कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

समले दिएको त्यो मेडल

अभि सुवेदी

एकाध साता पहिले काठमाडौं विश्वविद्यालयका नेपाली विभागका अध्यक्ष डा. रामचन्द्र पौडेलको अप्रत्याशित फोन आयो । तिनले मलाई समको संस्मरण कार्यक्रममा वक्ताका रूपमा निम्त्याए । मलाई किञ्चित् आश्चर्य र खुसी लाग्यो । नाट्य विधामाथि समालोचना लेख्ने र आफैं नाटक लेख्ने व्यक्तिलाई उनले सम्झेको स्वाभाविक लाग्यो ।

समले दिएको त्यो मेडल

तर, मैले विवशता पनि भनिहालें, ‘मैले अब लामो ड्राइभ गर्न छोडिसकेको छु । म धुलिखेल आउन असमर्थ छु ।’ उनले तुरुन्तै भने, ‘यो कार्यक्रम हामीले समजीकै जन्मघरमा आयोजना गर्न लागेका छौं ।’

सुनेको थिएँ– काठमाडौं विश्वविद्यालयले समजीको जन्मघरलाई परिवारसँग सम्झौता गरेर रेट्रोफिटिङ गर्दै छ र सम संग्रहालय बनाउँदै छ । बालकृष्ण सम (१९५९–२०३८) लाई अहिलेको नेपालमा सम्झिनेहरू थोरै हुँदै गए । उनको कला, साहित्य, रङ्गमञ्च, मूर्तिकला र नाट्य लेखनका विषयको अध्ययन गर्ने र गराउने विभाग, एकाइहरू हराउँदै गएको अवस्थाले चिन्तित मेरा निम्ति यो सुखद खबर हो । र, केही दिनमै त्यहाँ गएर सबै कुरा थाहा पाउनेछु भन्ने भावनाले उत्साहित भएँ । नेपालका सबै निर्देशक, नाट्यकर्मी र रङ्गमञ्च झन् खुसी हुनेछन् । विगतमा बालकृष्ण समको नाममा सम थिएटर बनाएका गुरुकुलका सुनील पोखरेल पक्कै खुसी होलान् । त्यो कार्यक्रममा गएर सबै कुरा थाहा पाएपछि विस्तृत लेख लेख्दै गरौंला । अहिलेलाई एकाध कुरा गरेर मेरा आफ्ना संस्मरणका केही पानाहरू पल्टाउन चाहन्छु । सम बस्ने घरमा अहिले उनका परिवार बस्छन् । यो म धेरै गइबस्ने र समलाई भेट्ने घरमा केही वर्षअघिसम्म पुगिरहेको हुँ । सम बस्ने घर र मेरा स्मृतिबारे लेखहरू लेखिसकेको छु ।

