३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९

रजश्वलाको नीलो रङ

सहरमा छन्– अनेकथरी सेनेटरी प्याड । स्त्रीले प्रत्येक महिना प्रयोग गर्नुपर्ने ती प्याड कति स्वस्थ छन् ? अनुसन्धान भन्छ– सेनेटरी प्याडहरू खतरामुक्त छैनन् । प्याड उत्पादकहरूले मुनाफा कमाउन यसमा प्रयोग गरेका विभिन्न किसिमका रासायनिक पदार्थ धेरै रोगका कारक हुन् ।
शैलीका छेत्री

परिवर्तन के हो ? प्रश्न आकस्मिक आइलाग्छ । यस्तो प्रश्नसित अचेल एक प्रकारको डर लाग्न थालेको छ । पर्यायवाचीझैं लाग्छ मलाई– जीवन र परिवर्तन !

रजश्वलाको नीलो रङ

एक रोचक परिवर्तनमाथि विमर्शमा थियौं हामी त्यो दिन । असाध्यै गम्भीर हुँदै मृदुला दिदीले भनेकी थिइन्, ‘अँ, निर्मिता ! त्यो समय नै हो, जसले सबैलाई बदल्छ, तर समयलाई कसैले बदल्न सक्दैन रहेछ ।’ त्यसपछि उनको अनुहारको रङ रातो हुँदै गएको थियो । भनेकी थिइन्, ‘हिजै मात्रको कुरा हो । म खूब अवाक् भएकी थिएँ, जतिखेर मेरी आठवर्षे छोरी शैवीले मेरो कानमा फुसफुसाएकी थिई– मम्मी, मलाई एउटा सेनेटेरी प्याड दिनुस् न, म पिरियडमा छु ।’

त्यो कस्तो बयान गर्नै कठिनजस्तो भयानक स्थिति थियो ! मलाई थाहा छ, प्युबर्टीका कारण केटीहरू अचेल सानै उमेरमा रजश्वला सहन बाध्य छन् (सानै भनेको १०/११ वर्षको उमेर हो, केही केसमा ८, ९ वर्ष) । दिदीको मासिक धर्म १२ वर्षको उमेरमा सुरु भएको थियो, तर शैवीजस्ता अरू बालिकामा अति छिट्टै (आठ वर्ष पनि नपुग्दै) सुरु हुँदै छ । त्यो दिन छोरीलाई प्रथम मासिकमा देख्नुपर्दा दिदी आत्तिएकी थिइन् । जसोतसो दराजबाट सेनेटरी प्याडको प्याकेट झिकेर शैवीलाई दिएकी थिइन् र हडबडाउँदै पिरियडका महत्त्वपूर्ण कुराहरू भनेकी थिइन् । बरु आमाका कम्पित हातहरूलाई शैवीले च्याप्प समात्दै भनेकी थिइन्, ‘मम्मी प्लिज चिल ! यो पिरियड त हो नि । स्कुलमा मिसले भन्नुभएको– यो एकदम सामान्य प्राकृतिक प्रक्रिया मात्र हो रे ! त्यसो भए मम्मी, यसमा यति धेरै आत्तिनुपर्ने कुरै के छ र ?

