२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

फेरि जाग्यो जर्मनी

खेल २०१४
विनोद पाण्डे

विश्वकप फुटबल भएको वर्ष खेल जगत्मा सबभन्दा बढी चर्चा फुटबलकै हुने गर्छ । वर्ष २०१४ पनि पृथक् रहेन ।

फेरि जाग्यो जर्मनी
अनेक विवादबीच फुटबल चर्चाको शिखरमै रह्यो । विश्व ट्वान्टी-ट्वान्टीमा पहिलो सहभागितासँगै नेपालले पनि क्रिकेट दुनियाँको ध्यान तान्यो ।

विश्वकप फुटबल
युरोपियन टोलीले दक्षिण अमेरिकामा सफलता हात पार्न नसकेको यथार्थबीच ब्राजिलमा विश्वकप फुटबल २०१४ सुरु भएको थियो । घरेलु टिम ब्राजिल लयमा थिएन । अर्को दक्षिण अमेरिकी दाबेदार अर्जेन्टिनाबारे अनुमान गर्न गाह्रो थियो । यही अन्योलमा दक्षिण अमेरिकाले महादेशीय प्रतिष्ठा गुमायो । जर्मनी दक्षिण अमेरिकामा गएर विश्वकप जित्ने पहिलो युरोपेली बन्यो । उसले फाइनलमा अर्जेन्टिनालाई १-० ले हरायो ।
अतिरिक्त समयमा मारियो गोत्जले गरेको गोलले जर्मनीलाई चौथोपल्ट विश्वकप च्याम्पियन बनाएको थियो । युवा खेलाडीले भरिएको जर्मनीको यो जितलाई फुटबलमा उसको नयाँ युगको सुरुआतका रूपमा लिइएको छ । आयोजक ब्राजिलको विश्वकप यात्रा नेयमरको चोटसँगै पीडादायी बन्यो । सेमिफाइनलमा जर्मनीसँग ब्राजिल ७-१ ले हार्‍यो । हारमा उसको त्यो इतिहासकै खराब हो । तर, उसको आयोजना भने सफल भयो ।

विश्व ट्वान्टी-ट्वान्टी

एसोसिएटहरूको धमाकासहित बंगलादेशमा आईसीसी विश्व ट्वान्टी-ट्वान्टी क्रिकेट सुरु भएको थियो । नवप्रवेशी हङकङले आईसीसीको पूर्ण सदस्य बंगलादेशलाई समूह चरणमा पराजित गर्‍यो । पहिलो पटक विश्वस्तरको क्रिकेटमा उत्रिएको नेपालले आफूभन्दा बलियो अफगानिस्तानलाई हरायो । अर्को एसोसिएट नेदरल्यान्ड्सले त आयरल्यान्डले दिएको १ सय ९० रनको चुनौती १३.२ ओभरमा पार गरेको थियो । जिम्बावेलाई पन्छाउँदै दोस्रो चरणमा पुगेको डच टिम इङ्ल्यान्डलाई पनि हराएर 'जायन्ट किलर' नै बन्यो । दक्षिण एसियाली देशहरू श्रीलंका र भारत फाइनलमा पुगे । कुमार सांगाकारा र माहेला जयबर्द्धनेको राम्रो खेलसँगै श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराएर ढाकामा उपाधि कब्जा गर्‍यो । उसले १८ वर्षपछि ठूलो उपाधि जितेको हो ।

ला डेसिमा
छिमेकी प्रतिद्वन्द्वी एट्लेटिको म्याडि्रडलाई लिस्बनको फाइनल 'हर्ट ब्रेकिङ' जस्तै थियो । रियल म्याडि्रड हार नजिक पुगेको अवस्थामा सर्जियो रामोसले बराबरी गोल गरेका थिए । रियलले थपिएको ३० मिनेटमा ३ गोल गर्दै सन् २००१ पछि पहिलो पटक युरोपेली च्याम्पियन्स लिग जित्यो ।
जितपछि रियलका फ्यानहरूले 'ला डेसिमा' भन्दै खुसी मनाए । स्पेनी भाषामा यसको अर्थ '१० पटक' हुन्छ । बुझाइ दुई अर्थमा थियो, रियल महादेशीय च्याम्पियन भएको दसौंपल्ट र १० प्रशिक्ष्ाक बर्खास्तपछिको सफलता । छिमेकी एट्लेटिकोले जितेको स्पेनी ला लिगामा रियल तेस्रो भयो । तर, रियलले किङ्स कप, युरापेली सुपरकप र क्लब विश्वकप वर्ष २०१४ मै जित्यो । इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले आक्रामक फुटबल अँगाल्दै रियललाई पुरानै पहिचानमा फर्काएको छ ।

इन्डियन सुपरलिग

अन्तर्राष्ट्रिय फुटबलमा भारत सुतेको बाघ हो भने के अहिले यो बाघ उठ्ने प्रयासमा छ त ? सायद । यसपल्ट भारतमा चलेको आठ फ्राइन्चाइजको इन्डियन सुपर लिग (आईएसएल) खुबै सफल रह्यो । धेरैले माने, यसलाई अन्तर्राष्ट्रिय फुटबलको 'नेक्स्ट बिग थिङ' भनेर । कुनै पनि प्रतियोगिताको सफलता त्यसलाई प्रत्यक्ष हेर्ने दर्शकलाई मान्ने हो भने आईएसएल अन्तर्राष्ट्रिय फुटबलमा चौथो ठूलो भएको छ । उसको अगाडि इङ्लिस पि्रमियर लिग, स्पेनको ला लिगा र जर्मन बुंडेस लिगामात्र छन् । यसपल्ट विजेता रह्यो, एट्लेटिको डे कोलकोता । यसमा लगानीकर्ता स्पेनी च्याम्पियन एट्लेटिको म्याडि्रड पनि हो । फाइनल त एक प्रकारले सौरभ गांगुली भर्सेस सचिन तेन्दुलर नै भयो । इकोनोमिक्स टाइम्सले लेखेको छ, 'यसपल्टको फाइनलमा कोलकाताले केरला ब्लास्टरलाई हरायो । खासमा सुन्दर खेल फुटबल यसको असली च्याम्पियन बन्यो ।'

प्रकाशित : पुस ११, २०७१ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?