२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

'बैंकिङ प्रणाली अझै परिवर्तन भएन’

काठमाडौ — गरिबहरुलाई विनाधितो ऋण दिएर लघुकर्जाको अवधारणा सुरु गर्ने डा. मोहम्मद युनुस गरिबीविरुद्ध अभियानका एक अग्रणी व्यक्तित्व हुन् । लघु कर्जामार्फत ऋण दिएर गरिबहरुको जीवनस्तर उकास्ने उद्देश्यसाथ उनले सन् १९८३ मा ग्रामीण बैंक स्थापना गरे । सबैभन्दा गरिबहरुलाई विनाधितो ऋण दिए पनि ग्रामीण बैंकले दिगो रूपमा काम गरिरहेको छ, जसको कर्जा असुली दर ९८ प्रतिशत छ, जुन संसारकै बैंकिङ प्रणालीको भन्दा राम्रो हो ।

गरिबहरुलाई विनाधितो ऋण दिएर लघुकर्जाको अवधारणा सुरु गर्ने डा. मोहम्मद युनुस गरिबीविरुद्ध अभियानका एक अग्रणी व्यक्तित्व हुन् । लघु कर्जामार्फत ऋण दिएर गरिबहरुको जीवनस्तर उकास्ने उद्देश्यसाथ उनले सन् १९८३ मा ग्रामीण बैंक स्थापना गरे । सबैभन्दा गरिबहरुलाई विनाधितो ऋण दिए पनि ग्रामीण बैंकले दिगो रूपमा काम गरिरहेको छ, जसको कर्जा असुली दर ९८ प्रतिशत छ, जुन संसारकै बैंकिङ प्रणालीको भन्दा राम्रो हो । बंगलादेशका ८४ लाख परिवारका यो बैंकबाट लाभ लिइरहेका छन् । अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनको यो सफल मोडल संसारभर फैलिएको छ । गरिबी विरुद्धको अभियानका कारण युनुसले सन् २००६ मा नोबल शान्ति पुरस्कार पाएका थिए । तिनै युनुस विगत केही दिनयता काठमाडौमा व्यस्त रहे । नेपाल उद्योग परिसंघको दसौ वाषिर्क साधारणसभाका विशेष अतिथिका रूपमा आएका उनीसँग कान्तिपुरका लागि सञ्जय न्यौपाने र गोकर्ण अवस्थीले गरेको कुराकानीको सम्पादित अंश-
तपाईंको पारिवारिक पृष्ठभूमि बताइदिनुस् न ?
म न्यून मध्यमवर्गीय परिवारमा जन्मेको हुँ । बुबाको सानो व्यवसाय थियो । उहाँ धार्मिक स्कुलमा ८ कक्षासम्म मात्रै पढ्नुभएको थियो । आमा मुस्किलले ४ कक्षा पढ्नुभएको थियो । परिवारमा हामी ९ जना भाइबहिनी थियौ । तर बुबाको सबैलाई पढाउनुपर्छ भन्ने भावना भएकोले हामी सबै पढ्दै भने गयौं ।
तपाईंलाई ग्रामीण बैंक स्थापना गर्न केले प्रेरित गर्‍यो ?

म बंगलादेश सन् १९७१ मा स्वतन्त्र भएपछि अमेरिकाको विश्वविद्यालयमा पढाउने जागिर छोडेर स्वदेश फर्किएँ । त्यहाँ म पनि अर्थशास्त्र पढाउन थालेँ । तर जुन विश्वविद्यालयमा म पढाउँथेँ, त्यसको वरिपरि चरम गरिबी थियो । हामी अर्थशास्त्र पढाउँथ्यौं, तर त्यो सिद्धान्तले त्यही बाहिर काम गरेको थिएन । मैले त्यो देख्न सकिन र उनीहरूलाई पैसा दिन थालेँ । तर सधै सम्भव नभएपछि उनीहरूलाई लिएर बैंकमा गएँ । तर बैंकले गरिबलाई ऋण दिनै मानेनन् । त्यसको ८ महिनापछि मैले आफू जमानी बसेर बैंकमार्फत गरिबलाई ऋण दिलाउन सुरु गरेँ । त्यसपछि आफै बैंक खोल्नुपर्ने विचार आयो र सन् १९८३ मा ग्रामीण बैंक स्थापना भयो ।
साधारणतया विद्वान र अनुसन्धानकर्ता गरिबीबारे रिपोर्ट लेख्छन् धनीहरू, ग्रिबी देख्दैनन् । तर तपाई अमेरिकामा पढेर उनीहरूको गरिबी घटाउने काममै किन लाग्नुभयो ?