अचेल विश्वभरि नै प्युबर्टी आठदेखि दस वर्षकै उमेरमा सुरु हुँदै छ । ‘द न्युयोर्क टाइम्स’ को अध्ययनले केटीहरूमा सामान्यभन्दा छिट्टै सुरु हुने रजश्वलाका लागि दूधलाई पनि एक कारणका रूपमा इंगित गरेको छ । भरपर्दो तथ्यांकको अभाव भए पनि सन् १९९३ देखि गाईहरूमा व्यापक प्रयोग भएको हानिकारक अक्सिटोसिन हर्मोन दूधका माध्यमबाट बच्चाको शरीरमा प्रवेश गरेपश्चात् अक्सिटोसिनले मस्तिष्कमा जीएनआरएच हर्मोनको मात्रा बढाउँछ, जसको प्रभावले ऊ उमेरभन्दा चाँडै प्युबर्टीमा प्रवेश गर्न सक्ने सम्भावना हुन्छ । सौन्दर्य प्रसाधनदेखि प्लास्टिकका बोतलसम्ममा प्रयोग हुने बिस्फेनोल ए अर्थात् बीपीए (जसलाई कृत्रिम इस्ट्रोजेन पनि भनिन्छ) को प्रभावमा पनि बच्चाहरूमा छिट्टै प्युबर्टी हुनेगर्छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाको स्कुल अफ पब्लिक हेल्थले गर्भवती स्त्रीहरूमा गरेको एक अध्ययनमा गर्भवतीले धेरै सौन्दर्य प्रसाधन प्रयोग गरेमा त्यसमा भएको मिथाइल फोलेटले पनि बच्चाहरूमा ल्युटिनाइजिङ र गोनाडोट्रोफिन हर्मोनको मात्रा गर्भैदेखि बढाउँछ । र, बच्चाको शरीर (मेनार्क) लाई छिट्टै प्रभावित पार्न सक्छ । युनिभर्सिटास नेगेरी सेमारङ्ग (यूएनएनईएस) को अध्ययनले सातामा दुईदेखि चार पटकसम्म जंक फुड खाने बच्चाहरूमा पनि मेनार्क (सुरुवाती पिरियड) छिट्टो भएको पत्ता लगाएको थियो । सूचनाप्रविधिको उच्च विकासपछि सजिलै उपलब्ध यौन उत्तेजक सामग्रीको प्रयोगले बच्चाको मस्तिष्कमा डोपामिन, अक्सिटोसिनजस्ता हर्मोनको परिवर्तन चक्रलाई प्रभावित गर्‍यो, जसका कारण तिनीहरूमा उमेरअगावै प्युबर्टी सुरु भयो ।

...

मासिक धर्म एक स्वाभाविक, प्राकृतिक र जैविक विषय हो, जसको अनुपस्थितिमा प्रजनन प्रक्रियाको आरम्भ हुनै सक्दैन । विज्ञान–प्रविधिको विकास र प्रयोगको यो कोलाहलबीच पनि किन हेरिन्छ रजश्वलालाई एक अपराधका रूपमा ? रजश्वला र अपराधको विषयमा घोत्लिँदा हाल सालै भारतमा घटेको एउटा घटनाले मलाई बारम्बार दुखाइरहन्छ– एउटी केटीको महिनावारी सुरु हुँदा उसको कपडामा लागेका रगतका दागलाई अफेयरको गलत प्रमाण ठानेर उसको परिवारले हत्या गर्‍यो । रजश्वलाप्रतिको भयंकर अज्ञानताको दृश्य हो यो । संवेदना र स्त्रीत्व कुल्चँदै नारी मुक्तिलाई दबाउने मनसायको कुरूप तस्बिर हो यो । त्यसैले रजश्वलाबारे लेख्न मलाई अनिवार्य लाग्छ । रजश्वलामाथि लेख्नु कुनै अपराध वा यौनजन्य विषय होइन, बरु समाजको लुकेको रगतबारे जागरुक बिरुवा रोप्ने सानो प्रयास हो । आजको समाजको दाँजोमा कम आधुनिक समाजका हामी झनै साधारण थियौं । त्यो ‘साधारणपन’ को थिचोमिचोमुन्तिर पनि पिरियड–मान्यताहरूको भ्रामक प्रचार उस्तै थियो, जसको मारमा हामी हैरान थियौं । तर, चिच्याएर त्यो मान्यताको प्रतिवाद गर्नै सकेनौं । आधुनिक समाजमा त्यो थियो, लुकेको रगतको कथा ।

म अवाक् भएकी थिएँ, जब मेरी आठ वर्षे छोरी कानमा फुसफुसाएकी थिई– मम्मी, मलाई एउटा सेनेटेरी प्याड दिनुस् न, म पिरियडमा छु । त्यो बयान गर्नै कठिन एक भयानक स्थिति थियो ।

