१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

लम्पी स्किनका कारण रोपाइँ नै प्रभावित

असारे चटारोमा गाउँघरका अधिकांश गोरु गोठमै मरे, केही बिरामी परेर जोत्न नसक्ने अवस्थामा छन्
पोखरा ब्युरो

असार लागेसँगै धान रोपाइँको चटारो हुने पहाडी क्षेत्रमा यतिबेला बस्तुभाउमा लाग्ने लम्पी रोगले प्रभावित पारेको छ । उक्त रोगले जोत्ने गोरु नै बिरामी हुने, मर्ने भएपछि यस क्षेत्रको रोपाइँमा प्रत्यक्ष प्रभाव परेको हो । भौगोलिक कठिनाइका कारण पनि ट्र्याक्टर, हाते ट्र्याक्टर प्रयोग नगर्ने यस क्षेत्रका किसान यति बेला रोपाइँको अन्योलमा छन् ।

लम्पी स्किनका कारण रोपाइँ नै प्रभावित

बागलुङको निसीखोला गाउँपालिका–५ का हीराबहादुर पुनले जेठ अन्तिम साता रोपिसक्ने खेत अहिलेसम्म रोप्न पाएका छैनन् । गाउँमा भएका गोरु बिरामी परेकाले समयमा रोपाइँ गर्न नपाएको उनको गुनासो छ । निसीखोला–२ का देवेन्द्र पौडेलको खेत पनि बाँझै छ । ‘गोरु नपाएकाले रोपाइँ अघि बढाउन सकिनँ,’ पौडेलले भने, ‘गाउँका अधिकांश गोरु बिरामी परेका छन् ।’ संक्रामक रूपमा फैलिएको लम्पी स्किन रोगबाट बागलुङका सयौं गाईगोरु बिरामी हुँदा रोपाइँमा असर परेको हो ।

पश्चिम बागलुङका अधिकांश स्थानमा पशुपालन गरिन्छ । घरघरै हलगोरु पालेका किसानले जोत्नका लागि मिनिटेलर राखेका छैनन् । ‘मिनिटेलर लैजानेजस्ता खेतबारी पनि छैनन्, त्यसैले गोरुकै भरमा छौं,’ ढोरपाटन नगरपालिका–९ का सूर्यबहादुर विकले भने, ‘बारी जोतिसक्नुपर्ने थियो, गोरु बिरामी परेकाले ढिला भइसक्यो ।’

पशु भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्रका प्रमुख ऋषिराम सापकोटाका अनुसार बागलुङमा १ हजार १ सय गाई लम्पी स्किनका कारण बिरामी छन् । गोरु पनि अधिकांश बिरामी परेको उनले बताए । ‘दुधालु गाई बिरामी पर्दा बजारमा समेत असर परेकाले यकिन तथ्यांक निकाल्यौं, गोरुको तथ्यांक भने छैन,’ सापकोटाले भने, ‘तर अधिकांश गोरु पनि बिरामी छन् ।’ सामान्य संक्रमण भएका गोरुले पनि जोत्न नसकेको किसानले बताए ।

गोरखाको सहिद लखन गाउँपालिका–६ गैरीछापका सीताराम श्रेष्ठका हलगोरु भए पनि एउटा गोरु मंगलबार राति गोठमै मर्‍यो । सँगैको अर्को बिरामी गोरुको पनि अवस्था चिन्ताजनक छ । भन्छन्, ‘यस पटक रोपाइँ गरिएलाजस्तो छैन ।’ उनले रोपाइँका लागि १३ पाथी धानको ब्याड राखेका छन् । ‘बाँझो पनि जोत्न पाएको छैन, गोठका गोरु मरे, गाउँमा धेरैले गोरु पाल्दैनन् । भएका गोरु पनि सबै रोगाएका छन्, रोपाइँ कसरी गर्ने ?’ उनी उत्तरविहीन रहे ।

‘दुई वर्षअघि २४ हजार हालेर किनेको गोरु दुई बाली लगाएर मर्‍यो, अर्को पनि मर्नु न बाँच्नु भएर बसेको छ,’ उनले भने, ‘गोठमा गोरु मरेको छ, रोपाइँ गर्नेतिर सोच नै गएको छैन ।’ लम्पी स्किनले गाउँभरिका गाई, गोरु, भैंसी बिरामी परेको उनले सुनाए । बढी मात्रामा गोरु संक्रमित भएका छन् । जोत्ने बेला गोरु बिरामी परेर थला परेपछि किसान भने कसरी रोपाइँ गर्ने भन्ने अन्योलमा छन् ।

