२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

झन् नयाँको खोजी

काठमाडौ — बलिउडलाई अचेल यस्तो फिल्म उद्योग भनिन्छ, जहाँ बूढो हिरो सबभन्दा बढी चल्छन् ।

झन् नयाँको खोजी
२०-२५ वर्षअघि हिरो भएका आमिर खान, शाहरूख खान, सलमान खान, अक्षय कुमार, अजय देवगन नै अहिले पनि बलिउडका टप हिरो गनिन्छन् । पछिल्लो पुस्ताका रणवीर कपुरदेखि शाहिद कपुरसम्मले यिनलाई उछिन्न सकेका छैनन् । तर, हिरोइनको सवालमा भने कुरा ठीक उल्टो छ । यी सबैजसो बूढो हिरोहरू हिरोइनचाहिँ नयाँ नै खोज्छन् ।
गत साता आएको समाचारअनुसार शाहरूख खान र अजय देवगनका आगामी फिल्ममा नयाँ हिरोइन आउँदैछन् । राहुल ढोलिकयाले बनाउन लागेको शाहरूखको फिल्म 'रइस' मा पाकिस्तानी अभिनेत्री मारिया खान उनको जोडीका रूपमा आउँदैछिन् । 'हमफसर' नाम सिरियल र आतिफ असलमले अभिनय गरेको फिल्म 'बोल' बाट चर्चामा आएकी ३१ वषर्ीया मारियासँग फिल्ममा नवाजुद्धिन सिद्धकी पनि हुनेछन् । फिल्ममा शाहरूख अन्डरवल्ड डन बन्दैछन् भने नवाजुद्धिन प्रहरी ।
उता, अजय देवगनको केस भने झन् फरक छ । 'यु मी और हम' पछि अजय देवगन यो वर्ष फेरि निर्देशनमा उत्रिएका छन् । छातीमा महादेवको ट्याटु खोपेका हिरोले आफूले निर्माण निर्देशन र अभिनय गर्ने फिल्मको नाम राखेका छन्- शिवाय । फिल्मका लागि नयाँ लोकेसनको खोजीमा उनी क्यानडाको यस्तो ठाउँमा पुग्दैछन्, जहाँको तापक्रम माइनस ३५ डिग्री हुनेछ । गाडी नजाने यो ठाउँमा अजयको शिवायको सुटिङ जनवरीमा हुनेछ ।
फिल्मको ठूलो खबरचाहिँ योभन्दा पनि हिरोइनको छ । फिल्ममा अजयकी हिरोइन हुनेछिन्, सायसा । सायसा नब्बेको दशकका हिरो सुमित सहगलकी छोरी हुन् । सुमित सहगल नब्बेको दशकको बीचसम्म नायकका रूपमा देखिन्थे । रोनित रायजस्तै उनी पनि त्यसपछि चलेका थिएनन् । रोनित टेलिभिजन हुँदै अहिले फेरि फिल्ममा फर्किएका छन् । सुमितकी भने छोरी आएकी हुन् । फ्लप भएको अजयको पछिल्लो फिल्म 'एक्सन ज्याक्सन' का तीन हिरोइनमध्ये एक मानस्वी माम्गई नयाँ हिरोइन थिइन् ।
- समाचार एजेन्सीहरूबाट

प्रकाशित : पुस ४, २०७१ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?