२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

छलाङ मार्नेहरू

संसारमा प्रत्येक सेकेन्ड मानव मृत्यु र जन्मको क्रम चलिरहन्छ । यही क्रममा विश्वको जनसंख्या ७ अर्ब १२ करोड नाघेको अनुमान छ ।

छलाङ मार्नेहरू
त्यसमध्ये वर्ष २०१४ मा को-को चर्चामा रहे त ? विशेष गरी युवाको रुचि भएका क्षेत्रमा यो वर्ष खुबै चर्चा पाएका व्यक्तिहरू :

मलाला युसुफजाई
बीबीसी उर्दूमा ११ वर्षको छँदै ब्लग लेख्न थालेकी पाकिस्तानी मलाला युसुफजाईले यो वर्ष सबैभन्दा धेरै चर्चा पाइन् । अहिले १७ वर्ष भएकी उनले बालिका शिक्षामा पुर्‍याएको योगदानका लागि सन् २०१४ को विश्व प्रसिद्ध नोबेल शान्ति पुरस्कार पाइन् । पुरस्कार ग्रहण समारोहमा उनले ठट्टा गर्दै भनेकी थिइन्, 'आफ्ना भाइहरूसँग अझै झगडा गर्ने पहिलो नोबेल पुरस्कार विजेता पनि म नै हुँला ।'
तालिवानीहरूको पकड भएको स्वात क्षेत्रमा किशोरीहरूलाई शिक्षामा अवरोध गरिएको विरोधमा मलालाले 'गुल मकाई' को छद्म नाममा बीबीसी उर्दूमा ब्लग लेख्न सुरु गरेकी थिइन् । सानै उमेरमा उनको छवि तालिवान विरोधीको बन्यो । सन् २०१२ मा स्कुलबाट घर फर्किंदै गर्दा तालिवानीहरूले उनलाई गोली प्रहार गरे । यस घटनापछि मलालाको चर्चा पाकिस्तानको सीमा नाघेर विश्वभर पुग्यो ।
बेलायतमा उपचार गरिएपछि उनी त्यहीँ पढ्न थालिन् । हरेक बालबालिकाले पढ्न पाउनुपर्छ भन्ने अभियान सुरु गरिन् । 'म आफ्ना लागि होइन, आवाज नहुनेहरूका लागि बोल्छु,' उनले आफ्नो एक भाषणमा भनेकी छन्, 'म शिक्षाको मात्र माग गर्छु र त्यसका लागि कसैसँग डराउदिनँ ।'
मलालाले यस वर्ष बालबालिकाका क्षेत्रमा नोबेल पुरस्कारजत्तिकै सम्मानित मानिने स्वीडेनको 'वल्र्ड्स चिल्ड्रेन्स प्राइज' पनि पाइन् । मलालाले नोबेल शान्ति पुरस्कार ग्रहण गर्नुअघि बीबीसीसँगको कुराकानीमा आफू राजनीतिमा लाग्न सक्ने र पाकिस्तानको प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेकी थिइन् । हत्या गरिएकी पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोलाई आदर्श मान्ने उनलाई पाकिस्तानमा नरुचाउनेहरू पनि टन्नै छन् ।
मलालाई विदेशीहरूले उचालेर ठूलो बनाएको केही कट्टरपन्थी मुसलमानहरूको आरोप छ । उनीहरूले मलालाले इस्लाम धर्मविरोधी काम गरेको र पश्चिमाको एजेन्ट भएको आरोप लगाएका छन् । तर गत वर्ष नै नोबेल पुरस्कारको मनोनयनमा परेकी उनलाई रुचाउने संख्या पाकिस्तानभन्दा बाहिर धेरै छ । उनको १६ औं जन्म दिनलाई संयुक्त राष्ट्रसंघले 'मलाला दिवस' का रूपमा मनाउने निर्णय गरेको थियो । उनको आत्मकथा 'आई एम मलाला' पनि यसै वर्ष प्रकाशित भएको छ ।

