कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

मुख्य राजमार्गमा पहिरोको पीडा : चार दशकसम्म बनेनन् वैकल्पिक मार्ग

संघीय सरकारले निर्माणमा ढिलाइ गरेपछि प्रदेश सरकारले वैकल्पिक राजमार्गलाई ‘प्रदेश गौरवका योजना’मा राखे पनि अहिलेसम्म निर्माण हुन सकेनन्
डीआर पन्त

धनगढी — सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एकमात्र भीमदत्त राजमार्ग अस्तव्यस्त छ । पानी पर्‍यो कि, आवागमनमा अवरोध हुने गरेको छ । कैलालीको बुढीतोला–खानीडाँडा खण्डमा खसेको पहिरो र सडक भासिएका कारण राजमार्गमा आवागमन असहज बनेको हो ।

मुख्य राजमार्गमा पहिरोको पीडा : चार दशकसम्म बनेनन् वैकल्पिक मार्ग

मुख्य राजमार्गमा नियमित गाडी नचल्दा पहाडी जिल्लामा उपभोग्य वस्तुको अभाव हुने अवस्थासमेत सिर्जना हुन्छ । बर्खामा बाढीपहिरोले यो सडक प्रभावित भएका बेला वैकल्पिक सडकको चर्चा हुन्छ । प्रदेश र केन्द्र सरकारले चाँडै वैकल्पिक सडक निर्माण सक्ने घोषणा गर्छन् । तर कहिल्यै त्यसअनुसार काम हुँदैन ।

आवागमन अवरुद्ध हुँदा पहाडी जिल्ला डडेलधुरा, बाजुरा, डोटी, बझाङलगायतमा दैनिक उपभोग्य र पेट्रोलियम पदार्थलगायत वस्तु अभावले मूल्य अकासिने गर्छ । उपभोक्ता दोब्बर मूल्यमा विभिन्न उपभोग्य वस्तु किन्न बाध्य हुन्छन् । संविधान निर्माणपछि भएका दुवै संसदीय र प्रदेश निर्वाचनमा वैकल्पिक राजमार्ग प्रमुख चुनावी मुद्दा बने । गत निर्वाचनमा पनि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादेखि संघ र प्रदेशका सबै सांसदको प्रमुख चुनावी मुद्दामध्ये वैकल्पिक सडक निर्माण प्रमुख थियो । संघीय सरकारले निर्माणमा ढिलाइ गरेको भन्दै प्रदेश सरकारले वैकल्पिक राजमार्गलाई प्रदेश गौरवका योजनामा राखे पनि अहिलेसम्म निर्माण हुन सकेका छैनन् ।

भीमदत्त राजमार्गबाहेक पहाडी जिल्ला जोड्न सकिने चार वटा सडक चार दशकदेखि निर्माणाधीन मात्र छन् । कैलालीको खुटियादेखि चुरे छिचोल्दै निर्माणाधीन ८२ किमिको खुटिया–दिपायल द्रुतमार्ग, कञ्चनपुरको दैजीदेखि डडेलधुराको जोगबुढा हुँदै पहाडी जिल्ला जोड्ने ३१ किमिको दैजी–जोगबुढा सडक, कञ्चनपुरकै कृष्णपुर बंकदेखि नायल हुँदै डोटीको बुडर जोड्ने ४१ किमिको बंक–नायल–बुडर सडक निर्माण हुन थालेको ४० वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेका छैनन् ।

कर्णालीको चिसापानीदेखि जंगलघाट हुँदै अछाम सदरमुकाम मंगलसेन जोड्ने ९२ किमिको चिसापानी–जंगलघाट–मंगलसेन सडक निर्माण सुरु भएको भने ५० वर्षभन्दा बढी भइसकेको छ । यी चार सडकबाहेक कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुराको रूपाल हुँदै महाकाली नदी किनारैकिनार दार्चुला टिंकर नाका जोड्ने महाकाली करिडोर पनि निर्माणाधीन छ । यीमध्ये तत्काल पहाडी जिल्ला जोड्ने वैकल्पिक सडकका रूपमा बंक–नायल–बुडर र दैजी–जोगबुढा सडक हुन् । यी दुवै सडकको लम्बाइ पनि थोरै छ ।

प्रदेश गौरवका योजनामा समेटिएका यी दुवै सडकको ट्र्याक खुलेर हिउँदमा यातायात पनि सञ्चालन हुने गरेको छ । कञ्चनपुरको बंकदेखि चुरेको नायल हुँदै भीमदत्त राजमार्गअन्तर्गत डोटीको बुडर जोडिने यो सडक सबैभन्दा सुरक्षित हो । नदीनाला नभएको, चुरेको मध्यभागबाट बुडर जोडिने भएकाले अरू सडकभन्दा बाढीपहिरोको जोखिम पनि कम भएको स्थानीय बताउँछन् । ‘भीमदत्त राजमार्गको जोखिमयुक्त खण्ड पार गरेर बुडरमा जोडिने यो सडक सात वटै पहाडी जिल्लाको वैकल्पिक मार्ग बन्न सक्छ,’ सडक विभागका पूर्वइन्जिनियर महेन्द्र पन्तले भने ।

