जसको गीत बजाउन एक बोरा फर्माइस आउँथ्यो...

'म त खाँदिन कुवाको पानी', 'ढुंगे बगर माया', 'झम्के फूली नाकैमा बुलाकी', 'बारीको डिलमा ओखरबोट', 'उकालीमा पनि हजुर मटर जाँदो रैछ', 'माछी मार न हो दाइ' लगायतका दर्जन बढी गीतलाई करिव २ घण्टा एकल साँझमा तीर्थकुमारीले पस्कनेछिन् ।
रीना मोक्तान

काठमाडौँ — कहिलेकाहीँ उनी ठूलो दर्शकबीच आफूलाई गाइरहेकी पाउँथिन् । फूलले सजिएको सुन्दर मञ्च । त्यही मञ्चको एकल साँझमा एक्लै प्रस्तुति दिइरहेकी हुन्थिन् उनी । सबै दर्शक गीतमा झुम्दै गरेको यही सपनाले तारन्तार पच्छ्याएपछि गायिका तीर्थकुमारी थापाले एकदिन छोरा सुरजलाई त्यसबारे सुनाइन्, 'एकल साँझमा गाइरहेको मात्र देख्छु । एकचोटी एकल साँझ गर्न पाए नि हुन्थ्यो !' 

जसको गीत बजाउन एक बोरा फर्माइस आउँथ्यो...

आमाको इच्छालाई संगीतकारसमेत रहेका छोरा सुरज(कुमार थापा)ले नबुझ्ने कुरै भएन । अनि सुरु भयो, 'तीर्थ कुमारी स्वर्णीम साँझ'को तयारी । तीर्थ कुमारीको सपना अब विपनामा परिणत हुँदैछ, यही मंसीर ८ मा । जीवनकै पहिलो एकल साँझलाई लिएर ७० वर्षीया गायिका निकै उत्साहित छिन् ।

'पहिला जतिकै गाउन नसकिने पो हुन्छु कि भन्ने मनमा डर छ । तर, हौसला बढी छ । मेरो छोराले यो इच्छालाई पूरा गरिदियो,'नजिकै रहेको छोरालाई हेर्दै तीर्थकुमारीले भनिन् ।

यसअघि पनि टेलिभिजनका कार्यक्रममा तीर्थकुमारीले एकल प्रस्तुति दिएकी छन् । तर, ठूलो दर्शकबीचको यो एकल साँझ जीवनकै पहिलो रहेको उनी सुनाउँछिन् । 'म त खाँदिन कुवाको पानी', 'ढुंगे बगर माया', 'झम्के फूली नाकैमा बुलाकी', 'बारीको डिलमा ओखरबोट', 'उकालीमा पनि हजुर मटर जाँदो रैछ', 'माछी मार न हो दाइ' लगायतका दर्जन बढी गीतलाई करिव २ घण्टा एकल साँझमा थापाले पस्कनेछिन् ।

बुढ्यौली शरीरले मञ्चमा कतिञ्जेल साथ देला ? भन्ने पीर छ । तर, दर्शकको उपस्थितिले त्यही पीरलाई पनि उर्जामा बदलिदिनेमा उनी निर्धक्क सुनिन्छिन् ।

खासमा गायिका थापाले आफ्ना गीत चर्चामा आउँदा कहिल्यै एकल साँझबारे सोचिनन् । उनी सरकारी जागिरे । जागिरबाट समय निकालेर गीत रेकर्डिङ गर्दैमा विगत दिन बिते । त्यतिबेला गाउन पाउनु नै थापाका लागि ठूलो विषय हुन्थ्यो । गायनमा अकस्मात प्रवेश पाइन् ।

खासमा उनका हजुरबुवा भजन मण्डलका गुरु । बुवा बाँसुरी वादक । फूपूहरु गाउने गर्थे, आमा गाउँथिन् । सानैदेखि सांगेतिक माहोलमा हुर्किन्, तीर्थकुमारी । घरको रेडियोमा तारादेवी, नारायण गोपाल, वच्चु कैलाश, प्रेमध्वज प्रधान, अरुणा लामाहरु गुञ्जन्थे । उनी त्यही गीत सुन्दै गुनगुनाउँथिन् । भूमीसुधार मन्त्रालयमा जागिरे हुँदा पनि गीत गुनगुनाइरहने बानी हटेन ।कति पटक शाखामा गीत गुनगुनाउँदा हाकिमले गुनासो गर्थे, 'कामै छोडेर गाउन गए भइहाल्यो नि ।' तर संगीतप्रतिको लगाव हटेन ।

