कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

६९ जिल्लामा डेंगी, ३ जनाको मृत्यु

डेंगीको हटस्पट बन्दै सुनसरी, संक्रमित र मृतक बढ्न सक्ने विज्ञको आंकलन 
बुनु थारु

काठमाडौँ — मुलुकका ६९ जिल्लामा डेंगी फैलिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाए अनुसार हालसम्म कुल ४ हजार २८९ जना डेंगीबाट संक्रमित भइसकेका छन् । जनवरी १ देखि संकलित यो तथ्यांक सोमबारसम्मको हो । 

६९ जिल्लामा डेंगी, ३ जनाको मृत्यु

त्यसैगरी ईडीसीडीले डेंगीबाट हाल ३ जनाको मृत्यु भएको आधिकारिकरुपमा पुष्टि गरेको छ । मृतक तीनजानै सुनसरी जिल्लाका हुन् । संक्रमित सबैभन्दा धेरै कोशी प्रदेशमा देखिएका छन् । त्यहाँ २ हजार ७५४ जना डेंगीबाट संक्रमित पाइएका छन् ।

त्यसैगरी बाग्मती प्रदेशमा ६६७, गण्डकी प्रदेशमा ३४४ र सुदूरपश्चिम प्रदेशमा ३१६ जना, लुम्बिनी प्रदेशमा १६६, मधेश प्रदेशमा २२ र कर्णाली प्रदेशमा २० जना संक्रमित भइसकेका छन् । सबैभन्दा धेरै संक्रमित हुने जिल्लामा सुनसरी रहेको छ । त्यहाँ २ हजार ५४२ जना संक्रमित भइसकेको अवस्था छ । पछिल्लो डेढ महिनायता धरानमा डेंगी संक्रमण बढ्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० बेडको डेंगी अस्पताल सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सी र डेंगी क्लिनिकले धान्न नसकेपछि सञ्चालनमा ल्याइएको हो ।

त्यसैगरी डेंगी संक्रमित उच्च भएका जिल्लाहरु धादिङमा ४०१, कास्कीमा २०५, दार्चुलामा १९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दीमा ५४, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५ र मोरङमा ३८ डेंगीका केश पुष्टि भएका हुन् । यी शीर्ष १० जिल्लामै ३ हजार ६७१ केश भेटिएका छन् ।

जुनदेखि अगस्टलाई डेंगीले महामारीको रूप लिन सक्ने समय (पिक सिजन) मानिन्छ । मनसुनपछिको समयमा डेंगी संक्रमण बढ्न सुरु हुन्छ । गत वर्ष हालसम्मकै बढी ५४ हजार ७८४ जनामा डेंगीको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्युसमेत भयो । संक्रमितमा ५३ प्रतिशत पुरुष थिए भने ४७ प्रतिशत महिला थिए । अघिल्लो वर्ष सबैभन्दा धेरै वाग्मती प्रदेशमा ७७ प्रतिशत संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये पनि ५६ प्रतिशत केस काठमाडौं उपत्यकामा भेटिएको थियो ।

सन् २०२२ मा प्रकोप देखिनुअघि सन् २०१९ मा ६८ जिल्लामा फैलिएको डेंगीको प्रकोपले १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६ जनाको मृत्यु भएको थियो । नेपालमा सन् २००४ मा पहिलो पटक डेंगी पुष्टि भएको थियो । सन् २००६, २०१०, २०१३, २०१६, २०१७ तथा २०१९ मा डेंगीका सबैभन्दा धेरै केस पुष्टि भएका थिए ।

केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी संक्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।ईडीसीडीका अनुसार यही असार २७ गते १ हजार ३ सय ३७ संक्रमण भएकामा साउन १ गतेसम्म आइपुग्दा संख्या बढेर २ हजार ९ सय ३० पुगेको छ ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले अघिल्लो वर्ष काठमाडौँमा देखिएको कडा खालको डेंगी सुनसरीमा पदि देखिएको बताउँछन् । भन्छन्–‘सन् २०१९ मा धरानबाट सुरु भएको डेंगी काठमाडौँमा पनि आयो । सामान्यतया २–३ वर्षको अन्तरालमा प्रकोप दोहोरिने गरेको छ । काठमाडौँले गत वर्ष भोगिसकेको अवस्था छ । त्यो एकदम खराब भोगाइ थियो । धरानमा पनि काठमाडौँको अवस्था उता पनि दोहोरोने हो कि भन्ने अनुमान गर्न सकिन्छ । किनकि परिवारमै संक्रमित पर्न थालेको खबर आउन थालेको छ । अस्पताल पनि प्याक छ । केही थप हप्ता अझै संक्रमित र मृत्यु हुन सक्ने सम्भावना देखिन्छ ।’

उनी काठमाडौँमा अघिल्लो वर्षको जस्तो अवस्था नआए पनि पकेट एरियामा आउटब्रेक हुन सक्ने सम्भावना रहेको बताउँछन् । ‘सुनसरी अहिले डेंगीको हटस्पट भएको छ । संक्रमण दोहोरिँदै जाँदा सेरोटाइप (प्रकार) पनि परिवर्तन भएको हुन सक्छ । सेरोटोइप परिवर्तन हुँदै गर्दा जटिल डेंगी देखिन सक्ने सम्भावना बढेर जान्छ । अध्ययन हुनुपर्छ । यसको अध्ययन भएको खण्डमा जोखिमको आंकलन गर्न सकिन्छ,’ उनले भने ।

डेंगी नियन्त्रणका लागि लामखुट्टेको वृद्धिविकास नरोकी सुखै नभएको बताउँदै उनी भन्छन्, ‘हामी आफै नागरिक पनि यसको रोकथाममा बेवास्ता गरिरहेका छौँ । चासो दिन सकेका छैनौँ । स्थानीय निकाय पनि गम्भीर देखिँदैन । सुनसरीमा संक्रमित लामखुट्टेको लार्भा १ महिनाअगाडि नै नष्ट गरिएको भए संक्रमित बढ्ने थिएनन् ।’

ईडीसीडी निर्देशक डा रुद्र मरासिनी केही दिनअघि धरानमा गएर बीपी प्रतिष्ठानका डेंगी उपचार टिम, मेयर, उपमेयरलाई भेट गरेको बताउँदै फगिंग (मेसिनबाट धुवाँ फाल्ने तरिका) भन्दा खोज र नष्ट अभियानमा बढी सरिक हुन अनुरोध गरिएको बताउँछन् । भन्छन्–‘अहिले सबैभन्दा धेरै केशहरु सुनसरीमा देखिएका छन् । बीपी प्रतिष्ठानले डेंगी अस्पतालले नै सञ्चालन गरेको छ । समुदायले नै नियन्त्रण नगर्दासम्म यो रोकथाम हुँदैन । स्थानीय तह परिचालन भएका छन् । समुदायको सक्रिय सहभागिता भयो भने केशहरु अलि कम हुन सक्छन् ।’

उनले यो वर्ष पनि महामारी हुन सक्ने सोचेर अलर्ट भएर बस्न सुझाउँदै भन्छन्, ‘उपचार गरेर साध्य हुँदैन रोकथाममै जानुपर्छ । रोकथामका लागि लामखुट्टेको लार्भा ‘खोज र नष्ट’ अभियानमा लाग्नुपर्छ । घर तथा अफिस वरिपरि पानी जम्न दिन हुँदैन । कम्तीमा हप्ताको एक पटक समुदाय र कार्यालयले नष्ट गर्नमा चासो देखाए नियन्त्रण गर्न सकिन्छ नभए भयावह रुप लिन सक्छ ।’

डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले डेंगीबाट बच्ने उपाय हुन् ।

प्रकाशित : श्रावण ९, २०८० २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?