२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

नेपाली चिकित्सकको परीक्षा रद्दमा निषेधाज्ञा दिन अस्वीकार

८३२ नेपाली चिकित्सकको यूएसएमएलई परीक्षा नतिजा हाललाई रद्द नै रहने
स्वरूप आचार्य

काठमाडौँ — अमेरिकास्थित डिस्ट्रिक्ट कोर्ट अफ कोलम्बिया, वासिङ्टनले युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई) ले ८ सय ३२ जना नेपाली परीक्षार्थीको नतिजा रद्द गरेको विषयमा निषेधाज्ञा दिन अस्वीकार गरेको छ ।

नेपाली चिकित्सकको परीक्षा रद्दमा निषेधाज्ञा दिन अस्वीकार

अमेरिकाको स्थानीय समयअनुसार फेब्रुअरी २१ तारिखमा न्यायाधीश क्रिस्टोफर आर कुपरको एकल इजलासमा भएको बहसपछि सुनुवाइ गर्दै निषेधाज्ञा दिन अस्वीकार गरिएको हो । अदालतले यूएसएमएलईको नतिजामा रोक लगाउने निर्णयमाथि निषेधाज्ञा दिन अस्वीकार गरेसँगै परीक्षार्थीहरूलाई पुनरावलोकनका लागि दिइएको फेब्रुअरी १६ को म्यादमाथि लगाइएको रोकमा के हुन्छ भन्ने अन्योल भएको हो । अदालतले आफ्नो निर्णयको पूर्ण पाठ सार्वजनिक गरेपछि मात्रै त्यसबारे थप स्पष्ट हुनेछ । यसअघि अदालतले अर्को निर्णय नभएसम्मका लागि यूएसएमएलईले तोकेको पुनरावलोकनको समय सीमामाथि रोक लगाएको थियो ।

एक नेपाली चिकित्सकले युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई) लाई निर्देशित गर्ने नेसनल बोर्ड अफ मेडिकल एक्जामिनर्स (एनबीएमई) लाई प्रमुख विपक्षी बनाएर अदालतमा मुद्दा दायर गरेका थिए । उनले यूएसएमएलईले गरेको परीक्षा नतिजा रद्द गर्ने निर्णयलाई तत्कालका लागि रोक लागउनुपर्नेलगायतका माग गर्दै मुद्दा दायर गरेका हुन् । न्यायाधीश कुपरले दुवै पक्षको बहस सुनेपछि यूएसएमएलईको नतिजा रद्दको निर्णयलाई तत्कालका लागि रोक लगाउन अस्वीकार गरे पनि नेपाली चिकित्सकहरूमाथि ‘वर्गीय व्यवहार’ मुद्दालाई भने ‘रिजर्भ्ड’ मा राखेका छन् । यसको अर्थ न्यायाधीश कुपरले नेपाली चिकित्सकमाथि यूएसएमएलईले गरेको ‘वर्गीय व्यवहार’ को आरोपसम्बन्धी विषयमा भने तत्काल कुनै निर्णय गरेका छैनन् ।

अदालतले गरेको निर्णयको पूर्ण विवरण हाल सार्वजनिक भइनसके पनि जानकारहरूका अनुसार न्यायाधीश कुपरको यो आदेशसँगै ८३२ जना नेपाली चिकित्सक यो वर्षको म्याचिङका लागि अयोग्य हुने लगभग निश्चित भएको छ । एनबीएमईले नेपाली चिकित्सकहरूले प्रश्नपत्रमाथि अनधिकृत पहुँच कायम गरेको पूर्ववत् आरोपलाई नै परीक्षाको नतिजा रद्द गर्नुको प्रमुख कारण भएको दलिल अमेरिकी अदालतमा पनि पेस गरेको थियो ।

