कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

गण्डकीका कृषकलाई प्रमुख बालीको बढी मूल्य

राजु चौधरी

काठमाडौँ — प्रमुख बालीहरू वर्षे धान, मकै, गहुँ र कोदोमा गण्डकी प्रदेशका कृषकले बढी मूल्य पाउने गरेको राष्ट्रिय तथ्यांक कार्यालयले प्रतिवेदनले देखाएको छ । कार्यालयले आइतबार सार्वजनिक गरेको कृषि गणनाअन्तर्गत सामुदायिक प्रतिवेदनका अनुसार नेपालमा वर्षे धानको प्रतिक्विन्टल औसत मूल्य ३ हजार १ सय ११ रुपैयाँ छ । 

गण्डकीका कृषकलाई प्रमुख बालीको बढी मूल्य

प्रदेशगत तुलना गर्दा सबैभन्दा बढी गण्डकीमा प्रतिक्विन्टल ३ हजार ८ सय ६५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । ‘दोस्रो नम्बरमा वाग्मतीका कृषकले प्रतिक्विन्टल ३ हजार ५ सय ५ रुपैयाँ, तेस्रोमा कर्णाली ३ हजार ३ सय १८ रुपैयाँ, कोशीका कृषकले प्रतिक्विन्टल ३ हजार २ सय ९१ रुपैयाँ पाएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘कोशीपछि लुम्बिनीका कृषकले प्रतिक्विन्टल २ हजार ८ सय ९५, सुदूरपश्चिमका कृषकले २ हजार ८ सय ११ रुपैयाँ पाएका छन् ।’

सबैभन्दा कम मधेश प्रदेशका कृषकले प्रतिक्विन्टल २५ सय रुपैयाँ पाएका छन् । मूल्यमा गण्डकी प्रदेश अग्र स्थानमा रहे पनि उत्पादकत्वमा भने मधेश प्रदेश अगाडि छ । ‘वर्षे धानको राष्ट्रियस्तरको उत्पादकत्व ३४.१ क्विन्टल प्रतिहेक्टर रहेकोमा मधेशमा धानको उत्पादकत्व ३७.३ क्विन्टल प्रतिहेक्टर छ । सबैभन्दा कम कर्णालीको उत्पादकत्व ३०.७ क्विन्टल प्रतिहेक्टर छ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनअनुसार कार्यालयले ६ वैशाख २०७९ देखि १९ जेठ २०७९ सम्म ४५ दिन ‘फिल्ड’ मा पुगेर कृषि गणना गरेको थियो । नेपालका कुल वडामध्ये ६,०३६ (करिब ९० प्रतिशत) वडाबाट विवरण संकलन गरिएको उल्लेख छ । गणनामा मुख्यतः कृषक परिवार प्रश्नावलीमार्फत कृषकले चलन गरेको जग्गाको आकार (नाप), जग्गाको उपभोग र उपयोग, बाली लागेको जग्गाको क्षेत्रफल र उत्पादन, सिँचाइको विवरण संरचनागत विवरण गरिएको उल्लेख छ । गणना क्षेत्रभित्र पर्ने वडाका अध्यक्ष, सचिवमार्फत अन्तर्वार्ता, सामुदायिक प्रश्नावली भराएर तथ्यांक पनि संकलन गरी सातौं राष्ट्रिय कृषि गणना तयार पारेको हो ।

प्रतिवेदनअनुसार मकैमा पनि गण्डकीकै कृषकले राम्रो मूल्य पाएका छन् । नेपालमा वर्षे मकैको प्रतिक्विन्टल औसत मूल्य २ हजार ३ सय ६५ रुपैयाँ हो । प्रदेशगत तुलना गर्दा मकैको सबैभन्दा बढी मूल्य गण्डकीमा २ हजार ४ सय ४३ रुपैयाँमा रहेको उल्लेख छ । सबैभन्दा कम भने सुदूरपश्चिममा प्रतिक्विन्टल २ हजार २ सय ४६ रुपैयाँ छ । मकैको उत्पादकत्वको हिसाबले मधेश प्रदेश सबैभन्दा अगाडि र पछाडि गण्डकी प्रदेश छ ।