रेडियो नेपालको पहिलो रेकर्डिङको किस्सा त गजब्बकै छ । २०२८ ताका उनी तारादेवीको ठूलो प्रशंसक । तारादेवीलाई हेर्न साथीसँग रेडियो नेपाल पुगिन् । त्यतिबेलै रेडियो नेपालका गणेश परियारले उनलाई प्रश्न गरे, 'बहिनीहरु गीत गाउन आएको हो ?' उनको प्रश्नमाथि तीर्थले प्रतिप्रश्न गरिहालिन्, 'हामीले पनि गाउन पाउँछौं र ?' उनले इच्छा प्रकट गर्नासाथ हार्मोनियममा गणेशले उनको स्वर सुने । भोलिपल्टै मन्त्रालयमा फोन आयो, 'रेडियो नेपालमा तपाईंको रेकर्डिङ छ, झट्टै आउनुपर्‍यो ।'

त्यतिबेला स्वर परिक्षणका लागि चार गीत गाउनु पर्थ्यो । भजन, राष्ट्रिय, आधुनिक र लोकगीतमा स्वर परिक्षण गर्नुपर्थ्यो । आधुनिकतर्फ तीर्थकुमारीको नाम निस्कियो । त्यसपछि त विस्तारै रेडियोमा रेकर्डिङ बढ्न थाल्यो । 'नव संगीत' भन्ने कार्यक्रममा तीर्थकुमारीका गीतमा फर्माइस बढ्न थाल्यो । यसरी तीर्थ कुमारीले हजार बढी गीतहरुमा स्वर दिइन् । नेपालीसँगै नेपाल भाषाका गीत गाइन् । आधुनिकमा नाम निकाले पनि लोकगीततर्फ तीर्थले आफूलाई स्थापित गराइन् । 'त्यतिबेला आधुनिक गाउन ६ महिना कुर्नु पर्थ्यो । आधुनिक गाउने धेरै थिए । मैले विस्तारै लोकगीत गाएँ । मलाई पनि लोकगीत नै मनपर्न थाल्यो,' उनी सुनाउँछिन् ।

जागिर र संगीतलाई सँगसँगै लैजान सहज थिएन । कहिलेकाहीँ हाकिमको नमिठो वचन सुन्नुपर्थ्यो । रेकर्डिङका लागि रेडियो नेपाल पुग्दा उता अफिसको टेबलमा अर्जेन्ट काम आइपर्थ्यो । हाकिम रिसाउँदै भन्थे, 'भएन यसरी । गीत गाउनेलाई अन्त काज पठाउनुपर्‍यो ।'

उनी गीत छोड्न सक्दिनन् थिइन्, त्यसैले साथीहरुको सहयोग लिन्थिन् । कामलाई असर नपर्ने मेलो मिलाएर गाउन पुगिहाल्थिन् । त्यतिबेला भूमीसुधारको प्रशासनतर्फ कार्यरत थिइन् । त्यो समय जग्गाको काम धेरै हुन्थ्यो । अफिस र संगीतलाई सन्तुलन बनाउन संघर्ष नै गर्नुपरेको उनी सुनाउँछिन् ।

संगीतमा तीर्थले परिवारको साथ पाइन् । समाजले कुरा काट्थे, 'जागिरे भन्छ, रातबेरात घर आइपुग्छे ।' त्यतिबेला छोरी अबेर घर आइपुग्नु नै ठूलो विषय हुन्थ्यो । बिहेपछि पनि धेरैले तीर्थकी सासुलाई भन्ने गर्थे, 'तपाईंको बुहारी कति अबेर घर आइपुग्दिरहेछ । ' तर, घर परिवारको सहयोगले नै यस्तो भनाइहरु छिचोल्दै अघि बढ्ने साहस मिलेको उनी सुनाउँछिन् ।

'गीत गाउन पाउँदा फुरुङ्गै हुन्थें । धेरै ठूलो काम गर्न पाए भन्ने हुन्थ्यो,' उनी ती दिन सम्झिँदै भन्छिन्, 'अबेर घर पुग्दा कहिल्यै श्रीमान रिसाउनु हुन्नथ्यो । उहाँ बच्चालाई काखी च्यापेर पर्खिरहनु भएको हुन्थ्यो ।' हाकिमको नमिठो वचन सुन्दा त उनी गीत नगाउने सोचले केही दिन चुप बस्थिन् । त्यसपछि फेरि छटपटी सुरु भइहाल्थ्यो । हाकिमलाई बिन्ती गरेरै पनि रेकर्डिङमा पुग्थिन् ।

