कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

कर्मा ब्यान्डको कहाँ होला घरबार...

सुरिलो स्वरलाई मात्र गीत–संगीत भनिने समयमा रहरैरहरमा जन्मिएको ब्यान्ड हो– कर्मा । लोकशैलीमा रक संगीतलाई पस्किने यो ब्यान्ड दशक लामो तितरवितरपछि पुनः संगठित भएर जुर्मुराउन खोज्दै छ
रीना मोक्तान

काठमाडौँ — एक दशक निष्क्रिय रहेको ‘कर्मा’ ब्यान्ड फेरि ब्युँतिने प्रयास गर्दै छ । यसबीचमा ब्यान्डका थुप्रै सदस्य फेरिएका छन् । केही नयाँ–पुराना सदस्यसहित कर्मा फेरि जुर्मुराउन खोजेको हो । ब्यान्डले ‘हेर’ शीर्षकको नयाँ एल्बम बजारमा ल्याउने तयारी गरेको छ । एल्बममा ८ गीत समावेश छन् । 

कर्मा ब्यान्डको कहाँ होला घरबार...

यो १० वर्षको अन्तरालमा संगीतको स्वाद फेरिएको छ भन्ने कर्मा ब्यान्डका भोकलिस्ट सुरेन्द्रमान सिंहले राम्रैसँग बुझेका छन् । ‘म्युजिकको स्वाद फेरिएको छ । समयअनुसार यो परिवर्तन हुन्छ,’ उनले भने, ‘तर हाम्रो नेपाली संगीत के हो भन्ने कुरा विश्वमा हामीले पुर्‍याउनुपर्छ । त्यो कोसिसमा हामी छौं ।’ ‘हेर’ एल्बमका आठै गीतमा ‘कर्मा’को पुरानै स्वाद मिसाउने प्रयास भएको उनी सुनाउँछन् ।

कर्माले आफ्नो पुरानो शैलीलाई पछ्याएको हेर्न चाहेको गायक विधान श्रेष्ठले बताए । ‘अहिले त नेपाली संगीतको माहोल नै अर्कै बनेको छ । तर, ब्यान्डले समातेको लोकशैलीको स्वादलाई नेपाली दर्शक–श्रोताले अहिले पनि मन पराउँछन्,’ उनले भने, ‘कर्माले पुरानो शैलीलाई पछ्याए दर्शकले पक्कै पनि स्वागत गर्नेछन् ।’

कर्मा ब्यान्डको छुट्टै स्वाद र गायन शैली रहेको बताइन्छ । ‘कर्मा’ कीर्तिपुरमा जन्मिएको ब्यान्ड हो । यसले नेवारी संस्कृतिलाई संगीतमा घुलमिल गराउँदै आएको मानिन्छ । गायक विधान पनि कर्माले सुरुवातदेखि नै लोकशैलीमा रक संगीतलाई पस्केको बताउँछन् । लोकशैलीका गीतमा गितार र ड्रमको प्रयोगले कर्माको परिचयलाई अरूभन्दा बेग्लै बनाइदिएको हो । ‘हुक्का मेरो एकदमै क्याची गीत हो । त्यसमा हरि महर्जनको गितार, त्यस गितारको प्लकिङ मलाई एकदमै मन परेको थियो,’ विधानले भने, ‘च्यानल नेपालले यो समूहको गीत निकै बजाउँथ्यो ।’ आफूले त्यतिबेला ‘हुक्का मेरो’ बोलको गीत सुनेको उनले बताए । ‘उनीहरूका गीत एकदमै मन पर्छन्,’ उनले भने, ‘मायालु किन हो आज तिमी मौन छौ भन्नेमा पनि हरि महर्जनले बजाउने गितारको शैली एकदमै मन परेको थियो ।’

