कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

चिकित्सक भन्छन्- ‘आँखा पाक्ने रोगबाट बालबालिका र ज्येष्ठ नागरिक जोखिममा’

बुनु थारु

काठमाडौँ — केही दिनदेखि देशभर नै आँखा पाक्ने रोग बढिरहेको छ । समुदायस्तरमा नै फैलिएको यो रोगले महामारीको जोखिम बढाइरहेको देखिन्छ । ‘भाइरल कन्जंक्टिभाइटिस’को रुपमा चिनिने आँखा फाक्ने रोग सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । राजधानीका प्रमुख आँखा अस्पतालहरुमा पनि केही दिनयता संक्रमितको संख्या बढ्दै गएको देखिन्छ । 

चिकित्सक भन्छन्- ‘आँखा पाक्ने रोगबाट बालबालिका र ज्येष्ठ नागरिक जोखिममा’

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको बीपी कोइराला नेत्र अध्ययन केन्द्रकी आँखारोग विशेषज्ञ डा रञ्जु खरेल सिटौलाले ओपिडीमा आउने ४०–४५ प्रतिशत बिरामी दैनिक यही समस्या लिएर आइरहेको बताइन् । २/३ दिनयता अस्पतालमा बिरामीको संख्या हृवात्तै बढेको देखिन्छ ।

डा सिटौला भन्छिन्–‘एडिनो भाइरसबाट सर्ने यो रोग कुन मौसममा बढी फैलिन्छ भन्न सकिँदैन । भाइरल इन्फेक्सन गर्मीमा बढी देखिने भएपनि ब्याकटेरियल इन्फेक्सन अरु बेला पनि आउन सक्छ ।अहिले गर्मीबाट पानी परेपछि भाइरसकालागि यो वातावरण उपयुक्त भएर आउटब्रेक भइरहेको छ ।’

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका मेडिकल डाइरेक्टर डा कमल खड्काले पनि उपत्यकाबाहिर बढी देखिएको आँखा पाक्ने रोग ३ दिनयता बढेको देखिएको बताउँछन् । उनका अनुसार हाल आँखा अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामी यो समस्या लिएर आइरहेका छन् । डा खड्का भन्छन्–‘साउन महिनामा यो रोग निकै नै बढेको देखिन्छ । अस्पतालमा दैनिक करीब ७०० बिरामी आउँछन् जसमा १०० भन्दा बढी यो समस्या लिएर आएका छन् । अहिले मौसम नै त्यस्तै छ । गर्मी, अनि अलि चिसो । ब्याकटेरिया बढी हुने सिजन हो । सरुवा रोग भएका कारणले सुरुमा एक दुई जना हुदा वास्ता नगर्नाले परिवारमा सरेर समुदायमा नै फैलिरहेको छ ।’

उनले विद्यालय, अफिसजस्तो क्षेत्रमा जहाँ मानिसहरुको बढी हुन्छ उनीहरु थप सतर्क हुनुपर्ने सुझाव दिन्छन् । ‘सबैभन्दा राम्रो उपाय त आफ्नो सरसफाइ नै हो । दिनमा कम्तीमा ४–५ पटक सफा पानीले आँखा धुने, आफूले प्रयोग गरेको टावेल, रुमाल अरु परिवारको सदस्यलाई नदिनाले यो रोग नसर्न सक्छ ।

त्यसैगरी आँखा पाक्ने रोग बढ्न थालेपछि तिलगंगा आँखा अस्पतालले २ हप्तायता ‘रेड आइ क्लीनिक’ नै सञ्चालनमा ल्याएको छ । क्लीनिकको ओपिडीमा दैनिक १०० भन्दा बिरामी यो समस्या लिएर आइरहेको बताउँछिन् आँखा रोग विशेषज्ञ डा मिनाली कर्ण । उनले सचेतना बढेसँगै रातो आँखा देखिने समस्या हुने बित्तिकै बिरामी आउने देखिएको बताउँदै गम्भीर खालका लक्षण लिएर पनि आउने गरेको बताइन् । डा कर्ण भन्छिन्–‘सुरुमा वयस्क बिरामी धेरै थिए अहिले स्कुले बालबालिकामा पनि बढी देखिएको छ ।यो हप्तादेखि बिरामी बढेका हुन् ।’

चिकित्सकहरुले यो रोग सरुवा भएपनि नआत्तिन सुझाव दिएका छन् । उनीहरुकाअनुसार यो हफ्ता दश दिनमा निको हुन्छ । आँखारोग विशेषज्ञ डा सिटौलाले संक्रमित व्यत्तिबाट कम्तीमा कम्तीमा ७ दिनसम्म जोगिन जरुरी रहेको बताउँछिन् । भन्छिन्–‘यो रोग लागेमा तेस्रोदेखि चौथो दिनमा लक्षण बढी हुदै जान्छ र सातौँ दिनसम्म लक्षणहरु घटेर जान्छ । हप्ता दश दिनमा ठिक हुन्छ । तर लक्षण घटेपछि व्यक्तिले सावधानी अपनाउन बिर्सिने हुन्छन् जबकी झाइरसले आँखामा संक्रमण छोडिसकेको हुँदैन । आसावधानी कम गर्दा अर्को व्यत्तिलाई सर्छ ।’

उनले रोगसँग लड्न सक्ने क्षमता कम भएका विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिक यो रोगको बढी जोखिममा हुन सक्ने बताउँछिन् । उनले बालबालिकामा संक्रमण देखिए निको नहुँदासम्म विद्यालय नपठाउन नै उत्तम रहेको सुझाउँछिन् । उनले आँखा पाकेको रोग भएको व्यक्तिलाई हेर्देमा यो समस्या देखिन्छ भन्ने धेरैमा गलत धारणा रहेको बताउँछिन् । ‘आँखा पाकेको व्यक्तिको आँसु, कचेरा, चिप्रालगायत प्रत्यक्ष रुपमा सम्पर्कमा आउँदा यो रोग सर्छ त्यसैगरी अप्रत्यक्ष रुपमा त्यो व्यक्तिले छोएको ढोका, झ्याल, बाथरुमको फ्लसमा पनि भाइरस बसेको हुन सक्छ ।यो भाइरस एकदम द्रुत गतिमा फैलिन खालको भाइरस हो,’उनले भनिन् ।

लक्षणहरु

आँखाबाट आँसु बगिरहने वा कचेरा/चिप्रा लाग्ने,

आँखा रातो हुने र चिलाउने,

आँखाको ढकनी रातो हुने, सुन्निने

घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने

आँखा बिझाउने/दुख्ने

कसरी सावधानी अपनाउने?

–संक्रमित व्यत्तिसँग नजिकको सम्फर्कमा नजाने र संक्रमित व्यत्ति भिडझाडमा नजाने । त्यसैगरी संक्रमित व्यत्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने ।

–जथाभावी आँखा नछुने, आँखा छुनु परेमा छुनु अघि वा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

–स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग नगर्ने ।

–आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने । प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने । कालो चस्मा प्रयोग गर्ने ।

प्रकाशित : श्रावण २२, २०८० २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?