन् । अति साधारणबाट सुरुवात गरेर आफ्नै दममा आज जुन उपलब्धि हासिल भएको छ, यो असाधारण उपलब्धिभन्दा अझै बढी हो ।’ रजनीकान्तको फिल्मी करिअरमा अमिताभको पनि अप्रत्यक्ष ठूलो सहयोग छ । रजनीकान्तको पहिलो हिन्दी फिल्म ‘अन्धा कानून’ मा को–एक्टरका रूपमा अमिताभ नै थिए भने उनको पहिलो हिट फिल्म ‘बिल्ला’ अमिताभकै फिल्म ‘डन’ को रिमेक थियो । सम्भवतः रजनीको आगामी १७० औं फिल्ममा अमिताभ र उनी ३२ वर्षपछि पुनः एकसाथ देखिनेछन् ।

के. बालाचन्दर रजनीका लागि गडफादर मात्रै होइनन्, उनको पूरै करियरको पथप्रदर्शक पनि हुन् । उनैले रजनीलाई नाटकबाट ल्याए र फिल्ममा खेलाए, तमिल भाषा सिक्न सल्लाह दिए । रजनी सुपरस्टार भइसकेपछि पनि उनलाई केवल मनोरञ्जनात्मक फिल्म मात्रै नभई वजनदार भूमिका र फिल्म पनि गर्न सल्लाह दिए । बालाचन्दरले रजनीलाई लिएर ८ वटा सफल फिल्म निर्देशन गरेका छन् भने ९ फिल्म निर्माण गरेका छन् । यिनै बालाचन्दरले नै कमल हसन, एआर रहमानदेखि कैयन हस्तीलाई सिनेमामा भित्र्याएका थिए ।

रजनीकान्तको जीवनी ‘रजनीकान्त : अ लाइफ’ की लेखक वसन्ती सुपरस्टारको पहिलो फिल्मको पहिलो दृश्यबारे लेख्छिन्, ‘बिहीबारको दिन थियो । शिवाजी गुरुबारलाई आफ्नो लक्की डे मान्थे, तर उक्त दिन उनको सुटिङ सुरु हुने छाँटकाँट थिएन । किनकि मुख्य अभिनेता कमल हसनकै सुट अझै लगातार दुई दिन चल्नेवाला थियो । शिवाजी हैरान भएर सेटभन्दा पर बसेर चुरोट तानिरहेका थिए, निर्देशक बालाचन्दरले देखेर थर्काए– त्यत्रो अनुभवी कलाकारको सुट चलिरहेको छ, तिमीलाई उसको हेरेर पनि केही सिकिन्छ भन्ने लागेन ? थकाइ मेटेपछि शिवाजी उठेर कमल हसनका फाइट सिनमा आफूलाई राखेर हेर्न थाले । संयोग पछि उनको पहिलो सिन पनि बिहीबार नै भयो । तर, पहिलो सटमा उनी धेरै नर्भस थिए । झुत्रेझाम्रे गेटअपमा कसैको घरको गेट खोलेर भित्र छिर्दै गर्दा बरन्डामा भएको युवकलाई ‘के यो भैरवीको घर होइन ?’ भनी सोध्नुपर्ने र युवकको ‘हो, तर तपाईं को हो ?’ भन्ने प्रश्नको जवाफमा उनले ‘म उनको पति हुँ’ भन्नुपर्ने थियो । तर, यी नै दुई पंक्तिको संवाद बोल्दा उनले धेरै टेक खाएका थिए ।’ उक्त पुस्तकमा शिवाजीलाई रजनी नामकरण पनि उनै बालाचन्दरले गरिदिएको प्रसंग छ ।

...