यो ब्यान्डले लोक र रकको फ्युजनलाई आत्मसात् गरेर अगाडि बढ्दै छ । स्थापनाको २५ औं वर्षमा हिँडिरहँदा ब्यान्डले आफैंलाई फर्केर पनि हेर्दै छ । ‘हामीलाई यही संगीतले चिनायो । त्यो सत्यलाई हामीले बिर्सन हुन्न । यो यात्रालाई फर्केर हेर्दा आनन्द लाग्छ,’ सुरेन्द्रमानले भने, ‘एल्बमको शीर्षकमा उल्लेख गरिएझैं आफ्नै धरातल हेरौं, हामी कहाँ छौं भनेर हेर्न खोज्दै छौं हामी । कर्मा अझै जिउँदै छ भन्ने देखाउन पनि हामीले हेर शीर्षकको एल्बम ल्याएका हौं ।’

संगीत बाँच्ने आधार नबन्दाको समयमा यो समूहलाई नजिकैबाट नियालेका सञ्चारकर्मी एवं म्युजिक भिडियो निर्देशक भूषण दाहाल यो ब्यान्ड पुरानै उपलब्धिमा अडिन नहुने धारणा राख्छन् । ‘ब्यान्ड तितरवितर भइसकेपछि जोडिनु पनि नयाँ संगीत सिर्जनाकै लागि हो,’ उनले भने, ‘उहाँहरूले संगीत छोड्दा र अहिलेको परिस्थितिमा धेरै परिवर्तन भएको छ । संगीतमा प्रयोग हुने बाजादेखि रेकर्डिङको शैली परिवर्तन भएको छ ।’ गाउने प्याटर्न पनि परिवर्तन भइसकेको उनले बताए । ‘पुरानै श्रोताका बीच मात्रै अलमलिनु हुन्न,’ उनले भने, ‘नयाँ दर्शक र श्रोताका बीच पुग्ने प्रयास गर्नु जरुरी छ ।’

गायक जेम्स प्रधान नयाँ गायकले जसरी कर्माले थप मिहिनेत गरेर अघि बढ्नुपर्ने धारणा राख्छन् । ‘अहिले संगीतको आयाम फराकिलो बनेको छ । दर्शकको मन जित्न सजिलो छैन,’ उनले भने, ‘ब्यान्डको हुक्का मेरो जस्ता गीत त निकै पृथक् शैलीका थिए । अब त्यसभन्दा पनि राम्रो संगीत कर्माले ल्याउनुपर्छ ।’


एक समय थियो, संगीतबाट खासै कमाइ हुँदैनथ्यो र गायन पनि करिअर बनिसकेको थिएन । त्यतिबेलै मोहन भुसाल, कर्ण दास, विवेक श्रेष्ठ र निमा रुम्बाहरू विदेशिए । कर्मा ब्यान्डका भोकलिस्ट सुरेन्द्रमान सिंह परिवारले ‘नस्विकारेको

प्रेम’लाई अपनाउन अमेरिकातर्फ लागे । ‘मनले छाड्नै नमानेपछि अमेरिका पुगें,’ उनले भने, ‘सांगीतिक यात्राकै लागि भनेर अमेरिका गएको म प्रेमिकाका लागि उतै अड्किएँ ।’

मुख्य गायक नै अमेरिका भासिएपछि ब्यान्डका अन्य सदस्य पनि आफ्नो करिअर खोज्दै विदेशिएको बताउँछन् । त्यसपछि चर्चाको शिखरबाट ‍एकाएक कर्मा सेलायो । ब्यान्डका सदस्यहरू यसरी विभिन्न देशबीच छरिँदा ‘कर्मा’ फुट्यो भन्ने हल्ला संगीतकर्मीबीच चल्यो । ‘कतिपय समय संगीतभन्दा पनि जीवन ठूलो बनिदिन्छ । त्यतिबेला संगीत गरेर मात्रै बाँच्न सक्ने अवस्था थिएन,’ सञ्चारकर्मी एवं निर्देशक दाहालले भने, ‘त्यसैले यो ब्यान्डका सदस्य विदेशतिर छरिए । त्यतिबेला रहर धेरै थिए, प्रतिभाहरू पनि धेरै थिए । तर, संगीत सबैका लागि जीवनयापनको स्रोत बनिसकेको थिएन ।’

