कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

नक्सापासबिनै फाँटभर सयौं घर

नक्सापास गरेका १८ र प्रक्रियामा रहेका ३५ घर मात्रै, धमाधम घर बनिरहे पनि गलकोट नगरपालिकाले नियमन गर्न सकेन 
प्रकाश बराल

बागलुङ — दशकअघिसम्म चरौंदीको फाँटमा लहलह धान झुल्थ्यो । हटियादेखि हरिचौर जाने सडक र राजाको पुल छेउमा छिटफुट पुराना मोडलका घरगोठ र एक/दुई पक्की घर बनेका थिए । ०७१ सालमा गलकोट नगरपालिका स्थापनापछि चरौंदी फाँटको पक्की घर भाडामा लिएर नगरपालिका कार्यालय राखियो । हरिचौर र हटियाको पायक पर्ने बनाउन वडा नम्बर ६ को चरौंदीमा नगरपालिका कार्यालय राख्दा यहाँको फाँट जोगाउन हम्मेहम्मे परेको छ ।

नक्सापासबिनै फाँटभर सयौं घर

नगरपालिकाको कार्यालय फाँटमा सार्दा कामविशेषले दैनिक सयौं मानिस यहाँ आउने, जाने चहलपहल बढ्यो । नगरकै छेउमा चिया पसल, स्टेसनरी, होटल हुँदै दस वर्षमा दर्जनौं पसल र व्यवसायसमेत यहाँ थपिए । व्यवसायसँगै चरौंदी फाँट सडकले चिरा पारियो । सिंगो फाँट घडेरीमा परिणत भयो । अहिले यहाँ हातले नापेर घडेरी बिक्री हुन्छ । बिक्री मात्र होइन, अहिले चरौंदीको फाँट घरैघरले भरिइसकेको छ । मध्यपहाडी लोकमार्गको छेवैमा परेकोले वडा ३ को हटिया बजार र वडा ५ को हरिचौरमा पनि घरैघर छन् । वडा ७ को मल्म, ९ को बाँसखोला पनि बजार जस्तै भएका छन् । वडा १ को दुदिलाभाटी, वडा २ नरेठाँटी, वडा ४ को ढलेपीपल जस्ता स्थान अहिले बजारै बनेका छन् । यति धेरै घर बनेको गलकोटमा नक्सापास गरेर बनेको तथ्यांकमा देखिँदैन ।

धमाधम घर बनिरहे पनि गलकोट नगरपालिकाले नियमन गर्न सकेको छैन । ५ वर्षयता नगरपालिकालाई जानकारी पनि नदिई सयौं घर बने । दुई वर्षदेखि नगरपालिकाले नियमनको काम थालेको छ । तर त्यो प्रभावकारी छैन । सबैलाई नियममा ल्याउने प्रयास थालिएको नगरपालिका घर नक्सा शाखाका इन्जिनियर प्रकाश खड्काको दाबी छ । उनैले दिएको तथ्यांकमा अहिलेसम्म १८ वटा घरले मात्रै घर सम्पन्नको प्रमाणपत्र लिएका छन् । नक्सापासतर्फ प्रक्रियामा आएका ३५ घर छन् । नगरपालिकाले अहिलेसम्म २ सय २३ घरको मात्रै अभिलेखीकरण गरेको खड्काले जनाए ।

सम्पन्नताको प्रमाणपत्र लिएका पनि वडा १ मा २ वटा घरमात्रै छन् । वडा २ मा एउटा घरले पनि सम्पन्नता लिएको छैन । त्यही वडामा नगरसभा हलसमेत बनेको छ । यो तथ्यांकले नगरसभा र वडा कार्यालयसमेत सम्पन्नतामा नरहेको देखाउँछ । वडा ३ को हटिया बजारमा ५ घरले मात्रै सम्पन्नता लिएका छन् । यो बजारमा १ हजारभन्दा बढी घर छन् । वडा ४, ५ र ६ मा तीन/तीन घरले सम्पन्नता लिएका छन् भने वडा ७ मा २ वटा घरले सम्पन्नता लिएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ । वडा ८, ९, १० र ११ मा एउटा घरले पनि सम्पन्नता लिएको देखिँदैन ।

