कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

क्रसरोडका कथा

काठमाडौं फ्लानरी सहर हो । काठमाडौंका भुइँमा पनि कथा छन्, भित्ताहरूमा पनि कथा नै छन् । जताततै कथैकथा छन् ।

फ्रेन्च भाषाको ‘फ्लानर’ सुहाउँदो शब्द खोज्दै जाँदा फेला पर्छ– फकिर । त्यही फकिरगिरीमा रमाउँदाका कथा छन्, विक्रमभक्त जोशीकृत ‘चोभार ब्लुज’ मा । रमता जोगीजस्तो भएर हिँड्दा उनका पाइलैपिच्छे कथाकुथुंग्री अल्झिन्छन् । हरेक स्थान, पात्र, परिवेश, दृश्य र विम्बमा कथाको खात लाग्छन् । लाग्छ, काठमाडौं फ्लानरी सहर हो । काठमाडौंका भुइँमा पनि कथा छन्, भित्ताहरूमा पनि कथा नै छन् । जताततै कथैकथा छन् ।

क्रसरोडका कथा

यसका सबैजसो कथा काठमाडौंली र छेउछाउका परिवेशमा छन् । ‘फ्लानर फेन्टासी’ भनौं वा सहरको सर्जरीका क्रममा विक्रम काठमाडौं उपत्यकाको उत्पत्ति, वाग्मती सभ्यता र नेवारी परम्पराको वैभवलाई खूब घतलाग्ने गरी खोतल्छन् । यहाँका देवीदेवता, किंवदन्ती, चाडपर्व, रीतिरिवाज, मन्दिर, जात्रा, संस्कृति, भाषा, वेशभूषा आदिबारे अथाह सूचना र ज्ञान भेट्छन् । लोककथा, लोकबोली, लोक लहजा, लोक व्यवहार, लोक परम्परा, लोक संस्कृतिप्रतिको लेखकीय सम्मोहनकै कारण यी कथाहरूले मौलिक स्वाद र रैथाने रङरोगन पाएका छन् ।

विक्रमका कथाहरूले पाठकलाई बोसन डाँडा, फूलचोकी, बुङमती, खोकना, चोभार, चम्पादेवी आदि उपत्यकाका काँठक्षेत्र मात्रै डुलाउँदैन, धेरथोर नेवारी भाषा पनि सिकाउँछ । जस्तो ः च्वबहाः (चोभार), चिनियाम्हः किसिजा (चिनीको हात्ती), फल्चा (पाटी), ख्वाःपाः (मुखुण्डो), ग्वारामरी (डल्ले रोटी) । ख्याकको मिथक पढ्ने मौका पनि यसमै मिल्छ ।

काठमाडौंको सांस्कृतिक गरिमा झल्काउने कथा हो, ‘ख्याक, मान्छे र कुकुर’ । कथाअनुसार, महादेव र पार्वतीले अभिमान वश छुट्टाछुट्टै सृष्टि गर्दा घोर अनर्थ हुन जान्छ । महादेवले कंकाल मात्रै सृष्टि गर्छन् भने पार्वतीले मांसपिण्ड मानव (ख्याक) मात्रै । कंकाल र ख्याकले एकाकार गरेर हेरपछि मात्रै सृष्टिले पूर्णता पाउँछ । त्यसैलाई अर्धनारीश्वर भन्ने गरिएको छ । काठमाडौंमा ख्याचा, बुख्याचा, बाख्याचा आदि ख्याकको चर्चा हुन्छ । कथाको पात्र सेतो ख्याक भूत होइन, संरक्षक रहेछ । खासगरी बालिकालाई गुफा राख्दा रक्षा गर्ने भनेर उसको पूजा गरिँदो रहेछ ।

