कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्स्टाग्रामको विज्ञापन पहुँच ६७ प्रतिशत बढ्यो

नेपालमा १ करोड ३५ लाखले सामाजिक सञ्जाल चलाउँछन्
 ८७.७ प्रतिशत मानिस कम्तीमा एउटा सामाजिक सञ्जाल प्लाटफर्ममा
सजना बराल

काठमाडौँ — नेपालमा सक्रिय रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या १ करोड ३५ लाख अर्थात् कुल जनसंख्याको ४३.५ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । डिजिटल गतिविधिबारे विश्वव्यापी तथ्यांक संकलन र विश्लेषण गर्दै आएको डेटा रिपोर्टलको सन् २०२४ को विवरणअनुसार नेपालका ८७.७ प्रतिशत मानिसले कम्तीमा एउटा, कुनै न कुनै सामाजिक सञ्जाल प्लाटफर्म चलाउने गरेका छन् ।

इन्स्टाग्रामको विज्ञापन पहुँच ६७ प्रतिशत बढ्यो

यसमध्ये इन्स्टाग्रामको पहुँच र लोकप्रियता पछिल्लो समय उल्लेख्य बढेको देखिन्छ । विगत एक वर्षमा इन्स्टामार्फत गरिएका विज्ञापनहरूको पहुँच ६७ प्रतिशतले बढेको प्रतिवेदनले औंल्याएको छ ।

तस्बिर एवं भिडियो सेयरिङ प्लाटफर्म इन्स्टाग्रामका प्रयोगकर्ताको संख्या हाल नेपालमा ३६ लाख रहेको र इन्स्टाको एड रिच (विज्ञापन पहुँच) ११.६ प्रतिशत देखिन्छ । तथापि सन् २०२३ को जनवरीदेखि २०२४ को जनवरीबीच इन्स्टाको एड रिच १५ लाख (६७.४ प्रतिशत) ले बढेको प्रतिवेदनको ठम्याइ छ । इन्स्टाग्रामको प्यारेन्ट कम्पनी मेटाले सार्वजनिक गर्ने त्रैमासिक प्रतिवेदनहरूले सन् २०२३ को अक्टोबरदेखि २०२४ को जनवरीमा इन्स्टाग्रामको लक्षित विज्ञापन समुदायको संख्या २२ प्रतिशतले बढेको जनाएका थिए । टिकटक बन्द भएयता इन्स्टा रिल्स (१५ सेकेन्डदेखि ९० सेकेन्डका भिडियो) थप लोकप्रिय बनेको र इन्स्टाग्रामबाटै प्रचारप्रसार गर्ने क्रम बढेको जानकार बताउँछन् ।

डिजिटल मार्केटिङका विज्ञ साइमन केम्पको संस्था केपियसले डेटा रिपोर्टलमार्फत वार्षिक रूपमा सार्वजनिक गर्दै आएको ‘ग्लोबल डिजिटल रिपोर्ट’ को पछिल्लो संस्करणले नेपालमा सामाजिक सञ्जाल प्रयोग गर्ने पुरुषको संख्या ५६.४ र महिलाको संख्या ४३.६ प्रतिशत रहेको देखाउँछ । सो प्रतिवेदनमा नेपालको कुल जनसंख्या सन् २०२४ को जनवरीसम्म ३ करोड १० लाख ७० हजार रहेको उल्लेख छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नेपालमा सबैभन्दा धेरै फेसबुक चलाउने गरेको र यो संख्या बर्सेनि बढिरहेको रिपोर्टमा भनिएको छ ।

सन् २०२४ को सुरुवातमा फेसबुकको प्यारेन्ट कम्पनी मेटाको विज्ञापन स्रोतहरूले नेपालमा १ करोड ३५ लाख फेसबुक प्रयोगकर्ता रहेको देखाएको थियो । फेसबुकबाट गरिने विज्ञापन पहुँच नेपालमा एक वर्षयता १७ लाख (१३.९ प्रतिशत) ले वृद्धि भएको डेटा रिपोर्टलको प्रतिवेदनमा उल्लेख छ । ‘फेसबुकको विज्ञापन पहुँच नेपालमा कुल जनसंख्याको ४३.५ प्रतिशत छ,’ प्रतिवेदनमा भनिएको छ, ‘फेसबुक म्यासेन्जरको विज्ञापन पहुँच भने नेपालको कुल जनसंख्याको ३४.९ प्रतिशत छ ।’