फेसन : प्रबल गुरुङ
विश्व फेसनको दुनियाँमा प्रबल गुरुङले न्युयोर्क फेसन विक (सन् २००९) मार्फत डेब्यु गरेका थिए । विश्वकै अब्बल दर्जाका डिजाइनरका रूपमा आफू त स्थापित भएका थिए नै, उनले वर्ष २०१४ मा आफ्नो डिजाइनमार्फत मातृभूमिलाई पनि चिनाउने प्रयास गरे । मुस्ताङ ट्रेकमा लामाको पहिरनबाट प्रभावित भएका प्रबलले त्यसलाई रेड-हट कलरमा 'गडेस गाउन' मार्फत न्युयोर्क फेसन विकमा प्रस्तुत गरेका थिए । उनको त्यो डिजाइनले खुबै चर्चा पायो । उनले हाई हिल सुज र चाँदीको पाउजुलाई हिमाली देशबाट इटालीमा परिस्कृत गर्दै न्युयोर्कको रनवेमा उतारे । पाउजुले धेरैको ध्यान खिचेको थियो । त्यसैले नेपाललाई जोड्दै उनको सबभन्दा धेरै चर्चा वर्ष २०१४ मै भयो ।
न्युयोर्क फेसन विकको स्पि्रङ/समर कलेक्सनमा पनि यी ३५ वर्षे डिजाइनरले नेपाली राष्ट्रिय फूल लालीगुराँसलाई पनि तीन भिन्न शैलीमा आफ्नो डिजाइनमा समावेश गरेका थिए । सिंगापुरमा जन्मेर काठमाडौंमा हुर्के-बढेका उनले मुम्बईमा करियर सुरु गरेका थिए । त्यसपछि न्युयोर्क पुगेका उनी फेसनको ठूलै ब्रान्ड भइसकेका छन् ।

आईटी : जेन कम
ह्वाट्सएपका सहसंस्थापक जेन कमले अघिल्लो वर्षको न्यु इयर इभ एक सामान्य व्यवसायीका रूपमा मनाएका थिए । तर, यो वर्ष उनले विश्वकै एक धनाढ्यका रूपमा इभ मनाउने छन् । उनले ब्रायन एक्टनसँग मिलेर सामान्य व्यवसायीका रूपमा ५ वर्षअघि ह्वाट्सएप सुरु गरेका थिए । सुरु गरिएको मोबाइल म्यासेजिङ एप्सले विज्ञापन नहाल्ने भएकाले उनको आम्दानी धेरै थिएन ।
जब फेब्रुअरी २०१४ मा फेसबुकले १९ अर्ब डलरमा उनको कम्पनी किन्यो तब उनले विश्वकै धनाढ्यको सूचीमा ठूलै छलाङ मारे । उनी ६ अर्ब ८ करोड डलर सम्पत्तिसहित फोब्र्सको धनाढ्य सूचीमा २ सय २ औं स्थानमा छन् । फेसबुकले ह्वाट्सएप किनेपछि यो स्वतन्त्र एपका रूपमा सञ्चालित छ र त्यसको जिम्मेवारी जेनले नै पाएका छन् । ह्वाट्सएपको कन्सेप्ट जेनकै हुन् । त्यसमा मुख्य हिस्सा पनि उनकै थियो । फोब्र्सले अक्टोबरमा प्रकाशित गरेको कम उमेरमै धनी बनेका ४० वर्षमुनिका ३१ अर्बपतिमध्येका एक हुन् उनी । यसमा उनी भाग्यमानी मानिन्छन् ।

फिल्म : आलिया भट्ट
गत वर्ष बलिउडमा थुप्रै कलाकारले प्रभावशाली अभिनय गरे । हिट भए, चर्चा कमाए । पुराना हिरो/हिरोइनहरू आफ्नो ठाउँमा टिकिरहे । नयाँ पुस्ताबाट उनीहरूलाई टक्कर दिन सक्ने निकै थोरै कलाकारमात्र देखिए, तिनमा एक हुन्- आलिया भट्ट ।
करण जोहरको फिल्म 'स्टुडेन्ट अफ दि इयर' बाट डेब्यु गरेकी आलियाको पहिलो फिल्म नै हिट भयो । गत वर्ष जब उनको दोस्रो फिल्म 'हाइवे' आयो, यसले उनको क्षमता प्रदर्शित गर्‍यो । बाल यौन दुराचारको सिकार भएकी एउटी धनी बाबुकी छोरीको भूमिकामा आलिया यसरी जमिन्, उनको अभिनयको सबैतिर प्रशंसा भयो । यसपछिको फिल्म '२ स्टेट्स' ले पनि सफलता पाएपछि आलिया वर्षकी नम्बर १ हिरोइन बन्ने रेसमा लागिन् । २०१४ मै आएको तेस्रो फिल्म 'हम्टी शर्मा कि दुल्हानिया' पनि सफल भएपछि २१ वषर्ीया आलियाले आफ्ना प्रतिस्पर्धीहरूलाई पछाडि छोडिन् ।
उनले 'हम्टी शर्मा कि दुल्हानिया' मा गाएको गीत पनि चर्चित बन्यो । उनले अभिनय गरेको ५ मिनेट लामो फिल्म 'गोइङ होम' ले पनि चर्चा पायो । गतिलो अभिनयका साथ काजोलको जस्तो 'चार्म' उनले बलिउडमा ल्याएको भन्दै उनको तारिफ गरियो ।

