कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईफोन-१५ मा भिडभाडमा साथी भेट्न सहज बनाउने सुविधा

एजेन्सी

काठमाडौँ — नेपाली समयअनुसार मंगलबार राति सार्वजनिक भएको आईफोन १५ को एउटा खास विशेषता भनेको 'प्रिसिजन फाइन्डिङ' सुविधा हो । यो इनेबल गरेपछि प्रयोगकर्ताको मोबाइल स्क्रिनमा नजिकै रहेका आफ्ना साथीभाइसम्म पुग्ने नक्सा देखापर्छ । बसपार्क, बजारजस्ता भीडभाड हुने स्थानमा फोन गर्दा नसुनिने समस्या हटाउन एप्पलले यो सुविधा थपेको जनाएको छ ।

आईफोन-१५ मा भिडभाडमा साथी भेट्न सहज बनाउने सुविधा

नजिकैका अन्य डिभाइससँग कनेक्ट गर्न आईफोन १५ मा अल्ट्रा-वाइडब्यान्ड चिप जडान गरिएको छ । 'प्रिसिजन फाइन्डिङ' अन गरेपछि दिशा र दूरीसहित त्यहाँसम्म पुग्ने बाटो देखापर्छ । सेप्टेम्बर २२ बाट बजारमा उपलब्ध हुने आईफोन १५ सुधारिएको चिप, यूएसबी-सी पोर्ट, पहिलेभन्दा राम्रो ब्याट्री, अझै राम्रो क्यामरा र टाइटानियम चेसिसको साथ तयार भएको कम्पनीले जनाएको छ ।

इमर्जेन्सी एसओएससँगै आईफोन १५ मा 'रोड साइड एसिस्टेन्ट' थप गरिएको छ । मोबाइल नेटवर्क नभएको स्थानमा सवारीभित्रै अड्किएमा, टायर पंक्चर भएमा, इन्धन वा गाडीको चार्ज सकिएर अलपत्र परेमा यो सुविधा प्रयोग गरेर सन्देश पठाउन सकिन्छ । यसमा प्रयोगकर्ताले पठाएको म्यासेज र तिनको ठेगाना स्याटलाइटमार्फत नजिकैको उद्दारकर्तासम्म पुग्छ । यही सुविधाका लागि एप्पलले स्याटलाइटमार्फत मोबाइलको भ्वाइस र डाटा सेवा उपलब्ध गराउने ग्लोबलस्टारसँग साझेदारी गरेको छ ।

गेमिङका लागि भनेर एप्पलले सार्वजनिक गरेको आईफोन १५ प्रोमा ए-१७ प्रो चिप राखिएको छ भने यसको स्पिड प्रतिसेकेन्ड १० गिगाबाइट रहेको छ । थप सशक्त प्रोसेसरसहितको यो फोनमा 'म्युट' बटन हटाएर नयाँ 'एक्सन' बटन राखिएको छ । यसको क्यामरामा राखिएका लेन्स सातवटा लेन्स र ४८ मेगापिक्सेल बराबर रहेको कम्पनीको दाबी छ । आईफोन १५ प्रो म्याक्समा त झन् १२० एमएम बराबरको लेन्स, २५ प्रतिशत ठूलो सेन्सर, फाइभ एक्स टेलिफोटो लेन्स रहेको उल्लेख छ ।

आईफोन १५ को मूल्य ७९९ डलर, आईफोन १५ प्रोको ९९९ डलर र आईफोन १५ प्रो म्याक्सको ११९९ डलर छ । एप्पलको कार्यक्रममा उल्लेख नभए पनि ब्लुमबर्ग स्रोतले पुष्टि गरेअनुसार एप्पलले यसपालि भारतमा बनेका आईफोन सार्वजनिक गरेको हो । नयाँ वा पछिल्लो जेनेरेसनको आईफोन मोडेल सार्वजनिक हुनुअघि नै भारतमा बनाइएको यो पहिलो पटक भएको ब्लुमबर्गको दाबी छ । आईफोन १५ को सबैभन्दा ठूलो परिमाण चीनमा नै बन्ने भए पनि भारतमा उत्पादन बढाएर एप्पलले आईफोन उत्पादनमा चीनसँगको निर्भरता कम गर्न चाहेको द भर्जका पत्रकार जेस विदरबेडको विश्लेषण छ । एप्पलले सन् २०१७ मा पहिलो पटक भारतमा आईफोनहरू एसेम्बल गर्न थालेको थियो ।

मंगलबारको कार्यक्रमको अर्को ठूलो घोषणा, एप्पलले अन्तत: टाइप-सी चार्जर अपनाएको छ । अब आईफोन, आइप्याड र म्याक कम्युटरहरूमा यूएसबी-सी चार्जर चल्नेछन् । यसअघिको लाइटनिङ पोर्ट त्यागेर टाइप-सी चार्जरमा जान एप्पललाई युरोपेली संघको दबाबले काम गरेको हो । गत वर्ष संघले टाइप-सीलाई विश्वव्यापी चार्जर मान्ने तय गरेको थियो । थरिथरिका केबल तार बोक्नुपर्ने झन्झट र विशेषत: ई-वेस्ट कम गर्न संघले एउटै चार्जरबाट सबै डिभाइस चार्ज गर्न मिल्नुपर्ने भन्दै एक निर्देशिका जारी गरेको थियो ।

प्रकाशित : भाद्र २७, २०८० १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?