कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

भारतमा बढ्यो प्लाइउड निकासी

भारतको वन मन्त्रालयले आगामी ५ वर्षसम्म वन कटान नगर्ने र जंगल संरक्षण गर्ने नीति लिएपछि नेपालबाट प्लाइउड निर्यात बढ्यो 

विराटनगर — झापा धुलाबारीका दिनेश शाक्यले प्लाइउड उद्योग सञ्चालन गरेको एक दशक भयो । यहाँ उत्पादित प्लाइउड उनी भारत निकासी गर्छन् । पछिल्लो समय भारतमा प्लाइउडको माग बढेपछि उनीजस्ता धेरै उद्यमीले प्लाइउड उद्योगमा लगानी गरेका छन् । 

भारतमा बढ्यो प्लाइउड निकासी

भारतको वन मन्त्रालयले आगामी ५ वर्षसम्म वन कटान नगर्ने र जंगल संरक्षण गर्ने नीति अघि सारेपछि नेपालबाट प्लाइउड आयात गरेर त्यहाँको माग धान्दै आएको व्यवसायीहरूको भनाइ छ । गत वर्ष पौने ५ अर्बको प्लाइउड निकासी गरिएको र यो वर्ष करिब ८ अर्बको प्लाइउड निकासी गर्ने लक्ष्य व्यवसायीको रहेको नेपाल प्लाइउड संघका अध्यक्ष होम घिमिरेले जनाए । ‘भारतमा नेपाली प्लाइउडको माग उच्च छ । त्यही भएर यो व्यवसायप्रति हामी उत्साहित छौं,’ उनले भने ।

भेनियर प्लाइउडको कच्चा पदार्थ हो । यो पातलो काठको वस्तुलाई प्रविधिको सहयोगमा टाँसेपछि बल्ल प्लाइउड बन्छ । यस्ता उद्योगहरू देशभर करिब ७५ हाराहारीमा छन् । ५/६ उद्योग चाहिँ कोभिडदेखि बन्दका बन्दै छन् । सबभन्दा बढी झापा र मोरङमा ३४ प्लाइउड उद्योग सञ्चालित रहेको प्लाइउड संघले बताएको छ । बाँकी उद्योग अन्य जिल्लामा छन् । प्लाइउड उद्योग फस्टाएको एक दशक जति भयो । पछिल्लो समय भने यो उद्योगमा लगानी पनि ह्वात्तै बढेको छ । ‘गुणात्मक रूपमा उद्योग बढेका छन्,’ घिमिरेले थपे, ‘देशभर ४० अर्बभन्दा बढीको लगानी छ ।’

२५ हजार श्रमिकले उद्योगबाट प्रत्यक्ष रोजगारी पाएका छन् । एक लाख हाराहारीमा अप्रत्यक्ष जोडिएका छन् । विदेशी मुद्रा पनि आर्जन भइरहेको छ । तर यी सबै उद्योग भारतीय मजदुरमा निर्भर रहेको जिफन्टअन्तर्गतको समग्र मजदुर संघका केन्द्रीय उपाध्यक्ष मनोज मगरले जनाए । ‘प्लाई उद्योगमा कार्यरत ९० प्रतिशत मजदुर भारतीय हुन् । प्लाई उद्योगका लागि स्थानीयस्तरमा मजदुर पाइँदैन । भारतीय मजदुरले मेसिनसहित ठेक्कामा लिएर प्लाई उद्योग चलाउँदै आएका छन्,’ मगरले भने ।

काठको पत्ता (भेनियर) बाट तयार पारिने प्लाइउड खासगरी फर्निचर, कोठाको पार्टेसन, सजावटका सामग्री र झ्यालढोका बनाउन प्रयोग गरिन्छ । यो नरम प्रजातिका र छिटो वृद्धि हुने कुकाठ, उत्तिस, कदम, आँपलगायतका प्रजाातिका रूखबाट उत्पादन गरिन्छ । यहाँ उत्पादित प्लाइउड भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान, जयपुर, बैंग्लोर, उत्तर प्रदेशलगायत जिल्लामा धेरै खपत हुने गरेको छ ।

मेची भन्सार कार्यालयका अनुसार भारतसहित चीन, इन्डोनेसिया र लाओसबाट भेनियर सिट आयात हुँदै आएको छ । भन्सारका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा ५३ करोड १५ लाख मूल्यको भेनियर आयात भएको छ । त्यस्तै १ अर्ब ७५ करोडको प्लाइउड निकासी भएको छ । प्लाइउड निकासी भने भारतमा मात्रै हुँदै आएको छ । भारतले नेपालसहित चीन र भियतनामबाट पनि प्लाइउड आयात गर्छ ।

‘भेनियरको पैठारी र प्लाइउडको निकासी बढिरहेको छ,’ मेची भन्सार प्रमुख रामप्रसाद रेग्मीले भने, ‘प्लाइउडको निकासी बढ्दा नेपाली अर्थतन्त्रको विकासमा पनि टेवा पुगेको छ ।’ जोगवनी नाकाबाट चालु वर्षको सात महिनामा १५ करोडको प्लाई निकासी भएको छ । यो गत वर्षको तुलनामा बढी हो । प्लाई निकासी जोगबनी, मेची र भैरहवा नाकाबाट हुने गरेको भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले बताए ।

कुनै समय भारतबाट पैठारी हुन्थ्यो प्लाइउड । तर एक दशकयता नेपाली व्यवसायीले स्वदेशमै उद्योग स्थापना गरेपछि भारतबाट पैठारी हुने क्रम रोकिएर भारततिर निर्यात हुन थालेको हो । ‘काठमा आधारित वस्तुको माग भारतमा बढ्दो थियो,’ मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईंले भने, ‘प्लाइउडले विदेशी मुद्रा आर्जन गरिरहेको छ ।’

प्रकाशित : फाल्गुन २०, २०८० ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?