समाजमा धार्मिक कथाहरूको आडमा स्त्रीमाथि थोपरिएका निषेधका घेराहरूले मासिक धर्मलाई एउटा लाजमर्दो विषयको बनाएको छ । मलाई याद छ, एक दिन स्कुलमा मैले अचानक तल्लो पेटमा दुखाइ अनुभव गर्न थालेकी थिएँ, जुन हरेक मिनेट बढिरहेको थियो । पीडा मेरो अनुहारभरि देखिन्थ्यो । त्यतिबेलासम्म पिरियडबारे म पूर्ण रूपमा अज्ञानी थिएँ । घरमा सेनिटरी प्याडहरू यत्रतत्र देख्थें, तर जब म त्योबारे सोध्थेँ, मेरो प्रश्नलाई बेवास्ता गरिन्थ्यो । अचानक त्यो दिन मलाई दुई खुट्टाबीच अनौठो अनुभव भयो । त्यो अनुभव पक्कै असामान्य थियो, तर मैले त्यसको पर्वाह नगर्ने विचार गरेँ । सौभाग्यवश मेरो स्कुलको युनिफर्म गाढा नीलो रङको स्कर्टमा पिरियडको दाग देखिएन । घर पुगेर युनिफर्म फेर्दा मैले देखेँ– पूर्णतया अविश्वसनीय दृश्य । मलाई थाहा थियो– रगत कहाँबाट रगत बगिरहेको छ । तर, त्यो अवस्था मेरो बुझाइको दायराभन्दा बाहिर थियो । डरले रोइरहेकीे मलाई लाग्यो– अब म मर्छु । डराउँदै आमालाई बोलाएँ । आमा पनि एकैक्षण भावविहीन उभिइरहिन् । कोठाबाट प्याड ल्याइन् र कसरी लगाउने भनेर सिकाइन् । त्यो दिन थाहा भयो– पिरियड्स के हो ? तर, किन हुन्छ भन्नेचाहिँ अझै थाहा थिएन । कक्षा १० पुगेपछि मात्रै हो पिरियड र प्रजननबारे थोरै बुझेको, तर शिक्षकहरू नै ति बिषय विद्यार्थीलाई बुझाउन अप्ठेरो मान्दै कोर्स सक्न हतारिन्थे ।

उबेला म प्रत्येक महिना बजारमा प्याड किन्न पनि आमा–बाबाको भर परिरहेकी हुन्थेँ । तर, अचेल ससाना केटीहरू बिनाहिच्किचाहटसित फार्मेसीमा प्याड किन्छन् । त्यो वास्तवमा आफूप्रतिको जागरुकता नै हो । सायद यहीँबाट उन्मुक्त–जिन्दगी सुरु हुँदो हो । यस्ता नयाँ मान्यता र स्वच्छन्दताहरूका बीचमा मलाई नारीवादी हुनुको बोध हुन्छ । नारीवाद केवल स्त्रीको विषय होइन, यो त व्यक्तिको जीवन जिउने एउटा उन्नत आदर्श हो । त्यसैले मलाई नारीवादी कुरा मन पर्छ । जब किरण गान्धीले नारीवादी सोचलाई मान्यता दिँदै पिरियडका बेला ट्याम्पोन वा प्याडबिनै म्याराथन दौडिएर विश्वव्यापी प्रशंसा पाइन् म अवाक् बनेँ । तर, एउटा प्रश्नलाई विमर्शको लागि सतहमा ल्याउनु आवश्यक लाग्छ– रजश्वलालाई चुनौती दिँदैमा के एक स्त्री बलियो बन्छिन् ?

छोरी शैवीको अनुभवपछि अब मृदुलाकै अनुभव सुनौं–

‘म १० वर्षकी थिएँ । स्कुलको लन्च ब्रेकमा अचानक भिजेको अनुभव भयो, अनौठो पीडानुभूति पनि । म लाजले घोप्टिएँ, नोटबुकबाट सानो टुक्रा कागज च्यातेर रगत पुछ्ने प्रयास गरेँ । तर, त्यो रोकिएन । म आत्तिएँ । टेलिभिजनबाट प्रसारित विज्ञापनहरूमा पिरियडका बेलामा रगतको सट्टा नीलो रङको पानी देखाइन्थ्यो । लाग्थ्यो, महिनावारी नीलो रङको हुन्छ । जब नर्सले मलाई त्यो नै मेरो प्रथम पिरियड हो भनेर बताइन्, त्यसपछि थोरै बुझें । पिरियडबारे बताउँदै ‘ह्वीस्पर सेनेटरी प्याड’ दिएर नर्सले भनिन्– स्कुलमा कसैसित तिम्रो पिरियडबारे ह्वीस्पर नगर है । हेर त सेनेटरी प्याडको नाम पनि ह्वीस्पर छ । यो लुकाउने रगतको कुरा हो नानी । तर, पिरियडजस्तो स्वाभाविक, प्राकृतिक कुरालाई पनि यसरी लुकाउन सिकाइयो ।’