हुलाकसेवाको एउटै शाखामा थिए, कमेडियन गोपालराज मैनाली र तीर्थकुमारी । गोपालराज जहिल्यै टेबल ठटाएर बस्थे । तीर्थकुमारी काम गरिरहँदा पनि गीत गुनगुनाइरहन्थिन् । उनी दुईबाट वाक्क हाकिम कहिलेकाहीँ भन्थे, 'होइन मेरै शाखामा किन टेबल ठटाउनेदेखि गीत गाउने आइपुग्छन् ।' हाकिमको यस्तो प्रतिक्रियापछि एकाउन्टबाट प्रशासन विभागतिर सरिन् । भूमी सुधारमा अस्थायी हुँदै लोकसेवामा नाम निकालेर तीर्थकुमारीले हुलाकसेवामा ना.सु भइन् । हुलाकपछि तीर्थकुमारीले संचार मन्त्रालय रोजिन् । हुन त अर्थ रोजेर भन्सारतर्फ कमाउन बाटो रोज्न सक्थिन् । तर, गीत गाउने चाहनाले नै संचार मन्त्रालय रोजेको तीर्थकुमारी सुनाउँछिन् । त्यसपछि उनी रेडियो नेपालमा अधिकृत भएर १५ वर्ष बिताइन् । २०६६ मा अवकास पाएकी तीर्थले त्यही रेडियो नेपालमा कति गीत रेकर्डिङ गरिन् ती सम्झना विस्तारै मानसपटलबाट हराउँदै गएको छ ।

तर, रेडियो नेपालले बोलाएको भोलिपल्टै गाएको पहिलो गीतको सम्झना ताजै छ, 'कहिलेमा हुने होला नानी' । त्यसपछि 'कति साह्रै जमेको पिरती, बीच्चमै छुट्यायो' गाइन् । त्यतिबेला उर्मिला भन्ने एकजना दिदीले पटूकाभरी गीत बोकेर रेडियो नेपाल आइपुगेकी थिइन् । ती गीत कसलाई गाउन दिने त ? छलफल भइरहेको थियो । उनी अर्कै गीत गाउन पुगेकी थिइन् । ती गीतमा महिलाको स्वर चाहिने भएपछि तीर्थले गाउन पाइन्, 'खाजा र खाने पातला पूरी, आलुको तरकारी' । त्यतिबेलाको फुटबल खेलमा यो गीत निकै घन्कन्थ्यो । विस्तारै तीर्थकुमारीलाई गीतले व्यस्त बनायो । त्यसपछि गाइन्, 'ढुंगे बगर माया' ।

त्यतिबेला रेडियो नेपालमा शुक्रबार रेकर्डिङ हुन्थ्यो । एकदिन उनी एक घण्टा ढिला पुगिन्, गीत पाउन नपाइने देखेपछि फर्कँदै थिइन् । त्यहीबेला नातिकाजीले सोधे,'यहाँ ड्वेट गीत छ एउटा । त्यो गाउनु पर्‍यो ।' त्यसपछि लालबहादुर खातीसँग मिलेर स्वर दिएको त्यही 'ढुंगे बगर माया' चर्चामा आयो । रेडियोमा फर्माइस बढ्यो ।

'त्यतिबेला तीर्थकुमारीको गीतमा एक बोरा फर्माइस आउँछ भन्थ्यो, रेडियो नेपालमा,' उनले सम्झिन् ।

लोकगीतमा चर्चा बढेपछि मिलिट्री गणको वार्षिक उत्सवमा तीर्थकुमारीले गाउनुपर्ने भयो । मिलिट्री गणमा गाउन सुरुमा पतिले अनुमति दिएनन् । तर, रेडियो नेपालकै दाजूहरुले पतिलाई मनाइदिएपछि गाउन पाइन् । कालीप्रसाद गणको वार्षिक उत्सवमै उनले गाएकी थिइन्, 'म त खाँदिन कुवाको पानी' । त्यहाँ गाइएका २/४ गीत तीर्थकुमारीलाई असाध्यै मन परेको थियो । तर, रेकर्डिङको प्रस्ताव राख्न पाएकी थिइनन् । कर्णेल आफैंले कार्यक्रम सकिएपछिको अर्को भेटमा भने, 'तपाईंको स्वरमा यो गीत रेडियो नेपालमा रेकर्ड गर्दा कस्तो होला ?' उनले तुरुन्तै 'हुन्छ' भनिदिइन् ।

