२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

विश्वभरिका पर्यटक लोभ्याउन स्पेनमा नेपाली सांस्कृतिक कार्यक्रम

ददी सापकोटा

बार्सिलोना — विश्वका विभिन्न देशबाट आउने विदेशीहरूलाई नेपालप्रति आकर्षण बढाउन स्पेनको बार्सिलोना सहरस्थित मुख्य पर्यटकीय केन्द्रमा नेपालीहरूले विविध सांस्कृतिक कार्यक्रम गरेका छन् ।

विश्वभरिका पर्यटक लोभ्याउन स्पेनमा नेपाली सांस्कृतिक कार्यक्रम

युरोपकै प्रमुख पर्यटकीय आकर्षणमध्येको एक बार्सिलोना सहरस्थित साग्रा दा फामिलियालको अगाडि नेपालीहरूले आइतबार नेपालका विभिन्न जातजातिका वेशभूषा र संस्कृति झल्काउने कार्यक्रम गरेका हुन् ।

स्पेनको जनप्रगतिशिल मञ्चले पाँच वर्षदेखि बार्सिलोना नगरपालिकासित मिलेर गर्दै आएको यो कार्यक्रममा नेपालका मगर, तामाङ, गुरुङ, शेर्पालगायत विभिन्न जनजातिको पहिरनमा विविध सांस्कृतिक झाँकीहरु देखाएका थिए ।

मेलामा नेपालका पर्यटकीय आकर्षणका पोस्टर, बुकलेट र ‘नेपाल भ्रमण गरौं’ भन्ने टिसर्टसमेत वितरण गर्नुका साथै मोमो, सेल, अचारलगायत नेपाली परिकारको स्टलसमेत राखिएको थियो ।

साग्रा दा फामिलियालको अगाडि मूल सडक थुनेर आयोजना गरिएको कार्यक्रम हेर्न हजारौं पर्यटकको भीड लागेको थियो । विश्वका विभिन्न सहरबाट भ्रमणका लागि आएका करिब २० हजार पर्यटक र स्पेनीले यो कार्यक्रम अवलोकन गरेको नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुंगानाले कान्तिपुरलाई बताए ।

दक्षिण अमेरिकी मुलुक चिलीको सान्डियागोबाट युरोप भ्रमणमा चार जना साथीसहित आएकी ओरोरा फेनादले आफू नेपाली सांस्कृतिक नृत्यबाट ज्यादै आकर्षित भएको र नेपाल घुम्ने रहर पलाएको बताइन् ।

मञ्चका अध्यक्ष ढुंगानाले कोरोना संक्रमणकालका कारण दुई वर्ष रोकिएको यो कार्यक्रमले हरेक वर्ष दर्जनौं देशका हजारौं पर्यटकलाई नेपालप्रति आकर्षित गर्न सहयोग पुर्‍याएको बताए ।

प्रकाशित : वैशाख ५, २०८० ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?