भोकलिस्ट सुरेन्द्रमानका अनुसार ब्यान्ड विदेशिएसँगै ‘कर्मा’बाट संगीत पनि टाढिन थाल्यो । ‘सबै आ–आफ्नै करिअर खोज्दै अस्ट्रेलिया, यूके, अमेरिका, क्यानडा पुगे,’ कर्माको कमब्याकको तयारीमा नेपालमा रहेका सुरेन्द्रले विगत सम्झिए, ‘त्यसबीचमा पनि हामीले संगीतलाई निरन्तरता दिन चाह्यौं । तर, हाम्रो पारिवारिक जिन्दगीले पनि संगीतमा दूरी बढाइदियो । विदेशको लामो बसाइँले ब्यान्डबीच फाटो ल्याइदियो ।’ उनका अनुसार ब्यान्ड सदस्य विदेशिएपछि पनि कर्माले विदेशमा प्रस्तुति दिइरहन्थ्यो तर नेपाली दर्शकबीच भने उनीहरू गुञ्जन सकेनन् । त्यसैले लामो समय नेपाली दर्शक/श्रोताबीच ब्यान्ड गुमनामझैं भयो । तर, उनीहरूका सदाबहार गीतले भने श्रोतालाई ब्यान्डको सम्झना गराइरहन्थ्यो । यसबीच दर्शक/श्रोताले कर्माको कन्सर्ट माग गरिरहेपछि त्यही मागलाई पूरा गर्न ब्यान्डले सन् २०१९ मा एकैचोटि २ पटक नेपाल यात्रा गर्‍यो ।

खासमा फिल्म ‘फस्ट लभ’को ‘को हौ तिमी ?’ बोलको गीत अत्यधिक चर्चामा रहँदा सन् २०११ मा कर्माको टोली सांगीतिक यात्राका लागि अमेरिका पुगेको थियो । त्यतिबेला संगीतलाई परिवारले करिअरका रूपमा हेर्दैनथे । त्यो यात्रापछि अनिल शाक्य, प्रशान्त महर्जन र वासुदेव श्रेष्ठ नेपाल फर्के । भोकलिस्ट सुरेन्द्र र प्रमोद डंगोल भने अमेरिकामै बसे । अमेरिका रहँदा पनि ब्यान्डले ‘नयाँ सपना’ शीर्षकको एल्बम निकाल्यो । त्यसपछि नै हो, टिमका अन्य सदस्य विदेशिन थालेको । अमेरिकाको व्यस्त जीन्दगीबीच सुरेन्द्रको जीवनबाट पनि संगीत टाढियो, ‘नयाँ सपना’मा उल्लेख भएझैं– ‘नयाँ सपना, नयाँ सहर । मनमा लिएर केही रहर । घरबाट आएँ म टाढा, धेरै टाढा... ।’ त्यसपछि कर्मा एक दशक गायबजस्तै भयो । ब्यान्ड निष्क्रिय बन्नुका पछाडि आफैं कारक रहेको सुरेन्द्रमान स्वीकार्छन् । ‘हाम्रो ब्यान्ड सेलाउनुको खास कारक मै हुँ । एक समय परिवारतिरै व्यस्त भएँ । ब्यान्डलाई समय दिन पाइनँ, विदेशमा शून्यबाट सुरु गर्नुपर्दाको क्षण अलि जटिल नै थियो,’ अमेरिका बसाइको सुरुवाती दिन सम्झँदै उनी भन्छन्, ‘त्यसैले प्रोडक्सन हाउस चलाएँ ।

नेपालको उत्पादन बेचें ।’ अमेरिकालाई अँगाल्न खोज्दाको सुरेन्द्रको जटिल परिस्थिति ब्यान्डको अन्तिम एल्बम ‘नयाँ सपना’को भिडियोमा पनि प्रतिबिम्बित भएझैं देखिन्छ ।