गहुँको औसत मूल्य भने प्रतिक्विन्टल ३ हजार ८ सय ९६ रुपैयाँ उल्लेख छ । गहुँको उत्पादकत्वमा मधेश नै अगाडि छ । औसत उत्पादकत्व २७.१ क्विन्टल प्रतिहेक्टर रहेकोमा मधेशमा २८.७ क्विन्टल प्रतिहेक्टर छ । गहुँको हकमा सबैभन्दा कम उत्पादकत्व कोशी प्रदेशमा २४.७ क्विन्टल प्रतिहेक्टर छ । त्यसैगरी, कोदोमा पनि गण्डकीकै कृषकले बढी मूल्य पाएका छन् । प्रतिवेदन अनुसार कोदोको प्रतिक्विन्टल औसत मूल्य ४ हजार ३ सय ३ रुपैयाँ रहेकोमा गण्डकीमा ४ हजार ७ सय ५३ रुपैयाँ तोकिएको छ । सबैभन्दा कम मूल्य सुदूरपश्चिममा प्रतिक्विन्टल ३ हजार ४ सय २० रुपैयाँ छ । गणना अनुसार विवरण संकलन गरिएको वडामध्ये ४० प्रतिशतमा ३ वर्षदेखि कृषि कामदारको अभाव छ । सबैभन्दा बढी मधेश प्रदेशका वडामा कृषि कामदारको अभाव छ ।

नेपालको प्रमुख उत्पादित बालीमध्ये सबैभन्दा धेरै धान खेती हुने गरेको छ । प्रतिवेदन अनुसार गणना गरिएको वडामध्ये सबैभन्दा बढी ४ हजार १ सय ७३ वडामा प्रमुख खाद्यान्न बालीको रूपमा धान रहेको उल्लेख । धानपछि दोस्रो स्थानमा मकै १३६० वडामा प्रमुख बाली छ । गँहुलाई प्रमुख बालीको रुपमा खेती गरिने वडाको सख्या २ सय १९, कोदोलाई प्रमुख खेती बनाएको वडा १ सय १९ छ । जौ/उवा ६१ र फापर १५ वडामा प्रमुख बालीको रूपमा खेती गरिन्छ ।

फलफूलको हकमा सबै भन्दा धेरै वडामा आँप खेती गरिन्छ । आँप उत्पादन प्रमुख बालीको रूपमा रहेको छ । गणना अनुसार २०११ वडामा आँप प्रमुख फलफूल बालीको रूपमा उत्पादन गरिन्छ । दोस्रोमा सुन्तला ८०७ वटा, केरा ६१५ वडामा प्रमुख बालीको रूपमा उत्पादन गरिन्छ । प्रमुख फलफूल बालीको रूपमा स्याउ चौथो नम्बरमा पर्छ । २९८ वडामा स्याउलाई प्रमुख बाली रूपमा खेती गरिन्छ । त्यस्तै, १३१ वडामा कागती, १२१ वडामा नासपाती, ११३ वडामा किबीलाई प्रमुख बालीको रूपमा खेती गरिन्छ ।

पशुपन्छीजन्य उत्पादनमा सबैभन्दा धेरै वडामा कुखुराको मासु, अन्डा र भैंसीको दूध उत्पादन हुने गरेको छ । कृषि क्षेत्रमा प्राकृतिक विपद्ले गर्ने क्षति सबैभन्दा बढी बाढीले नोक्सानी पुर्‍याएको छ । प्रतिवेदन अनुसार विगत ५ वर्षभित्र प्रमुख विपद्को रूपमा बाढी रहेको छ । ‘गणना गरिएको वडामध्ये ३ हजार ७ सय ७० वडामा बाढीको समस्या छ । दोस्रो प्रमुख विपद् पहिरो र तेस्रो हावाहुरी रहेको हो,’ प्रतिवेदनमा भनिएको छ, ‘२ हजार ८६९ वडामा पहिरो र २ हजार ७८३ वडा हावाहुरीले समस्या पारेको छ ।’ कृषि र पशुपन्छी क्षेत्रको प्रमुख समस्याका रूपमा बाँदर र दुम्सी देखिएका छन् ।

प्रकाशित : वैशाख ३, २०८१ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?