कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
मोपासाँ–स्मृति

नगरवधूको उदात्त संसार

महान् कथाकार गी दे मोपासाँ (१८५०–१८९३) भन्थे– अधिकांश मान्छे मखुण्डोधारी छन् । मोपासाँको जन्मदिन (अगस्ट ५) मा उनको सम्झना :
अभय श्रेष्ठ

मान्छे र मखुण्डो
लेखकको काम सत्य देखाउनु हो । सत्य देखाउन मान्छेको मखुण्डो खोल्नैपर्छ । मोपासाँका कथाको खास विशेषता नै मान्छेको मखुण्डो खोल्नु हो । ‘अधिकांश मान्छे मखुण्डोधारी छन्, मखुण्डो नभिर्ने वेश्या र किसान मात्र हुन्,’ उनी भन्थे । लामो कथा ‘द बल अफ फ्याट’ मा उनले एक युवती एलिजाबेथ रोजेटको वर्णनातीन दुःख अनि ठालुहरूको चरम पाखण्ड र कृतघ्नताको जीवन्त चित्रण गरेका छन् ।

नगरवधूको उदात्त संसार

फ्रान्स र प्रसिया युद्धकालमा रुवाँबाट एउटा बग्गीमा भागेर लुभ्र जान लागेका दस जनामध्ये ऊ पनि हुन्छे । ठालुहरू उसलाई मान्छे गन्दैनन् किनभने ऊ गरिब नगरवधू हो । तर, भोकले सताएपछि उनीहरू उसैले दिएको खाजा लाज पचाएर हसुर्छन् । होटलमा बास बस्दा प्रसियाली सेनाले कब्जामा लिन्छन् । सेनाको हाकिम आफूलाई रोजेटले शरीर सुम्पिए मात्रै सबैलाई छाडिदिने लोभ देखाउँछ । तर, ऊ वैरी देशको सेनालाई शरीर सुम्पन चाहन्न ।

प्रत्येक दिन हाकिम उसलाई बोलाउँछ । ऊ सराप्दै फर्किन्छे । ठालु बाबुसाप–मैसाप पनि राष्ट्रवादी भइटोपल्छन् र रोजेटलाई साथ दिएझैं गर्छन् । दिनहरू बित्दै जाँदा तिनका मखुण्डो फुस्कँदै जान्छ । बन्दी जीवनबाट दिक्क भएर उनीहरू रोजेटलाई हाकिमसँग सुत्न जान दबाब दिन्छन् । धेरैको भलाइका लागि एक, दुई जनाले बलिदान गर्नैपर्छ भनेर थर्काउँछन् । अन्ततः ऊ जान्छे । भोलिपल्ट सबै मुक्त हुन्छन् । यात्रा फेरि सुरु हुन्छ । ठालूहरूले मिठा खानेकुरा बोकेका हुन्छन् । ऊसँग केही हुँदैन । उनीहरू जिब्रो पड्काउँदै खान्छन् । उसलाई कसैले वास्ता गर्दैन । तिनकै मुक्तिका लागि शत्रुलाई शरीर सुम्पेकी उसको गुन कसैले सम्झँदैन । उसका आँखाबाट तरक्क आँसु झर्छ । ठालुहरू कान फुक्दै हाँसो गर्छन्, ‘हिजो शत्रुको ओछ्यान हुन गई, अहिले रुन थाली, नकच्चरी !’

सन् १८८० मा फ्रान्स–प्रसिया युद्धमा केन्द्रित कथा सङ्ग्रह ‘इभनिङ एट मेदान’ मा छापिएको यही उनको पहिलो कथा थियो । संग्रहका छमध्ये मोपासाँकै कथा सबैभन्दा प्रसिद्ध र प्रशंसित भयो । यसले उनलाई अन्तर्राष्ट्रिय ख्याति दिलायो । त्यतिखेरका ठूला कथाकार एमिल जोलाले समेत यसलाई संग्रहकै सर्वश्रेष्ठ कथा घोषित गरे । आज पनि धेरैले यसलाई मोपासाँको सर्वश्रेष्ठ कथा मान्छन् ।

