कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धानखेत मासेर माछापालन गर्न थाले बढैयातालका किसान

कमल पन्थी

बर्दिया — परम्परागत धान खेतीको तुलनामा माछापालनबाट दोब्बर आम्दानी हुन थालेपछि किसानले धानखेत मासेर माछापालन थालेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका– ५ जगतपुरका किसान राम्रो आम्दानी हुन थालेपछि माछापालनमा आकर्षित भएका हुन् ।

धानखेत मासेर माछापालन गर्न थाले बढैयातालका किसान

बढैयाताल– ५ का किसान तोयानाथ भुसालले माछा खेतीमा थोरै लगानी, कम मिहेनतबाटै राम्रो आम्दानी भएको बताउँछन् । जसले गर्दा माछा खेतीप्रति यहाँका किसान आकर्षित हुन थालेको उनले बताए ।

बढैयातालमा वार्षिक १ हजार ३ सय २० मेट्रिक टन माछा उत्पादन हुन्छ । धान खेतीबाट भन्दा माछाबाट बढी आम्दानी हुन थालेका कारण यहाँका घरैपिच्छे माछा पोखरी भेटिन्छन् । बढैयाताल —३ का पुष्प भुसालले परम्परागत खेतीबाट घर चलाउन धौ–धौ भएपछि व्यवसायीक माछा पालन सुरु गरेको बताए ।

बजारको समस्या पनि नहुनु र माछा उत्पादन पनि राम्रो भएकोले यस क्षेत्रमा धमाधम धान खेत मास्दै माछा पाल्ने किसानको संख्या बढ्दो छ । स्थानीय किसान सीताराम चौधरीले माछामा रोग लाग्दा ल्याब र प्राविधिक नहुँदा भने अन्दाजको भरमा औषधि उपचार गर्नु परेकोे गुनासो पोखे । ‘यहाँ सरकारले ल्यावको व्यवस्थासहित विज्ञ मत्स्य प्राविधिकको व्यवस्था गर्न जरुरी छ’ उनले भने ‘माछाका भुराको माग धेरै छ । यसकारण व्यवसायीको माग अनुसार भुरा उत्पादन गर्ने उद्देश्यले मत्स्य ह्याचरी संचालन गरिएको छ ।’

स्थानीय किसान गणेश शर्मा लम्सालले बजारको समस्या नभएपनि भारतबाट आउने माछाले प्रभावित पारेको बताए । प्रतिबन्धित भारतीय माछा बर्दियामा आएर सस्तोमा बेच्दा यहाँ उत्पादन गरेका किसानलाई मर्का परेको उनले गुनासो पोखे । उत्पादित माछा जिल्लाका स्थानीय बजारका साथै नेपालगंज, कोहलपुर, चिसापानी, कैलाली, दाङ, सुर्खेत लगायतका क्षेक्रहरुमा समेत बित्री हुने गरेको छ ।

साविकको कृषि विकास कार्यालय बर्दियाले अभियानमुखी मत्स्य उत्पादन कार्यक्रम लागू गर्दै आएको छ । ऊक्त कार्यत्रमले बढैयातालमा व्यवसायिक माछापालक किसान बढ्दै गएका छन् । बढैयाताल—३ का किसान शोभानाथ भुसालले किसानले धानखेत मासेर माछा पोखरी खनिरहँदा स्थानीय सरकारले माछापालनसम्बन्धी सीप र तालिम दिएर किसानको क्षमता अभिवृद्धि गर्नुपर्ने खाँचो देखिएको बताए । त्यसका साथै व्यावसायिक माछापालन सम्बन्धी ज्ञान भएको कृषि प्राविधिकसम्म किसानको पहुँच सहज भएमा किसानको मिहेनेत र लगानी सुरक्षित हुनसक्ने उनको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यालय, बर्दियाका प्रमुख कृष्ण धितालले अघिल्लो वर्षमा फिस जोन विस्तार जोन कार्यक्रम अन्तर्गत माछाको भुरामा ५० प्रतिशत अनुदान दिएको बताए । ‘यस क्षेत्रमा २ सय ८८ हेक्टरमा माछा पोखरीमा जिउदा माछा बिक्री केन्द्र निर्माणका लागि ५ लाख लगानी गरिएको छ,’ उनले भने ‘माछामा लाग्ने रोग निवारणका लागि ३ लाख २५ हजार र माछा खेतीका लागि उपयुक्त ठाउमा पोखरी निर्माणका लागि १० लाख २४ हजार लगानी गरिएको छ ।’ आर्थिक वर्ष ०७८/०७९ देखि माछा पोखरीमा अक्सिजनको कमी नहोस् भनेर एरिएटर वितरण, बोरिङ जडान, माछाका भुरा वितरण लगायतका काम भइ सकेको छ ।


प्रकाशित : श्रावण १०, २०८० १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?