२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२
सहर

त्यो जनसेवा सिनेमा, त्यो न्युरोड

आगोको मुस्लोले आकाश राताम्मे देखियो, कलात्मक–आकर्षक सिनेमाघरको भौतिक संरचनाका सबै भाग आगोले छोपिसकेको थियो । त्यो थियो २०१८ सालको जनसेवा–अग्निकाण्ड !
मल्ल के. सुन्दर

बौद्ध समुदायको महिनाभरिको गुँला पर्व टुंगिएर भदौ प्रतिपदाका दिन बुद्ध–पूजा र वनभोजका क्रममा उपत्यकाका रैथानेहरू साँझ अवेरसम्मै स्वयम्भू डाँडा वरपर रमाइरहेका थिए । अचानक उनीहरूको ध्यान तानियो सहरबीचको बस्तीमा । हेर्दाहेर्दै आगोको मुस्लोले आकाश राताम्मे देखियो, धूवाँका लप्का पनि उत्तिकै सलबलाइरहेका थिए ।

त्यो जनसेवा सिनेमा, त्यो न्युरोड

अनेकन् आशंका र अनुमानमा सबैजसो लम्किए आगोको मुस्लो उठ्दै गरेको दिशा ताकेर । अन्ततः उनीहरू काठमाडौं सहरको मुटु नयाँ सडक पुगे । त्यहाँको अति कलात्मक र आकर्षक सिनेमाघर जनसेवाको भौतिक संरचनाका सबै भागलाई आगोले झ्वाप्पै छोपिसकेको रहेछ । त्यो थियो २०१८ सालको जनसेवा–अग्निकाण्ड !

१९९० सालको महाभूकम्पबाट क्षतिग्रष्त स्थानीय आवास–क्षेत्रको पुनर्निर्माण क्रममा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरको प्रत्यक्ष रेखदेखमा आरम्भ गरिएको नगरीय बस्ती विस्तारको मूल अंश थियो– जुद्धसडक/नयाँ सडक । यद्यपि पहिलो चरणको बस्ती विस्तारपूर्व टुँडिखेल प्रवेशद्वारदेखि हनुमानढोका परिसरको नौतले दरबारसम्म थियो । अर्को चरणमा उत्तर इन्द्रचोकदेखि दक्षिण पुरानो भन्सारसम्म फराकिलो अनि एकैनासे, दुईतले उचाइका आधुनिक भवनहरू दुवैतिर एकै लाइनमा बनाइयो– फ्रेन्च स्टाइलका हरिया झ्याल, नियो–क्लासिकल डिजाइनका संरचनाहरू । चौबाटोको केन्द्रमा जुद्धशमशेरकै सालिक, दक्षिणमा खुला भूगोलपार्क, जुद्धोदय पब्लिक हाइस्कुल, नेपाल बैंक लिमिटेड, म्युनिस्पलटी अफिस, पश्चिममा जुद्ध वारुणयन्त्र– दमकल, खादी कपडा बिक्री केन्द्र, उत्तरमा आकर्षक सिनेमाघर– जनसेवा ! भनिन्छ यो सहरी संरचना लन्डनको पिकाडेली स्क्वायरको वास्तुशैलीको अनुकरण थियो ।

टाउन हलको अवधारणामा बनाइएको सभागृह सञ्चालन गर्न दरबारभित्र पहुँचवाला दयारामभक्त माथेमा र भुवनेश्वर अमात्यले अख्तियार पाएलगत्तै त्यो सार्वजनिक सिनेमाघर जनसेवामा परिणत भयो । त्यहाँ सर्वसाधारणका लागि प्रदर्शन गरिएको पहिलो फिल्म थियो– रामविवाह ।

बाहिर फुटपाथमा आवतजावत गर्दा सिनेमाहलका सञ्चालकले चेलीबेटीसँग अभद्र ब्यवहार गरेको आरोपमा केही सर्वसाधारण युवामाथि कुटपिट भयो । पछि त्यही कलहको बीउ बन्यो र आक्रोशित जनसमुदायले सिनेमाहल तोडफोड गर्दै त्यहाँ आगो झोसिदिए ।

तर भनिन्छ, भर्खरै संसदीय व्यवस्था मासेर राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएपछि रुष्ट बनेका दलीय नेता र कार्यकर्ताले आक्रोश पोख्ने मौकाका रूपमा त्यो क्षणलाई प्रयोग गरेका थिए । अन्ततः जेठो सिनेमाघर जनसेवा खरानी भयो, त्यसको कुनै अवशेष बाँकी रहेन । सोही परिसरको उपयोग गर्दै खडा गरिएको हो– हालको विशाल बजारको संरचना ।

