‘पठान’ ले बोलायो ‘बलिउडको सातो’- मनोरञ्जन - कान्तिपुर समाचार

‘पठान’ ले बोलायो ‘बलिउडको सातो’

एजेन्सी

मुम्बई — शाहरूख खान, दीपिका पादुकोण अभिनीत चलचित्र ‘पठान’ ले ३ दिनमा विश्वभरबाट ३ सय करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको छ ।

योसँगै फिल्मले सबैभन्दा छोटो समयमा ३ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ ।

यशराज फिल्म्सका अनुसार हिन्दी भर्सनले रिलिजको तेस्रो दिन ३८ करोड भारतीय रुपैयाँ कमाएको हो । अन्य भाषाबाट १ करोड २५ लाख कमाइ भएको यशराज फिल्म्सले जनाएको छ ।

जनवरी २५ मा ‘पठान’ हिन्दीका साथै तमिल र तेलुगु भाषामा रिलिज भएको थियो । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार ‘पठान’ ले विश्वभरबाट पहिलो दिन १ सय ६ करोड र दोस्रो दिन १ सय १३ करोड रुपैयाँ व्यापार गरेको छ । तीन दिनमा चलचित्रले घरेलु बजारमा २ सय १ करोड र भारतबाहिर १ सय १२ करोड कलेक्सन गरेको छ । अहिलेसम्म चलचित्रले ३ सय १३ करोड भारतीय रुपैयाँ कमाएको बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् ।

इन्डियन एक्सप्रेसका अनुसार विश्वका एक सयभन्दा बढी देशका करिब ८ हजार स्क्रिनमा ‘पठान’ प्रदर्शन भइरहेको छ । पठानले विभिन्न रेकर्डसमेत तोडेको छ । ‘पठान’ एक दिनमा ७० करोड कमाउने पहिलो हिन्दी चलचित्र बनेको छ । यशराज ब्यानरमा बनेको फिल्ममध्ये बक्स अफिस कलेक्सनमा ५० करोड नघाउने तेस्रो फिल्म हो । यसअघि ‘वार’ ले ५३ करोड र ‘ठग्स अफ हिन्दोस्तान’ ले ५२ करोड कमाएका थिए । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ‘पठान’ मा शाहरूख र दीपिका अलावा जोन अब्राहम, डिम्पल कपाडिया, आशुतोष राणालगायतका कलाकारको अभिनय छ ।

प्रकाशित : माघ १५, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्

रेबिजको त्रासले घर बाराबार

रेबिजबाट एक व्यक्ति र पशु चौपायाको मृत्यु, गुल्मी दरबार र छिमेकी छत्रदेवका १ सय ३६ जनाले लगाए रेबिजविरूद्ध भ्याक्सिन
गगनशिला खड्का

गुल्मी — गुल्मी र छिमेकी जिल्ला अर्घाखाँचीमा अहिले रेबिजको त्रास फैलिएको छ । एक महिलाको मृत्युपछि रेबिजको त्रास फैलिएको हो । त्यही त्रासले कोभिडकालमा जस्तै अहिले गाउँमा घर बाराबार हुन थालेको छ ।


रेबिज लागेको घरमा जान हुन्न भन्दै स्थानीयले घर बाराबार गर्न थालेका हुन् । सचेतना र सही सूचनाको अभावमा गाउँगाउँमा रेबिजको त्रास फैलिएको छ ।

रेबिज लागेर गुल्मी दरबार गाउँपालिकामा एक महिलाको मृत्यु भएको हो । रेबिजविरुद्धको खोप नलगाएकी गुल्मी दरबार गाउँपालिका–६ की ४३ वर्षीया एक महिलालाई पुस ९ मा रेबिजको लक्षण देखिएको थियो । ढिलामात्र टेकु अस्पताल पुगेकी उनको उपचार सम्भव नभएपछि पुस १२ मा मृत्यु भयो । गाउँमा अहिले पनि रेबिजको त्रास उस्तै छ ।