बुर्जुवा वर्गको सनक र सोखले निम्त्याउने विपत्ति मोपासाँका कथाका खास विषयवस्तु हुन् । ‘द सिग्नल’ मा पल्लो घरको झ्यालमा बसी गणिकाले इसारा गरेर पुरुषलाई बोलाउने तरिका देख्दा एउटी उच्च घरानाकी महिलालाई त्यस्तै गर्ने सनक चल्छ । ऐना हेर्दै ऊ त्यसकै नक्कल गर्छे । ऊ त्यसैगरी झ्यालमा बस्न थालेपछि बिचरी गणिकाले कसैलाई आकर्षित गर्न सक्दिन, सबैजना उही महिलासित मोहित हुन्छन् । अन्ततः ऊ एउटा खाइलाग्दो पुरुषलाई इसारा गर्छे । त्यो पुरुष साँच्चिकै उसको कोठामै छिर्छ । महिलाले ठट्टा गरेको भन्दा पुरुषले मान्दैन । श्रीमान् आउने समय भएकाले शरीर नै सुम्पेर ऊ त्यसलाई बिदा गर्छे । तर, पुरुष भोलिपल्ट फेरि आउँछु भनेर बीस फ्राङ्कको दुइटा नोट छाडेर जान्छ । एउटा तुच्छ इच्छाले गर्दा ऊ गणिकाको ग्राहक खोस्छे र आफू अनन्त विपत्तिमा फस्छे ।

स्त्री चेतना

मोपासाँका श्रेष्ठ कृतिहरू मूलतः महिलाका दुःख र विडम्बनामा केन्द्रित छन् । तिनमा उच्च स्त्री–चेतना पाइन्छ । ‘अ वमन्स स्टोरी’ लगायत उपन्यास, युजलेस ब्युटी, इन द बेडरुम, द नेकलेस, म्याडम टेलियर्स इस्टाब्लिसमेन्ट, साइमन्स पापाजस्ता कथामा उनले महिला संवेदनाको गहिरो चित्रण गरेका छन् ।

मोपासाँका बाबु पत्नीप्रति अति क्रूर थिए । उनी ११ वर्ष हुँदा बाबुआमाको पारपाचुके भयो, जुन उनको जीवनमा आइलागेको ठूलो आघात थियो । आमाप्रति उनको ठूलो आदर थियो अनि बाबुप्रति घृणा । उनका कथामा एकल महिलाका बालकहरूको प्रतिविम्ब बारम्बार आउँछन् । ‘साइमन्स पापा’ मा उनले आफ्नै दुःखद बाल्यकालको सम्झना उतारेका छन् । स्कुलका साथीहरू सातवर्षे बालक साइमनलाई बिनाबाबुको छोरो भनी अपमान गर्दै कुटपिट गर्छन् । यो सहन नसकेर साइमन नदीमा डुबेर मर्न खोज्छ । उसलाई फिलिप रेमी नामक श्रमिकले बचाउँछ र घर पुर्‍याइदिन्छ । साइमनकी आमासित ऊ भन्छ, ‘तपाईंको छोरो हराएको थियो । त्यसैले म पुर्‍याउन आएको हुँ ।’

‘होइन आमा, साथीहरूले तँ बिनाबाबुको छोरा होस् भन्दै मलाई कुटे । सहन नसकेर म मर्न भनी नदीमा गएँ । फाल हाल्नै लाग्दा उहाँले मलाई बचाउनुभयो,’ साइमन भन्छ । आफ्नो बच्चा अपमानपूर्वक पिटिएको र त्यो तोडले मर्न भनी हिँडेको सुन्दा एउटी आमाको मन कस्तो भयो होला ? साइमन फिलिपतिर फर्केर भन्छ, ‘तपाईं मेरो बाबा बनिदिनुस् न, हुन्न ?’ फिलिप र साइमनबीच मित्रता बढ्छ । ऊ साइमनका साथीहरूको अगाडि नक्कली बाबु बनेर खडा हुन्छ । छोराको आत्मसम्मानका लागि उच्च घरानाकी उसकी आमा अन्ततः उही श्रमिककी पत्नी बन्छे ।

उनको सबैभन्दा प्रसिद्ध कथाचाहिँ ‘द नेकलेस’ हो । यसमा तुच्छ महत्त्वाकाङ्क्षाले एक युवतीको जीवनको अनुपम सौन्दर्यर् खेर गएको हृदयस्पर्शी कथा छ । गरिब क्लर्ककी सुन्दरी पत्नी माथिल्डले एउटा भोजमा साथीसँग सापटी लिएको हीराको हार हराउँछे । ३६ हजार फ्राङ्क पर्ने हार किनेर फर्काउन ठूलो ऋण लाग्छ । गरिब लोग्ने र उसले पूरा दस वर्ष हाड घोटेर बल्ल ऋण तिरिसक्छन् । कडा परिश्रम गर्दा कुनै समयकी त्यो अनुपम सुन्दरी बूढी देखिन थालिसकेकी हुन्छे । दस वर्षपछि एक दिन हार सापटी दिने साथीसँग भेट हुन्छ । कुरै खुल्दै जाँदा थाहा हुन्छ, उसले सापटी लिएको हार नक्कली थियो, मुस्किलले पाँच सय फ्राङ्क पर्ने ।