सन् १९५० मा कर्नाटकको बैंग्लुरुमा अति सामान्य परिवारमा जन्मेका शिवाजी राव गायकवाडले तय गरेको सुपरस्टार रजनीकान्तसम्मको उबडखाबड यात्रा नै आफैंमा सानदार छ । पाँच वर्षकै छँदा आमा गुमाएका उनी कुल्ली काम गरेर घर खर्चमा बुबालाई सघाउँदै पढ्थे । पछि बैंग्लुरुकै बसमा कन्डक्टर पनि भए । फिल्मसँग उनको साइनो कतैबाट पनि जोडिएको थिएन, तैपनि स्कुल छँदै छिरिसकेको थियो– नाट्यरस । कन्डक्टरै हुँदा पनि उनले टिकट काट्नेदेखि यात्रुलाई गर्ने व्यवहार, बोल्ने शैली आफैंमा फिल्मी थियो । त्यही देखेरै एक साथीले उनलाई फिल्म खेल्ने भूत जगाइदिए ।

२३ वर्षको छँदा मद्रास फिल्म इन्स्टिच्युटमा भर्ना भए रजनीकान्त । त्यसको दुई वर्षमै रजनीकान्तलाई के. बालाचन्दरले फिल्म ‘अपूर्वा रागनगाल’ मा ब्रेक दिए, भिलेनको सानो भूमिकामा । तर, डेब्यु फिल्म रिलिजको दुई वर्षभित्र उनका २० फिल्म प्रदर्शनमा आए । रजनीकान्त एकाएक व्यस्त बने । त्यसताक उनी बलात्कारी, डाकाजस्ता तुच्छ चरित्रमै देखिएका थिए । त्यस समय रजनीकान्त आफूलाई आएका भूमिकादेखि दिक्क भई अभिनय नै लगभग छोड्ने मनस्थितिमा भएकै बेला इरान्की शर्माले उनलाई ‘चिलकम्पा चेप्पिन्डी’ र मुथुरमनले ‘भुवन ओरु केल्विकुरी’ बाट एकै वर्ष मुख्य अभिनेताका रूपमा लन्च गरे । मुथुरमनसँग त त्यसपछि उनले २५ फिल्ममा सहकार्य गरे ।

सन् १९८० मा उनको एक्सन थ्रिलर ‘बील्ला’ पहिलो व्यवसायिक सफल फिल्म बनेपछि ठूलो राहत महसुस गरे । अमिताभ बच्चन अभिनीत ‘डन’ को रिमेक गरिएको उक्त फिल्ममा रजनीकान्त दोहोरो भूमिकामा थिए । यही फिल्मले नै उनलाई तमिल सिनेमाको टप स्टार बनायो । त्यसअघि कमल हसनको राज चलिरहेको थियो । सोही वर्ष रिलिज भएको ‘बैरवी’ बाट यसका निर्देशक एम. भास्करले उनलाई सुपरस्टारको दर्जा दिए, जुन दर्जालाई रजनीकान्तले ४३ वर्षसम्म पनि डगमगाउन दिएका छैनन् ।

आफ्नै निजी र मौलिक स्टाइलमा चुरोट पिउने होस् वा संवाद सम्प्रेषणको पृथक् शैली, अथवा आफ्नै अन्दाजको फाइटदेखि डान्स ! रजनीकान्तले प्रत्येक फिल्ममा ‘आफ्नै बेग्लै’ अदा देखाउँछन्, जुन दर्शकका लागि हलमा सिट्टी फुक्न काफी हुन्छ । खासमा उनी मास इन्टरटेनर हुन् । स्टारडम वा फेम जो कोही राम्रा कलाकारले पाउन सक्छन्, तर रजनीकान्तको जति होइन । आखिर रजनीकान्तमा त्यस्तो के छ, जसले एउटा अति सामान्य पृष्ठभूमिबाट आएको मान्छेलाई ‘ईश्वर’ को दर्जामा पुर्‍याएको छ ?