मलाई थाहा छैन, तर मैले उनीहरूको दुःख देख्न सकिन । म त्यसको समाधान खोज्नतिर लागेँ । म बंगलादेश आउँदा भर्खर देश स्वतन्त्र भएको थियो ।
धेरै रक्तपात भएको थियो । म अरूका लागि आफू उपयोगी बन्न चाहन्थें । त्यसैले त्यतातिर लागियो सायद ।
तपाईले काम सुरु गर्दा कुनै दिन नोबल पुरस्कार विजेता हुन्छु जस्तो लागेको थियो ?

पटक्कै थिएन । मैले पुरस्कार पाउनका लागि काम गरेको पनि होइन । संयोगले मात्रै यो काम सुरु भएको थियो । मेरो कुनै योजना थिएन । म एउटा शिक्षकमात्रै हुन चाहन्थें । त्यसमा म रमाइरहेको पनि थिएँ । त्यही पेसा गरेको भए म उपकुलपति भएर अवकाश लिइसकेको हुन्थें । तर मैले गरिबी देखेँ र बंगलादेश फर्किएँ । त्यो बेलामा ३२ वर्षको मात्रै थिएँ ।
यदि विश्वविद्यालयमा सबै ज्ञान छ भन्ने सोच्ने हो भने त्यो गरिबको उत्थानका लागि किन भइरहेको छैन भनेर मैले हेरेँ । यदि त्यो ज्ञान उपयोग हुँदैन भने डिग्रीको के काम ? त्यही प्रश्नको उत्तर खोज्न म बाहिर निस्किएँ । त्यसपछि एउटा शिक्षक वा अर्थशास्त्री नभएर एकजना मान्छेको हैसियतले गरिबहरूको उत्थानमा लाग्ने निर्णय गरें ।
लघुकर्जा सुरु गर्नुभन्दा पहिले अरू धेरै काम गरें, तर ग्रामीण बैंकले काम गर्‍यो र त्यो ठूलो हुँदै पनि गयो । त्यतिबेला यो नयाँ विधिले काम गर्छ कि गर्दैन भन्ने थियो । तर मैले प्रयास गरें । नोबल पुरस्कारकै कुरा गर्दा सन् २००६ भन्दा १५ वर्ष अघिदेखि नै मैले पाउने हल्ला चलेको थियो । त्यसपछि मैले पाएँ । तर पुरस्कार पाउँदाको क्षण अति नै अद्भुत थियो । बंगलादेशले यसलाई उत्सवका रूपमा मनायो । सुरु गरेको कामको महत्व फैलिएको थियो । तर मैले पुरस्कारका लागि भने काम सुरु गरेको थिइन ।
काम सुरु गरेको ३५ वर्षपछि के कुराले तपाईलाई बढी सन्तुष्टि दिन्छ ?

त्यो बेला लघुवित्त बंगलादेशका अन्य गाउँसम्म पुग्ला भन्ने सोचेको थिइन । तर पछि यो सबैतिर पुग्यो । मैले देशबाहिर जाला भनेर पनि सोचेको थिइन । तर अहिले संसारभरि नै पुगेको छ । अहिले मैले सुरु गरेको काम विस्तार भएको र सर्वसाधारणले यसबाट फाइदा लिएको देख्दा सन्तुष्ट हुन्छु । यो सकारात्मक पाटो हो ।
तर नकारात्मक रूपमा हेर्दा हामीले यति धेरै मात्रामा गरिबलाई वित्तीय सेवा पुर्‍याउने प्रयास गरे पनि परम्परागत बैंकहरू गरिबका लागि काम गर्न अझै तयार छैनन् । यो बंगलादेश, नेपाल र भारत सबैतिर पुगेको छ । तर बैंकले गरिबलाई ऋण दिएका छन् । मैले बैंकिङ प्रणालीलाई परिवर्तन गर्न सकिन । उनीहरूले गरिबलाई अझै सामान्य मान्छे देख्न थालेका छैनन् ।
ग्रामीण बैंकसँग धेरै पैसा छ भन्छन् र तपाईको पनि कमाइ राम्रै होला नि ?

