२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

चर्को प्रतिस्पर्धा र फैलँदो बजार

आईटी २०१४
विजय तिमल्सिना

सूचना र प्रविधिको क्षेत्रमा २०१४ मा धेरै उतारचढाव भए । तीमध्ये केहीले भने संसारभरका सर्वसाधारणको ध्यान आकृष्ट गर्‍यो । तीमध्ये केहीलाई यहाँ प्रस्तुत गरिएको छ ।

चर्को प्रतिस्पर्धा र फैलँदो बजार


ह्वाट्सएपको बिक्री

फेसबुकले यो वर्षको सुरुवाती महिनामै १९ विलियन डलरमा ह्वाट्सएप किनेपछि यसले विश्वव्यापी चर्चा पायो । स्टार्टअप कम्पनीका रूपमा सञ्चालित म्यासेजिङ एपको यो विधि महँगो मूल्यले संसारभर तरंगीत भयो । सुरुमा स्न्याप च्याट खरिद गर्न चाहेको फेसबुकले आफ्नो प्रस्ताव अस्वीकृत भएपछि ह्वाट्सएप किनेको हो । फेसबुकले कम्पनी किनेपछि कम्पनीका सञ्चालक कर्मचारी वि्रयन एक्टन र जेन कम एकाएक धनी बने । फेसबुकले च्याट म्यासेन्जरमा आफूले गुमाउँदै गएको नयाँ पिँढीलाई आकषिर्त गर्न यो कदम चालेको थियो । ह्वाट्सएप अहिलेको सबैभन्दा चर्चित मोबाइल म्यासेजिङ एप हो ।

आइफोन ६ र ग्यालेक्सी नोट ४
एप्पलको आइफोन ६ र प्लस तथा सामसुङको ग्यालेक्सी नोट ४ वर्षका चर्चित ग्याजेट बने । लामो प्रतीक्षापछि आएको आइफोन ६ र त्यसैलाई टक्कर दिन बजार पठाइएको ग्यालेक्सी नोट ४ को प्रतिस्पर्धा ग्याजेटप्रेमीबाहेक सर्वसाधारणसम्मको पनि चाखको विषय बन्यो । विश्वभरका मोबाइलप्रेमीलाई एप्पल र सामसुङको प्रतिस्पर्धा थाहा छँदैछ ।
एप्पलले यो वर्ष आइफोन ६ र आइफोन ६ प्लस सार्वजनिक गर्‍यो । आइफोन प्लसलाई एप्पलले फ्याब्लेट साइजमा निकालेको छ । तर, एप्पलले आइफोन ६ सार्वजनिक गर्नु दुई हप्ताअघि मात्रै सामसुङले ग्यालेक्सी नोट ४ चार बजारमा पठाएको थियो । त्यसको केही अघि मात्रै सामसुङले एस ५ लाई बजार ल्याएको थियो ।

नोकिया र माइक्रोसफ्ट

मोबाइल क्रान्तिमा ठूलो योगदान दिएको र करोडौं प्रयोगकर्ताको मत जितेको नोकिया कम्पनीको यो वर्ष नामोनिसान मेटियो । माइक्रोसफ्टले सवा सात विलियन डलर तिरेर नोकियाको मोबाइल डिभिजन किनेको थियो । लगत्तै माइक्रोसफ्टले नोकिया एक्स सिरिजमा एन्ड्रोइड फोन उत्पादन थाले पनि अहिले भने नोकिया ब्रान्डको नाम राख्न छाडेको छ । योसँगै फोन दुनियाँमा नोकियाको बिदाइ भयो । नोभेम्बर ११ मा आफ्नो ब्रान्डको मोबाइल माइक्रोसफ्टको लुमिया सार्वजनिक गर्ने क्रममा माइक्रोसफ्टले नोकियालाई बाईबाई गरेको हो । लुमियाको बिक्रीले माइक्रोसफ्टलाई मोबाइल बजारमा तेस्रो स्थानमा पुर्‍याएको छ । एन्ड्रोइड र आईओएस फोनपछि विन्डोज फोनको बजार तेस्रो स्थानमा छ ।

फ्ल्यापी बर्ड बन्द
मोबाइलमा चर्चित गेम फ्ल्यापी बर्ड बन्दको घोषणाले धेरै गेमप्रेमीहरू अचम्मित भए । यसका डेभलपर दोङ गुयनले टि्वटरमार्फत एक्कासि गेम बन्दको घोषणा गरेर गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट हटाएका थिए । विज्ञापनबाट मात्रै दैनिक ५० हजार कमाइरहेको गेम बन्द हुनुको पछाडि डेभलपर गुयनले भनेका छन्, 'केही मिनेट फुर्सद हुँदा खेल्ने खालको गेम बनाएको थिएँ तर प्रयोगकर्तालाई लत लागेकाले गम्भीर अवस्था सिर्जना भयो ।' उनले सुरुमै कुनै कानुनी कारण यो बन्द नभएको प्रस्टीकरण दिएका छन् ।

नेपाली भाषामा जिमेल
सन् २०१३ को डिसेम्बरमा गुगल ट्रान्सलेटमा नेपाली भाषा समावेश गरिएको थियो । यो वर्षको जुलाईमा जिमेलमा नेपाली भाषाको सुविधा थपिएको छ । विश्वका ७१ भाषामा उपलब्ध जिमेल नेपाली भाषामा चलाउन पाउनु नेपाली प्रयोगकर्ताका लागि खुसीको खबर बन्यो । यो वर्ष गुगलले सार्वजनिक गरेको एन्ड्रोइड ५.० भर्सनले पनि नेपाली भाषा सपोर्ट गर्ने सुविधा राखेको छ ।

प्रकाशित : पुस ११, २०७१ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?