रजश्वला प्रजनन चक्रको प्राकृतिक विषय हो, तर समाजमा ट्याबु बनेर बसेकै छ । मानौँ यो एक जघन्य अपराध हो । यसलाई लुकाउन केही निकनेमले सम्बोधन गरिन्छ– ‘आन्टी फ्लो’, ‘र्‍याग मा’, ‘लेडी बिजनेस’, ‘महिनाको त्यो समय’, ‘साहसको रातो ब्याज’, ‘चन्द्र समय’, ‘क्रिम्सन टाइड’, ‘रातो विवाह’, ‘केटी फ्लु’, ‘रेड रुफ’, ‘रातो ब्यारन’, ‘सार्क हप्ता’ इत्यादि ।

मेरो किताब ‘एक हरफ बाटो’ मा ‘ह्याब अ ह्याप्पी पिरियड’ शीर्षकको निबन्ध लेख्दा अग्रज लेखकहरूले मलाई भनेका थिए, ‘आऊ, हामीसित पनि यसो पिरियड्सको कुरा गर ।’ ‘अग्रज’ लेखकहरूका ती शब्दहरूले म विरक्तिन्थें । बडो अनुनयपूर्वक उनीहरूलाई म आज भन्न चाहन्छु– ‘प्लिज, मलाई एकैक्षण आफ्नै पारामा सोच्ने स्वतन्त्रता देऊ । फूलहरूजस्तै बास्ना प्रदान गर्ने स्वतन्त्रता ।’

कतै भने रजश्वलालाई निकै सम्मान पनि गरिन्छ । जस्तो भारतको बंगालका बाउलहरू (एक अपरम्परागत धार्मिक सम्प्रदाय) महिनावारीलाई एकदमै पवित्र मान्छन् । बाउलहरू महिनावारीको रगत, बीउ, मल र पिसाबलाई ‘चार चन्द्रमा’ हो भन्छन् । बाउल विश्वास–अन्तर्गत स्त्रीमा चार चन्द्रमा पूर्ण हुन्छ । परिवारको कुनै केटीको प्रथम पटक महिनावारी हुँदा त्योबेला रगत लागेको कपडालाई गाईको दूध, कपूर, नरिवल र चिनीसित मिसाइन्छ र त्यो रस पिउने गरिन्छ ।

सेनेटरी प्याडको विकास

हरेक रजस्वलामा स्त्री योनिबाट औसत पचासदेखि असी मिलिलिटर रगत बग्छ । तर, गुफामा बस्ने आदिम मानव सभ्यतालाई पिरियडको रगतको चिन्ताभन्दा बढी अस्तित्व बचाउने चुनौती थियो । सायद त्यसैले हुनुपर्छ– गुफामा बस्ने स्त्रीले रजश्वलाका बेला आफूलाई सहज हुने जुनै पनि सामग्री प्रयोगमा ल्याए होलान् । ढुंगे–युगमा (तीस हजार ईसापूर्व–तीन हजार ईसापूर्व) रजस्वलाका बेला स्त्रीहरू छाला वा लिनेनजस्ता वस्तुमा बालुवा भरेर बनाइएका प्राथमिक प्याडहरू प्रयोग गर्थे । स्पार्टन स्त्रीहरूले काठका डन्डीहरूमा लिन्ट बेरेर त्यसलाई

ट्याम्पोनका रूपमा प्रयोगमा ल्याए । इजिप्टियन युग (तीन हजार ईसापूर्व) मा स्त्रीहरूले पपाइरस फाइबर र कपासको संयोजनमा तयार पारिएका प्याड चलाएको प्रमाण छ । प्राचीन अफ्रिकामा स्त्रीले पिरियडको रक्त अवशोषित गर्न प्राकृतिक लन ग्रास कार्पेट रोल प्रयोगमा ल्याए । प्राचीन ग्रीक स्त्रीहरू नेटको कपडामा स्पनन हालेको रोल कपडा योनिमार्गमा राख्ने गर्थे । तर, मध्ययुगीन कालमा (४७६ एडी–१४५० एडी) आइपुग्दा धेरैजसो महिलाले कपडा नै प्रयोग गरे ।

