कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

चिनियाँ लगानी बढाउने वाचा

नेपाल–चीन व्यवसाय परिषद् स्थापना हुने, नेपालमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरिने

काठमाडौँ — नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फको निर्यात सहजीकरणका लागि दुवैतर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआईटी) ले संयुक्त रूपमा आयोजना गरेको नेपाल–चीन बिजनेस समिटमा दुवैतर्फका उच्चपदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीच यस्तो सहमति गरिएको हो ।

चिनियाँ लगानी बढाउने वाचा

द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्न आयोजित समिटका प्रमुख अतिथि प्रधानमन्त्री दाहालले नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको बताए । नेपालमा अझै पनि लगानीका लागि धेरै क्षेत्र आकर्षक रहेकाले लगानी गर्न चिनियाँ लगानीकर्तालाई उनले आग्रह गरे । ‘नेपाल र चीनको परम्परागत सम्बन्ध रहँदै आएकाले दुई देशको आपसी सम्बन्धले मात्र आर्थिक विकास सम्भव हुन्छ,’ उनले भने, ‘कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यबिना समृद्ध नहुने भएकाले त्यो वातावरण नेपाल सरकारले बनाउनेछ ।’

निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएकाले उनीहरूको प्रवर्द्धनमा सरकार सधैं तत्पर रहेको पनि उनले जनाए । ‘चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय हो,’ उनले थपे, ‘नेपालका कृषिजन्य उत्पादनको बजार चीनमा रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने देखिन्छ ।’

सीसीपीआईटीको मुख्यालय बेइजिङमा सेप्टेम्बर २४, २०२३ मा आयोजित समिटमा चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर ली फिईले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको र नेपालमा आर्थिक गतिविधि पनि बढिरहेको बताए । नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने उनको भनाइ छ । पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न र नेपालबाट बढीभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्न आफूहरू तयार रहेको उनले जनाए ।

नेपालमा लगानीका अवसर सिर्जना गर्न, पर्यटन प्रवर्द्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ । नेपालमा जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र, सूचना प्रविधिलगायत सेवा क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको पनि उनले बताए । ‘पछिल्लो समय पर्यटन पूर्वाधार जस्तै केबलकार, थिम पार्क रिसोर्टलगायतमा विदेशी लगानीको सम्भावना बढी देखिएको छ,’ उनले भने, ‘चिनियाँ पर्यटकका लागि नेपाल आकर्षक र सुरक्षित गन्तव्य भएकाले चीन सरकारले पनि यसलाई प्राथमिकतामा राख्नुपर्छ ।’

नेपाल–चीन व्यवसाय परिषद् स्थापना हुने

नेपाल उद्योग परिसंघ (सीएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रवर्द्धन गर्न नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ ।

प्रधानमन्त्री दाहालको चीन भ्रमणका अवसरमा परिसंघ र सीसीपीआईटीबीच यस्तो समझदारी भएको हो । समझदारीपत्रमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गरे ।

समझदारीसँगै नेपाल चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र नेपाल–चीन दुवै देशका व्यावसायिक समुदायको विकासका लागि सहजीकरणमा सहजता आउने परिसंघले जनाएको छ । काउन्सिलले दुई देशबीच व्यावसायिक गतिविधिलाई सुव्यवस्थित गर्न, अनुसन्धान र अध्ययन–सम्बन्धित पहल सञ्चालन गर्न, लगानी अभिवृद्धिका लागि नेटवर्किङका अवसर सिर्जना गर्न, व्यावसायिक भ्रमण आदानप्रदान गर्न, सम्मेलन तथा संवादलगायत गतिविधि गर्ने बताइएको छ । यस समझदारीले नेपाल–चीनबीच व्यावसायिक सम्बन्ध अभिवृद्धिसँगै चिनियाँ लगानी तथा प्रविधि भित्र्याउन नेपाल–चीन व्यावसायिक परिषद् महत्त्वपूर्ण माध्यम बन्ने परिसंघका अध्यक्ष अग्रवालको दाबी छ ।

नेपालमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने

यसैबीच नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति भएको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा भएको बीटूबी वार्तामा चेम्बर र सीसीपीआईटीबीच उक्त सहमति भएको हो ।

पूर्वाधार, कृषि, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा चिनियाँ लगानी प्रोत्साहन गर्न संयुक्त लगानी सम्मेलन गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जनाए । ‘चिनियाँ निजी क्षेत्रसँग द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे समेत चेम्बरले उच्चस्तरीय छलफल गरेको छ,’ उनले भने, ‘सीसीपीआईटीसँग मिलेर चेम्बरले नेपालमा आगामी वर्ष अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने सहमति भएको छ ।’

नेपालको जलविद्युत्, कृषि, सूचना प्रविधि, पूर्वाधार विकासलगायत क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई अध्यक्ष मल्लले आग्रहसमेत गरे । ‘नेपालमा चिनियाँ लगानी आउने क्रम उच्च छ, खासगरी उत्पादनवृद्धि, रोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण परियोजनामा लगानीका लागि आग्रह गर्दछु,’ उनले भने । चीनसँगका सीमा नाकाहरूमा पूर्वाधार विकास गरेर आयात–निर्यातलाई सहजीकरण गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

समिटमा १ सय २० जना चिनियाँ कम्पनीको सहभागिता थियो । नेपालका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय उद्योग व्यापार महासंघका पदाधिकारीसहित करिब ५० जना उद्यमी व्यवसायी समिटमा सहभागी रहे ।

समिटमा चीन सरकारका उच्चपदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीको पनि सहभागिता थियो । समिटअघि बिजनेस टू बिजनेस बैठक पनि बसेको थियो । चीन नेपालमा सबैभन्दा बढी लगानी प्रतिबद्धता जनाउने मुलुक हो ।

प्रकाशित : आश्विन ८, २०८० ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?