स्वास्थ्यका लागि साइकल चढ्ने बढे

शिव शर्मा

कास्की — स्वास्थ्य र पर्यटनलाई ख्याल गर्दै पोखरामा साइकल चढ्नेको संख्या बढ्दै गएको छ ।

स्वास्थ्यका लागि साइकल चढ्ने बढे
वातावरणलाई समेत स्वच्छ राख्ने भएकाले पछिल्लो क्रममा युवादेखि पाकासम्मले चढ्न थालेका हुन् । मर्निवाङदेखि नजिकका दूरीमा आवतजावत गर्नका लागि साइकल नै रोज्न थालेका छन् । युवा व्यवसायी किसनमान बुद्धचार्य अहिले अधिकांश समय साइकलमा ओहोरदोहोर गर्छन् । पाँच वर्षअघिसम्म नियमित साइकल चलाएका उनले बीचमा चटक्कै छाडे ।
'फेरि अहिले एक वर्षदेखि नियमित चलाउन थालेको छु,' उनले भने, 'साइकल चलाउन थालेपछि शरीरमा फुर्ती र स्वास्थ्य पनि राम्रो भएको छ ।'
उनी मात्र होइनन्, पोखरामा उद्योगी व्यापारी, डाक्टर, विद्यार्थीदेखि सबै तह र तप्काकाले साइकल चढ्न थालेका छन् । मोटरसाइकल कार जिपका शोरुम सञ्चालन गर्नेले पनि साइकल चढ्छन् । सामान्यत: २० हजारदेखि माथि ६ लाख मूल्यका साइकल चढ्नेको जमात बढेको साइकल लेन्ड पोखराका सञ्चालक प्रकाश वज्राचार्यले जानकारी दिए । वातावरण र आफ्नो स्वास्थ्यप्रति सचेत हुनेहरू साइकल दैनिक दुई-चार घन्टा साइकलको यात्रा गर्छन् ।
धूवाँरहित र ध्वनिरहित यो साधनले सहरी वातावरणलाई समेत स्वच्छ राख्ने भएकाले धेरैमा चढ्नुपर्छ भन्ने चेतना जागृत भएको छ । बढिरहेको ट्राफिक जामले सवारी साधन चलाउन झन्झट भइरहेका बेला माउन्टेन बाइकलाई यसले कुनै अवरोध गर्दैन । एक घन्टामा साइकल चढेर पूरा पोखरा घुम्न सकिन्ाे भएपछि धेरैलाई रुचि र चाहना बढ्दै छ ।
साइकल चढ्न थालेपछि समयको बचतसमेत गरिदिएको साइकल पारखीको अनुभव छ । अहिलेको मौसम साइकल चलाउनेका लागि उपयुक्त छ । खुलेको मौसम र सेताम्मे हिमाल हेर्दै डाँडाकाँडा डुल्दा बेग्लै आनन्द अनुभव हुन्छ ।
सुरुका दिनमा पोखरामा लेकसाइडमा आउने पर्यटकले मात्रै माउन्टेन बाइक चढ्ने गरेका थिए । सर्वसाधारणमा चढ्नुपर्छ भन्ने धारणा विकसित भइसकेको थिएन । अहिले साइकल चढौं भन्ने अभियान नै सुरु भएको छ । 'पोखरामा प्रत्येक घर-घरमा एउटा साइकल छ, साइकल चढ्ने क्रम बढ्दो छ,' साइकल सिटी पोखराका अध्यक्ष कमलमोहन कोइरालाले भने, 'पछिल्लो पाँच वर्षयता साइकल चढ्नेको संख्या उल्लेख्य रूपमा वृद्धि भएको हो ।' उनका अनुसार नगर क्षेत्रमा दैनिक २ हजारको हाराहारीले नियमित साइकल चढ्दै आएका छन् ।
कोइरालासहित प्रकाश बज्राचार्यलगायतको समूहले पाँच वर्षअघि साइकल क्लब गठन गरेर साइकल चढ्ने अभियानलाई तीव्रता दिएपछि झनै मोह बढेको हो ।
 पोखरा भित्रिने पर्यटकसमेत साइकल चढ्न थालेपछि चलनचल्ती बढ्दै गएको छ । साइकल चढेर नयाँ-नयाँ ग्रामीण क्षेत्रमा पुग्दा त्यस ठाउँको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुर्‍याएको छ । त्यस्तै बेलाबेला यहाँ भइरहने साइकल दौड प्रतियोगिताहरूले समेत साइकल चढ्नेलाई हौसाइरहेका छन् । युरिक एसिड, प्रेसर, डाइबिटिस, ढाड दुख्ने समस्याको नियन्त्रण गर्ने साधनसमेत बनेको छ साइकल । यसरी चढ्नेहरू धेरैले डाइबिटिस निको भएको अनुभव छ ।
पोखरालाई साइकल सिटीका रूपमा विकास गर्न सरकारका तर्फबाट पहल भए पनि काम अघि बढ्न सकेको छैन । पोखरा उपत्यकाको भित्री माग हुँदै अग्लो डाँडाको फेदी हुँदै पोखरा र लेखनाथ नगरपालिका हुँदै आसपासका गाविस समेटेर मार्ग निर्माण हुन लागेको हो । साइकल मार्गले पोखरा उपत्यकाका घुमेर जिल्लाको दुई तिहाइ भागलाई जोड्ने छ । पोखराको सातालाई समेत यसले जोड्ने छ ।

प्रकाशित : पुस १७, २०७१ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?