कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

थाइरोइड क्यान्सरको निको हुने दर राम्रो, ३० प्रतिशतमा फर्किने जोखिम

डा. तुलीका दुबे

काठमाडौँ — हाम्रो घाँटीमा रहेको सानो पुतली आकारको ग्रन्थीलाई थाइरोइड भनिन्छ । थाइरोइड ग्रन्थीले हर्मोन उत्पादन गर्छ‚ जसले हाम्रो शरीरको क्रियाहरूलाई नियमन गर्न मद्दत गर्दछ । थाइरोइड हर्मोनले शरीरको तापक्रम, रक्तचाप र मुटुको गतिलाई पनि नियन्त्रण गर्न मद्दत गर्छ । यसैमा हुने क्यान्सरलाई नै थाइरोइड क्यान्सर भनिन्छ । यो एक प्रकारको इन्डोक्राइन क्यान्सर जसको उपचारपछि निको हुने दर उच्च छ ।

थाइरोइड क्यान्सरको निको हुने दर राम्रो, ३० प्रतिशतमा फर्किने जोखिम

नेपालीहरूमा पनि थाइरोइड क्यान्सरका बिरामीको संख्या उल्लेखनीय रहेको छ । पुरुषको तुलनामा महिलामा थाइरोइड क्यान्सर हुने सम्भावना तीन गुणा बढी हुन्छ । यो रोग सामान्यतया ४०-५० वर्षका महिला तथा ६०-७० वर्षका पुरुषहरूमा देखिन्छ ।

थाइरोइड क्यान्सरका प्रकार

थाइरोइडमा क्यान्सर विकास हुने कोषका अनुसार यसलाई विभिन्न प्रकारमा विभाजन गर्ने गरिन्छ ।

प्यापिलरी : सबैभन्दा धेरै देखिने थाइरोइडको क्यान्सर प्यपिलरी हो । थाइरोइडको क्यान्सर हुने मध्ये ८० प्रतिशतमा प्यापिलरी क्यान्सर भएको हुन्छ । यसप्रकारको थाइरोइड क्यान्सर घाँटीमा रहेको लिम्फ नोड्समा फैलन्छ । तर यसमा उपचारपछि निको हुने सम्भावना पनि उच्च छ । यो उपचार गर्न मिल्ने खाले क्यान्सर हो र यसबाट कसैको ज्यानै जाने खतरा न्यून छ ।

फोलिक्युलर : थाइरोइडको क्यान्सरमध्ये १५ प्रतिशतमा फोलिक्युलर क्यान्सर देखिन्छ । यो क्यान्सर बिरामीको हड्डी, फोक्सो र मस्तिष्कका साथै शरीरको अन्य अंगमा पनि फैलनसक्छ । यसप्रकारको क्यान्सरको उपचारमा धेरै जटिलता आउने गर्छ ।

मेडुलरी : सम्पूर्ण थाइरोइड क्यान्सरमध्ये २ प्रतिशतमा मेडुलरी क्यान्सर हुने गर्छ । मेडुलरी थाइरोइड क्यान्सर भएकामध्ये पनि एक चौथाइको परिवारमा नै यो समस्या रहने गरेको पाइएको छ । यसका लागि जिनमा हुने खराबी नै प्रमुख कारक हो ।

एनाप्लास्टिक : थाइरोइड क्यान्सरमध्येको सबैभन्दा गम्भीर प्रकारको क्यान्सर एनाप्लास्टिक हो । यसको उपचार गर्न पनि कठिन हुन्छ । यो थाइरोइडबाट सुरु भएर शरीरका अन्य भागमा पनि छिट्टै फैलन्छ । यो क्यान्सर आफैंमा दुर्लभ पनि छ ।

क्यान्सर लक्षण के हुन सक्छन् ?

