कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिकोणात्मक प्रेमकथामा आधारित गुरुङ फिल्म ‘ङोल्स्यो रानी’ बन्दै

आश गुरुङ

लमजुङ — गुरुङ भाषामा ङोल्स्योको अर्थ सोल्टिनी हुन्छ । मामा वा फुपूको छोरीलाई सोल्टिनी नाता पर्छ । गुरुङ समाजमा सबैभन्दा मनपर्ने व्यक्तिलाई प्रिय भाषामा बोलाउनु पर्दा पुरुष भए ‘राजा’ र महिला भए ‘रानी’ शब्द प्रयोग हुन्छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित गुरुङ फिल्म ‘ङोल्स्यो रानी’ बन्दै

तिनै ‘ङोल्स्यो’ र ‘रानी’ शब्दलाई मिलाएर कलाकार कमलबहादुर गुरुङले ‘ङोल्स्यो रानी’ फिल्म निर्देशन गरेका छन् । यसअघि थुप्रै म्युजिक भिडियोमा आफैं अभिनय गर्दै, कोरियोग्राफी र निर्देशन गरेका उनको फिल्म निर्देशनमा यो डेब्यु फिल्म हो ।

लमजुङको क्व्होलासोथार गाउँपालिका ४, भुजुङका गुरुङ पछिल्लो समय गण्डकी प्रदेश राजधानी पोखरालाई कर्मथलो बनाएर कलासिर्जनामा व्यस्त छन् । गुरुङ संस्कार र संस्कृतिमा आधारित यो फिल्म नेपाली भाषामा बन्नेछ ।

गत चैत ७ गते पोखराको तमू प्ये ल्हु संघमा सुरुवात गरिएको यो फिल्मको ९० प्रतिशत छायाकन कास्कीको माछापुच्छ्रे गाउँपालिका २, खाँदरजुङमा हुनेछ । ‘यो फिल्ममा ३ जना साथीहरूबीचको त्रिकोणात्मक प्रेमकथा रहनेछ’ फिल्मका लेखक समेत रहेका निर्देशक गुरुङले भने, ‘नेपाली भाषामा सवै नेपालीले बुझ्ने गरी गुरुङ संस्कार र संस्कृतिलाई उजागर गर्न खोजिएको हो ।’

मनोज गुरुङ, मिरा गुरुङ, आशिष गुरुङ, डीबी गुरुङ, टीकाराम घले, लालसुब्बा गुरुङ, कुविना गुरुङ, विक्रम रानालगायतले अभियन गर्ने फिल्मलाई निकोलस गुरुङले क्यामरामा उतार्नेछन् ।

विश्राम फिल्मस् प्रालिको व्यानमा निर्माण थालिएको यो फिल्मको कथा जीवन गुरुङको रहेको छ । उनैले यो फिल्म निर्माण गरेका छन् । विनिता गुरुङले कलाकारलाई श्रृंगारिदिनेछन् । पवित्रा गुरुङ फिल्मका कोरियोग्राफर रहेका छन् । फिल्ममा माओत्से गुरुङ निर्देशक सल्लाहकार छन् ।

प्रकाशित : चैत्र १२, २०८० १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?