२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सरकारले १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने 

राजु चौधरी

काठमाडौँ — सरकारले भारतबाट १० लाख टन धान, १ लाख टन चामल र ५० हजार टन चिनी आयात गर्ने भएको छ । बजारमा भइरहेको मूल्यवृद्धि हस्तक्षेप गर्न सरकारले धान, चामल र चिनी आयात गर्ने निर्णय गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । साउन ४ मा भारतले गैरबासमती सबै प्रकारका सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने निर्णयपछि त्यसको फाइदा उठाउँदै यहाँ व्यवसायीले मूल्य बढाएका छन् ।

सरकारले १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने 

भारतले निर्यात रोक्नुअघि नै आएको चामलमा समेत मूल्य बढाएका छन् । चिनीको मूल्य पनि अस्वाभाविक रूपमा बढेको छ । नजिकिँदै गरेका चाडबाडमा बजार भाउ थप बढ्ने आकलन गर्दै सरकारले बजार हस्तक्षेप गर्न खाद्यान्न आयात गर्ने निर्णय गरेको हो । ‘बजारका विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग निरन्तर समन्वय गरिरहेका छौं । सम्बन्धित व्यवसायीसँग पनि छलफल गरिरहेका छौं,’ विभागमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक गजेन्द्र ठाकुरले भने, ‘आपूर्ति व्यवस्था सहज बनाउन १० लाख टन धान, १ लाख टन चामल र ५० हजार टन चिनी आयात गर्न प्रक्रिया अगाडि बढाएका छौं ।’

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको, नेपालमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ पूर्ण रूपमा हुन नसकेको जस्ता पक्षलाई दृष्टिगत गरी सरकारले खाद्यान्न आयात गर्ने निर्णय गरेको हो ।

वाणिज्य विभागले खाद्यान्नमा ४ देखि १३ प्रतिशतसम्म मूल्य बढेको निष्कर्ष निकालेको छ । विभागले विभिन्न क्षेत्रमा गरेको अनुगमनबाट मूल्य बढेको निष्कर्ष निकालेको हो । ‘रुस–युक्रेनबीचको द्वन्द्वपछि बजारमा मूल्य अस्वाभाविक बढेको छ । चामलको मूल्य उद्योगमै प्रतिबोरा ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बढेको पाइएको छ । खुद्रा बजारमा पुग्दा प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको देखिन्छ,’ महानिर्देशक ठाकुरले भने ।

विभागका अनुसार पछिल्लो समय भारतमा पनि चामलमा प्रतिकिलो ३ रुपैयाँ मूल्यवृद्धि भएको छ । १५ दिनयता करिब ५५ हजार टन चामल भारतबाट आयात गरिएको छ । उक्त चामलको मूल्य पनि बढेको व्यवसायीले विभागलाई जानकारी गराएका छन् । चामलबाहेक चिनीको मूल्य प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म बढेको छ ।

‘बजारमा देखिएको मूल्यवृद्धिबारे तीन टोलीले दैनिक अनुगमन गर्दै आएको छ । के कारणले मूल्य बढेको हो, अनुगमन र जानकारी लिने काम भइरहेको छ,’ महानिर्देशक ठाकुरले भने । वाणिज्यले बजार अनुगमनका लागि कर्मचारी अभाव भएको उनको गुनासो छ । कर्मचारी अभाव हुँदा दैनिक कार्य सञ्चालनमै पनि समस्या भएको उनको दाबी छ । ‘विभागमा कार्यालयभित्रकै काम गर्न पनि पर्याप्त कर्मचारी छैनन् । सूचना प्रविधि (आईटी) शाखा रित्तो छ, बजार अनुगमनमा खटिने कर्मचारीको पनि अभाव छ,’ उनले भने, ‘अब चाडबाड नजिकिँदै छ, अनुगमन पनि बढाउनुपर्ने भएकाले कम्तीमा एक जना उपसचिव र १० जना शाखा अधिकृतसहितको टोली माग गरेका छौं ।’

प्रकाशित : श्रावण १९, २०८० १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?