त्यसो होइन । म बैंकबाट नाफा लिन्न । सामान्य सानो तलब पाउँछु । सुरुदेखि यसैगरी नै काम गर्दै आएको छु । तर पछिल्लो समय मेरो आम्दानी अन्य स्रोतबाट पनि राम्रै छ । मेरो पुस्तकको रोयल्टी आउँछ । धेरै ठाउँमा बोल्न बोलाउँछन्, त्यहाँबाट पारिश्रमिक पाइन्छ । त्यो पैसा म युनुस सेन्टरकै लागि खर्चने गरेको छु ।
पछिल्लो समयमा बंगलादेश सरकारसँग तपाईको समस्याजस्तो देखिन्छ । त्यहाँको सरकारले तपाईले नोबल पुरस्कार पाएपछि विशेषगरी ग्रामीण बैंकमा धेरै हिनामिना भएको लगायत विषय उठाएर तपाईलाई झन्डै थुन्न पनि खोजेको थियो । तपाई राजनीतिमा आउन खोजेर यस्तो भएको हो कि ?
होइन-होइन, म राजनीतिमा आउन चाहन्न । केही साथीहरूले कर गरेर जम्मा १० हप्ताका लागि राजनीतिमा आएँ । तर अब मेरो राजनीतिमा आउने कुनै चाहना छैन ।
तपाईको जीवनको सबैभन्दा कठिन समय कुन थियो ?
मेलै त्यस्तो कठिन समय बिताउनु परेन । कुनै पनि व्यापार र जीवनमा उतार-चढाव आउँछ । त्यहाँ प्रतिपक्ष हुन्छ । धार्मिक समूहबाट पनि हुन्छ । मैले महिलालाई ऋण दिएँ । व्याज लगाएँ । जुन इस्लामिक कानुनको विपक्षमा थियो । तर मेरो विचारमा ती सामान्य घटना थिए । कसैले पुँजीवाद विस्तार गर्न खोजेको आरोप पनि लगाए । कसैले कम्युनिजम लाद्न खोजेको पनि भने । मैले गरिबलाई ऋण दिन खोजेको मात्रै हुँ भनेँ । बाँकी तपाईहरू नै पत्ता लगाउनुस् भनेर छाडिदिएँ ।
तपाईको लघुकर्जाका कारण गरिबीबाट माथि उठेको पहिलो परिवार सम्भिmनुहुन्छ ?
मलाई ठ्याक्कै सम्झना छैन । तर बंगलादेशमा धेरै परिवार गरिबीबाट माथि उठेका छन् । उनीहरूको छोराछोरीले राम्रो शिक्षा पाएका छन् । स्वास्थ्य क्षेत्रमा विकास भएको छ । जनसंख्या वृद्धिदर ३ बाट १ दसमलब ४ प्रतिशतमा झरेको छ । यसमा लघुवित्तको मुख्य भूमिका छ । यो देख्दा मलाई गजबको सन्तुष्टि हुन्छ ।
तर पनि ग्रामीण बैंकले धेरै ब्याज लिने गरेको गुनासो छ । त्यहीबाट प्रभावित भएर सुरु भएको नेपालमा पनि यो समस्या छ, यसबारे के भन्नुहुन्छ ?

