१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

सुनकोसी-मरिण डाइभर्सनमा १ वर्ष नबित्दै ९ किलोमिटर खनियो सुरुङ

राजकुमार कार्की

सिन्धुली — राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनमा १ वर्षभन्दा छोटो अवधिमा ९ किलोमिटर सुरुङको काम सकिएको छ । कमलामाई नगरपालिका–२ को कुसुमटारदेखि सुनकोसी गाउँपालिका ७ को कानढुंग्रीसम्म १३ दशमलव ३ किलोमिटरमध्ये आइतबारसम्ममा ९ किलोमिटर सुरुङ खन्ने काम सकिएको आयोजनाले जनाएको छ । यो झण्डै ६८ प्रतिशत हुन आउँछ । 

सुनकोसी-मरिण डाइभर्सनमा १ वर्ष नबित्दै ९ किलोमिटर खनियो सुरुङ

गत वर्ष असोज २८ गतेबाट सुरुङ खन्ने काम सुरु भएको थियो । नदीमा बाँध बाँधेर सुनकोसीको पानी मरिणखोलामा खसालेर मधेश प्रदेसका पाँच जिल्लामा सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आउोजना प्रमुख मित्र बरालका अनुसार सुरुङ खन्नको लागि २२ महिनाको लक्ष्य लिइएकोमा यहीं रफ्तारमा अघि बढे ४ महिना अगावै सम्पन्न हुनेछ ।

‘एकवर्षको अवधिमा प्राविधिक कारणले करिब ४० दिन सुरुङ खन्ने काम बन्द हुँदा समेत लक्ष्यभन्दा बढी काम भएको छ’ आयोजना प्रमुख बरालले भने, ‘यतिखेर सुरुङको काम सुनकोसी गाउँपालिका ७ को मझुवा गैरीगाउँ आसपास पुगेको छ ।’

चुरे क्षेत्र पार गरेर हाल सुरुङ महाभारत क्षेत्रमा प्रवेश गरेको छ । १ हजार ३२० मिटरको उचाइमा हाल खन्ने काम भइरहेको र यो सबैभन्दा बढी उचाइ रहेको आयोजनाले जनाएको छ । चुरे क्षेत्र पार गरी सुरुङ खन्ने टीबीएम मेसिन महाभारततर्फको सुरक्षित क्षेत्रमा प्रवेश गरेकाले अब कुनै समस्या नआउनेमा आयोजनाका प्राविधिकहरु ढुक्क छन् ।

सरकारबाट समयमा रकम निकासा भइ निर्माण व्यवसायीलाई भुक्तानी गर्न सकियो भने आयोजनाको सुरुङ खन्ने काम लक्ष्यभन्दा अगाडि नै सम्पन्न हुने बरालले जनाए । प्रधानमन्त्री कार्यालयबाटै भर्चुअल माध्यमबाट कामको निगरानी भइरहेकाले रकम निकासामा समस्या नहुने उनको विश्वास छ । गत वर्ष आयोजनाको प्रगति लक्ष्य भौतिक र वित्तीय गरी १३ प्रतिशत रहेकोमा भौतिकतर्फ २१.४ प्रतिशत र वित्तीयतर्फ १९.२ प्रतिशत भएको थियो । यो वर्षको साढे दुई महिनाको अवधिमा प्रगति अझ बढेको आयोजनाले जनाएको छ ।

आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रहेकोमा सरकारबाट प्राप्त ८ अर्व ८६ करोड गत आवसम्ममा खर्च भएको छ । यो आयोजनाका लागि सुरुमा २ अर्ब ८ करोड विनियोजन भएकोमा अपुग भई थप १ अर्ब ९ करोड सरकारबाट प्राप्त भएको थियो । गत आवमा ५ अर्ब ४१ करोड प्राप्त भई खर्च भएको छ ।

चालु आवका लागि सरकारले विनियोजन गरेको रकम ४ अर्ब ३९ करोड ५४ लाख रहेकोमा काम अनुसार ११ अर्ब खर्च हुने देखिएको छ । आयोजनाको कामका रफ्तार अनुसारको अपुग बजेट माग गर्ने जनाइएको छ । प्राप्त बजेटबाट सुरुङ निर्माणदेखि विद्युत गृह, सिँचाइ, सामाजिक लगायतका काम भएको आयोजनाले जनाएको छ । सुनकोसी र तामाकोसीको संगमस्थलभन्दा ९ सय मिटर तल कानढुंग्रीमा सुनकोसीमा बाँध बाध्नका लागि ठेक्का सम्झौता भइ निर्माण व्यवसायीले काम सुरु गरेका छन् । मूल्यवृद्धिसँगै २०८४ सालमा आयोजना सम्पन्न हुँदा कुल लागत बढेर ४९ अर्ब ४२ करोड पुग्ने आँकलन गरिएको छ ।

सुरुङ निर्माणमा हालसम्म एकाध बाहेक कुनै समस्या नआएको भन्दै आयोजना सिनियर डिभिजन इन्जिनियर अशोकराज गौतमले चुरेको भूभागमा सकिएर महाभारत क्षेत्रतर्फ सुरुङ खन्न थालेको जानकारी दिए । सुरुङ निर्माणमा खटिएका प्राविधिक कर्मचारी तथा कामदारहरुलाई सहज होस भनेर ठूलो पाइपमा अक्सिजन सहित हावा पास गर्ने क्षेत्र बनाइएको छ । ‘सुरुङ निर्माण क्षेत्रमा ठाउँ ठाउँबाट पानी निस्किए पनि ठूलो मुल भेटिएर कामै रोक्नुपर्ने अवस्था आएको छैन’ उनले भने । सुनकोसीमा हेडवर्क्स निर्माणको ठेक्का सम्झौता भई निर्माण व्यवसायीले क्याम्प निर्माण सुरु गरेका छन् । उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भइरहेको इन्जिनियर गौतमले जनाए । ल्याब परीक्षणबाट स्वीकृत भएका सेगमेन्ट मात्र सुरुङ निर्माणमा प्रयोग भएकाले कुनै समस्या आउने आँकलन नगरिएको उनको भनाइ छ ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) अहिले दैनिक सरदर १० मिटर र कुनै दिन १५ देखि २० मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनेको छ । सुरुङ खन्न मात्रै चाइना ओभरसिज कम्पनी कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का लिएको हो । १५ अर्ब ५९ करोड ४० लाख रुपैयाँ अनुमान रहेकोमा सुरुङ निर्माण गर्न कोभेकले ३६ प्रतिशत घटेर ठेक्का लिएको हो । सुनकोसीमा बाँध निर्माण लगायतका कामका लागि १७ अर्ब ७५ करोडसम्मको ठेक्का प्रस्ताव गरिएकोमा रमण–पटेल जेभीले ३२ प्रतिशत घटेर १२ अर्बमा सकारेको हो ।

आयोजनाका अनुसार खुर्कोटमा सुनकोसी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालिने छ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत उत्पादन गरिने छ । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने रहेको छ ।

प्रकाशित : आश्विन १४, २०८० १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?