तमिल कमेडी ‘तिल्लु मुल्लु’ (हिन्दी फिल्म ‘गोलमाल’ को रिमेक) मा रजनीकान्तको बहिनी बनेर खेलेकी विजी चन्द्राशेखर भन्छिन्, ‘सबैलाई समान व्यवहार गर्ने गुणले नै उनलाई सबैको आइकन बनाएको हो । लाइट ब्वाय होस् वा को–एक्टर, सबैलाई उत्तिकै सम्मान, उत्तिकै महत्त्व दिने र कसैलाई भेदभाव नगर्ने उनको स्वभाव छ ।’ अझ सफलता र असफलतालाई कसरी लिने भन्ने ज्ञान उनमा भएको सुनाउँछिन् चन्द्राशेखर । भन्छिन्, ‘सधैं सफल हुने सुपरस्टार होइन, सुपरस्टार त्यो हो जो सफलता र असफलतामा पनि समान गतिमा फड्को मार्छ र पनि सामान्य रहन्छ ।’

रजनीकान्तलाई सफलताले कहिल्यै अह्म बनाएन । असफलता र संघर्ष त उनले जीवनको पहिलो कक्षादेखि नै पढ्दै आएका जो थिए । खास त उनलाई सुपरस्टार भनिएको पनि रुचिकर लाग्दैनथ्यो । तमिल अभिनेत्री, निर्देशक लक्ष्मी रामाकृष्णनले रजनीकान्तको ६२ औं जन्मदिनमा भनेकी थिइन्, ‘सुपरस्टार भएर कोही जन्मदैन, ऊ त जनताबाट बनाइन्छ । कोही सुपरस्टार बन्न व्यग्र भएर लाग्छ भने त्यो असफल हुन्छ हुन्छ ।’

रजनीकान्तसँग ४ तमिल फिल्ममा सहकार्य गरेका सुरेश कृष्ण त अझ उनलाई अनस्क्रिनको मात्रै नभई अफस्क्रिनको समेत सुपरस्टार मान्छन् । भन्छन्, ‘कैयन कलाकारले निकै सफलता चुम्न सक्छन् तर ती आउँछन्, जान्छन् । तर, रजनीकान्त सुपरस्टार छ र सधैं भइरहनेछ । ऊ नै स्टार उपमाको असली हकदार हो, जसलाई जनताले पर्दामा र पर्दा बाहिर पनि उत्तिकै प्रेम गर्छन् ।’ रजनीकान्तका सानैदेखिका साथी बहादुर उनको स्वभावबारे भन्छन्, ‘ऊ कुनै बेला गरिब थियो, एकदम नै गरिब । ५० पैसाका लागि भारी बोक्थ्यो । उसले जिन्दगीमा धेरै दुःख खेपेको छ र ऊ आज पनि ती कुरा बिर्सन चाहँदैन ।’

आफूप्रति ५ दशक दर्शकलाई निरन्तर त्यही जोस, त्यही प्रेम, त्यही विश्वासमा जोडिरहन सक्नु चानचुने विषय कदापि होइन । फिल्म हेर्ने दर्शक बदलिए, फिल्म हेर्ने तरिका बदलिए, स्वाद फेरिए, समयसँगै पुस्ता फेरिए, तर रजनीकान्तको क्रेज फेरिएन । अझै पनि बालकदेखि वृद्धसम्मै सबै उमेर समूहका दर्शक उनको फिल्म हेरेर थिएटरमै नाच्छन्, उत्सव मनाउँछन् । पछिल्लो फिल्म ‘जेलर’ रिलिजका दिन दर्शक बिहान छ बजे नै हलमा फूलमाला लिएर पुगेका थिए । जब पर्दामा रजनीकान्त देखापरे, ती खुसीले सिटबाट उठेर नाच्न थाले । दर्शक नाच्न थालेपछि कतिपय हलले फिल्म नै केहीबेर रोक्नुपरेको थियो । यतिबेला ‘जेलर’ ले दक्षिण भारतमा मात्र होइन पूरै भारत हुँदै तमिलभाषीको बाहुल्य रहेका मलेसिया, बेलायतका बक्सअफिसमा पनि रेकर्डतोड व्यापार गरिरहेको छ । फस्ट डे फस्ट शोमा ‘जेलर’ हेरेका एक जबरजस्त फ्यान रजनीकान्तमाथि टिप्पणी गर्छन्, ‘वैज्ञानिक भन्छन्– टाइम मेसिन सम्भव छैन, तर हाम्रा लागि रजनीकान्तसँग त्यो शक्ति छ, जसले हामीलाई बालापनमा फर्काउन सक्छ ।’

...

