कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

चेम्बरले भन्यो : बजेट यथार्थपरक भएन, स्रोत सुनिश्चित चुनौतीपूर्ण

काठमाडौँ — सरकारले सोमबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोतको सुनिश्चितता नै चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले प्रतिक्रिया दिएको छ । आर्थिक वर्ष  २०८०/८१ का लागि सरकारले ल्याएको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेटमा राजश्व संकलनको लक्ष्य १२ खर्ब ४८ अर्ब रुपैयाँ संकलन लक्ष्य चुनौतीपूर्ण रहेको चेम्बरले जनाएको छ ।

चेम्बरले भन्यो : बजेट यथार्थपरक भएन, स्रोत सुनिश्चित चुनौतीपूर्ण

६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य पनि निकै महत्वकांक्षी भएको चेम्बरको ठहर छ । ‘चालु आर्थिक वर्षमा समग्रमा २ दशमलव १६ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने सन्दर्भमा आगामी आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य निकै महत्वकांक्षी देखिन्छ’ चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएपनि खर्च गर्न नसकेर संशोधन मार्फत १५ खर्ब ४ अर्ब रुपैयाँमा झारिएको भन्दै चेम्बरले बजेट यथार्थमा आधारित हुन नसकेको बताएको छ ।

शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन बजेटले पर्याप्त मात्रामा सम्बोधन गर्न नसकेको चेम्बरले जनाएको छ । ‘वर्तमान परिस्थितिमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्यले वित्तीय बजारमा तरलता संकट उत्पन्न हुने सम्भावना देखिन्छ’ चेम्बरले भनेको छ । बजेटमा सरकारी खर्च कटौती एवं मितव्यायिताको घोषणा गरिनु स्वागतयोग्य रहेको चेम्बरले जनाएको छ । वि सं २०८० साल साउन १ गतेदेखि आयात हुने मालवस्तुको प्याकेजिङमा आयातकर्ता र बजार वितरकको लेवल लगाएर मात्रै बजार पठाउने व्यवस्थाले सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गर्ने चेम्बरको विश्वास छ ।

यस्तै वातावरणीय प्रभाव मूल्याङकन सम्बन्धी सम्पूर्ण पक्रिया ३० दिनभित्र गर्ने व्यवस्था स्वागतयोग्य भएको चेम्बरको ठहर छ । कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको भन्दै चेम्बरले औषधिजन्य प्रयोजनको लागि गााजा खेतीको सम्भावनाको अध्ययन एवं कार्यन्वयन गरिनु सकारात्मक रहेको टिप्पणी गरेको छ ।

सरकारले लामो समयदेखि बन्द रहेका जग्गाको कित्ताकाट फुकुवा गर्ने तथा स्थानीय निकायबाट अनुमति प्राप्त ब्रोकर मार्फत घर जग्गा बेचविखन गरिने व्यवस्थाको गरिनुलाई पनि चेम्बरले सकारात्मक भनेको छ । सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई पर्यटन दशक घोषणा एवम् आगामी वर्ष लगानी सम्मेलन गर्ने कार्यक्रमले लगानीमैत्री वातावरण सिर्जना गर्ने चेम्बरको भनाइ छ ।

प्रकाशित : जेष्ठ १६, २०८० १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?