अरूले ध्यान नदिएका विषयमा कथा खिप्ने मोपासाँको दृष्टि अद्भुत थियो । ‘आइडिल’ यस्तै अद्भुत कथा हो । रेलयात्रामा थसुल्ली युवती दूध गानिएर मरणान्त हुन्छे । एउटा युवक दूध चुसेर उसको उद्धार गर्छ । ऊ हलुका हुन्छे र युवकप्रति आभार प्रकट गर्छे । युवक भन्छ, ‘मलाई होइन, धन्यवाद तिमीलाई दिन्छु किनभने तीन दिनदेखि मैले केही खाएको थिइनँ ।’

नितान्त एक्ला

मोपासाँकी आमा लौरा पोतेभिन तत्कालीन समाजमा उच्च पठित थिइन् । साहित्यप्रति अगाध प्रेम भएकी उनी उपन्यासकार गुस्ताब फ्लुबर्टकी घनिष्ठ मित्र थिइन् । कतिपय त मोपासाँको खास बाबु फ्लुबर्ट नै थिए भन्छन् । उनले मोपासाँलाई लेखनमा अचुक तीन मन्त्र सिकाए, ‘कुनै पनि विषयमा लेख्नुअघि नियालेर हेर । नियालेर हेर । नियालेर हेर ।’ मोपासाँले साँच्चिकै हरेक आख्यानमा विषयवस्तुलाई नियालेर हेरे ।

मोपासाँको लेखन अवधि जम्मा ११ वर्ष थियो– सन् १८८० देखि १८९१ सम्म । त्यही ११ वर्ष विश्व साहित्यका लागि अनुपम भयो । यसबीच उनका ३०० कथा, छ उपन्यास, तीन नियात्रा पुस्तक र एउटा कवितासङ्ग्रह छापिए । तीमध्ये थुप्रै कथा र उपन्यास विश्वप्रसिद्ध भए । लेख्न त उनले उन्नाइसौँ शताब्दीको फ्रान्सेली जीवनका विडम्बनाबारे लेखे, तर ती संसारभरिका सर्वकालीन मानवीय दस्तावेज बन्न पुगे । उनका कथामा महिलाका उदात्त जीवन, तिनका दुःखका अनेक आयाम, मानवीय सम्बन्ध, त्रासदी, गरिमा र विडम्बनाका भित्री चित्रहरू आउँछन् । खासगरी नगरवधूहरूको उदात्त संसारलाई उनले सबैभन्दा नजिकबाट, सबैभन्दा मानवीय आँखाले चियाए । मानवीय जीवनका यति विविध चित्र आज पनि संसारकै साहित्यमा दुर्लभ छ । चेखब, ओ हेनरीदेखि समरसेट ममलगायत थुप्रै महान् कथाकारलाई उनका कथाले नयाँ मार्ग देखाए ।

मोपासाँ आजीवन अविवाहित रहे । लेखनबाट कमाएको अथाह सम्पत्ति उनले हावामा उडाए । तल्लो वर्गका नगरवधूदेखि उच्च कुलीन महिलासँग उनको निरन्तर सम्पर्क रहिरह्यो । बीस वर्षमै उनलाई भिरुंगी भयो । उनका दाजु भिरुंगी लागेर अनि भाइ पागल भएर बिते । टाउको र आँखा दुख्ने असह्य समस्याले उनी हैरान थिए । डिप्रेसनको सिकार भएर सन् १८९२ जनवरी २ मा आमाकै सामु सेरिएर मर्न खोजे । पेरिसमा उपचारपछि ज्यान बच्यो । तर, घाउ गहिरो थियो । त्यसको एक वर्षपछि असीम पीडा भोग्दै पेरिसको एक क्लिनिकमा ४३ वर्ष नपुग्दै सन् १८९३ जुलाई ६ मा संसारका यी महान् कथाकार बिते । बित्दा उनी नितान्त एक्ला थिए ।

प्रकाशित : श्रावण २०, २०८० १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?