१६ औं शताब्दीमा स्त्रीहरूले सेनेटरी कपडा अड्याउन कम्मर बेल्टको प्रथम आविष्कार गरेका थिए । इङ्ल्यान्डकी महारानी एलिजाबेथ प्रथम (१५५८–१६०३) को समयमा शोधकर्ताहरूले त्यस्ता तीनवटा काला रेशमका कम्मर बेल्टहरू प्राप्त गरेका छन् । १९ औं शताब्दीसम्म आइपुग्दा ब्रिटिस मेरी डेभिडसन केनरले सेनेटरी बेल्टमा ओसिलोप्रक सीलको कपडाको थैली जोडिन्, जुन रगतलाई राम्ररी अवशोषित गर्न प्रभावकारी साबित भयो । मेरी डेभिडसन, जसले सेनेटरी प्याडको आविष्कारमार्फत स्त्रीलाई रगत बग्ने डरबिनै सार्वजनिक रूपमा बाहिर हिँड्ने स्वतन्त्रता प्रदान गरेकी थिइन् । त्यति मात्र होइन, प्राचीनकालमा पिरियडका बेला भेडाको ऊन र कपासलाई पनि महिलाले अन्डरवियरभित्र प्रयोग गर्थे । सर्वप्रथम डिस्पोजेबल प्याड प्रथम विश्वयुद्धमा फ्रान्सका नर्सहरूले युद्धमा घाइते सैनिकको शरीरको रक्तस्राव रोक्न प्रयोगमा ल्याए । पछि त्यही प्याड स्त्री पिरियडको रक्तप्रवाह रोक्न प्रयोगमा आयो । तर, प्रविधिको उन्नतिसँगै महिनावारीमा प्रयोग हुने सेनेटरी प्याडले पनि आफ्नो स्वरूप फेर्‍यो ।

सेनेटरी प्याड र खतराहरू

नयाँदिल्लीस्थित एनजीओको टक्सिक्स लिंक रिपोर्ट ‘र्‍याप्ड इन सेक्रेसी’ ले बजारमा व्यापक रूपमा उपलब्ध अर्ग्यानिक र अजैविक दस प्रकारका सेनेटरी प्याडहरूमाथि परीक्षण गर्‍यो । परीक्षणपछि थाहा भयो– भारतमा बेचिने लोकप्रिय सेनेटरी प्याडहरूमा धेरै हानिकारक रसायनहरू थिए, जसले स्त्रीमा गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउने गर्छन् ।

संसारैभरि सेनेटरी उत्पादनहरूमा केमिकलको उपस्थिति नियमन गर्ने कानुन कमजोर छ । यी उत्पादनका लागि अमेरिकी खाद्य र औषधि प्रशासनका नियमहरू पनि अनिवार्य छैनन् । ‘र्‍याप्ड इन सेक्रेसी’ का अनुसन्धानकर्ताहरूले प्याडमा दुई विशेष रसायन पत्ता लगाए, ती हुन्– थैलेट (यो पदार्थ प्लास्टिकमा लचिलोपन, पारदर्शिता र टिकाउ बढाउन चलाइन्छ) र भीओसीएस अर्थात् वाष्पशील जैविक यौगिक (पेट्रोल तथा डिजलका सवारीबाट छाडिने कार्बनयुक्त रसायन) ।

थैलेट फ्थालेट्स सेनेटरी प्याडहरूमा विभिन्न तहहरू जोड्न र प्याडको लचिलोपन बढाउन प्रयोग गरिन्छ । यसले धेरै स्वास्थ्य खतराहरू निम्त्याउँछ, जस्तै एन्डोमेट्रिओसिस (एउटा रोग जहाँ पाठेघरको अस्तर जस्तै तन्तु पाठेघरबाहिर पनि बढ्छ, त्यसले बाँझोपन गराउन सक्छ), गर्भावस्थासम्बन्धि जटिलता, भ्रूण विकासमा समस्याहरू, इन्सुलिन प्रतिरोध, उच्च रक्तचापका असर ।