नेपालमा सर्वाधिक प्रयोग हुने दोस्रो सामाजिक सञ्जाल प्लाटफर्म मेटाकै फेसबुक म्यासेन्जर रहेको प्रतिवेदनमा उल्लेख छ । म्यासेन्जर चलाउनेको संख्या १ करोड ८ लाख ५० हजार रहेको र म्यासेन्जरमार्फत गरिएका विज्ञापन नेपालको कुल जनसंख्याको ३४.९ प्रतिशतमा पुग्ने दाबी छ । मेटाको ‘क्याम्पेन प्लानर टुल’ ले म्यासेन्जरमार्फत गरिएका विज्ञापनको पहुँच विगत एक वर्षमा १६ प्रतिशतले वृद्धि भइरहेको देखाएको छ । यद्यपि अक्टोबर २०२३ र जनवरी २०२४ बीच म्यासेन्जरको विज्ञापन हेर्ने दर्शकको संख्या ८.४ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

सुपर एप बन्ने तरखरमा रहेको भनिएको सामाजिक सञ्जाल प्लाटफर्म एक्स (ट्वीटर) का प्रयोगकर्ताको संख्या नेपालमा ४६ लाख ६ हजार १ सय रहेको देखिन्छ । प्रतिवेदनअनुसार एक्सको विज्ञापन पहुँच नेपालको कुल जनसंख्याको १.५ प्रतिशत छ भने यसमा ७८.७ प्रतिशत पुरुष र २१.३ प्रतिशत मात्रै महिला छन् ।

‘मूल भाषा अंग्रेजी नभएका देशमा लिंगका आधारमा एक्सका प्रयोगकर्ता विश्लेषण गर्न गाह्रो छ । किनभने एक्सले युजरनेमका आधारमा मात्रै महिला/पुरुष छुट्याउने गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘एक्सले वास्तविक मान्छे र गैरमान्छेको एकाउन्ट पनि छुट्याउँदैन । यी सबै अस्पष्टताहरूका कारण एक्स प्रयोगकर्ताको लैंगिक व्याख्या वा विश्लेषण गर्दा सावधानी अपनाउन सुझाव दिन्छौं ।’ पछिल्लो एक वर्षमा नेपालमा एक्सको विज्ञापन पहुँच १५.८ प्रतिशतले घटेको प्रतिवेदनमा भनिएको छ । कामकाजीहरूमाझ नेटवर्किङ उद्देश्यको सामाजिक सञ्जाल प्लाटफर्म लिंक्डइनको प्रयोगकर्ता संख्या भने नेपालमा १५ लाख रहेको देखिन्छ ।

डेटा रिपोर्टलले विशेषतः विज्ञापन लक्षित प्रयोगकर्ताको संख्यामा आधारित रहेर तथ्यांक प्रस्तुत गरेको हुनाले उल्लिखित सामाजिक सञ्चाल प्लाटफर्मका सक्रिय प्रयोगकर्ताको संख्या भने अलि फरक हुन सक्ने औंल्याएको छ । रिपोर्टका अनुसार सन् २०२४ को सुरुवातमा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ५४ लाख अर्थात् कुल जनसंख्याको ४९.६ प्रतिशत थियो । सेलुलर मोबाइल सेवा भने देशको कुल जनसंख्याको १२०.६ प्रतिशत वा ३ करोड ७४ लाखभन्दा धेरैले प्रयोग गर्ने प्रतिवेदनले औंल्याएको छ । ‘विश्वमा थुप्रै मानिसले एकभन्दा बढी मोबाइल फोन बोक्ने गर्छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘तसर्थ, मोबाइल कनेक्सनको संख्या कुल जनसंख्याभन्दा धेरै हुनु अनौठो होइन ।’

डेटा रिपोर्टलका अनुसार विश्वभर हाल ५ अर्ब ४ करोड मानिसले सामाजिक सञ्जाल प्रयोग गर्छन् । एक आम सक्रिय प्रयोगकर्ताले दिनको औसतमा २ घण्टा २३ मिनेट सामाजिक सञ्जालमा बिताउने प्रतिवेदनको ठम्याइ छ । इन्टरनेट प्रयोगकर्ताको संख्या बर्सेनि बढिरहे पनि विश्वका तीनमध्ये एक मानिस अफलाइन रहने गरेको प्रतिवेदनले औंल्याएको छ । सोअनुसार विश्वभर २.७ अर्ब मानिस अफलाइन रहेको र भारतका मात्रै ६८ करोड जनसंख्या इन्टरनेटमा जोडिएका छैनन् ।

प्रकाशित : चैत्र १६, २०८० ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?