आम जनताको आवास क्षेत्रभित्र यसखाले पाश्चात्य शैलीको वास्तुकलाको सुनियोजित अतिक्रमणको सम्भवतः यो सुरुवात थियो । अन्यथा जंगबहादुरको बेलायत भ्रमणपश्चात् भित्रिएको पाश्चात्य विधि/प्रकृतिका भवन निर्माणका अनुकरण शासकहरूका महल, दरबारमै सीमित थिए ।

पुरानो नयाँ सडकमा अनेकविधि सामग्री पाइने मंगल घर, छाता भण्डार र मुन्चा हाउस थियो । ती पसल त्यस जमानाको सपिङ मल थिए ।

संयोगै होला व्यवस्थित, सुनियोजित, आधुनिक नगरीय संरचनाभित्रको जनसेवा सिनेमाघर उक्त आगलागीबाट ध्वंस भएपश्चात् त्यसवरपरका भौतिक अवस्थामा बिस्तारै रूप परिर्वतन भयो । जनसेवा–अग्निकाण्ड एक अर्थमा नयाँ सडकको हिजोका मौलिक स्वरूपमाथिको विखण्डन तथा विचलनको अन्तहीन क्रमको आरम्भ बन्यो । ‘गोरखापत्र छापाखाना’ को भवन ‘गोरखापत्र संस्थान’ को कार्यालयमा रूपान्तरण मात्रै भएन त्यसको भौतिक आकृति नै फेरियो । नेपाल बैंकको अग्लो भवनले भूगोलपार्क पछाडिको पोखरी पुरियो । जुद्धोदय पब्लिक हाइस्कुल त्यहाँबाट हटाइयो, सँगैको होटल पारस अब त्यहाँ छैन, पिनट्स स्टोर खुलिसक्यो । पश्चिमतिरको महर्जन कम्प्लेक्सले त्यहाँको पुरानो संरचनालाई विस्मृतिमा पुर्‍यायो । जनसेवाको पूर्वी सँधियारका कुनै पनि भवन आज पुरानो आकारमा रहेनन् ।

विगतको सम्झना गर्नेले अझै पनि नयाँ सडक भन्नेबित्तिक नगरमा पहिलोपटक खोलिएका विविध सामग्री पाइने दुकान मंगलघर, छाता भण्डार अनि मुन्चा हाउस बिर्सिंदैनन् । विशेषतः विदेशीका आवश्यकता पूर्ति गर्ने यी पसल एक अर्थमा त्यस जमानाको सपिङ मलजत्तिकै थिए । अनि आयात गरिएका यान्त्रिक सामानहरू पाइने एक मात्रै ठाउँ मर्कन्टाइल पनि स्मृतिमा आउँछ । तर, ती अहिले कुनै पनि छैनन् । राजा त्रिभुवनको व्यक्तिगत आग्रहमा पन्जाबी व्यवसायी गुलाव सिंहले त्यसै सडकमा खोलेको सहरकै पहिलो ड्राई क्लिनिङ माई सप पनि त्यहाँबाट हट्यो । नयाँ सडकको एक कुनामा सदैव नयाँ–नयाँ हिन्दी सिनेमाका गीतका रिकर्ड बज्थ्यो, हिज मास्टर भ्वाइसको त्यो सोरुम अनि टुँडिखेलतिर जाने जुद्धसडकको दक्षिणतिरको त्यस्तै अर्को पसल भ्वाइस अफ रेडियो पनि रहेन । भूगोलपार्कको परिसरमा खोलिएको अति चर्चित इन्दिरा रेस्टुराँको त यतिखेर कुनै भौतिक संरचना नै देखिन्न ।