कर्मा रहरैरहरमा जन्मिएको ब्यान्ड हो । सुरेन्द्रका बुवा सरकारी जागिरे थिए । बुवाकै कारण सुरेन्द्र कहिले कीर्तिपुर त कहिले वीरगन्ज आउजाउ गरिरहन्थे । वीरगन्ज हुँदै सुरेन्द्रले प्रशान्तसँग मिलेर ‘न्यारो बिट्स्’ नामको ब्यान्ड खोलेका थिए । अल्लारे उमेरमै संगीत गरौं भन्ने लागेपछि यी दुई जोस्सिएको बताए । प्रशान्त ड्रम बजाउँथे । कीर्तिपुर फर्केपछि सानेपाका अर्का दुई साथी पनि ब्यान्डमा जोडिए । सुरुदेखि नै भोकलिस्ट थिए, सुरेन्द्र । प्रशान्त सुरेन्द्रको आफन्त पर्ने, उनी संगीत पनि सिक्थे । सुरेन्द्रलाई पनि संगीततिर झुकाव थियो । सबैको पहिलो रोजाइ संगीत बनेपछि सिद्धार्थ वनस्थली पढ्दै गर्दा यी चार जनाले ब्यान्ड खोले । ब्यान्ड त खोले तर पहिलो एल्बममा काम गर्दासम्म पनि उनीहरूले ब्यान्डको नाम राखिसकेका थिएनन् ।

पहिलो एल्बमका लागि महिनौं स्टुडियोमा बिताउनुपर्‍यो । रातको ३ बजेसम्म पनि आफूहरूले काम गर्ने गरेको उनीहरू बताउँछन् । युवा जोस, संगीतको मातले निदाउन पनि दिन्थेन । निन्द्रामा झोक्राएरै काम गरेका दिनहरू सम्झँदा आज पनि सुरेन्द्रलाई मज्जा लाग्छ । त्यहीं झोक्राएर काम गरिरहँदा नै अचानक समूहलाई लाग्यो, कर्मचाहिँ धेरै गरेका छौं, यो एल्बममा । ‘कर्म’ शब्दले सुरेन्द्रको मन छोयो । ब्यान्डको नाम त्यही कर्म राख्ने तय भयो । त्यही नामलाई बिस्तारै सञ्चारमाध्यमले कर्मबाट ‘कर्मा’ लेखिदिए । अनि, कर्मबाट ब्यान्डको नाम ‘कर्मा’ बनेको सुरेन्द्रले बताए । ‘त्यसबेला कुनै सपना थिएन । यहाँसम्म यसरी आइपुग्छौं भन्ने सोचिएन,’ उनले भने, ‘म्युजिक त्यतिबेला फेसनजस्तै थियो ।’

सन् १९९९ मा ब्यान्डको पहिलो एल्बम आयो, ‘सहर तिम्रो’ । यो एल्बम सुपरफ्लप भयो । त्यो एल्बम पश्चिमा संगीतबाट निकै प्रभावित थियो । त्यसैले पनि श्रोतामाझ नरुचाइएको भन्ने बुझ्न ब्यान्डलाई समय लागेन । त्यसपछि समूहले नेपाली संगीतको स्वाद खोज्न थाल्यो । ‘त्यतिबेला नेपाली म्युजिक के हो भन्ने थाहा पनि थिएन । पहिलो एल्बम फ्लप भएपछि आँखा खुल्यो । पकेट खर्च जोगाएर रेकर्ड गरेको एल्बमले सोचेजस्तो नतिजा नल्याए पनि संगीतको जोस भने हराएन,’ सुरेन्द्र फ्ल्यासब्याकमा पुगे, ‘घर/परिवारबाट भने धेरै भनाइ सुन्नुपर्‍यो । देख्यौ होइन ? यही रहर थियो होइन ? भन्थे । त्यही भनाइमा आफैंलाई प्रमाणित गर्छु भन्ने जाँगर थपियो । नेपाली संगीत गर्नुपर्छ भन्ने लागेरै पुरानो डायरी पल्ट्याएँ ।’


