कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

केबलकार लहर : ६ वटा सञ्चालनमा, २ तयार, ६ निर्माणको तयारी

काठमाडौँ — पछिल्लो समय नेपालमा केबलकार निर्माणको लहर बढेको छ । राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनअनुसार मुलुकमा हालसम्म ६ वटा केबलकार सञ्चालनमा आइसकेका छन् भने २ वटा निर्माण सम्पन्न भई परीक्षणकालमा छन् । अरु ६ वटा केबलकार निर्माणको तयारीमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

केबलकार लहर : ६ वटा सञ्चालनमा, २ तयार, ६ निर्माणको तयारी

सञ्चालनमा आइसकेका ६ केबलकारमा १४ अर्ब ३ करोड लगानी भएको छ । मनकामना, चन्द्रागिरि, अन्नपूर्ण, कालिञ्चोक, मौलाकाली र लुम्बिनी केबलकार सञ्चालनमा आइसकेका छन् । चन्द्रागिरिमा रिसाेर्टसहितकाे केबलकार सञ्चालनमा आइसकेकाे छ भने अन्य स्थानमा केबलकार सञ्चालनमा आएपनि रिसाेर्ट निर्माणकै क्रममा छन् ।

मनकामना केबलकारका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामबाबु श्रेष्ठले केबलकार बन्नुले एउटा कम्पनीको व्यवसाय बढ्नु मात्रै नभई स्थानीयको व्यवसाय र पर्यटनमा समेत टेवा पुगेको बताए । 'केबलकार बनेपछि मान्छेकाे चहलपहल बढ्छ, त्यहाँ विकासका कामहरु हुन्छन्,' उनले भने, 'आन्तरिक पर्यटन प्रवर्द्धनकै लागि केबलकार सञ्चालनमा ल्याइएकाे हाे । मठमन्दिरमा पनि आवतजावत सहज हुन्छ ।'

डुम्रे –बन्दीपुरको १ दशमलव ७ किलोमिटर लामो केबलकार परीक्षणकालमा रहेको राष्ट्र बै‌ंककाे प्रतिवेदनमा उल्लेख छ । बुटवल–पाल्पा नुवाकोटमा १ अर्ब लगानीको रिसोर्टसहितको सिद्धार्थ केबलकार निर्माणाधीन छ । केबलकारबाट पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै आर्थिक गतिविधि चलायमान गर्न मद्दत पुगेको प्रतिवेदनमा उल्लेख छ । केवलकार सञ्चालन भएको स्थलमा साना होटलदेखि ठूला रिसोर्टहरु पनि स्थापना हुने तथा स्थानीय उत्पादन प्रवर्द्धनमा मद्दत पुग्नेछ । त्यस्तै सडक, बिजुली, खानेपानीलगायतको सुविधामा विस्तार हुने तथा विकट ठाउँमा रहेका पौराणिक मठमन्दिरमा पहुँच पुग्ने प्रतिवेदनमा उल्लेख छ । धार्मिक, पर्यावरण, साहसिक तथा मनोरञ्जनात्मक पर्यटनको विस्तारका लागि केबलकारको निर्माण बढ्दै गएको हो ।

प्रकाशित : असार २८, २०८० १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?