कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भरतपुर विद्युत् सबस्टेसन र प्रसारण लाइन सञ्चालनमा

मनाङको धारापानीबाट चितवनको आँपटारीसम्म आएको मर्स्याङ्दी करिडोरको ११२ किमि प्रसारण लाइनभित्र चार सबस्टेसन
भारत भ्रमणमा जाँदा १० वर्षभित्र १० हजार मेगावाट बिजुली बेच्ने सम्झौता भयो, चीन भ्रमणमा जाँदा पनि विद्युत् व्यापारका विषयमा छलफल हुन्छ  ।- प्रधानमन्त्री दाहाल
रमेशकुमार पौडेल

चितवन — मर्स्याङ्दी करिडोरको बिजुली राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न र भरतपुरबाट पूर्व–पश्चिम बिजुली लैजान तयार हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन तथा सबस्टेसन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । मनाङको धारापानीबाट सुरु भएर भरतपुर आँपटारीसम्म आएको मर्स्याङ्दी करिडोरको ११२ किमि प्रसारण लाइनभित्र भरतपुरसहित गरी चार सबस्टेसन छन् । 

भरतपुर विद्युत् सबस्टेसन र प्रसारण लाइन सञ्चालनमा

हेटौंडा–भरतपुर–बर्दघाट १४७ किमि प्रसारण लाइनमा भरतपुर र हेटौंडामा सबस्टेसन रहनेछन् । २२० केभीको यो प्रसारण लाइनमा भरतपुरदेखि पूर्व–पश्चिम दुवैतर्फ एक/एक हजार मेगावाट बिजुली प्रवाह हुनेछ । मर्स्याङ्दी र यसका सहायक नदीहरूबाट एक हजार ६ सय मेगावाट बिजुली उत्पादन हुन सक्ने सम्भावना छ ।

‘हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइनमार्फत मर्स्याङ्दी बेसिनमा उत्पादित विद्युत् हेटौंडा, भरतपुर, बर्दघाट तथा काठमाडौंसम्म प्रवाह हुन सक्ने भयो,’ मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना प्रमुख नारायण रेग्मीले भने । तीन वर्षअघि सम्झौता भएर काम पूरा भएको आयोजनाको निर्माण लागत एक अर्ब ५२ करोड रुपैयाँ थियो ।

हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन तथा सबस्टेसन आयोजनाको कुल निर्माण लागत ५ अर्ब ९४ करोड रुपैयाँ रहेको प्राधिकरणका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए । यो आयोजना भने निकै लामो समय लिएर तयार भएको हो । सन् २०१० मा सुरु भएको आयोजना निर्माण समयमै नसकिएपछि निर्माण व्यवसायीसँग सन् २०१७ र २०१९ मा सम्झौता रद्दसमेत भएको थियो ।

मकवानपुर, चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) का १२ पालिका भएर जाने प्रसारण लाइनका ४७२ टावरमध्ये ६६ वटा निजी जग्गा र बाँकी टावर वन क्षेत्रमा छन् । नेपालको विद्युत् उत्पादन क्षमता बढ्दै गएका कारण प्रसारण र वितरण प्रणालीलाई पनि दुरुस्त राख्न सरकारले काम गरी रहेको प्रधानमन्त्री दाहालले जनाए । आन्तरिक खपत कम हुने भएका कारण बिजुली व्यापार बढाउने पनि उनको भनाइ छ ।

२५/४० वर्षसम्म देशभित्र खपत बढाउन निकै कठिन रहेका कारण नेपालको बिजुली भारत र बंगलादेशका साथै चीनमा पनि बेच्ने योजना बनाएको उनले बताए । भारततिर अन्तरदेशीय प्रसारण लाइन बनिरहेको र नेपालमा बढी हुँदा भारतमा बेच्ने र नेपालमा कम हुँदा भारतबाट किन्ने क्रम सुरु भइसकेको उनले जनाए ।

हालै भारत भ्रमणमा जाँदा १० वर्षभित्र १० हजार मेगावाट बिजुली बेच्ने सम्झौता भए जसरी अब चीन भ्रमणमा जाँदा पनि विद्युत् व्यापारका विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको भनाइ छ । ‘केही समयपछि म चीन भ्रमणमा जाँदै छु । चीनतिर व्यापार गर्न पनि अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारी छ,’ दाहालले भने ।

नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय सैद्धान्तिक समझदारी बनेका कारण नेपालको बिजुली बंगलादेश बेच्ने बाटो पनि खुलेको उनले जनाए । १० हजार आठ सय मेगावाट बिजुली उत्पादन हुने सम्भावना रहेको कर्णाली चिसापानी आयोजना बने बिजुलीमार्फत देशमा समृद्धि आउने दाहालको भनाइ छ ।

प्रकाशित : भाद्र ६, २०८० ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?