मंगलबार मात्र बाँझो खेत जोतेर सक्नै लागेका सिरानचोक गाउँपालिका–२ खमारीका प्रेम थापा असार ११ पछि रोपाइँ सुरु गर्ने तयारीमा थिए । १० हल मेलोको खेत जोत्दाजोत्दै मंगलबार बिहान गोरु झोक्राउन थाल्यो । जोत्दाजोत्दैको गोरु फुकाएर जँचाउँदा लम्पी स्किन लागेको पाइयो । पशु चिकित्सकले गोरुलाई केही दिन घरमै राख्न र जोत्ने काममा तत्काल नलगाउन सुझाएका छन् । असारका बेला गोरु बिरामी परेपछि रोपाइँको तयारीमा रहेका थापा भने अलमलमा छन् । ‘धान रोप्न खेताला खोजिसकेको छु,’ उनले भने, ‘गोठको गोरु तत्काल बिसेक होलाजस्तो देखिँदैन ।’

७२ घर रहेको खमारीका २५ किसानले खेती बाली लगाउन गोरु पाल्दै आएका छन् । थापाका अनुसार अन्य किसानका गोरु पनि लम्पीले बिरामी परेका छन् । ‘अरूको खोजेर रोपाइँ गरौं भने पनि सबैका गोरु बिरामी परेका छन्,’ उनले भने, ‘बिरामी गोरुलाई दुःख दिन पनि भएन, बिसेक भयो भने साउनसम्म रोपे धान फल्छ भन्ने आशा छ ।’ गत वर्ष असारमै यहाँका किसानले धान रोपिसकेका थिए । गाउँपालिकाको पशु सेवा शाखा प्रमुख युवराज न्यौपोनले लम्पी स्किनबाट अधिकांश गोरु प्रभावित भएको बताए । उनले बिरामी गोरुलाई तत्काल जोत्नमा प्रयोग गर्न नमिल्ने जनाए ।

तनहुँको भानु नगरपालिका–५ का किसान दुलराज श्रेष्ठ लम्पी स्किनबाट गोरु मरेपछि खेत कसरी जोत्ने भन्ने चिन्तामा छन् । ‘२ महिना अगाडि ८ हजार हालेर गोरु किनेको थिएँ,’ उनले भने, ‘१५ दिन अगाडि गोरु नै मर्‍यो । अब कसरी जोत्ने भन्ने चिन्तामा छु ।’ खोलापारि खेत भएकाले ट्र्याक्टर लगाएर जोत्न पनि नमिल्ने उनले बताए । ‘रोपाइँ गर्ने समय भइसक्यो । खेत जोत्न मेलोमेसो पाएको छैन,’ उनले भने, ‘ट्र्याक्टरले जोत्न पनि सम्भव छैन । यो रोगले त हामी कृषकले ठूलो क्षति बेहोर्नुपरेको छ ।’

लम्पी स्किनबाट गोरुमा संक्रमण भएपछि खेतबारी जोत्न नपाइएको भानु–१२ की करुणा पण्डित बताउँछिन् । उनले भनिन्, ‘असार १० बाट रोपाइँ सुरु गर्ने तयारी थियो । घरको गोरु बिरामी भएर थला परेको छ । छिमेकीको गोरुको पनि हालत उही छ ।’ अघिल्ला वर्ष बाँझो रहेका खेतबारीमा पनि खेती गर्ने सोच बनाएकी करुणाले जोत्नका लागि एक हल गोरु पाउन पनि मुस्किल रहेको बताइन् । ‘खेत रोप्ने बेला भइसकेको छ । अघिल्ला वर्ष ४/५ हल गोरुले खेत जोतेका थियौं, अहिले एक हल पनि पाउन मुस्किल छ,’ उनले भनिन्, ‘कसरी जोत्ने भनेर समस्या परेको छ ।’