सम्झनामा विविध संरचनागत स्वरूप मात्रै होइन त्यो हिजोको नयाँ सडकको चर्चा हुँदै गर्दा पर वसन्तपुरतिर पुग्दानपुग्दै नेपाल–सोभियत मैत्री संघको सांस्कृतिक केन्द्र र पुस्तकालय भेटिन्थ्यो । त्यहीं निःशुल्क वितरण गरिने सोभियत भूमि पत्रिका पाइन्थ्यो । सँगसँगै नेपाल–भारतमैत्री पुस्तकालय खोलिएको थियो, जहाँ हिन्दुस्थानका थुप्रै दैनिक पत्रिकाका र महत्त्वपूर्ण साहित्यिक पुस्तक पढ्ने सुविधा थियो । नेपाली भाषामा ‘भारत समाचार’ त्यहींबाट वितरण गरिन्थ्यो । इन्द्रचोकतिर जाने सडकमा पूर्व फर्किएको घरको दुई तला नै नेपाल–चीनमैत्री संघले भाडामा लिएको थियो । त्यसैको भुइँतलामा नेपाल–चीनमैत्री पुस्तकालय सञ्चालनमा थियो । सित्तैमा त्यहाँ चिनियाँ भाषाको कक्षा पढ्न पाइन्थ्यो । निःशुल्क पाइन्थे– ‘सचित्र चीन’ र ‘पेकिङ रिभ्यु’ । चिनियाँ सिनेमा हेर्न र माओका लकेट पनि पाइन्थ्यो । पाको र प्युखा जाने कुनाको ठूलो सिंगो घरमा अमेरिकी सूचना केन्द्रको कार्यालय थियो अनि भुइँतलामा अमेरिकी पुस्तकालय । बेलाबखत उत्कृष्ट, तर पुराना अंग्रेजी चलचित्र पनि त्यहाँ हेर्ने पाइन्थ्यो । त्यसैको लगभग पारितिर खोलिएको थियो– ब्रिटिस काउन्सिल अनि एउटा स्तरीय पुस्तकालय । यथार्थतः त्यतिखेरको त्यो नयाँ सडक केवल सडक थिएन जिज्ञासुका लागि जान्ने, सिक्ने बहुराष्ट्रिय ज्ञानकेन्द्रको विस्तारित रूप थियो ।

विगतमा नयाँ सडकको एकातिर सरकारी सञ्चार माध्यम ‘गोरखापत्र’ कार्यालय र छापाखाना, अर्कोतिर खिचापोखरीतिर छिर्ने जोशी परिवारको घरमा राज्यको नियन्त्रणमा रहेको मुलुकको एक मात्रै संवाद समिति राष्ट्रिय समाचार समिति थियो । फसिक्यवको सानो परिसरभित्रबाट रंगनाथ शर्माको ‘हालखबर दैनिक’, मणिराज उपाध्यायको ‘समाज’, पशुपतिदेव पाण्डे, बालमुकुण्ड पाण्डे अनि गोकर्णदेव पाण्डेका आ–आफ्नै बेग्लाबेग्लै पत्रिका, पाकोको एउटा छिँडीमा अंग्रेजी दैनिक ‘द मन्डरलैन्ड’ को कार्यालय (सम्पादक थिए मणीन्द्रराज श्रेष्ठ) र छापाखाना थिए । त्यसैसँग जोडिएको अर्को घर पत्रकार निरमान नेवाःको हो, त्यहाँबाट उनी निकाल्थे ‘जनजागृति साप्ताहिक’, पछि त्यहींबाट निस्कन थाल्यो ‘दैनिक निर्णय’ पनि । नयाँ सडकबाट निस्कने अर्को साप्ताहिक थियो सोमनाथ घिमिरेको ‘युगसंवाद’ । नयाँ सडककै वरपरबाट ‘प्रतिध्वनि’, ‘आरती’, ‘एसियाली आवाज’, ‘जन्मभूमि’ जस्ता थुप्रै पत्रपत्रिका छापिन्थे । पछि त्यसै इलाकामा नेपाल पत्रकार संघको कार्यालय खोलियो । यथार्थमा त्यसबखतको नयाँ सडकले बटुवा हिँडडुल गर्ने बाटोको अर्थमा भन्दा पनि तत्कालीन नेपाली सञ्चार जगत् तथा पत्रकारिताको साक्षात्कार गर्न पाइने एउटा चौबाटोका रूपमा विशिष्ट पहिचान बनाएको थियो, जहाँको पीपलबोट छहारीमा प्रत्येक साँझ नहुँदै झन्डै सबैजसो स्थानीय दैनिक, साप्ताहिकदेखि साहित्यिक प्रकाशन र तिनका पाठकसँग जम्काभेट हुन्थ्यो ।