वीरगन्ज हुँदा एक जना मित्रले सुरेन्द्रलाई दुई गीत लेखेर दिएका थिए, जसलाई उनले डायरीमा टिपेका रहेछन् । तपाईंको गाउँमा कस्ता गीत गाइन्छ भनेर सोध्दा ती व्यक्तिले उक्त गीत टिपाएको सुरेन्द्रले बताए । सुरेन्द्रले त्यही गीतलाई कम्पोज गरे । गीतमाथि भिडियो बन्यो । बिस्तारै एफएममा गीतको डिमान्ड बढ्यो । संगीत कम्पनीले उनीहरूलाई खोजी गर्‍यो । त्यसपछि कर्मालाई लाग्यो, ‘ओहो हुक्का मेरो डल्ले डल्ले’ले बजार ततायो । ‘हुक्का मेरो...’ कर्मा ब्यान्डको व्यापक चलेको गीत हो । त्यतिबेला इमेज च्यानलले संगीतलाई निकै महत्त्व दिएर प्रसारण गर्थ्यो । त्यतिबेला त्यो गीत लामो समयसम्म इमेजमा बजेको थियो । ‘दर्शकले मन पराउने किसिमकै संगीत उनीहरूले बनाएका थिए,’ पूर्वसञ्चारकर्मी एवं भिडियो निर्देशक दाहालले सुनाए ।

‘हुक्का मेरो...’ले कर्मा ब्यान्ड चिन्यो तर त्यतिन्जेल पनि सुरेन्द्रभित्रको खुबी सरकारी जागिरे बुवाले अझै चिनिसकेका थिएनन् । ‘हुक्का मेरो...’ चलेपछि सुरेन्द्रलाई संगीतमा आफूलाई प्रमाणित गरें भन्ने अनुभव भएको थियो । त्यसअघि संगीत गर्न सुरेन्द्रले परिवारको साथ पाएका थिएनन् । बुवा छोरा ‘गाइने’ हुन थाल्यो भन्दै चिन्ता व्यक्त गर्थे । त्यसैले सुरेन्द्रले ‘हुक्का मेरो...’ गीत गर्दा इम्पोर्ट/एक्सपोर्टको व्यापार थाले । ‘हुक्का मेरो...’ र ‘कहाँ होला घरबार...’ पछि कर्मा निरन्तर संगीतमा लाग्यो । बिस्तारै कर्माको ‘यानीमाया’लगायत ‘सुपारी दाना’ गीत चल्यो । बीचमा माओवादी द्वन्द्व चल्यो । त्यहीबीच नै हो सुरेन्द्र अमेरिका गएको ।

त्यतिबेला सुरिलो स्वरलाई मात्र गीत–संगीत भनेर महत्त्व दिइन्थ्यो । सुरेन्द्रको स्वर त्यो समूहमा पर्दैनथ्यो । सुरुवातमा उनको जस्तो स्वरलाई पचाउनै गाह्रो थियो । ‘सुरेन्द्रको आवाजमा फरक किसिमको टेक्चर छ । चल्दै आएको स्वरबीच उनी फरक निस्किए,’ सञ्चारकर्मी दाहाल उनको स्वरको तारिफ गर्छन् । बेग्लै स्वर लिएर पनि आफूलाई प्रमाणित गरें भन्ने सुरेन्द्रलाई ‘हुक्का मेरो...’ पछि नै लागेको हो । ‘हुक्का’ एल्बमकै ‘मौनता’ गीतले त्यस्तै वाहवाही कमाइदियो । संगीतको रहर पूरा भयो भन्ने लागेपछि कर्माले यो क्षेत्रबाटै टाढिन खोज्यो तर म्युजिक कम्पनीले उनीहरूलाई हौस्याउन छाडेन । त्यसपछि ‘एसएमएस’ एल्बम ल्याए । त्यो एल्बमको ‘कहाँ होला घरबार...’ गीत हिट भएपछि परिवारले पनि स्वीकार्न थाले । ‘मेरो बुवालाई तपाईं सुरेन्द्रमानको बुवा है भनेर केही मानिसले भन्न थालेपछि मात्रै मलाई स्वीकार्न थाल्नुभयो,’ सुरेन्द्रले विगत सम्झिए, ‘बुवाले त्यसपछि आमा/दाइलाई छोराले प्रमाणित गर्‍यो है भनेर गर्व गर्न थाल्नुभएको हो ।’

प्रकाशित : चैत्र १, २०८० ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?