प्रक्रियामा रहेकामध्ये पनि चरौंदी फाँट रहेको वडा ६ मा ८ घर तथा पुरानो सदरमुकाम रहेको हरिचौर बजारमा १० घर मात्रै छन् । अन्य वडामा २ देखि ५ वटा घरले मात्रै नक्सापासको प्रक्रिया थालेको देखिन्छ । नगरपालिकाले घर निर्माणमा कडाइ गर्न नसक्दा जथाभाबी बनेका घरले भवन निर्माण संहिता पनि पालना गरेका छैनन् । ‘यो बेथितिले नगरपालिकालाई कर त उठेन उठेन, आफ्ना घर पनि जोखिमयुक्त बनाइरहेका छन्,’ नगरपालिकाका इन्जिनियर बलविक्रम दाहालले भने, ‘सडक मापदण्ड पनि मिचिएका छन्, यो नियमन कडाइका साथ गर्नुपर्ने अवस्था छ ।’

नगरपालिकाले कडाइ नगर्दा बिस्तारै फाँटहरू कंक्रिटको सहर बनेको, आकर्षक गलकोट कुरूप बन्न थालेको गलकोट–५ का मञ्जेष बम मल्लले जनाए । ‘शून्यबाट उठेको नगरपालिकाले योजना बनाएर लागू गरेको भए नमुना बन्थ्यो,’ मल्लले भने, ‘जथाभाबी छाडिदिँदा भविष्य अन्योल र जोखिमको बनेको छ ।’ मुख्य फाँटहरूमा आधुनिक खेतीपातीमा जोड दिने, पुराना बस्ती भएका स्थानमै घर राख्ने योजना बनाउन नसक्दा यो समस्या आएको उनले बताए ।

गलकोट–५ हरिचौरस्थित ‘गलकोट दरबार’ आउँदा हटिया, मल्म र काँडेबासका बासिन्दाले हरिचौर र चरौंदीमा खेती झुलेको देखिन छाडेको जनाए । ‘फाँटैभरि धान झुल्थ्यो, अहिले घर र कंक्रिटको सहर बनेको छ,’ स्थानीय टंकबहादुर केसीले भने, ‘नगरपालिकाले सुरुवातमै कडाइ गरेको भए केही नियमन हुन्थ्यो, अब कसैले टेर्दैनन् ।’ ५० वर्षअघिको अन्नभण्डार अब दस वर्षमा घरैघरले भरिने पूर्वशिक्षकसमेत रहेका केसीले टिप्पणी गरे ।

हालको गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकाको वडा ४ र ५ लाई गलकोट क्षेत्र भनेर चिनिन्छ । यो पुरानो चौबीसे राज्यसमेत हो । ०४६ सालसम्म पनि गलकोटभित्रका बासिन्दाले बेसाहा खानै नपरेको तर अहिले सबै सामान आयातको भर पर्ने स्थिति बनेको इतिहासका प्राध्यापक कृष्णराज गौतम बताउँछन् । ‘आजकल त चरौंदी फाँट, लमही फाँट र आँगखेतमा लहलह झुल्ने धान, गहुँ, तोरी र मकै देख्न पाइँदैन,’ गौतमले भने, ‘अग्ला र पक्की घरले खेतीयोग्य जमिन मिचिइसकियो ।’ घर नबनेका स्थानमा पनि खेती गर्न छाडेर बाँझिएको उनले जनाए ।