केशरबहादुर मास्केको परिवारले ‘सन्देश गृह’ नयाँ सडकसम्म विस्तार गरेपछि त्यस परिसरमा ताजा हिन्दुस्तानी पत्र–पत्रिका पनि पढ्न पाइने भयो । ‘सन्देश गृह’ को बिक्री स्टल खुलेपछि बाहिरी सूचना, सञ्चार र समाचार उपलब्ध भयो । निरंकुश, निर्दलीय शासनसत्ताअन्तर्गत दमित अवस्थाका प्रत्येक सचेत नागरिक नयाँ, नयाँ जानकारी र हालखबरको तिर्खा मेट्न हरेक साँझ नयाँ सडक पुग्न आतुर हुन्थे । तर, त्यो हाट बजार थिएन– हातमा उही कालो छाता बोक्दै अगाडि–पछाडि पुरुषोत्तम बस्नेत, लोकेश ढकाल, शेख इद्रिशजस्ता समर्थक, शुभचिन्तकसहित नयाँ सडकको पेटीमा झुल्कन्थे किसुनजी (कृष्णप्रसाद भट्टराई) । किसुनजीको अभीष्ट केवल ‘नवभारत टाइम्स’, ‘इन्डियन एक्सप्रेस’ आदि दैनिक पत्रिका संकलन गर्नु मात्र हुन्नथ्यो आफन्तजनसँग भलाकुसारी गर्ने मोह पनि उत्तिकै हुन्थ्यो । त्यहाँको पानपसल चहार्नु किसुनजीको दैनिकी थियो ।

नयाँ सडकले चाक्सीबारीको गणेशमान सिंहलाई पनि उसरी नै लोभ्याएको थियो । साँझ मंगला भाउजू र पीएल सिंहको साथमा अक्सर पुग्थे, उनी । स्वयं बीपी कोइरालाको पनि छनोटमा थियो नयाँ सडकको यात्रा । डा. डिल्लीरमण रेग्मी नियमित त्यहाँ पुग्नेमध्ये एक थिए । वामपन्थी नेताहरू विष्णुबहादुर मानन्धर, कृष्णराज वर्मा, शम्मुराम श्रेष्ठसँग पनि नयाँ सडकको पेटीमा जम्काभेट हुन्थ्यो । दलहरू निषेधित थिए, तर दलका नेताका लागि स्वजनसँग विचार प्रवाह गर्न सकिने सहज लोकेसन नयाँ सडक साँझसम्म खुल्लै हुन्थ्यो । तसर्थ थुप्रै नेतागणका लागि प्रियकर थियो, ती दिनमा – नयाँ सडक !

हो कतैबाट, कसैबाट, केही गुह्य कुरा चुहिएला कि भन्ने झिनो आशामा त्यहाँ राजदरबारदेखि बरफवागसम्मका सुराकीहरू साँझभरि ढोक्सो थापेर बस्थे । सूचनाको त्यसखाले सम्भावना देखेरै होला भारतीय गुप्तचरीका लागि इन्दिरा रेस्टुराँको भुइँतलाको दक्षिणतिरको पछिल्लो कुनामा एउटा भारतीय हवाई सेनाका पूर्वजवानले त ‘छप्पन भोग मिठाई पसल’ नै थापेका थिए ।

पत्रकारका लागि दैनिक प्रदक्षिणा सम्पन्न गर्नुपर्ने भूभाग नै भयो नयाँ सडक । ‘नेपाल टाइम्स’ का चन्द्रलाल झा, ‘नयाँ सन्देश’ का रमेशनाथ पाण्डे, ‘समीक्षा’ का मदनमणि दीक्षित, ‘नेपाली दैनिक’ का इन्द्रकान्त मिश्र, ‘राष्ट्र पुकार’ का होमनाथ दहाल, ‘नवीन खबर’ का विचित्रबहादुर देवकोटा, ‘विमर्श’ का हरिहर विरही, ‘साप्ताहिक मञ्च’ का पद्म ठकुराठी, पशुपतिदेव पाण्डे, मणिराज उपाध्याय, ‘नयाँ करेण्ट’ का देवेन्द्र गौतम, ‘समय’ का माणिकलाल श्रेष्ठ, ‘जन्मभूमि’ का गणेशवल्लभ प्रधान, ‘जनजागृति’ का नीरमान नेवाः, ‘नयाँ संसार’ का नरेन्द्रविलास पाण्डे आदि दर्जनौं वरिष्ठ पत्रकार दिनहुँ नयाँ सडकमा प्रकट हुन्थे । भारतीय सञ्चारमाध्यमका मार्विन कुर्वे, ब्रह्मानन्द मिश्र, रामआशिषदेखि ‘रायटरस’ का इलिजावेथ हली अनि ‘एएफपी’ का केदारमान सिंह, ‘एपी’ का विनय गुरुवाचार्यसम्म आइपुग्थे नयाँ सडकको त्यो पीपलबोटको छहारीमुनि ।

