कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

‘शिथिल अर्थतन्त्र सुधार्नमा सरकार–निजी क्षेत्र सहकार्य’

बैंकले बढी ब्याज लिए राष्ट्र बैंकलाई जानकारी गराउन गभर्नरको अनुरोध

काठमाडौँ — शिथिल अर्थतन्त्र सुधारमा सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एकै मञ्चमा सरकारी अधिकारी र निजी क्षेत्रले समस्या समाधानमा सामूहिक सहकार्य आवश्यक रहेको बताए ।

‘शिथिल अर्थतन्त्र सुधार्नमा सरकार–निजी क्षेत्र सहकार्य’

अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समूहले अवाञ्छित फाइदा उठाउन खोजिरहेको कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको भनाइ छ ।

अर्थतन्त्र सुधारमा स्वयं प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीर पहल लिएको भन्दै उनले चाँडै अर्थतन्त्र लयमा फर्किने दाबीसमेत गरे । ‘सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको, पुँजीबजारले गति लिएको र घरजग्गा व्यवसाय लयमा फर्किएको छ,’ उनले भने, ‘बढ्दो आयात र घट्दो निर्यातका कारण देशको अर्थतन्त्र दबाबमा परिरहेको छ ।’

ऋणीसँग कुनै बैंकले बढी ब्याज लिएको भए राष्ट्र बैंकलाई जानकारी गराउन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अनुरोध गरे । ‘बैंकले बढी ब्याज लिएको पाए राष्ट्र बैकले फिर्ता गराउँछ,’ उनले भने, ‘गत आर्थिक वर्षमा बढी लिएको ४ अर्ब ७६ करोड ब्याज फिर्ता गरायौं ।’ बैंकले बढी ब्याज लिए भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्न व्यवसायीलाई उनको सुझाव छ । ‘व्यवसायीलाई बैंकले १६/१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न आग्रह गर्छु,’ उनले भने, ‘व्यवसायीहरूले बैंकहरूले लिँदै नलिएको १८ प्रतिशत ब्याजका विषयमा बोल्दा बजारलाई अनावश्यक रूपमा अराजकता फैलाउनेलाई प्रोत्साहन मिल्छ ।’ ठूला व्यवसायीले बैंकहरूबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशतभन्दा बढी ब्याज नतिरेको उनले उल्लेख गरे ।

बैंकहरूले बढी ब्याज लिएँ भनेर तथ्यभन्दा बाहिर गएर गुनासो नगर्नसमेत सबैलाई उनले आग्रह गरे । बजेटमा भएका विषयलाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सहयोग गरिरहेको उनको भनाइ छ । आर्थिक शिथिलताका कारण बैंकको खराब कर्जा बढ्ने भन्दै यस्तो बेला बैंकहरूले प्रोभिजन बढाउनुपर्ने भएकाले राष्ट्र बैंकले कस्न खोजेको बताए । अहिले जसले काम नगरे पनि मौद्रिक नीतिले गर्न दिएन भनेर आरोप लगाउने गरिएको र यसो गर्नुको अर्थ नभएको उनको धारणा छ ।

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष सुनिल केसीले कर्जाको ब्याजदर १ प्रतिशतले घटेको जनाए । ‘अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा छ,’ उनले भने, ‘ब्याजदर अझै घट्दै जान्छ ।’ अर्थतन्त्र समस्यामा छ भन्ने सरकार, राष्ट्र बैंकले स्वीकार गर्नुपर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालको भनाइ छ । यसलाई स्वीकार गरेर समाधानमा जानुपर्नेमा उनको जोड छ । नेपालमा झन्झटिलो प्रक्रियाका कारण लगानी भित्रिन नसकेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए । राष्ट्र बैंकले जमानी बस्नेलाई कालोसूचीमा राख्न गरेको व्यवस्था स्वागतयोग्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्रतिक्रिया दिए ।

प्रकाशित : मंसिर १६, २०८० ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?