रजनीकान्त फ्यानमाझ त छाएका थिए नै, उनको लोकप्रियता स्थानीय नेताका लागि भारी परिरहेकै थियो । उनी फिल्मबाटै भ्रष्टाचारी नेताको उछितो काढ्थे, सायद नेताले त्यसलाई वास्तविकतामै लिए कि ? तामिलनाडुको पीएमके पार्टीका नेता एस.रामादोसले ‘महाभारत बाबाजी’ फिल्ममा गर्विलो तरिकाले बिँडी खाने रजनीकान्तको शैलीलाई धेरैले पछ्याएर धूमपान, मद्यपानको कुलतमा फसेको आरोपसमेत लगाएका थिए । रोष त्यतिमा मात्रै शान्त भएन, पीएमकेका कार्यकर्ताले उक्त फिल्म चलेका हलमै छिरेर रिलदेखि पर्दासम्म जलाइदिएका थिए । राजनीतिलाई पनि नजिकबाट नियाल्ने रजनीकान्त एक्लैले तामिलनाडुमा राजनीतिक सत्ता परिवर्तनको हैसियतसमेत राख्छन् । त्यसो त राजनीतिमा आउन उनले गठन गरेको रजनी मक्कल मन्द्रम (आरएमएम) लाई आफू अस्वस्थ भएपछि भंग गर्दै भविष्यमा कहिल्यै राजनीतिमा नलाग्ने घोषणा गरेका थिए ।

रजनीकान्तले शुभचिन्तकबाट अत्यधिक माया पाउनुको अर्को कारण उनले गर्ने समाजसेवालाई पनि मानिन्छ । उनी आफूले कमाएको अधिक रकम गरिब, दुःखी र समाजसेवामा खर्चिन्छन् । पत्नी लताले चलाएको आश्रमका लागि होस् वा अन्य सामाजिक काममा उनी दिल खोलेर सहयोग गर्छन् ।

...

रजनीकान्त अब करियरको उत्तरार्द्धमा छन् । पटकपटक बिरामी पर्न थालेपछि उनले फिल्म खेल्न निकै कम गरिसकेका छन् । त्यसो त आफ्नै छोरी ऐश्वर्याको निर्देशन रहने ‘लालसलाम’ मा उनी अतिथि भूमिकामा देखिनेछन् । मराठी भएर पनि रजनीले एउटै मराठी फिल्म खेलेनन्, बरु तमिल, हिन्दीबाहेक अंग्रेजी, बंगाली, कन्नड, तेलगू, मलयालम फिल्म खेले । श्यामश्वेतदेखि थ्रीडी प्रविधिसम्मका फिल्म खेल्न भ्याए । हाल उनीबारे तमिलमा विद्यालयस्तरीय पाठ्यक्रममा समेत ‘फ्रम बस कन्डक्टर टु सुपरस्टार’ शीर्षकमा पढाइ हुन्छ । गरिबीका कारण राम्रोसँग पढ्न नपाएका तिनै रजनीकान्तलाई आज पढिन्छ । आखिर सफलता भनेको उचाइ छुनु मात्रै होइन, हन्डर र ठक्करदेखि उठेर उचाइ चुम्नु सफलता हो भन्ने उनले सिद्ध गरिदिए । र, उनको सफलताको बाटो कसैले बनाएको हो भने त्यो उनी स्वयंले हो ।

प्रकाशित : भाद्र २, २०८० १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?