बालकृष्ण समलाई मैले पहिलो पटक संवत् २०२० सालमा उनको घरमा भेटेको थिएँ । त्यो बेला आई.ए.को विद्यार्थी थिएँ । मजस्ता साहित्यमा संलग्न युवामा त्यो बेला बालकृष्ण समको ठूलो प्रभाव थियो । उनलाई भेट्ने चाहनाले त्यो साल ज्ञानेश्वरमा सम निवास सोध्दै पुगेको थिएँ । कमलपोखरी पुग्न एउटा खेतबारीजस्तो डिल चढें अनि त्यसपछि सोध्दै समजीको घर पुगें । कुनै पूर्वतयारी र फोन गर्ने कुरै भएन । त्यसै त तेह्रथुमको ठिटो, पारा गाउँले थियो मेरो । साथमा रघुकुमार चौधरी भन्ने साथी थिए, विराटनगरका । समको कम्पाउन्डमा पस्यौं । एउटा लहराले घेरिएको पर्खाल, स्निग्ध र अलग, हरियाली भएको परिवेश, अत्यन्तै राम्रो लाग्यो । एकाएक भित्तामा एउटा काठजस्तो बोर्डमा आँखा परे । त्यसमा लेखिएको थियो– यो कुनै बास हो नाथ, मेरो जीवन मार्गको/ तिमीतिर म हिँड्नेछु स्वप्न पूरा भएपछि । यो भनाइ धार्मिक देखियो भनेर समले पछि ‘यो कुनै बास हो एक, मेरो जीवन मार्गको/ कतैतिर म हिँड्नेछु स्वप्न पूरा भएपछि’ बनाए । समले हामी अठार–उन्नाईसका ठिटाहरूलाई पनि वयस्कको जस्तै व्यवहार गरे । ‘रूप–रेखा’ पत्रिकाका तीन अङ्कमा ‘आधुनिक कविता र दार्जिलिङका केही तन्नेरी कविहरू’ शीर्षकमा मेरो लेख भर्खरै धारावाहिक छापिएको थियो । मलाई लेख्न सक्छु भन्नेमा विश्वास भएकाले समसँग अन्तर्वार्ताकै शैलीमा कुराकानी गरें । पछि ‘समज्यूसँग एक बिहान’ शीर्षकमा ‘बिहान’ अङ्क ५, २०२० सालमा मैले लेख प्रकाशित गरें ।

समजीको बैठक कोठा देखेर म चकित भएको थिएँ । चित्रकला, मूर्ति अनि किताब र काष्ठकलाले सजाइएको त्यो सानो संसार थियो । मैले त्यस्तो परिवेश अघि कहिल्यै देखेको थिइनँ । मेरा प्रश्नहरूले गर्दा होला, समजीले उता नजिकैको एउटा कोठामा लगे । त्यो मेरो निम्ति अर्को अद्भुत दृश्य थियो । समजीले काम गरिरहेको एउटा ठूलो क्यानभास थियो । यत्रतत्र छरिएका रंग र कुचीहरू अनि पानी र तेल मिसाएका रङ्गका साना–साना खोपिल्टा देखेर म द्रवित भएर खुलेको थिएँ । समजीले मूर्तिहरू, काठका कुँदेका नेवार झ्यालहरू अनि आफूले चीन, रुस जाँदा पाएका र ल्याएका मूर्ति, उपहारहरू देखाए । सबै राम्ररी मिलाएर राखिएका थिए । त्यहाँ चित्रकला गरिरहेको देखिने समजीका क्यानभास, तूलिका र रंग थिए । नाटक र रङ्गमञ्च बुझाउने विम्ब थिए । मलाई लाग्यो, मैले जीवनमा त्यही बिहान जिन्दगीभरिको शिक्षा पाएँ । नभन्दै विश्वमा अनेकौं ठाउँमा गएँ, कलाकार र लेखकका साधना कक्षहरूमा गएँ, ग्यालरीहरूमा गएँ । त्यो बिहान समजीकोमा देखेको कलेवर र नमुना नै मैले सधैं सर्वत्र देखें । पछि २०२५ सालतिर एमए अंग्रेजी पढ्न काठमाडौंमा आएपछि मेरो लेख छापिएको पत्रिका ‘बिहान’ लिएर गएँ समजीकोमा । समजीले सोझै चिने । अनि पछि उनकोमा जाने मेरो बानी बाक्लो भयो । पहिले अलिक धेरै, पछि अलि ढिलो जान थालें । म्याडम मन्दाकिनीलाई राम्ररी चिनें । जनार्दन समलाई पनि भेटें । समजीकी एक जना छोरी पनि भेटें । अहिले कुनचाहिँ छोरी भेटें यकिन छैन, तर ज्वाला सम हुन् कि जस्तो लाग्छ । संगतमा समजीबाट नाटक लेख्नुपर्छ भन्ने प्रेरणा लिए पनि निकै पछि मात्र नाटक लेख्न थालें । संवत् २०२६ मा विजय मल्लको नाटक ‘पत्थरको कथा’ मा रघुवीरको अभिनय गर्दा पहिलो भएँ र समजीको हातबाट मेडल पाएँ । अहिले त्यो मेडल हेर्दा भावुक हुन्छु ।

