१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

माघ ८ गते नै संविधान : गृहमन्त्री

गोरखा — उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले माघ ८ मै संविधान जारी हुने ठोकुवा गरेका छन् ।

गोरखालाई खुला दिसामुक्त जिल्ला घोषणा कार्यक्रममा बुधबार बोल्दै उनले माघ ८ गते नै संविधान आउने बताएका हुन् । प्रधानमन्त्रीले समेत माघ ८ गते संविधान आउन गाह्रो हुने बताएका बेला सरकार संविधान जारी गर्ने तयारीमा रहेको गृहमन्त्री गौतमले जानकारी दिए । 'संविधान जारी भएपछिको अवस्था विश्लेषण र अनुमान गरी सरकार परिस्थितिको सामना गर्न तयार छ,' उनले भने । सरकार तोकिएको समयमा संविधान ल्याउन प्रतिबद्ध रहेको उनले बताए । गौतमले भने, 'देशलाई संविधानविहीन हुन नदिन संविधान जारी गर्नुको विकल्प छैन ।' संविधान जारी भएपछिको अवस्था थेग्न सरकार तयार रहेको गौतमले जानकारी दिए ।
लोकतन्त्र, गणतन्त्र र संघीयतासहितको संविधान जारी उनले गृहमन्त्रीले बताए । 'एक जाति, एक भाषाको मात्रै प्रदेश बन्न सक्दैन,' उनले भने, 'जातिजातिबीच झगडा हुने र देश टुक्राटुक्रा हुने अवस्था आउन दिंदैनौँ ।' जातीय संघीयता भए देश छिन्नभिन्न हुने र द्वन्द्व बढ्ने उनको भनाइ थियो । सर्वसहमतिमा माघ ८ मा संविधान नआए विवादित विषयलाई बाँकी राखेर भए पनि संविधान जारी गर्नुपर्ने उनले प्रस्ट पारे । उनले भने, 'माघ ८ भित्र संविधान जारी नगर्ने विरुद्ध जनता जागरुक हुनुपर्छ ।' सहमति भएका विषय संविधानका रूपमा जारी भएपछि विवादित विषयमा जनमत संग्रह गर्न सकिने उनको भनाइ थियो ।

प्रकाशित : पुस १७, २०७१ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?