‘यो जात्रा, अनि त्यो जात्रा’ पनि काठमाडौंकै सामाजिक र सांस्कृतिक विरासतको कथा हो । यसमा नेवारी जनजीवन र मौलिक संस्कृतिको सुन्दर ‘पोर्टेट’ छ । इन्द्रजात्रामा पुलु किसी (मान्द्रोको हात्ती) बनाउने परम्पराबारे यसै कथाले थाहा दिन्छ । ‘धिर्बाको विदेश यात्रा’ मा धीरमान छोरा भेट्न अस्ट्रेलियासम्म पुगेको छ । तर, हरेक दिन काठमाडौंको सम्झनाले आकुलव्याकुल छ ।

‘बिर्सिएको त्यो इमेल’ मा चिनी रोग, रक्तचाप र मृर्गौलाले थलिएकी कथाकारकै आमाको मृदु सम्झना छ । ‘अनि म विरही भएँ’ मा एक दलित युवकको जोगी हुलियाप्रतिको करुणा भाव छ । जोगी भएपछि कसैले जात सोध्दैनन्, छोएको पानीमा प्रश्न गर्दैनन् । ‘फ्लानर फेन्टासी’ मा बज्रबाराही देवीले बँदेलस्वरूप धारण अनि अंग्रेजीमा वार्ता स्वैरकल्पनाको उच्चतम प्रयोग हो ।

लाग्छ, संग्रहका १९ थान कथाले नछोएका कुनै विषय नै छैनन् । हरेक सामाजिक उहापोहमा कथाको चन्चुप्रवेश छ । अत्यल्प र झिनो कथानक समातेर हृदयस्पर्शी कथा लेख्ने शिल्प विक्रमसँग छ । कथामा घटनाको बिस्कुन सुकाउनैपर्छ भन्ने पनि छैन । मानवेत्तर पात्रका माध्यमबाट राजनीतिको कुरूप कमेडी कथिएको छ, ‘म मोरिक्वल’ मा । कटाक्षकलामा यसलाई जर्ज अर्बेलको ‘एनिमल फार्म’ कै अर्को संस्करण मान्दा हुन्छ । ‘सुनको पोको’ मा बाढीको कहर छ भने ‘चोभार ब्लुज’ मा पागलप्रेमीको बयान ।

‘पर्खाल’, ‘यात्राका अनुत्तरित प्रश्नहरू’, ‘नीलो कमिज खैरो प्यान्ट’ जस्ता कथा सामाजिक विभेदलाई विषयवस्तु बनाइएको छ भने ‘सम्झी बस्छु कता–कता’, ‘अनिच्छित सम्बन्ध’, ‘अनि म विरही भएँ’ दुःखान्त प्रेमकथा हुन् । ‘बोसन हाइट’ सन्तान पलायनपछि बाबुआमाको एक्लोपनमाथिको कथा हो । संग्रहका कति कथा बलिया छन्, कति फितला पनि छन् । कति कथा लेख्दालेख्दै झ्याउ लागेर टुंग्याएजस्ता पनि देखिन्छन् । यति हुँदाहुँदै पनि सरल भाषिक विन्यासका कारण यी कथाहरू पठनीय छन् ।

विक्रम सकेसम्म रियल, रियल नहुँदा सर्रियल कथा लेख्न पुग्छन् । फेन्टासीको तड्का अनि म्याजिक रियालिजमको बुट्टा भर्छन् । तर, उनको कथाकारिता क्रसरोडमा छ । किनभने यी नियमित कथाजस्ता छैनन् । निबन्ध, नियात्रा र कथाको कोलाज बनेर उभिएका छन् । चलनचल्तीको कुनै लेखक भए ‘चोभार ब्लुज’ लाई कम्तीमा कथा, नियात्रा र निबन्ध गरी तीन विधाको पुस्तक बनाउँथ्यो । तर, विक्रमले एकल विधाको सीमामा बस्न चाहेनन् वा सकेनन् । र, तथ्य, कथ्य र सन्देशको त्रिशंकुलाई ‘निकथा’ भन्न रुचाएका छन् । यी कथाको रचनागर्भमा यात्रा छ । यात्राको आख्यानीकरण कठिनसाध्य हुने नै भयो । विधामिश्रण वा विधाभञ्जन जुनसुकै प्रयोग गर्न लेखक स्वतन्त्र छ । कति प्रयोग सफल भएका छन्, कति असफल । विक्रमले भनेजस्तो निकथा शब्द यसअघि चल्तीमा नआएकै पनि होइन । जर्मनीको डच बेले पुरस्कार पाएका कथाकार दिनेश सत्याल (सौरभ) अनि शंकर लामिछानेका कथालाई पनि यदाकदा निकथा भन्ने गरिएकै हुन् ।