समजीको देहावसान भएको निकै वर्षपछि उनका नाति जीवन समलाई फोन गरें र उनको घर गएँ । समजीलाई कहिल्यै नदेखेकी जीवनकी श्रीमती कल्पनाले समको विषयमा मलाई बुझाउन खोज्दाका व्यग्र र ‘सब्लाइम’ क्षण हेर्दा मभित्र कहीं एउटा रङ्गमञ्च खुल्यो । मैले तिनलाई पात्र बनाएर एकल नाटक लेखें । समजीले साधना गर्ने कोठा, स्टुडियो र उनको परिवेश १२ वैशाख २०७२ को भूकम्पले केही बद्लिएछन् । समजीका मैले पहिले देखेका शृङ्खला त्यहाँ थिएनन् । स्पेस थियो, तर आकार अलग थियो । बैठककोठा उही, तर पहिले मैले देखेकोमा केही परिवर्तन थिए । बाहिर समजीका जस्ता आँखा उनले नै पेन्ट गरेका प्रवेश गर्ने फप्लेटामा तिनै छन् । समजीको त्यो थलो उनै अर्ध्दमुदित आँखाबाट देखिएको त्यही समय हो, जसले मेरो मनमा ठूलो प्रभाव पारेको थियो । मैले लगेका युवापुस्ताका नाट्य कलाकार र संगीतकारलाई कल्पना समले भनेका कुरा तिनै खोजी र अर्धअमूर्त परिवेशका अभिव्यञ्जना थिए । वैशाख २०७३ मा सुष्मा कोइरालाले एकल अभिनय गरेको ‘यो कुनै बास हो एक’ शीर्षकको त्यो मेरो नाटक हेर्न कल्पना सम, उनकी छोरी र परिवारका नारीहरू आए । नाटकपछि उनीहरू निर्देशक घनश्याम श्रेष्ठको सम–आवास–सदृश मञ्चको सेनोग्राफीमा हराएर चित्र खिच्दै हिँडेको देख्दा लाग्यो, एउटा निकै लामो समयको यात्रा भएछ ।

मेरो छोटो एकल काव्यिक शैलीको नाटकको कथा सोझो छैन । यो घुमाउरो किसिमले अघि बढ्छ । यस नाटककी एकल पात्रा दिवासा समको घर परिसरमा सूत्रधार वा लेखकले भेटेकी नारी हुन् । नाटकको सुरुमै सूत्रधारले बोलेर यो सबै कुरा खोलिदिन्छ । ती नारी एउटा संरचनाभित्र भेटिएकी पात्र हुन् । तिनको चिन्तामा उदात्त यथार्थ छ । नाटक सुरु हुँदा नै द्वन्द्वसँगै तिनको मनका कुरा सुनिन्छन् । त्यो घर–परिसरमा विवाहित भएर आएकी कल्पनाले समलाई देखिनन् । ती नातिनी पुस्ताकी पात्राका चिन्ताले सजिलो उत्तर पाउँदैनन् । त्यसैले नाटक कल्पना समलाई प्रतिनिधित्व गर्ने दिवासाका मनको चिन्ता र खोजबाट सुरु हुन्छ अनि त्यसैमा अन्त्य हुन्छ ।

समको जन्मघरमा उनको जीवन, लेखन, कला र आलम्बन बुझाउने सामग्री राखिनेछन् । उनका चित्रकला, फोटोग्राफी, अध्ययन गरेका ग्रन्थ अनि अरू विम्ब र तिनले बुझाएको कलेवरले पहिलो आधुनिक नेपाली नाटक र रङ्गमञ्चको अभिव्यञ्जना दिनेछ । र, नेपाली नाट्यमञ्च–चेतनामा त्यसको सुखद प्रभाव पर्नेछ ।

प्रकाशित : फाल्गुन ६, २०७९ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?