कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फलफूलदेखि तरकारीसम्म थपियो भ्याट

यस वर्ष १४० वस्तुमा मूल्य अभिवृद्धि कर, स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गर्न सरकारले यस्ता वस्तु आयातमा भ्याट लगाएको हो
सीमा तामाङ

काठमाडौँ — सरकारले गुलाब, कार्नेसनलगायत सजावटका फूलदेखि फलफूल, तरकारीजन्य वस्तुमा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत गुलाब, कार्नेसन, अर्किड, क्रियानथेम, लिली, अन्य, गुच्छा वा गुलदस्ता बनाउने वा सजावटका लागि उपयुक्त हुने फूल आयातमा भ्याट लगाएको हो ।

फलफूलदेखि तरकारीसम्म थपियो भ्याट

स्वदेशी उत्पादन खपतका लागि आयातित फूलमा थप कर बढाउन आग्रह गरेको भए पनि सरकारले मूल्य अभिवृद्धि कर लगाएको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर लामाले बताए । ‘आयात हुने फूलमा भन्सार ५ प्रतिशत र कृषि सुधार शुल्क ५ प्रतिशत मात्र लाग्थ्यो । त्यसैले आयात निरुत्साहित गर्न कर बढाउन अर्थ मन्त्रालयलाई आग्रह गरेको थियो,’ उनले भने, ‘सरकारले आयातमा मूल्य अभिवृद्धि कर मात्रै लगाएको रहेछ, जसले गर्दा आयातित कम हुन्छ । स्वदेशीलाई फाइदा नै हुन्छ । भ्याट सीमा कटेपछि स्वदेशी पनि भ्याटको दायरामा जानुपर्ने देखियो ।’

प्याज, केराउ, फ्रोजन सागपात, आलु, कोसे तरकारी, केराउ (छोडाएको वा नछोडाएको), बोडी (सिमी), पालुंगो, न्युजिल्यान्ड पालुंगोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपातमा कर लगाइएको हो । एभोकाडो, स्याउ, श्रीफल (क्विन्स), खुर्पानी (एप्रिकोट), अमिलो चेरी, अन्य, स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किबी फ्रुट, हलुवावेदलगायत फलफूलमा मूल्य अभिवृद्धि कर लगाएको हो । यी वस्तुमा गत वर्ष मूल्य अभिवृद्धि लाग्ने गरेको थिएन ।

आगामी आर्थिक वर्षको बजेटले कृषिजन्य वस्तुमा भ्याट लगाएर आयात निरुत्साहित गर्दै आन्तरिक उत्पादनलाई प्रोत्साहन गरेको छ । आयातित कृषिजन्य वस्तुमा सरकारले कम कर लगाउँदा स्वदेशी उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न सकेको थिएन । स्वदेशी मूल्यका भन्दा आयातित तरकारी सस्तो भएकाले प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा कृषिजन्य वस्तुमा कर लगाउनु राम्रै नीति लिएको कृषिविज्ञ छवि पौडेलले बताए । ‘भ्याट लगाएर स्वदेशी किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ,’ उनले भने, ‘उपभोक्तालाई भने महँगो हुनेछ तर किसानलाई फाइदा हुन्छ ।’

भारतमा कृषि उत्पादनमा अनुदान दिने हुँदा धेरै मात्रामा उत्पादन हुने र सस्तो मूल्यमा पाइने भएकाले स्वदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको उनले जनाए । सरकारले यसअघि तरकारी तथा फलफूलसहित अन्य १७० वस्तुको आयातमा मूल्य अभिवृद्धि कर छुट दिएको थियो । तर अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत ती वस्तुमा दिइँदै आएको छुट खारेज गरेका छन् । ‘सरकारले छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी कराधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दर खारेज गरेको छु,’ बजेट वक्तव्यमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष पनि कृषिजन्य वस्तुमा भ्याट लाग्ने गरेको थियो । गत वर्षको सरकारले भने छुट दिने निर्णय गरेको थियो । यो सरकारले पुनः निरन्तरता दिएको हो ।

कपास, ऊन, फ्रोजन खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि कर लगाइएको छ । सरकारले हवाईजहाजका पार्टपुर्जामा पनि कर लगाएको छ । यसरी भ्याट लगाउँदा आयात हुने वस्तु १३ प्रतिशत महँगिने भएको छ । यस वर्ष १४० वस्तुमा मूल्य अभिवृद्धि कर लगाइएको अर्थ मन्त्रालयका राजस्व महाशाखाका प्रमुख तथा सहसचिव रितेश शाक्यले जानकारी दिए । ‘सरकारले आयात हुने वस्तुमा भ्याट लगाएको हो, स्वदेशी वस्तुको हकमा भ्याटको सीमा कटेपछि लाग्नेछ,’ उनले भने । मूल्य अभिवृद्धि कर नियमावली, ०५३ अनुसार वस्तुको हकमा ५० लाख रुपैयाँसम्म र वस्तु तथा सेवाको हकमा २० लाख रुपैयाँ भ्याटको सीमा छ ।

प्रकाशित : जेष्ठ २०, २०८० ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?