कञ्चनपुरको दैजीदेखि जोगबुढा हुँदै चिर्किटे भएर डडेलधुरा सदरमुकाम जोड्ने अर्को सडक पनि वैकल्पिक बाटो बन्न सक्ने पनि पूर्वइन्जिनियर पन्तले बताए । ‘खुटिया–दिपायल द्रुतमार्ग र चिसापानी–जंगलघाट–मंगलसेन सडक डोटी, अछाम र बाजुराका लागि मात्र वैकल्पिक बन्न सक्ने भए पनि कञ्चनपुरबाट निर्माणाधीन दुवै सडक भने सात वटै जिल्लाका लागि वैकल्पिक राजमार्ग बन्न सक्छन्,’ उनले भने ।

दैजीदेखि जोगबुढा हुँदै डडेलधुरा सदरमुकाम जोड्ने उत्तर–दक्षिण सडक र बंकदेखि नायल बुडर भएर मुख्य राजमार्गसँग जोडिने बंक–नायल–बुडर सडक बजेट अभावले निर्माण सम्पन्न हुन नसकेको भने होइन । हरेक वर्ष दुवै सडकमा करोडौं बजेट पनि खर्च हुने गरेको छ । तर गुणस्तरहीन काम हुँदा यस पटक बनेको सडक अर्को वर्षा नआउँदै भत्किने गरेको छ । प्रदेश सरकारले आफ्नो पहिलो बजेटमै प्रदेश गौरवको योजनामा राखेपछि दुवै सडक संघीय सरकारबाट प्रदेशलाई हस्तान्तरण भएका थिए । दैजी–जोगबुढा सडकमा प्रदेश सरकारको तथ्यांकअनुसार ५ वर्षमा १२ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । दैजीदेखि चुरेको मथिल्लो डाँडा लिप्नासम्म १७ किमि दूरीमा यति धेरै बजेट खर्चिंदा पनि सडक पुनः सुरु हुन सकेको छैन । कालोपत्र भएको एक वर्ष पनि नबित्दै सडक भत्किएर यातायात चल्न नसक्ने अवस्थामा पुगेको छ ।

बंकदेखि नायल हुँदै बुडर जोड्ने बंक–नायल–बुडर सडकको अवस्था पनि उस्तै छ । प्रदेश सरकारले ५ वर्षमा यस सडकमा पनि १० करोडभन्दा बढी बजेट खर्चिएको तथ्यांकमा देखिन्छ । तर सडक निर्माण भने कञ्चनपुरको दोबिल्लाभन्दा माथि जान सकेको छैन । तराईको मैदानी क्षेत्रबाहेक चुरेमा एक पटक ट्र्याक खुलेपछि थप काम हुन सकेको छैन ।

प्रदेश सरकारले तराई क्षेत्रमा मात्रै बजेट सकाउने गरी टेन्डर गर्ने गरेका कारण यो सडक पनि निर्माण पूरा हुन नसकेको हो । ०३५ सालदेखि यातायात सञ्चालन भएका सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग धनगढीको मोहनादेखि डडेलधुरा सदरमुकामसम्म १ सय ४० किमि दूरीको छ । ०४८ मा कालोपत्र भएपछि मर्मतसम्भारमा मात्र ४ अर्बभन्दा बढी खर्च भएको सडक डिभिजन कार्यालय कुलपातेको तथ्यांकले देखाउँछ ।

कैलालीको चुरे गाउँपालिकाको खानीडाँडादेखि डोटीको बुडरसम्म विभिन्न ठाउँमा पहिरो जाने, सडक भासिने, बाढीले बगाउने, दुर्घटनाको उच्च जोखिम रहेको भासु भीर क्षेत्रमा हरेक वर्ष वर्षामा अवरुद्ध हुँदै आएको छ । नियमित मर्मतसम्भार भए पनि भौगोलिक बनावटका कारण राजमार्ग हरेक वर्ष जीर्ण बन्दै गएको छ । चार दशकअघि वैकल्पिक सडकका रूपमा शिलान्यास भएर ट्र्याक खुलेका कुनै पनि सडक निर्माण नसकिँदा सुदूर पहाडका बासिन्दाले हरेक वर्षामा सास्ती खेप्नुपरेको छ ।

प्रकाशित : भाद्र १७, २०८० ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?