खेती नहुने स्थानमा बस्ती बसाल्ने पुरानो मान्यता थियो । त्यो पद्धतिले बस्ती बसालेकाले गलकोट राज्य आत्मनिर्भर रहेको प्रा.दीनबहादुर थापाको भनाइ छ । गलकोटको राजनीतिक इतिहासमा विद्यावारिधि गर्ने प्राध्यापक हुन् थापा । गलकोटको तत्कालीन जमिन, उत्पादन र जनसंख्याको अनुपातलाई केलाएर आधा बढी बिक्री गरेको तथ्यांकबाट आत्मनिर्भर र कृषि फसल निकासी गर्न सफल राज्य भएको उनले तर्क गरे । ‘गलकोटमा नुन र केही फेन्सी कपडाबाहेक केही आयात हुन्थेन,’ थापा भन्छन्, ‘चौबीसे राज्य रहँदा गलकोटको खेतीयोग्य जमिनलाई उत्पादन बढाउनमा प्रयोग गरिएको इतिहास छ ।’ राजाले पनि खेती नहुने पाखोमा दरबार बनाएर बसेकाले उत्पादनमा उनीहरू सचेत थिए भन्ने प्रस्ट भएको थापाको भनाइ छ ।

सदरमुकाम रहँदासम्म गलकोटलाई अन्नभण्डारका रूपमा चिनिन्थ्यो । ग्राम विकासका रूपमा रहेको गलकोटबाट ०१८ सालमा बागलुङ बजारमा प्रशासनिक केन्द्र सरेको थियो । पर्वते राजा नारायण मल्लका जेठा छोरा जितारी मल्लले १६३१ सालदेखि गरेको राज्य गलकोट हो । जगतप्रताप मल्लको शासन १८४४ सालसम्म गलकोट स्वायत्त थियो । २ सय १३ वर्षमा १० पुस्ता राजा हुँदा आफ्ने उत्पादनले राज्य धानेको इतिहास रहेको थापाले बताए । ०१७ सालमा अन्तिम राजा भरत बम मल्ल संसद् सदस्य भएपछि राजा रजौटा हटाउने प्रस्ताव पेस गरेका थिए ।

पूर्वमा काठेखोला, पश्चिममा पाण्डवखानी उत्तरमा म्याग्दीको रुम र दक्षिणमा गुल्मीको मुसीकोटसम्म फैलिएको गलकोट राज्य रहेको थापाको शोधमा उल्लेख छ । राज्य खोसिएपछि जगतप्रताप बम मल्लले दरबार श्रद्धाखेतमा सारेका थिए । अन्तिम राजा भरत बमले १०७८ मा थालेर १९९० सालमा हालको हरिचौर बजारमा दरबार बनाएको इतिहास छ । यो क्षेत्रमा ९ हजार ४ सय ३ वर्गहेक्टर खेतीयोग्य भूमि रहेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । त्योबाहेक गलकोटेले पहाडी बस्तीमा पनि खेती गर्थे ।

आर्थिक समृद्धिमा लैजाने गलकोटे योजनामा जग्गा खण्डीकरण र कंक्रिटको बजार बन्ने होड बाधक बनिरहेको हो । यति बेला नगरपालिकाले जग्गा वर्गीकरण गरिसकेको छैन । तर पनि धमाधम घर बनेका छन् । नगरपालिकाको आफ्नै प्रशासकीय भवनसमेत चरौंदीको खेतीयोग्य फाँटमा बन्दै छ । बसाइँसराइ र जथाभाबी घर बनाउने क्रम रोक्न नसकिएको गलकोट नगर प्रमुख भरत शर्मा गैरेले स्विकारे । ‘जो नगरपालिकाको प्रक्रियामा आयो, उनीहरूलाई मात्रै हामीले साथ दिन सक्यौं, नआएकाहरूकै बेथिति छ,’ गैरेले भने, ‘कारबाहीस्वरूप जरिवाना गर्न त सकिएला । तर खेतीयोग्य फाँटहरू जोगाउन नसकिने भयो ।’ नगरपालिकाले कर संकलनका लागि भने केही कठोर नीति ल्याउन सक्ने उनले जनाए ।

प्रकाशित : वैशाख १०, २०८१ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?