हाल, गुल्मी दरबारसँगै सिमाना जोडिएको अर्घाखाँचीको छत्रदेवमा कुकुरले पशु चौपाया र मानिसलाई टोकेर त्रास फैलिएको छ । मंसिर ११ देखि पुस १५ सम्म गुल्मीदरबार र छिमेकी अर्घाखाँचीको छत्रदेवका १ सय ३६ जनाले रेबिजविरुद्धको भ्याक्सिन लगाएका छन् ।

छत्रकोट–५ का अर्जुन कँडेलका अनुसार यही बीचमा गुल्मी दरबार–४ मा ढाड लतार्दै हिँडेको कुकुर आफैं मर्‍यो । स्थानीयले उक्त कुकुरलाई गाडे । छत्रकोटमा पनि कुकुर मरेको हल्ला चल्यो । रेबिजबाट महिलाको मृत्युमा गुल्मी दरबार गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक मुकेश थापाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल पनि बन्यो । न उक्त कार्यदलको प्रतिवेदन आयो, न पालिकाले जनचेतनाका कार्यक्रम नै गर्‍यो । छानबिनका लागि गठित कार्यदलले गाउँपालिकालाई प्रतिवेदन बुझाएको छ । तर अध्ययनकै चरणमा रहेको गुल्मी दरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

फेरि पुसको तेस्रो साता गुल्मी दरबार–५ का अर्जुन कँडेलको भैंसी कुकुरजस्तै कराउने, आँखा राता हुने, मान्छे देख्दा उठिहाल्ने लक्षण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा फोन गरे । पशु चिकित्सक पुगेर उपचार गरे । तर, कुन रोग लागेको पुष्टि नहुँदै पुस २६ मा भैंसी मर्‍यो ।

त्यति नै बेला उनका भतिज बाबुराम कँडेलको भैंसीलाई पनि उस्तै लक्षण देखियो । अर्जुनले पशु चिकित्सक बोलाए । त्यो भैंसी पनि मर्‍यो । भेटेरिनरी अस्पतालको टोलीले रोग परीक्षणका लागि पोखरा पठायो । भैंसी रेबिजका कारण मरेको पुष्टि भयो । उता छत्रकोट गाउँपालिका–५, खर्ज्याङका डालप्रसाद पन्थीको एक साताको अन्तरमा २ वटा भैंसी मरे । शुक्रबार भेटेरिनरी अस्पतालको टोलीले परीक्षण गर्दा रेबिज पुष्टि भयो । ‘एउटा भैंसी पहिल्यै मरेर गाड्नुभएको रहेछ, अर्को पनि मरेपछि गोठमै पुगेर परीक्षण गर्दा रेबिज देखियो,’ पशु चिकित्सक डा. मदन भण्डारीले भने । यही अवधिमै छत्रकोटका काशीनाथ ढकालको गाई पनि मर्‍यो ।

एक व्यक्ति र कतिपय पशु चौपायालाई रेबिज पुष्टि भएर धमाधम मृत्यु हुँदा पनि स्थानीय सरकार बेखबर जस्तै छन् । ‘३ लाखमा किनेका २ वटा भैंसी मरे, पीडामाथि छिमेकीहरूले घर बारेका छन्,’ छत्रकोट–५ का सिद्धिविनायक कृषि तथा पशुपक्षी फर्मका डालप्रसाद पन्थीको गुनासो छ, ‘रेबिज लागेको भैंसीबाट हामीलाई सर्छ कि सर्दैन ? सर्दैन भने छिमेकलाई नडराउनूस् भन्न हाम्रो सरकार किन आउँदैन ?’

रेबिज लागेर पशु चौपायाको मृत्यु भएका घर बराबार भइरहेकाले रेबिजको त्रास फैलिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले स्वीकार गरे । त्यसविरुद्ध स्थानीय तहले सचेतनाका कार्यक्रम गरिरहेको उनले बताए ।

प्रकाशित : माघ १५, २०७९ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×