नवप्रवेशी कथाकारले आफ्नो पहिलो कृतिलाई निकथा भन्ने उत्साह देखाउनु सुखद नै हो । तर, नयाँ विधा नै नित्याउने लेखक ब्लुजकै पछि किन लागे ? किनभने नेपाली साहित्यमै ब्लुज नाम जडिएको पुस्तकको सूची लामै छ । रोशन शेरचनले पचासको दशकमै ‘भैरहवा ब्लुज’ नामक निबन्ध लेखेर ‘मस्तिष्कहरूको मृत्यु’ मा समावेश गरेका छन् । पाश्चात्य संगीतका पारखी रोशनले ब्लुजलाई आफ्नै किसिमले अर्थ्याउने नै भए । उनैले ‘चम्पारन ब्लुज’ निबन्धसंग्रह ल्याएपछि नेपाली साहित्यमा ब्लुजको बहार आएको आयै छ । बुद्धिसागरको ‘कर्नाली ब्लुज’, लव गाउँलेको ‘अस्ट्रेलिया ब्लुज’ त्यसका दसीप्रमाण हुन् ।

पहिलो वा दोस्रो प्रयोगमा ब्लुजको चमक थियो पक्कै । तर, अब चौथो वा पाँचौंमा जाँदा ब्लुज क्लिसे भइसक्यो । दास–किसानको दर्दभरि गाथामा आधारित लोकसंगीत ‘ब्लुज’ को विशिष्ट पक्ष नभएको होइन । तर, हाम्रा लेखकहरूले त्यसलाई दुःख, पीडा, विरह, वेदना, उदासी वा उछ्वासको अर्थमा प्रयोग गर्दै आएका छन् । विक्रम पनि त्यसमा अपवाद रहेनन् ।

‘चोभार ब्लुज’ नामले केही अत्याए पनि कलाकार दीपक गौतमकृत आवरण–चित्रले मजैले लोभ्याउँछ । खासगरी पातबिनाको रूख अनि नीलो आकाशमुनि पृष्ठभूमिको हरियो अनि प्राचीन मठमन्दिर र बस्तीको स्केचमा ज्यान छ । पुस्तकमा कथापिच्छे चित्रसमेत प्रयोग भएका छन् । कथा वा उपन्यासको आवरणसम्ममा चित्र ठीकै हो । बालसाहित्यमा बाहेक कुनै पनि साहित्यका पुस्तकमा चित्र राख्नु पाठकको कल्पनाशक्तिमाथि एकखाले अविश्वासजस्तो लाग्छ । अर्को कुरा, विक्रमजस्तो सक्षम कथाकारले शुभकामना, आभार, प्रकाशकीय, भूमिकाको कर्मकाण्डादिमा नफसेको भए जाती हुन्थ्यो । उनको पाकोपनका अगाडि यी कुरा फिक्का लाग्छन् ।

आजको दिनमा विक्रमभक्त जोशी सामाजिक सञ्जालमा नीलो टीको लगाएका कथाकार होइनन् । तर, उनले ‘चोभार ब्लुज’ मार्फत आफ्नो साहित्यकारिताको छाप भने मजाले छाडेका छन् । ५० वर्ष लागेपछि कथा लेख्न थालेका उनीसँग इन्जिनियर, बैंकर आदिको परिचय भने नभएको होइन । उनी अंग्रेजी साहित्यका पनि अध्येता हुन् । संग्रहको नामदेखि कथाको शीर्षकसम्म नेपाङ्लिस प्रयोग त्यसको दृष्टान्त हो । तथापि उनको कथा भेन्चरमा प्रशस्तै एड्भेन्चर छ ।

प्रकाशित : माघ २१, २०७९ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?