एनबीएमईका अनुसार हाल ६१८ जना नेपाली परीक्षार्थीको एउटा स्टेपको नतिजा, २०२ जनाको दुईवटा स्टेपको नतिजा र १२ जनाको तीनवटै स्टेपको नतिजालाई रद्द गरिएको अवस्था छ । यसका साथै नतिजा रद्द गरिएका परीक्षार्थीहरूले २०२१, २०२२ र २०२३ मा परीक्षा दिएका थिए । नेपाली चिकित्सकले अमेरिकी अदालतमा दायर गरेको मुद्दामा यूएसएमएलईलाई निर्देशित गर्ने एनबीएमई प्रमुख विपक्षी बनाइएको छ । एनएमबीईले यूएसएमएलईले लिएको परीक्षामा परीक्षार्थीहरूले आफ्नो ज्ञान र चिकित्सकीय सीपभन्दा पनि प्रश्नको स्रोतमाथि पहुँच कायम गरेर सहभागी हुनु गम्भीर विषय भएको उल्लेख गरेको थियो । ‘यूएसएमएलईले परीक्षार्थीहरू नेपाली भएकैले नतिजा रद्द गरेको मुद्दा दायरकर्ताको आरोप सही छैन,’ जवाफमा भनिएको छ, ‘यद्यपि यूएसएमएलईका कर्मचारीहरूले असल नियतमा नै परीक्षार्थीहरूले प्राप्त गरेको नतिजामा प्रश्न उठाइएको हो ।’

नेपाली भएकैले यूएसएमएलईले नश्लवेदी व्यवहार प्रदर्शन गर्दै ८३२ जना परीक्षार्थीको योग्यता र भविष्यमाथि प्रश्न उठाउँदै नतिजा रद्द गर्ने निर्णय गरेकाले यो गैरकानुनी भएको दाबी गर्दै नेपाली चिकित्सकले मुद्दा दायर गरेका हुन् । उनले समग्रमा नेपाली चिकित्सकलाई ‘चोर’ दोष लगाउनु गलत भएको पनि जिकिर गरेकी छन् । यसका साथै उनले आफूलगायत नेपाली परीक्षार्थीहरूलाई बोर्डले उचित क्षतिपूर्तिसमेत दिनुपर्ने दाबी गरिएको छ ।

नेपाली चिकित्सकले लगाएको आरोपहरूको प्रतिरक्षा गर्दै यूएसएमएलईका सहउपाध्यक्ष ड्यानियल ज्युरिचले अदालतमा दिएको लिखित बयानअनुसार मुद्दा दायरकर्ता चिकित्सककै योग्यतामाथि पनि प्रश्न उठाइएको छ । उनको दाबीअनुसार परीक्षामा एउटा उत्तरको जवाफ दिन ९० सेकेन्डको समय दिइएको हुन्छ । तर, नेपाली चिकित्सकले भने ३० सेकेन्डभन्दा पनि कम समयमा धेरै उत्तर दिएका छन् र त्यो करिब ९५ प्रतिशत सही छन् । उनले अनुमानित रूपमा नै दिएको भए पनि त्यो स्तरमा उत्तर सही नहुने दाबी गरेका छन् । यसका साथै उनले २० सेकेन्डभन्दा कम समयमा दिएका उत्तरहरू स्टेप १ को परीक्षामा शतप्रतिशत सही छन् । यस्तै स्टेप २ मा ३० सेकेन्डभित्र दिइएका उत्तरहरू ९१ प्रतिशत सही छन् भने २० सेकेन्डमा दिइएका उत्तरहरू ९३ प्रतिशत सही छन् । तर अमेरिकाले दिइएको स्टेप ३ को परीक्षामा भने स्टेप १ र २ को तुलनामा कम उत्तरहरू सही भएका छन् । यस प्रकारको उत्तर दिने प्रवृत्ति प्रायः नेपाली परीक्षार्थीमा देखिएको दाबी पनि बयानमा गरिएको छ ।

प्रकाशित : फाल्गुन ११, २०८० १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?