'मलाई त्यो गीत एकदमै मन पर्‍यो । कर्णेलले अनुमति दिएपछि त्यो गीत रेडियो नेपालमा सुनाए । सुनाउने बित्तिकै यो गीत त राम्रोजस्तो लाग्यो भन्दै रेकर्ड गर्नुभयो,' उनले भनिन् । रेकर्डिङको भोलिपल्टदेखि गीतको फर्माइस बढ्यो । 'ढुंगे बगर माया'ले बजार तताउँदा तताउँदै यो गीतको फर्माइस बढ्यो । त्यतिबेलासम्म उनी हुलाकसेवामै थिइन् । गीतले तीर्थलाई पनि चर्चामा ल्याइदियो ।

एकदिन दुई व्यक्ति एउटा गीतको प्रस्ताव लिएर उनी कहाँ आइपुगे । सुरेश खड्काको संकलन रहेको 'झम्के फूली नाकैमा बुलाकी'बोलको गीत उनलाई पनि मनपर्‍यो । गीतलाई तीन पुरुष र तीन महिलाको स्वरमा रेकर्ड गरियो । 'झम्के फूली नाकैमा बुलाकी' पनि चर्चामा । त्यसपछि चर्चामा आयो,'उकालीमा पनि हजुर मोटर जाँदो रैछ' ।

भक्तपुरको कालीबक्स गणमा नृत्य/संगीत सिकाउने सुन्दर श्रेष्ठले गीतलाई संकलन गरेका थिए । त्यही गीत गाउन हिरादेवी राई र उनलाई रत्न रेकर्डिङ संस्थानमा बोलाइएको थियो । त्यतिबेलामा डिक्समा रेकर्ड भएको थियो । त्यो गीतसँगै चार गीत रेकर्ड गर्नु पर्ने भएपछि सुन्दरसँगै तीर्थले अरु गीत मागिन् । त्यो डिक्समा रहेका अरु गीत सम्झन अहिले तीर्थलाई हम्मेहम्मे पर्छ । तर, 'उकालीमा पनि हजुर..'बिर्सेकी छैनन् । अर्को चर्चित गीत 'माछी मार न'लाई भने संचारमन्त्रालय आएपछि गाएकी हुन् । २०३४ तिर यो गीत रेकर्ड भएको थियो ।

गाउनकै लागि तीर्थकुमारी कल्चर धाउन थालिन् । जागिर सकिने बित्तिकै कल्चरमा गाउन लालदरबार(अहिलेको याक एण्ड यती) पुग्थिन्, साँझको ५ बजे । ६ बजेदेखि अभ्यास हुन्थ्यो । अभ्यासपछि मञ्चमा अरुले नृत्य पस्कँदा उनी गाउँथिन् । कल्चरमै हुँदा 'माछी मार न'को प्रस्ताव आयो । नवीन ढुंगेल र सुर्य थुलुङ अनि उनीसहित हिरादेवी राई मिलेर यो गीतमा स्वर भरे । यो गीतले पनि गजब्बकै फर्माइस पायो । उनले कल्चरमा २० वर्ष गाइन् ।

कुनैबेला गाएरै पैसा कमाइन्छ भन्ने पनि हेउ थिएन तीर्थकुमारीलाई । रेडियो नेपालमा गाउँदा आफ्नो पालोमा गीत गाइदिन्थिन्, खुरुक्क अफिस फर्कन्थिन् । तर, एकदिन रेडियो नेपालकी कोइली माथेमा दिदीले भन्नुभयो, 'तिमीलाई पैसा चाहिँदैन ?' त्यसपछि रेडियो नेपालबाट ८ सयको चेक बुझिन् । आफ्नो तलबभन्दा कयौं गुणा धेरै पैसा पाउँदा उनी खुशीले दंग । त्यतिबेला एउटा गीतको २० रुपैयाँ पाइन्थ्यो । त्यसदिन साथीभाइलाई चिया खुवाइदिइन् ।

आफूले गाएका गीतहरुमा तीर्थलाई 'कति साह्रै जमेको पिरती'बोलको गीत साह्रै मनपर्छ । यो गीत त्यतिबेला यति चल्यो कि रेडियो नेपालको लाइब्रेरीबाटै हरायो । यही गीतलाई पनि तीर्थकुमारीले एकल साँझमा पस्कँने योजनामा छिन् ।

तस्बिर : अंगद ढकाल

प्रकाशित : मंसिर ६, २०८० १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?