स्त्री योनिका तन्तुहरूमा बढी पारगम्य छाला भएकाले उसको शरीरमा थैलेट एक्सपोजर बढी हुन्छ । प्याडहरूको रसायन अझै खतरनाक हुन्छ । सेनेटरी प्याडमा पाइने अर्का चिन्ताजनक रसायन हो– भोलाटाइल अर्ग्यानिक कम्पाउन्ड (भीओसीएस) । यो रसायन सजिलै हावामा वाष्पीकरण हुन्छ । यो रसायन प्रायः डिओडोरेन्ट, एयर फ्रेसनर, नेल पलिस, इन्सेक्ट रिपेलेन्ट, इन्धन र मोटर वाहन उत्पादनहरूमा प्रयोग हुने भएकाले यसले स्त्री स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ । भीओसीएसले स्त्रीको मस्तिष्क कार्यमा असर पार्छ । यसले छालाको सुजन, एनिमिया, कलेजो र मृगौलाले गर्ने काममा पनि असर पार्छर् । मासिक धर्म प्याडमा अन्य रसायनहरू स्टाइरेन (कार्सिनोजेन), क्लोरोमेथेन (प्रजनन विषाक्त), क्लोरोथेन (कार्सिनोजेन), क्लोरोफर्म (कार्सिनोजेन, प्रजनन विषाक्त, न्युरोटोक्सिन), एसिटोन (उत्तेजक) का मात्राहरू पनि पाइएको छ, जुन स्वास्थ्यलाई हानिकारक छन् । वुमेन्स भ्वाइसेस फर द अर्थ, टक्सिक्स लिंक (नयाँदिल्लीको गैरसरकारी संस्था) र कैयौँ अनुसन्धानले पत्ता लगाएका छन्– भारतीय सेनेटरी प्याडका विषाक्त रसायनहरूले ज्यादा मात्रामा स्त्रीमा हृदय र प्रजनन रोग, क्यान्सरजस्ता जटिल रोग पनि निम्त्याउने डर हुन्छ ।

यदि तपाईं महिनावारीमा ट्याम्पोन प्रयोग गर्नुहुन्छ भने तपाईंले यूएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) को महत्त्वपूर्ण जानकारीबारे विचार गर्दै ट्याम्पोनलाई पिरियडको समय योनिबाट प्रत्येक २–३ घण्टामा फेर्नुपर्ने हुन्छ । लामो समयसम्म ट्याम्पोन योनिमा राखे त्यहाँ हानिकारक ब्याक्टेरियाको संख्या बढ्छ र योनिमा ब्याक्टेरियाको स्तर परिवर्तन हुन्छ । त्यसले स्त्रीमा टक्सिक शक सिन्ड्रोमको खतरा बढाउँछ ।

भारतका प्याड, ट्याम्पोनहरू उत्पादन गर्ने कम्पनीहरूले स्त्री रजश्वलामा हानिकारक रसायनको फासिस्ट तानाशाही कायम राख्दै कैयौँ गुणा मुनाफा त कमाउँछन्, तर स्त्री स्वास्थ्यको विषय बेवास्ता गरिन्छ । यसरी स्त्रीहरू प्रत्येक महिनावारीका दिनहरूमा भयंकर रोगसँग सामना गरिरहेका हुन्छन् ।

यदि तपाईं सचेत हुनुहुन्छ भने जैविक प्याडहरू, प्राकृतिक उत्पादनहरू (हेम्प, काठको पल्प, बाँसको पल्प, कपासबाट बनेका सेनेटरी प्याड) महिनावारीमा प्रयोग गर्न सक्नुहुन्छ । ‘महिनाको समय’ मा सेनेटरी प्याडको खतरनाक चयनभन्दा अरू पनि सुरक्षित विकल्प छन् । सबैभन्दा राम्रो विकल्प हो– महिनावारी कप । यो

ट्याम्पोनले गर्ने सङ्क्रमण वा विषाक्त शक सिन्ड्रोमको जोखिमबाट मुक्त छ । अर्को हो– डायाफ्राम । डायाफ्राम एउटा गर्भनिरोधक उपकरण हो, तर यसलाई पनि महिनावारी कपजस्तै प्रयोग गर्न सकिन्छ ।

...

स्त्री शरीर चमत्कारी छ, जसले नयाँ जीवन जन्माउँछ । त्यसैले प्रकृतिले पनि स्त्री शरीरलाई प्रत्येक महिना सफा गर्नेगर्छ र यो प्रक्रिया नै महिनावारी हो । अरू स्त्रीझैं प्रकृतिले हरेक महिना मलाई पनि महिनावारीको रगतमा लपेट्छ । त्यतिबेला म पहिलो महिनावारीझैं ‘मर्छु कि’ भन्ने डरमा बस्दिन । म सोच्छु– मेरो शरीरले सही रूपमा काम गरिरहेको छ ।

प्रकाशित : श्रावण ६, २०८० ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?