कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

कात्तिकसम्म डेंगीको जोखिम 

बुनु थारु

काठमाडौँ — पोस्ट मनसुन सुरु भएसँगै डेंगी संक्रमण कम देखिए पनि यसको जोखिम कायमै रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

कात्तिकसम्म डेंगीको जोखिम 

जुनदेखि अगस्टलाई सामान्तया डेंगीले महामारीको रूप लिन सक्ने समय (पिक सिजन) मानिन्छ तर जोखिम भने स्थिर नै देखिएको विज्ञको भनाइ छ ।

ईडीसीडीका भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा. गोकर्ण दाहालले कात्तिक महिनासम्म डेंगीको जोखिम यथावत् रहेकाले सतर्क भइराख्नुपर्ने बताएका हुन् । उनी भन्छन्‚ ‘डेंगीका केसहरू घट्दै जान थालेका छन् । काठमाडौँका केही ठाउँमा बढेको भनेर सुन्नमा आएको छ तर रिपोर्टमा भने त्यस्तो छैन । कात्तिक महिनासम्मलाई डेंगीको जोखिम महिनाको रुपमा नै लिन्छौँ ।’

यो वर्ष डेंगीका केसहरू जुनदेखि बढ्न थालेका हुन् । अगस्टमै सुनसरीमा ७ हजार ३४८ जना संक्रमित हुन पुगेका थिए भने अक्टुबरसम्म आउँदा संक्रमण घटिरहेको देखिन्छ । ७६ जिल्लामा फैलिएको डेंगी संक्रमणबाट देशभर हालसम्म ३५ हजार २२३ जना संक्रमित भइसकेका छन् भने २० जनाको मृत्यु भइसकेको ईडीसीडीको तथ्यांकमा छ । यो वर्ष सुनसरी जिल्लामा डेंगीको आउटब्रेक देखियो‚ जहाँ हालसम्म १६ हजार ८० जना संक्रमित भइसकेका छन् । त्यसैगरी बढी संक्रमित देखिनेमा जिल्लामा झापामा ३ हजार ५६२ जना, धादिङमा ३ हजार १२३, तनहुँमा ३ हजार १२१ ,मोरङमा २ हजार २७३, कास्कीमा ७७२ र काठमाडौँमा ७६४ जना रहेका छन् ।

प्रदेशअन्तर्गत हेर्ने हो भने सबैभन्दा बढी कोशी प्रदेशमा २३ हजार ६७४, वाग्मती प्रदेशमा ४ हजार ८१३, गण्डकी प्रदेशमा ४ हजार ३६१ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४३ जना, लुम्बिनी प्रदेशमा ६३२, मधेश प्रदेशमा ५७९ र कर्णाली प्रदेशमा १२१ जना संक्रमित भइसकेका छन् । गत वर्ष हालसम्मकै बढी ५४ हजार ७८४ जनामा डेंगीको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्युसमेत भएको थियो ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पोस्ट मनसुन सुरु हुदा डेंगीको जोखिम बढ्ने सम्भावना रहने बताउँछन् ।भन्छन्‚ ‘धेरै केशहरु नदेखिए पनि केसहरू भने पुष्टि नभएका होइनन् ।काठमाडौँमा केही दिनयता डेंगीका केसहरू बढेका देखिन्छन् । करिब २ दर्जनको हाराहारीमा संक्रमण पुष्टि भएको देखिन्छ । निश्चित क्षेत्रमा मनसुन सकिएपछि संक्रमण देखिन सक्छ ।’

उनले काठमाडौँमा सुनसरीजस्तो जटिल डेंगी नदेखिए पनि केही मात्रामा समस्या लिएर बिरामीहरू आइरहेको बताउँछन् । उनले यस्तोमा हुनुमा डेंगीको प्रकार (सेरोटाइप) परिवर्तन भएको पनि हुन सक्ने आकलन गर्छन् ।‘मनसुन सुरु भएपछि संक्रमण बढ्छ भने सकिएपछि केही निश्चित क्षेत्रमा भने बढ्न सक्छ ।त्यस्तो क्षेत्र जहाँ टायरहरू फालिएको छ; ड्रममा पानी जमेको छ‚ त्यहाँ लामखुट्टेको वृद्धिविकास भइरहेको हुन्छ र त्यस्तो ठाउँमा जोखिम हुन्छ ।’

डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । डेंगीबाट बच्न पानी राख्ने भाँडाहरू‚ जस्तैः ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्नुपर्छ । त्यसैगरी लामखुट्टेको टोकाइबाट बच्न घर विद्यालयको अध्यारो कुना काप्चा, पर्दा पछाडिको भाग, खाटमुनि, शौचालयभित्र, डेस्कबेन्चमुनि आदि जस्ता स्थानहरूमा कीटनाशक औषधि छर्कर्नु पर्ने विज्ञको भनाइ छ ।

उनीहरूका अनुसार काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू‚ जस्तैः बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्नुपर्छ ।

प्रकाशित : आश्विन २२, २०८० १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?