यो सही होइन । उदाहरणका लागि ग्रामीण बैंकले २० प्रतिशत ब्याज लिन्छ । सँगै अरू वाणिज्य बैंकले १७ प्रतिशत लिन्छन् । उनीहरूले हरेक त्रैमासिकमा ब्याज गणना गर्दा २० भन्दा बढी पुग्छ भने हाम्रो घट्दै जान्छ । यसरी हेर्दा हामी वाणिज्य बैंकभन्दा कम हुनजान्छ ।
यदि तपाई सोच्नुहुन्छ, त्यो बढी छैन । यदि बढी हो भन्ने लाग्छ भने अरू कसैले योभन्दा कममा दिनसक्छ भने काम सुरु गर्दा हुन्छ । यो पहिलो कुरा । यसबाहेक हामी शिक्षा कर्जा ५ प्रतिशतमा दिन्छौं । यस्तै मागेर गुजारा चलाउनेहरूलाई उद्यम गर्न शून्य प्रतिशत ब्याजमा ऋण पनि दिइरहेका छौं ।
यदि कसैले हाम्रो बैंकमा रकम राख्छ भने १० देखि १२ प्रतिशत ब्याज दिन्छौं । यदि १० प्रतिशत हाम्रो पुँजीको लागत (कष्ट अफ फन्ड) हो भने हाम्रो मार्जिन १० प्रतिशतमात्रै हो, जुन बढी छैन । यतिमात्रै होइन, यदि बैंकले नाफा गर्छ भने त्यो ऋण लिनेलाई पनि जान्छ, किनभने सबै ऋणीहरू बैंकका सेयरधनी पनि हुन् ।
२० प्रतिशत व्याजदर बंगलादेशमा सञ्चालित यस्ता बैंकहरूमध्ये सबैभन्दा कम हो । सरकारले लघुवित्त सेवाप्रदायकका लागि अधिकतम कर्जा सीमा पनि तोकेको छ । जुन २७ प्रतिशत छ । हाम्रो ब्याजदर त्यसभन्दा पनि कम छ ।
तपाईले नाफा नकमाउनेगरी समाजका लागि सामाजिक व्यवसाय सुरु गर्नुभयो । त्यसैलाई नेपालमा ल्याउँदा भने धेरैजसोले नाफा कमाउने माध्यमका रूपमा प्रयोग गरेका छन् । यसलाई तपाईले कसरी हेर्नुभएको छ ?
यो हुनुहुँदैन । पहिलो कुरा लघुवित्त सामाजिक व्यवसाय हो । यो नाफा कमाउनका लागि गरिएको होइन । जसले व्यक्तिगत रूपमा नाफा कमाउन लागेका छन्, हामी त्यसलाई समर्थन गर्दैनौ, बरु विरोध गर्छौ । नेपालको मामिलामा पनि त्यही हो ।
भारतमा एउटा राज्यमा यस्तै समस्या देखिएको थियो । त्यहाँ व्यक्तिगत रकम आर्जन गर्न थाले । हामीले त्यसको सार्वजनिक रूपमै त्यसको विरोध गर्‍यौ । किनभने त्यो लघुवित्तको मर्मविरुद्ध थियो ।
नेपालमा लघुवित्त सेवालाई पहाडमा विस्तार गर्न समस्या भइरहेको छ । यसमा तपाईले केही सहयोग गर्न सक्नुहुन्छ कि ?

पहाडमा विस्तार गर्न कठिन भएको बारे छलफल भएको छ । हामी सकेसम्म सहयोग गर्न तयार छौ । खासमा भन्नुपर्दा सन् १९९१ मा ग्रामीण ट्रष्ट फन्डबाट ५० हजार डलर सहयोग गरेर नेपालमा लघुवित्त सेवा सुरु भएको थियो । त्यतिखेर राष्ट्र बैंकका डेपुटी गभर्नर हरिहरदेव पन्तको पहलमा नेपालमा सेवा सुरु भएको थियो । त्यसपछि अरू संस्थालाई पनि हामीले सहयोग गर्‍यौ । अहिले प्रविधिको विस्तार भएको छ । पहाडमा विस्तार गर्न यसको उपयोग गर्नुपर्छ । यो केही खर्चिलो पनि हुनसक्छ । त्यसमा त्यसैगरी समाधान खोज्नुपर्छ ।
तपाईले चौधरी समूहसँग मिलेर सामाजिक व्यवसाय कोष स्थापना गर्नुभएको छ । त्यसले कसरी काम गर्छ ?

यो नयाँ खाले व्यवसायको मोडल हो । जहाँ नाफाका लागि काम गरिँदैन । यसमा सबैले सहभागिता जनाउन सक्छन्, जोसंँग सामाजिक विकासका लागि नयाँ योजना छन् । शिक्षा, स्वास्थ्यजस्ता समस्या समाधानका लागि यस कोषमार्फत समाधान खोज्न सकिन्छ । रोजगारी सिर्जनाका काम हुनसक्छ । नयाँ योजना आए कोषले वित्तीय सहयोग गर्न सक्छ । यसबाट सर्वसाधारणको समस्या समाधान भएमा त्यसलाई विस्तार गर्न सकिन्छ ।
अन्त्यमा तपाईका नोबल पुरस्कारभन्दा अरू कुनै खुसीको क्षण हामीलाई भन्न चाहनुहुन्छ ?

हामीले वित्तीय सहयोग गरेर व्यवसाय सुरु गरेकी महिलाको छोराछोरी अहिले कोही डाक्टर, इन्जिनियर भएका वा अन्य कुनै प्रगति गरेको देख्दा अत्यन्त खुसी लाग्छ ।



प्रकाशित : पुस ९, २०६९ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?