घाँटी वरिपरी आउने गाँठागुँठी नै क्यान्सरको पहिलो लक्षण हो । तर सबै गाँठागुँठी क्यान्सर नै हुन्छन् भन्ने होइन । यसरी देखिने गाँठागुँठीमध्ये २० मा ३ जनालाई क्यान्सर भएको हुनसक्छ ।

यसका साथै सास लिन असज महसुस हुनुका साथै केही कुरा निल्न अप्ठ्यारो पनि हुनसक्छ । बिना अन्य कारण आवाज परिवर्तन भएर धोद्रो हुँदै गएको खण्डमा त्यसलाई क्यान्सरको लक्षण मानेर जाँच गराउनु नै उचित हुन्छ ।

यदि थाइरोइडको क्यान्सर शरीरको अन्य भागमा फैलिएको खण्डमा बिरामीलाई आलस्यता, भोक नलाग्ने, वाकवाकी लाग्ने र एक्कासी तौल घट्दै जाने समस्या देखिने गर्छ ।

थाइरोइड ग्रन्थीमा क्यान्सर आखिन किन विकास हुन्छ अहिले पनि विशेषज्ञहरूका लागि कौतुहलको विषय छ । केही कारणहरू थाह नभएका पनि होइनन् । तर धेरै कुरा पत्ता लाग्न भने बाँकी नै छ ।

थाइरोइडको क्यान्सरको प्रमुख कारण रेडिएसन (विकिरण) को प्रभावमा लामो समयसम्म रहनु एक हो । यसका साथै खानामा आयोडिनको कमी र जिनमा हुने खराबी अर्का मुख्य कारण हुन् ।

थाइरोइड क्यान्सर भए नभएको पत्ता लगाउनका लागि सुरुको चरणमा चिकित्सकहरूले रगतको जाँचदेखि घाँटीको अल्ट्रासाउन्ड गर्छन् । यसका साथै केही बिरामीको थाइराडबाट सुईको माध्यमबाट कोष निकालेर परीक्षण गर्नुपर्ने हुनसक्छ । यस्तै रडियोआयोडिन स्क्यानका साथै सीटी वा पेट स्क्यान पनि गरेर क्यान्सर भए नभएको हेर्ने गरिन्छ ।

थाइरोइडको क्यान्सर देखिएको खण्डमा त्यसको आकार र प्रकारअनुसार त्यसको उपचार गर्ने विधि तय हुन्छ । सामान्यतया थाइरोइडमा क्यान्सर देखिएमा सो ग्रन्थीलाई शल्यक्रिया गरेर निकालिन्छ । तर त्यसका लागि पनि आकार र प्रकार कस्तो रहेको छ यकिन गर्न जरूरी हुन्छ । केही बिरामीको सबै ग्रन्थी ननिकालेर केही भाग मात्रै पनि निकाल्ने गरिन्छ ।

रेडियोआयोडिन थेरापी पनि क्यान्सर उपचारको अर्को माध्यम हो । यस विधिमा बिरामीलाई रेडियोआयोडिन खान लगाइन्छ‚ जसमा भएको रेडियोएक्टिभ आयोडिनले थाइरोइडसहित त्यसमा भएको क्यान्सरका कोषलाई पनि नष्ट गरिदिन्छ । यसका साथै अन्य क्यान्सरमा झैं यसमा पनि रेडिएसन थेरापी र किमोथेरापी तथा हर्मोन थेरापीको प्रयोग हुन्छ ।

थाइरोइड क्यान्सरको सबैभन्दा नराम्रो पक्ष भनेको यो उपचार गरेर निको भएको २० वर्षपछि पनि पुन: फर्किने सम्भावना रहन्छ । यो निकै ढिलो गरी बढ्ने भएकाले पुन: विकास हुन करिब २० वर्ष जति समय लाग्न सक्छ । ३० प्रतिशत थाइरोइडको क्यान्सर भएका बिरामीमा यो रोग फर्किने सम्भावना रहेको हुन्छ ।

(डा. दुबे ईएनटी अंकोसर्जन हुन् ।)

प्रकाशित : आश्विन २, २०८० १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?