कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भन्सार राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको भर

गत आर्थिक वर्षको पहिलो ६ महिनामा १ खर्ब ८८ अर्ब भन्सार महसुल संकलन भएकामा चालु वर्षको सोही अवधिमा उठ्यो २ खर्ब ९ करोड
राजु चौधरी

काठमाडौँ — सरकारले विद्युतीय सवारीसाधनको भन्सार दर हेरफेर गरेसँगै राजस्व संकलनमा केही सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ खर्ब ९ अर्ब राजस्व संकलन भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ अर्ब ९३ करोडले बढी हो ।

भन्सार राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको भर

गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ८८ अर्ब १६ करोड उठेको भन्सार विभागको तथ्यांक छ । राजस्व संकलन बढ्नुको प्रमुख कारण विद्युतीय सवारीसाधनको भन्सार दरमा परिवर्तन र डलरको प्रभाव रहेको जानकार बताउँछन् ।

‘राजस्व संकलन बढ्नुको प्रमुख कारण भन्सार दरमा आएको परिवर्तन नै हो । विद्युतीय सवारीको भन्सार दर परिवर्तन भयो । सबैभन्दा बढी आयात हुने इन्धनको मूल्य बढ्दा पनि प्रत्यक्ष प्रभाव पारेको छ,’ एक पूर्वअर्थ सचिवले भने । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ को बजेटमा ५० किलोवाटसम्मका सवारीमा १० प्रतिशत भन्सार दर यथावत् राखे । तर ५० किलोवाटभन्दा माथिका र सय किलोवाटभन्दा कम क्षमताका सवारीसाधनमा थप ५ प्रतिशत अन्तःशुल्क र १० प्रतिशत भन्सार दर लगाइएको छ । यसअघि १० प्रतिशत भन्सार दर मात्रै थियो । त्यसको प्रभाव राजस्व संकलनमा देखिएको ती पूर्वअर्थ सचिव बताउँछन् ।

विद्युतीय सवारीको आयात पनि बढेको देखिन्छ । गत वर्षको पहिलो ६ महिनामा १ अर्ब ९२ करोड रुपैयाँ बराबरको १७४९ वटा विद्युतीय कार, जिप, भ्यान आयात भएकामा अहिले १३ अर्ब १२ करोडका ५ हजार २ सय ७९ वटा आयात भएका छन् । विद्युतीय सवारी आयातसँगै राजस्व संकलनमा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा बिजुलीबाट सञ्चालित जिप, कार र भ्यानबाट १ अर्ब ३९ करोड राजस्व उठेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा भने ५ अर्ब ७९ करोड राजस्व संकलन भएको छ । पेट्रोलियम पदार्थबाट चल्ने जिप, कार र भ्यानबाट ७ अर्ब ५४ करोडको राजस्व संकलन भएको छ । गत वर्षको ६ महिनामा भने ३ अर्ब २३ करोडको संकलन भएको थियो । तथ्यांकले अनएसेम्बल्ड मोटरसाइकलबाट राजस्व पनि बढेको देखाएको छ । गत आर्थिक वर्षको ६ महिनामा २ अर्ब १९ करोड संकलन भएकामा अहिले ४ अर्ब ५ करोड उठेको छ । मोटरसाइकलबाट उठ्ने राजस्व भने घटेको छ । गत वर्षको ६ महिनामा ४ अर्ब ९५ करोड राजस्व संकलन भएकामा चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ४१ करोड राजस्व उठेको छ ।

सबैभन्दा बढी राजस्व भने पेट्रोलियम पदार्थबाटै संकलन भएको छ । ६ महिनामा ६६ अर्ब ४९ करोडको डिजेल आयात भएको छ । यसबाट २५ अर्ब २८ करोड राजस्व उठेको छ । गत वर्षको ६ महिनामा २३ अर्ब १४ करोड राजस्व संकलन भएको थियो । यसैगरी ३३ अर्ब ९२ करोडको पेट्रोल आयात भएको छ । यस अवधिमा १९ अर्ब ४४ करोडको राजस्व संकलन भएको छ । गत वर्षको ६ महिनामा १८ अर्ब २७ करोडको राजस्व उठेको थियो ।

६ महिनामा २५ अर्ब ४६ करोडको ग्यास आयात भएको छ । यसबाट ४ अर्ब ७५ करोड राजस्व संकलन भएको छ । गत वर्षको पहिलो ६ महिनामा ग्यासबाट ५ अर्ब २६ करोड राजस्व उठेको थियो । तयारी कपडाको आयातबाट ६ अर्ब ५० करोड, एचआर सिटबाट ३ अर्ब ११ करोड र मोबाइल टेलिफोनबाट २ अर्ब ९२ करोड राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।

प्रकाशित : माघ ७, २०८० ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?