खुलस्त बात मार्न संकोच भएपछि मित्रमण्डलीसँग घुस्ने दैलो थियो– फसिक्यबको रश्मि रेस्टुराँ र आरके मम रेस्टुराँ, जहाँ अलिअलि लोकल वासः पनि सेवन गर्न पाइन्थ्यो । खिचापोखरीको बैंग्लोर कफी हाउस त राजनीतिजीवीका लागि गफिने प्रिय थलो नै भयो । अलि गोजी भारी हुनेका लागि भूगोल पार्कको इन्दिरा रेस्टुराँ छँदै थियो ।

नयाँ सडकको स्मृतिविम्बमा इन्दिरा रेस्टुराँ त्यस अर्थमा पनि उल्लेख्य रह्यो । त्यसै रेस्टुराँमुनिको एउटा कुनो, जुन गोपाल योञ्जन, नगेन्द्र थापा, विश्वम्भर चञ्चल, तुलसी दिवस, राममान तृषित मात्रै होइन द्वारिका श्रेष्ठ र कृष्णभक्त श्रेष्ठजस्ता काव्य श्रष्टाका लागि पनि सिर्जनात्मक गन्थन–विन्दु थियो । त्यसैको अर्को छेउमा उभिन्थे प्रगतिवादी कलमजीवी, जसमा भेटिन्थे कवि विमल निभा, श्यामल, नारायण ढकालहरू । वामपन्थी कलमजीवी आनन्ददेव भट्ट, शक्ति लम्साल, जनकप्रसाद हुमागाईं पनि त्यहाँ उभिन रमाउँथे ।

हास्यव्यङ्ग्य विधाका अग्रज भैरव अर्याल, वासुदेव लुइँटेल, रामकुमार पाँडेलाई अक्सर भेटिने थलो त्यही थियो । त्यतिखेरका युवा लेखक अभि सुवेदी, पिटर जे. कार्थर, ध्रुवचन्द्र गौतम, मञ्जुल, अशेष मल्ल, युयुत्सु शर्मादेखि नारी हस्ताक्षर तोया गुरुङ, प्रेमा शाह, सीता पाण्डे नयाँ सडकको सेरोफेरोमै देखिन्थे । भूपि शेरचनदेखि ईश्वरवल्लभ, बैरागी काइँला, मोहन कोइराला, रमेश विकल, हरिभक्त कटुवाल, शंकर लामिछाने, भवानी घिमिरेहरूको ऊर्जास्थल नयाँ सडक थियो । राल्फा जमातको पनि प्रियस्थल यही रह्यो । स्वच्छन्दता र यौनजन्य लेखनी मन्थनका लागि पुग्थे परशु प्रधान, शैलेन्द्र साकार अनि पुष्कर लोहनी । उत्तम कुँवर ‘रूप–रेखा’ प्रकाशनका लागि आवश्यक सामग्री जुटाउने चाँजोपाँजो त्यतैतिर गर्थे । विजय मल्ल र गोविन्द गोठालेको त टोलबस्ती नै यतै थियो ।

नयाँ सडक जहाँ थियो आज पनि त्यहीं छ । भौगोलिक अवस्थिति फेरिएको छैन । नयाँ सडक त्यसको आवरण, सजावट अनि संरचनामा झन् सजिएको छ । नेपालकै पहिलो सुपर मार्केटदेखि रञ्जना मल, काठमाडौं मल, सिटी मल, पिपुल्स प्लाजा, पशुपति प्लाजा, आरबीे कम्पलेक्स, महर्जन कम्पलेक्स, सुरज आरकेड, टीसीएम सपिङ मल आदिको घेराबन्दीमा मात्रै छैन आजको नयाँ सडक दिनमै अर्बौंको व्यापारिक कारोबार हुने महाबौद्ध, वटु, मखनजस्ता थोक व्यापार केन्द्रको पनि सामीप्यतामा छ । राष्ट्र बैंकबाहेक नेपालका सबैजसो वाणिज्य बैंकका शाखा, उपशाखाले छप्पकै ढाकिसकेका छन् यसलाई । त्यति मात्र होइन प्रत्येक दस पाइलामा हीरा, जवाहरात र सुनचाँदीका गहनाका थुप्रै स्टलबाट दायाँबायाँ सजाइएको छ यस सडक, जहाँ प्रतिदिन सम्भ्रान्त परिवारका गृहिणीहरू क्षणमै लाखौंको कारोबार गर्न तम्सिन्छन् । यहाँको यी चमकमा विश्वकै एक विपन्न मुलुक नेपाल भेटिन गाह्रो छ ।