पर्वतमा पनि ग्रामीण किसानले खेती बाली लगाउन पाएका छैनन् । फलेवास र कुश्मा नगरपालिकासहित महाशिला, बिहादी, पैयुलगायत सबै गाउँपालिकाहरूमा लम्पीको महामारी नियन्त्रणबाहिर पुगिसकेको छ । कतिपय पालिकाले यो महामारी नियन्त्रणका लागि विशेष बजेट विनियोजन गरेर नियन्त्रणको अभियान सञ्चालन गरेका छन् भने कतिपय पालिकाले कुनै सहयोग नगरेको किसानको गुनासो छ । फलेवास–९ भंगराका विष्णु क्षत्रीले असारका बेला गोरु थलिएपछि किसानलाई त्योभन्दा पीडा के होला भन्ने बताए । ग्रामीण भिरालो खेतबारीमा रोपाइँ गर्ने किसानलाई लम्पी स्किनका कारण रोपाइँको चिन्ता छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–८ करापु पोखरीथोकका हर्कलाल विकले रोपाइँ तयारीका लागि खेत बाँझो मार्दामार्दै गोरु बिरामी पर्‍यो । सुन्दरबजार नगरपालिका–४ दुराडाँडा सिम्लेका लेखमान गुरुङको गोरु पनि अहिले बिरामी छ । ‘दुई हप्ताअघि एउटा बिरामी भयो । अहिले अर्को पनि बिरामी छ । गोरु बिरामी भएपछि बाँझो मार्ने कामै रोकिएको छ । रोपाइँको त सुरसारै छैन,’ उनले भने । उनका अनुसार गाउँका अन्यको पनि गोरु बिरामी पर्न थालेका छन् । ‘बिरामी गोरुलाई कसरी जोताउनु,’ उनले भने । मध्यनेपाल–९ बांग्रेका भरत रानाभाटले गाउँलेका प्रायः सबै गोरु बिरामी परेको बताए । उनका अनुसार २५–३० हलगोरु बिरामी भएका छन् । गोरु बिरामी पर्दा रोपाइँ गर्नुअघिको बाँझो जोत्ने कामसमेत हुन नसकेको उनले बताए ।

मध्यनेपाल नगरपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक अमृतबाबु अधिकारीका अनुसार मध्यनेपालमा गाईगोरुमा लाग्ने लम्की स्किनको संक्रमण नियन्त्रण गर्न गाह्रो भइसकेको छ । ‘वैशाख पहिलो साताबाट यो समस्या देखियो । भ्याक्सिन लगाउन थालेपछि कन्ट्रोल भएको थियो । फेरि व्यापक देखिएको छ,’ उनले भने । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका डा. सुनील न्यौपानेका अनुसार लम्की स्किन संक्रमणबाट हालसम्म १४ वटा गाईगोरु मरेकामा १० वटा गोरु मात्रै छन् । ‘पहिले गाईमा संक्रमण थियो । पछिल्लो समय गोरुमा बढी संक्रमण देखिँदै आएको छ । गोरु बिरामी भएपछि बाँझो जोत्न र असारे रोपाइँ प्रभावित भएको छ,’ उनले भने ।

गण्डकीका ११ मध्ये मनाङबाहेक अन्य जिल्लामा गाईगोरु तथा भैंसीमा लम्पीको संक्रमण फैलिएको छ । गण्डकीको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी राजेशकुमार चौधरीका अनुसार जेठ मसान्तसम्म प्रदेशमा १९ हजार १ सय ६८ चौपाया लम्पीबाट संक्रमित भएका छन् । त्यसमध्ये ४ सय ५४ को मृत्यु भएको छ । हालसम्म २२ हजारभन्दा बढी गाईबस्तुलाई खोप लगाइएको छ ।

‘लम्पीबाट मर्नेमा अधिकांश गोरु छन् । संक्रमितमा पनि गोरु नै बढी देखिएको छ,’ चौधरीले भने, ‘संक्रमित भएको गोरु निको हुन साता दिनदेखि एक महिनासम्म लाग्न सक्छ । यस्तो अवस्थामा गोरुलाई जोत्न लगाउनु भएन । किसानलाई समस्या परेको छ ।’ गाई–भैंसीमा ज्वरो आउने, तौल घट्ने, दूध उत्पादन घट्ने, छालामा १ देखि ५ सेन्टिमिटरसम्मको गोलाइका गिर्खा हुने लम्पीका मुख्य लक्षण हुन् । प्रदेशमा ३ देखि ७ प्रतिशत गाई–भैंसीमा संक्रमण रहेको र शून्य दशमलव ५ देखि १ प्रतिशतसम्म मृत्युदर रहेको छ ।

निर्देशनालयका अनुसार गण्डकीमा साढे ५ लाख गाईगोरु छन् । लामखुट्टेको टोकाइ, किर्ना र झिँगाबाट यो सर्छ । साथै कृत्रिम गर्भाधान, संक्रमित दानापानीको सेवन, संक्रमित उपचार औजारको प्रयोग, संक्रमित चौपाया ओसारपसारका कारण पनि यो सर्ने गर्छ । पुनका अनुसार संक्रमित गाई–भैंसीको दूध उत्पादनमा तीव्र गिरावट आउँछ । प्रजनन क्षमतामा पनि ह्रास आउन सक्छ । लम्पीको प्रभावकारी उपचार नभएकाले लाक्षणिक आधारमा उपचार गर्नुपर्छ ।

– प्रकाश बराल (बागलुङ), हरिराम उप्रेती (गोरखा), सम्झना रसाइली (तनहुँ), अगन्धर तिवारी (पर्वत) र आश गुरुङ (लमजुङ)

प्रकाशित : असार ७, २०८० ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?