२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

सिन्धुका किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ

जिल्लाको धान लगाइने फाँटमध्ये ३ हजार २ सय ५९ हेक्टरमा चैते धान लगाइन्छ
अनिश तिवारी

सिन्धुपाल्चोक — भर्खर आलु भित्र्याएका इन्द्रवती करिडोर क्षेत्रका किसान चैते धान रोपाइँमा व्यस्त छन् । सिन्धुपाल्चोकको तराई भनेर चिनिने इन्द्रावती करिडोर क्षेत्रदेखि मेलम्ची, हेलम्बु, जुगल गाउँपालिकाका तल्लो भेगका प्रायः किसानलाई चैते धानको रोपाइँको हतारोले एकैछिन फुर्सद छैन । 

सिन्धुका किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ

कञ्चन इन्द्रावती नदी रझ्याडीखोलाको बगरमा चिटिक्क खेतमा चैत धान लगाउने बिस्देउटारका माझी समुदाय चैते धान रोप्ने चटारोमा थिए । बुधबार लामो समयपछि बल्ल वर्षात् भएपछि शुभसंकेत भन्दै समुदायमा हर्षको सीमा रहेन । ‘चैते धान रोप्नु र मैजारो गरेर देवतालाई चढाउनु हाम्रो समुदायमा परम्परासँग जोडिएको छ, चैतमा धान नरोप्नु राम्रो मानिँदैन । त्यसैले पनि सबै माझी परिवार एक भएर चैते रोपाइँमा होमिएका छन्,’ इन्द्रावती–११ बिस्देउटारकी शान्ता माझीले भनिन् । माझी समुदायको एक मात्र आम्दानी कृषि र खेतीयोग्य जमिन पर्याप्त नहुँदा इन्द्रावतीको बगरमा खेती लगाउने गरेका छन् ।

कृषि ज्ञान केन्द्र काभ्रेका अनुसार जिल्लामा धान बाली लगाइने फाँटमध्ये ३ हजार २ सय ५९ हेक्टरमा चैते धान लगाइने गरिएको छ । यो वर्ष फागुन, चैतमा खासै वर्षा नभए पनि अन्य स्रोतबाट रोपाइँ सहज र चाँडै भइरहेको स्थानीय तहका कृषि शाखाले जनाएका छन् । ‘सबै छिमेकी जम्मा भएर आपसमा रोपाइँको मेलापातमा सघाइरहेका छौं । यो बेला हाम्रा लागि व्यस्त समय हो,’ चौतारा साँगाचोकगढी नगर झ्याडी टोलका भीम दनुवारले भने । यहाँ पानीको स्रोतको समस्या नभएकाले धमाधम रोपाइँ भइरहेको दनुवारको भनाइ छ । चौतारा साँगाचोकगढी नगरको तल्लो भूभाग झ्याडी टोल, माझी खेत, इन्द्रावती गाउँपालिका क्षेत्रका बिस्देउटार, भीमटार, हेलम्बु, मेलम्ची, जुगल गाउँपालिकाका केही भेगमा असार र चैतमा गरी धानको दुई बाली भित्र्याइने गरिएको छ ।

इन्द्रावती करिडोरबाहेक केही पहाडी भेग चैते धानका लागि उर्वर मानिन्छ । अघिल्लो वर्षको तुलनामा अहिले समयमै धान बाली लगाएकाले चैते धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । बलेफी गाउँपालिकाको जलवीरे, जुगल गाउँपालिकाको बतासेदेखि मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको नदी करिडोरमा धान उत्पादन राम्रो हुने गरेको छ । यहाँ खुमलचार, मकवानपुरे १ देखि विभिन्न स्थानीय जातका धानका बीउ लगाउने गरिएको छ ।

प्रकाशित : चैत्र ८, २०८० ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?