आजको नयाँ सडकमा असीमित कारोबार छ । तर, फुटपाथ र सडकछेउमा हिजोजसरी मुलुक, जनता र समाजका लागि प्रतिक्षण प्रतिध्वनित भइरहने सरोकार कतै भेटिन्न । व्यवसायीकर्मीहरूको व्यापारबाट अतिक्रमित आजको नयाँ सडकको क्षितिज विमर्श, विचारबाट विस्थापित छ । हिमाल, पहाड, उपत्यका र तराईसमेतका जीवन्त प्रतिनिधि भेटिने ती आश्रयस्थल आज सोरुममा सजाइएका निर्जीव आईटी, मोबाइल, आईसी चिप्स र इलेक्ट्रोनिक्ससँगको समागममा यान्त्रिकीकरण भएको छ । आज त्यहाँको साँझले मात्रै चिन्ता, शुभलाभको चिन्ता पस्किन्छ । सर्जक, स्रष्टाका मस्तकबाट प्रवाहित हुने सिर्जनाका मन्थन, राजनीतिक अभियन्ताका राष्ट्रिय सरोकारका गम्भीर चिन्तन, जसका कारण नयाँ सडक सदैव तरंगित भइरहन्थ्यो, आज त्यो विलुप्त छ । नयाँ सडकमा दायाँबायाँ मान्छेका आवास त खडा छन्, तर त्यहाँ मानिस भएर बाँच्नेको कुनै सुवास छैन ।

सम्भवतः त्यो पीपलबोट अनि त्यो चौतारी आज प्रत्येक साँझ एक्लो अनुभव गर्छ होला । राष्ट्रलाई सही बाटोमा डोर्‍याउँछु भन्ने प्रतिबद्धता लिएर हिँडेका ती चेतनाका अनुहार खोज्छ होला हिजोजस्तै पीपलबोटले । अखबारका पृष्ठमा, किताबका पंक्तिमा अनि सचेत मस्तकबाट बहकिने नागरिक सरोकारका गहकिला चिन्तनमा आफू भेट्टाउने चेष्टा गर्छ होला पीपलबोट ।

नयाँ सडककै एउटा महत्त्वपूर्ण एकाइ हो– भूगोल पार्क । राज्यारोहणदेखि राज्याभिषेकसम्म अनि राजा महाराजा तथा शासकबाट हुने अनेकन् सवारीको भुक्तभोगी । मित्रराष्ट्रबाट आइपुगेका अति विशिष्ट पाहुनाको राजकीय यात्राका तामझामका दृश्य मात्रै होइन यस पार्कको स्मृतिमा मुलुककै राजनीतिक उथलपुथल हुनेगरी भएका आन्दोलन र जनलहरका दृश्य पनि हुँदो हो । नेपाली नागरिकले आफ्नो असहमति र असन्तोष जाहेर गर्ने एउटा स्थापित चौतारी पनि थियो– भूगोल पार्क । अफसोस ! फेरिएको नयाँ सडकले भूगोल पार्कलाई पनि विगत महत्ताबाट आज विचलित गरेछ क्यार ! आज त्यहाँ हिजोजस्तै सत्ता, शासक, संस्थापन पक्षलाई खबरदारी गरिएका पर्चाबाजी छैनन्, पोस्टर टाँसिन्न, पार्कको खुड्किलामाथि उभिएर आक्रोश पोखिँदैन, मुठ्ठी कसेर भाषण गरिँदैन, जुलुस अनि धर्ना, अनशन पनि छैन । केही छ भने त्यही स्मारक छ । स्तम्भको टुप्पोमा भूगोलमाथि पलेंटी कसेर बसेको शंकर भगवान्को आकृति छ । यदि ऊसँग संवेदना हुँदो हो त नयाँ सडकको यो विचलनमा अवश्य पनि पीडाबोध गर्दो हो ।

प्रकाशित : चैत्र ४, २०७९ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x