कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

आठ महिनामा सवा ५ अर्बको अलैंची निर्यात

दुई वर्षयता समयमा पानी नपर्ने, नचाहिने बेला पानी पर्नेलगायत कारण अलैंची उत्पादन घट्यो 

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ५ अर्ब १७ करोड ४५ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । यो गत आर्थिक वर्षको सोही वर्षको तुलनामा ६८ करोड ९९ लाख रुपैयाँले कम हो । चालु आर्थिक वर्षको ८ महिनामा ३५ लाख ४५ हजार ४ सय ८० किलो अलैंची निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

आठ महिनामा सवा ५ अर्बको अलैंची निर्यात

गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ८६ करोड ४४ लाख रुपैयाँ बराबरको ७२ लाख ६५ हजार ६ सय ३४ किलो अलैंची र्यात भएको थियो ।

गत आर्थिक वर्षमा अलैंची हालसम्मकै उच्च निर्यात भएको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ । गत आर्थिक वर्ष ८ अर्ब २७ करोड ६५ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो । यसअघि ०७७/७८ मा पनि ७ अर्ब १ करोड ८ लाख २९ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो ।

अलैंची निर्यातमा मूल्यमा फरक नभए पनि परिमाण धेरै फरक रहेको महासंघका अध्यक्ष निर्मल भट्टराई बताउँछन् । ‘उत्पादन नै घटेकाले निर्यात हुने परिमाण पनि ३७ लाख किलो घट्यो,’ उनले भने, ‘कुल निर्यात मूल्यमा खासै फरक छैन ।’ यस वर्ष ५० प्रतिशत उत्पादन घटेको उनको भनाइ छ । उत्पादन र निर्यात हुने परिमाण घटे पनि मूल्य बढेको र यसले निर्यात मूल्यमा खासै फरक नपरेको भट्टराईले जनाए । ‘पोहोर प्रतिमन ५० हजार रुपैयाँमा कारोबार हुन्थ्यो, यसपालि प्रतिमन औसत ८५ हजार रुपैयाँमा कारोबार भयो,’ उनले भने, ‘गत वर्षको मूल्यको तुलनामा झन्डै ३० देखि ३५ प्रतिशतले मूल्य बढ्दा निर्यात मूल्यमा खासै फरक परेन ।’

पछिल्ला दुई वर्षदेखि समयमा पानी नपर्ने, नचाहिने बेला पानी पर्नेलगायत विविध कारण अलैंची उत्पादन घटेको उनको भनाइ छ । ‘अलैंचीका माघ र फागुनमा पानी पर्नुपर्थ्यो । तर यसपालि चैतमा पानी पर्‍यो । सुक्खायामका कारण अलैंचीका बोट पनि मरे,’ उनले भने, ‘यसपालि ५० प्रतिशत अलैंची उत्पादन घटेको थियो । अब थप २० देखि २५ प्रतिशत उत्पादन घट्छ ।’

कृषि मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७८/७९ को तथ्यांकअनुसार देशभर १५ हजार ९ सय ७५ हेक्टर जग्गामा अलैंची खेती हुन्छ । यसबाट उक्त वर्ष ८ हजार ७ सय १४ टन अलैंची उत्पादन भएको थियो । आर्थिक वर्ष ०७७/७८ मा १५ हजार ६ सय ६८ हेक्टर जग्गामा अलैंची खेती हुँदा ८ हजार २ सय ८९ टन अलैंची उत्पादन भएको थियो । आर्थिक वर्ष ०७६/७७ मा १६ हजार ५ सय ६२ हेक्टर जमिनबाट ९ हजार ५ सय ४५ टन अलैंची उत्पादन भएको थियो । आर्थिक वर्ष ०७५/७६ मा १५ हजार ५५ हेक्टर जमिनमा अलैंची खेती भएको थियो । उक्त वर्ष ७ हजार ९ सय ५४ टन उत्पादन भएको कृषि तथ्यांक छ ।

अलैंची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो । हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको महासंघले जनाएको छ । मुलुकमा उत्पादित २ प्रतिशत अलैंची मात्रै आन्तरिक खपत हुने व्यवसायी बताउँछन् । नेपाली अलैंचीको मुख्य बजार भारत मात्र रहँदै आएकामा पछिल्लो समय जर्मनी, इटाली, अमेरिका, पाकिस्तानलगायत मुलुकमा निर्यात हुन थालेको छ । भारतमा कच्चा पदार्थका रूपमा अलैंची जाने गरेको छ । पछिल्लो समय प्रशोधन गरी निर्यात गर्दा अनुदानसमेत पाइने हुँदा व्यवसायी त्यसतर्फ पनि आकर्षित भइरहेको छ ।

प्रकाशित : चैत्र १२, २०८० ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×