२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

मूल्यवृद्धि ५.२६ प्रतिशत : घ्यू-तेल, तरकारी, मासुको मूल्य घट्यो

काठमाडौँ — गत पुसमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ५.२६ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत थियो । गत मंसिरको तुलनामा भने पुसमा मूल्यवृद्धि बढी हो । गत मंसिरमा यस्तो मूल्यवृद्धिदर ४.९५ प्रतिशत थियो ।

मूल्यवृद्धि ५.२६ प्रतिशत : घ्यू-तेल, तरकारी, मासुको मूल्य घट्यो

गत पुस मसान्तसम्ममा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.७७ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । ‘गत पुसमा घिउ तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक घटेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ, ‘मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको सूचकांकमा समेत क्रमशः कमी आइरहेको अवस्था छ ।’ वार्षिक बिन्दुगत आधारमा ०८० पुसमा आयात मूल्य सूचकांक, तलब तथा ज्यालादर र थोक मूल्य सूचकांकको वृद्धिदरमा समेत कमी आएको छ । फलस्वरूप उक्त अवधिमा उपभोक्ता मूल्यवृद्धिमा तुलनात्मक रुपमा कम दबाब पर्न गएको राष्ट्र बैंकको दाबी छ ।

‘खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल, तरकारी र मासु तथा माछा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक क्रमशः १३.०७, १.०४ र ०.०६ प्रतिशतले घटेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सोही अवधिमा मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ३५.६०, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३८, दाल तथा गेडागुडीको ११.१४, दुग्धपदार्थ तथा अन्डाको १०.२९ र फलफूलको १०.१५ प्रतिशतले बढेको छ ।’

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १.६२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । सोही अवधिमा मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.८४, विविध वस्तु तथा सेवाहरूको ९.७३, शिक्षाको ८.९२, फर्निसिङ तथा घरायसी उपकरणहरूको ५.१८ र कपडाजन्य तथा जुत्ता–चप्पलको ४.९६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

गत पुसमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६, तराईको ४.७८, पहाडको ५.४० र हिमालको ६.५७ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ६.९३, ७.४९, ७.३० र ६.६९ प्रतिशत थियो ।

गत पुससम्ममा मुलुकको शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको प्रतिवेदनले देखाएको छ ।

गत पुस मसान्तमा चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता गत पुसमा १ अर्ब २१ करोडले बचतमा रहेको प्रतिवेदनले देखाएको छ ।

‘समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३० प्रतिशतले कमी आई ३ अर्ब ११ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५३ करोडले धनात्मक छ,’ प्रतिवेदनले भनेको छ, ‘अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ४३ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाखले धनात्मक थियो ।’

गत पुससम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ खर्ब ७७ अर्ब ७ करोड (६.६ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब १५ अर्ब १४ करोड (४.२ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा गत पुस मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको देखिन्छ ।

सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९२ अर्ब ६४ करोड (४.० प्रतिशत) ले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ३७ अर्ब ३३ करोड (३.० प्रतिशत) ले वृद्धि भएको थियो । वार्षिक बिन्दुगत आधारमा गत पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : माघ २३, २०८० १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?