कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

'पैसा खन्याउँदैमा फिल्म राम्रो बन्दैन'

अखण्ड भण्डारी

काठमाडौ — जुहानी अलानेन फिनल्यान्डको टेम्पेरे फिल्म फेस्टिभलका कार्यकारी निर्देशक हुन् । टेम्पेरे छोटा फिल्मका लागि विश्वमै कहलिएको महोत्सव हो । उनी त्यसका लागि फिल्म छनोट टोलीमा समेत छन् । काठमान्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल(किम्प) का निर्णयक भएर आएका जुहानीसँग अखण्ड भण्डारीले गरेको कुराकानी :

'पैसा खन्याउँदैमा फिल्म राम्रो बन्दैन'


टेम्पेरे फिल्म फेस्टिभल के हो ?
यो छोटा फिल्महरूको महोत्सव हो । फिल्मप्रेमीले क्लब बनाएर सन् १९६९ मा सुरु गरेका थिए । यो संसारकै ठूला फिल्म फेस्टिभलमध्ये पर्छ । हरेक वर्ष मार्चमा हुने यो फेस्टिभलमा ५ दिनमा ५ सयभन्दा बढी फिल्म देखाइन्छन् । १५ हजार टिकट बेचिन्छन् र २० हजारभन्दा बढीले हेर्छन् । पाँचवटा हलमा गरिने फेस्टिभलमा ठूलो प्रतिस्पर्धा हुन्छ । यो फिल्म व्यवसायीहरूको मिलन केन्द्र समेत हो । यसमा सेमिनार र छलफल पनि हुन्छ । यो अनुभव आदान-प्रदानको अखडा समेत हो ।
विश्वभरका धेरै फिल्म यो महोत्सवमा आउन चाहँदा हुन्, के आधारमा छान्नुहुन्छ ?
बडो जटिल प्रश्न गर्नुभयो । यसका लागि सुरुमा हामी फिल्म मार्केटिङ गर्छौं । अति धेरै फिल्म हेर्छौं । यसका लागि तीनजनाको टोली छ । फिल्म छान्ने बेला धेरै छलफल र बहस गर्छौं । आम मानिसलाई के रुचि हुन्छ भन्नेतिर बढी जोड दिन्छौं । हामीले छान्ने हरेक फिल्मले जानकारी, आइडिया वा शैलीमा केही न केही सन्देश दिनैपर्छ । हामी प्राविधिक पक्षलाई बरु त्यति वास्ता गर्दैनौं किनकि राम्रो प्रविधि पैसामा भर पर्छ । सबैसँग प्रशस्त पैसा हुन्छ भन्ने छैन । लाखौं डलर खर्च गरिएकोभन्दा राम्रो अर्थ भएको फिल्मले महत्त्व पाउँछ ।
खासमा कस्ता फिल्म छोटा हुन् ?
कतिपयले भन्छन् छोटा फिल्म २ घन्टाभित्रको हुनुपर्छ । मचाहिँ ३० मिनेटसम्मकालाई छोटा भन्छु । एक मिनेटसम्मका पनि फिल्म बन्छन् । जति छोटा, उति बनाउन गाह्रो हुन्छ । फिचर फिल्ममा व्यक्त गर्न खोजिएका कुरा सजिलै उठाउन सकिन्छ तर १० मिनेटमा सकाउनु छ भने सबै चिज महत्त्वपूर्ण लाग्छन् । त्यसैले यी गजबका हुन्छन् । त्यसैले म लामा फिल्म खास हेर्दिनँ । मलाई छोटा फिल्म र डकुमेन्ट्री मन पर्छन् ।
छोटो फिल्मले लामो (ठूलो) कथा व्यक्त गर्न सक्छ त ?
अवश्य सक्छ । किन नसक्नु ?
कसरी ?
मलाई लाग्छ- यस्तो प्रश्न निर्मातालाई सोध्नु बढी ठीक हुन्छ । म त छनोटकर्ता हुँ । तर पनि मेरो विचारमा छोटो समयमा सक्ने हो भने के महत्त्वपूर्ण छ भन्ने खुट्टयाउन सक्नुपर्छ । त्यो क्षमता जो पायो त्यहीसँग हुँदैन ।
तीन वर्षदेखि नेपाली छोटा फिल्म हेरिरहनुभएको छ, कस्ता लाग्छन् ?
अधिकांश प्राविधिक रूपमा पूर्ण छैनन् । प्रश्न साधनस्रोतको हो । मलाई यो देशबारे पर्याप्त थाहा त छैन तैपनि यी डकुमेन्ट्रीबाट धेरै कुरा सिकिरहेको छु । उदाहरणका लागि, 'जर्नी टु यार्सा' लाई हेरौं । हामीले गत वर्ष फेस्टिभलमा सहभागी गराएको दीपेन्द्र भण्डारीको यो फिल्मको बुनोट सुन्दर छ । मैले यसबाट धेरै कुरा सिक्न पनि पाएँ । त्यसैले मलाई लाग्छ, नेपाली फिल्ममा सुधार भइरहेको छ । यसका लागि किम्फले गुणस्तर बढाउन, अनुभव साट्न र यस क्षेत्रमा प्रेरणा दिन सघाउ पुर्‍याएको छ ।
नेपाली फिल्मको विकास र उन्नतिका लागि कुनै सुझाव ?
नेपालमा छोटा फिल्ममा लगानीको स्रोत त्यति देखेको छैन । बजार पनि राम्रो छैन । टीभी च्यानलहरूले यस्ता फिल्म किनिदिए राम्रो हुन्थ्यो । नेपाली टीभीहरूले छोटा फिल्ममा लगानी गरिदिन वा किनिदिन थाल्ने हो भने विकास भइहाल्छ । निर्माता पनि बढिहाल्छन् । त्यस्तै विश्वका धेरै फेस्टिभलमा नेपाली फिल्मले भाग लिनुपर्छ । त्यहाँ नयाँ आइडिया थाहा हुन्छ । धेरैसँग भेट हुन्छ ।
फिनल्यान्डमा चाहिँ छोटा फिल्मको अवस्था कस्तो छ नि ?
फिनल्यान्डमा हरेक वर्ष करिब ३ सय ५० छोटा फिल्म बन्छन् । ती व्यावसायिक निर्माताहरूले बनाएका हुन्छन् । तैपनि यसमा उतारचढाव त आइरहन्छ । केही वर्षअघि फिनिस एनिमेसन विश्वमा एक नम्बर थियो । युवापुस्ताले नयाँ कुरा खोज्न थाल्यो । अनि, यो बिस्तारै ओरालो लाग्यो र अर्कै ढंगका बन्न थाले । जे होस् त्यहाँका फिल्म प्राविधिक रूपमा मजबुत छन् ।
तिनले व्यापार कसरी गर्छन् ?
फिनिस ब्रोडकास्टिङ कम्पनीलाई बेच्न पाइन्छ । उक्त कम्पनीमा छोटा फिल्म र डकुमेन्ट्रीको विशेष शाखै छ । टीभीहरूको प्राइम टाइम नै नपाए पनि किनिदिन्छन् । जर्मनी, फ्रान्सजस्ता देशका टीभी च्यानलले पनि लैजान्छन् । गाह्रो छैन ।

 
 
 
 
 
 
 
 

प्रकाशित : मंसिर २६, २०६९ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?