२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

नौ वर्षपछि तातोपानी हुँदै खासाबाट सामान लिएर फर्किए तीन कन्टेनर

तातोपानीबाट शनिबार खासा पुगेका तीन कन्टेनर आइतबार ३० टन स्याउ लिएर लिपिङ क्षेत्र भित्रिए
अनिश तिवारी

काठमाडौँ — भोटेकाशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाका हुँदै नौ वर्षपछि पहिलो पटक नेपाली कन्टेनर खासाबाट सामान लिएर फर्किएका छन् । चिनियाँ नाका तातोपानीबाट शनिबार खासा पुगेका तीन कन्टेनर आइतबार ३० टन स्याउ लिएर लिपिङ क्षेत्र भित्रिएका हुन् । 

नौ वर्षपछि तातोपानी हुँदै खासाबाट सामान लिएर फर्किए तीन कन्टेनर

भूकम्प र परकम्पनपछि नाका ठप्प भएयता नेपाली कन्टेनर खासा सिगात्से र रमिते क्षेत्र जान पाएका थिएनन् । यसअघि सर्वसाधारण र निर्यातका लागि नाका खोलिए पनि लिपिङपारि चिनियाँ बजार मोडको भूभागसम्म मात्रै खाली टेलर कन्टेनर जान दिइएको भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पा बताउँछन् ।

स्थानीय मितेरी पुलपारिका एक दर्जन चिनियाँ बजारसम्म मात्रै जान पाएका थिए । ‘नौ वर्षपछि पहिलो पटक रिवाङ लजिस्टिक कम्पनीका तीन कन्टेनर खासा पुगेका छन् । ३० टन स्याउ लिएर लिपिङ फर्किएका छन् । यो हामी सबैका लागि सुखद सन्देश बनेको छ, नाका फराकिलो बन्दै छ,’ शेर्पार्ले भने । काठमाडौंबाट चीनको मुख्य व्यापारिक क्षेत्र खासा १ सय २४ किमि र रसुवागढी एक सय ६४ किमि दूरीमा पर्छ ।

केरुङभन्दा तातोपानीबाट सिगात्से ३० किमि कम दूरी पर्ने शेर्पाले जनाए । चीनबाट जुनसुकै बजारका या कम्पनीबाट झिकाएका सामग्री खासाबाट तातोपानी आइपुग्न केही दिन मात्रै लाग्ने उनको भनाइ छ । खासामा अन्य सामग्री भए नेपाली कन्टेनर जान दिइने चिनियाँ नीति देखिन्छ । यद्यपि हाल खासा बजार पुनर्निर्माण भइरहेकाले निश्चित कन्टेनर मात्रै आउजाउ गर्न दिइएको छ । चीनको सिगात्सेबाट १३ दशमलव ७५ लामो टेलर र कन्टेनरलाई आयात यार्डमा स्थान सीमित भएकाले कन्टेनर प्रवेश समय निश्चित गरिएको छ ।

करिब दुई वर्षलाई लक्ष्य गरेर खासामा स्मार्ट सिटी तयार गरेर चीनले भौतिक पूर्वाधार र संरचना पुनर्निर्माणका कार्यलाई निरन्तरता दिइरहेको छ । चीनले खासा बजारलाई केन्द्रित गर्दै सडक र नालालाई व्यवस्थित बनाइरहेको छ । अहिलेसम्म ठूला भौतिक संरचनामा ६ वटा घर भत्काएर अन्य नापजाँचको प्राविधिक प्रक्रिया पुर्‍याएर काम गरिरहेको छ । अहिले कन्टेनर सिधै खासा पुगेपछि भूकम्प र परकम्पनपछि नाका ठप्प हुँदा सुनसान बनेका रमिते र तल्ला मोडक्षेत्रका चिनियाँ बजारमा होटेल र पसल खुल्न थालेका छन् ।

आयात र निर्यातलाई चीनले फराकिलो बनाएसँगै नाकामा केही सुधार आइरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए । तातोपानीबाट अहिलेसम्म ८ वटा कन्टेनरबाट झन्डै एक करोड बराबरका मुडा, फ्रेमलगायत सामग्री चीनको ल्हासा र अन्य बजार पुगेका छन् । ‘कन्टेनर पारि पुगिरहँदा निर्यात थपिँदै छ भने आयात बढ्दो छ, दैनिक १२ कन्टेनरबाट फलफूल र लत्ताकपडासहित अन्य सामग्री आइरहेका छन्,’ केसीले भने ।

चिटिक्क चीन, खण्डहर तातोपानी

चिनियाँ कम्पनीले बनाइदिएका अत्याधुनिक मितेरी पुल र तातोपानी सुक्खा बन्दरगाहबाहेक अन्य अध्यागमन, गेट, सीमा सुरक्षा पोस्ट जस्ता महत्त्वपूर्ण सबै टहरा, जीर्ण भवनमा चलाइएका छन् । सीमा जोड्ने कोदारी राजमार्ग २६ किमि अझै क्षतिग्रस्त हुँदा कन्टेनरलाई धराप थापेझैं अवस्था छ ।

स्थानीयले मितेरी पुलपारिका चिनियाँ बजारबाट घरायसी प्रयोजनका लागि सामान ल्याउन पनि सीमामा सुरक्षाकर्मीबाट घण्टौं रोकेर झन्झटिलो बनाउने गरेको व्यवसायीले दुखेसो गर्दै आएका छन् । भूकम्पअघि तातोपानीबाट हस्तकला, वनस्पति, जडीबुटी, चाउचाउ जस्ता एक सय ८२ प्रकारका सामग्री चीनको खासा, सिगात्से र ल्हासा बजारमा निर्यात हुन्थ्यो ।

प्रकाशित : चैत्र २६, २०८० ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?