२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

गाई-गोरु तस्करीको जालो

पर्वत पोर्तेल

काँकडभिट्टा — भारतीय अर्धसैनिक बल (एसएसबी) ले मंगलबार सीमावर्ती नक्सलबारीबाट २५ वटा चौपाया नियन्त्रणमा लिएको छ ।

नेपाली सुरक्षाकर्मीले बेलाबेला नियन्त्रणमा लिए पनि भारतीय सुरक्षाकर्मीले सधैं आँखा चिम्लिने गरेका थिए । तर, अहिले उसले चौपाया नियन्त्रण गर्न सुरु गरेको छ ।
केही समयअघि तस्करीका चौपाया रोक्न भारतको केन्द्रीय गृह मन्त्रालयले पश्चिम बंगाल सरकारलाई निर्देशन दिएपछि एसएसबीले चौपाया तस्करी रोक्न निगरानी बढाएको हो । गृहको निर्देशनबमोजिम चौपाया नियन्त्रण गरिएको एसएसबीले जनाएको छ ।
यसअघि प्रहरी र स्थानीय प्रशासनको समझदारीमा चौपाया निकासी हुँदै आएको छ । भारतीय सुरक्षाकर्मीलाई मोटो रकम बुझाएपछि 'लाइन' दिन्थ्यो । खासमा चौपाया भन्सार तिरेर निकासी हुन्छ । भारतले आयातमा रोक लगाएका कारण यो अवैध बाटोबाट भारत हुँदै बंगलादेश पुर्‍याइन्छ । नकलबन्दा, सतिघट्टा र महेशपुर चौपाया निकासीको मूल नाका हो । मेची अञ्चल प्रहरी प्रमुख पुष्कलराज रेग्मीले नकलबन्दा नाकाबाट मात्रै निकासीका लागि इजाजत दिइएको जनाए । 'अन्य नाकाबाट निकासी भइरहेको छ भने त्यो अवैध हो,' उनले भने ।
भन्सार गरेको २४ घन्टाभित्र वस्तु निकासी गरिसक्नुपर्ने प्रावधान छ । तर, व्यापारीले भन्सार तिरेर पनि लामो समयसम्म निकासी गर्दैनन् । 'अनुकूल समय नमिलुन्जेल निकासी गर्न कठीनाइ हुन्छ,' एक कारोबारीले भने, 'एसएसबीले 'लाइन' नदिएसम्म पठाउन सकिन्न ।' एसएसबीले मध्यराति मात्रै लाइन दिने गरेको छ । व्यापारीका अनुसार भारतको एक राज्यबाट अर्को राज्यमा समेत चौपायाको आन्तरिक निकासी-पैठारी प्रतिबन्धित छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले चौपायालाई निकासीजन्य वस्तुको सूचीमा राखेको छ । भन्सारले चौपाया निकासीबापत ६ सय ७८ रुपैयाँ महसुल असुल्दै आएको छ । पहिला १ सय १३ रुपैयाँमै निकासी हुन्थ्यो । भारत यो प्रतिबन्धित वस्तु भएकाले भन्सारको बाटोबाट नभएर अन्यत्रैबाट निकासी हुने गरेको हो ।
स्रोतका अनुसार व्यापारीले महाकाली नदीबाट चौपाया नेपाल भित्र्याउँछन् । फेरि भारततिर नै लैजान्छन् । त्यसलाई कपिलवस्तुको कृष्णनगर नाका हुँदै पुन: नेपाल भित्र्याउँछन् । बारा र रौतहटको सिमानाबाट भारत छिराउँछन् । नवलपरासी, सिरहा र सप्तरी नाकाबाट पुन: नेपाल ल्याउँछन् । 'त्यसपछि ट्रकमा लोड गरेर, सोझै झापा पुर्‍याइन्छ,' एक कारोबारी भन्छन् । चौपाया रातको समयमा ओसारिन्छ ।
चौपाया तस्करीको मुख्य उद्देश्य मेची तारेर पश्चिम बंगाल हुँदै बंगलादेश पुर्‍याउनु हो । 'यसबीचमा केही चौपाया भारतीय बजारमै पनि खपत हुन्छन्,' एक व्यापारीले भने । बंगलादेशमा गाई-गोरुको उच्च माग छ । चौपाया तस्करीमा नेपाली, भारतीय र बंगलादेशी तस्करको सञ्जालै रहेको भारतको एक अखबारले जनाएको छ ।

प्रकाशित : पुस १७, २०७१ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?