म्युजिक : टेलर स्विफ्ट
अमेरिकाको टेनेसीका गायिका टेलर स्विफ्ट भर्खर २५ वर्षकी भइन् । लगभग १४ वर्षको उमेरमै उनी म्युजिक करियरमा होमिएकी थिइन् । यसबीच उनले आफ्नो जीवनमा कति नै 'अप एन्ड डाउन' बेहोरिन् होला र ? तर यसबीच स्विफ्टले जति पनि अनुभव बटुलिन् र त्यसलाई शब्दमा उतारेकी छन् । र, गाएकी पनि छन् । यस क्रममा उनले धेरै प्रशंसक बटुलेकी छन्, अवार्ड पनि उत्तिकै जितेकी छन् ।
सन् २०१४ मा उनको पाँचौं एल्बम '१९८९' निस्कियो र यसलाई उनी आफ्नो पहिलो व्यक्तिगत प्रस्तुति मान्छिन् । कारण ? उनी यस एल्बमका लागि आफ्नो ब्यान्डसँग अलग भइन् । उनले यो नयाँ एल्बमले अन्तर्राष्ट्रिय संगीतमा तहल्का नै मच्चायो । उनको त्यो एल्बमलाई लिएर न्युयोर्क टाइम्सको टिप्पणी थियो, 'यसले स्विफ्टलाई उच्च दर्जाको गायिका र गीतकार सावित गरेको छ ।' एकै सातामा दस लाख बिकेको '१९८९' को गीत 'सेक इट अफ' लामो समय चार्टहरूमा नम्बर १ रह्यो ।

खेल : नेयमर
सन् २०१४ ब्राजिली स्टार नेयमरका लागि सुखद रह्यो किनकि उनले फुटबलका महान् खेलाडी पेलेसँग दाँजिने अवसर पाए । घरेलु मैदानमा आयोजित विश्वकपमा उपाधि जित्न नसके पनि उनी भने खुबै चर्चामा रहे । साओ पाउलोमा आयोजित विश्वकपको उद्घाटन खेलमा क्रोएसियाविरुद्ध दुई गोल गरेपछि नेयमरलाई गोल्डेन बल र ब्राजिललाई उपाधिको दाबेदार मानिएको थियो । तर, त्यसो भएन । उनी क्वाटरफाइनलमा कोलम्बियाविरुद्ध घाइते भए जुन बेला उनले चार गोल मात्रै गरेका थिए ।
उनी घाइते भएलगत्तैको खेलमा ब्राजिलले लज्जास्पद हार बेहोर्‍यो । त्यसले पनि टिममा उनी निकै महत्त्वपूर्ण भएको प्रस्ट्यायो । २२ वषर्ीय नेयमरले ब्राजिलका लागि ५९ खेलमा ४२ गोल गरेका छन् । उनी ब्राजिलका लागि धेरै गोल गर्ने खेलाडीको सूचीमा पाँचौं नम्बरमा छन् । बार्सिलोनाका लागि उनले यो सिजनमा उत्कृष्ट खेल्दै २० गोल गरिसकेका छन् । नेयमर क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीपछि सुपरस्टार बन्न सक्ने फुटबलर हुन् ।
- समाचार एजेन्सीहरूको सहयोगमा

प्रकाशित : पुस ११, २०७१ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?